विल्सन र नेरिकलाई इनोभेटिभ कप

विल्सन र नेरिकलाई इनोभेटिभ कप


विल्सन एकेडेमी र नेरिक एकेडेमीले आठौँ इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । दुई उपाधि चुम्न सफल विल्सन सिनियर छात्र र सिनियर छात्रमा पहिलो भयो । नेरिकले जुनियर छात्रको उपाधिमाथि कब्जा जमायो ।

बुद्धनगरस्थित आयोजक इनोभेटिभ इंग्लिस स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर छात्र फाइनलमा विल्सनले भ्याली पब्लिकलाई ५०–३९ ले पराजित ग¥यो । विल्सनको जितमा पेम्बा शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै एक्लै ३२ अंकको योगदान गरे ।

सिनियर छात्राको उपाधि भिडन्तमा सिमरन गुरुङको १० अंकबाट विल्सनले आयोजक इनोभेटिभलाई २०–१९ को झिनो अन्तरले हरायो । जुनियर छात्र फाइनलमा नेरिकले ज्ञान निकेतनलाई २७–१७ ले पाखा लगायो । नेरिकका भुवन थापाले १७ स्कोर गरे ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय पेम्बा, सिमरन र भुवन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर छात्रमा भ्याली पब्लिकका राहुल विक, सिनियर छात्रामा इनोभेटिभकी स्वच्छता थापा र जुनियर छात्रमा ज्ञान निकेतनका जेबिश सारु सर्वाधिक स्कोरकर्ता भए । प्रतियोगिताभर राहुलले ७८, सिमरनले ५९ र जेबिशले ४७ स्कोर गरे ।

विजेतालाई काठमाडौं महानगरपालिका– १० का अध्यक्ष रामकुमार केसी, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापा, इनोभेटिभका अध्यक्ष चेतनाथ चौलागाईं, इनोभेटिभका प्रिन्सिपल विजय थापा, इनोभेटिभकी आर्थिक निर्देशक स्वीकृति श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १८ गतेदेखि शरु प्रतियोगिताको सिनियर छात्रमा १३, सिनियर छात्रामा ५ तथा जुनियर छात्रमा १० टिमले भाग लिएका थिए । छात्रको खेल लिग कम नकआउट तथा छात्राको खेल राउन्ड रोविन लिगका आधारमा भएको थियो ।