नगर-सरकार र ‘कथित’ प्रबुद्धलाई गिज्याउँदै ‘बेवारिस’ भद्रपुर पुस्तकालय !

नगर-सरकार र ‘कथित’ प्रबुद्धलाई गिज्याउँदै ‘बेवारिस’ भद्रपुर पुस्तकालय !


२००७ साल अर्थात् आजभन्दा ७५ वर्षअघि स्थापित भद्रपुर पुस्तकालय भद्रपुर (झापा)को मात्र नभई नेपालकै एक ऐतिहासिक पुस्तकालय हो । तर, विगत निकै वर्ष अघिदेखि यसको हालत अत्यन्त जीर्ण छ, दुरावस्थामा छ ।

पुस्तकालयको आफ्नै पक्की भवनको तल्लो तला हटियाका सब्जीवालाहरूले कब्जा गरेका छन् भने माथिल्लो तला मर्मत समेत हुन नसक्ने गरी जीर्ण भइसकेको छ । २००७ सालमा लगभग ५० जना स्थानीय प्रबुद्ध व्यक्ति र भद्रपुरका उद्योगी-व्यवसायीहरूको भेलाले पुस्तकालय स्थापनाको विधिवत् थालनी गरेको इतिहास पाइन्छ ।

भाषाशास्त्री महानन्द सापकोटाको प्रस्ताव र त्यसबेलाका भद्रपुरका सचेत र समाजलाई सभ्य र जागरुक बनाउन पनि केही गरौं भन्ने भावना राख्ने केही प्रबुद्ध र व्यवसायीहरूले निर्माण गरेको भद्रपुरको एउटा ऐतिहासिक धरोहरका बारेमा अब भद्रपुरबासीले केही सोच्ने बेला घर्किन लागिसक्यो । नत्र भद्रपुरको एउटा सकारात्मक इतिहासको अन्त्य हुने छ ।

वि.स. २०१६ मा प्रारम्भ भएको यस पुस्तकालयको भवन निर्माणपछि ’१९ सालमा पुस्तकालय आफ्नै भवनमा सरेको इतिहास पाइन्छ । यसका लागि शिवप्रसाद गुप्ताले १० धुर जग्गा दिएका थिए ।

पुस्तकालयका पहिलो सभापति सत्यनारायण अग्रवालका सन्ततिहरू र जिउँदै रहेका पुस्तकालयका पूर्वअध्यक्ष ओमप्रकाश सरावगीहरू यतिबेला यो पुस्तकालयका प्रति कुनै सद्भाव र पुनर्जीवन दिन सक्रिय नहुनुलाई पुस्तकालयका पूर्वसभापति (२०४२–’४४) राजेश ढुङ्गाना भन्छन्- ‘उनीहरू स्वयम्का लागि यो लज्जाको विषय हुनु पर्ने हो ।’

त्यसैगरी, भद्रपुर नगरपालिका (जसलाई ‘स्थानीय सरकार’ पनि भन्ने गरिन्छ) यो पुस्तकालयका प्रति ठूलै मात्रामा अनुदार देखिंदै आएको छ ! खेलकूदप्रति चाख राख्नु नराम्रो कुरा होइन, तर केवल फूटबल र क्रिकेट मात्रै ‘सबैथोक’ हो भनेजसरी समाजका अन्य धरोहरहरूलाई पूर्णतः बेवास्ता गर्नु नगरपालिका र सोका पदाधिकारीहरूको गम्भीर त्रुटी÷खेलाँची हो ।

इतिहासमा जिम्दार कहलाइने सत्यनारायण अग्रवालले पुस्तकालयलाई लगभग ३ बिघा जग्गा दिने घोषणा गरेको पनि देखिन्छ । तर, पुस्तकालयले त्यो पाएको छैन । यसमा उनका पुस्ताका परिवारले आफ्नो पुर्खाको इज्जत राख्ने तर्फ न उनका छोरा मोहनलालले वास्ता गरे, न उनका छोराहरुले नै !

विगतमा पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउन सर्कस र नाटक गर्ने गरिएको इतिहास भेटिन्छ । अबयता अन्य रङ्गीबिरङ्गी कुराहरू छोडेर यो पुस्तकालयको जीर्णोद्धार र पुनः सञ्चालनका खातिर पुराण लगाएर र भद्रपुरेली बासिन्दाबाट आर्थिक सहयोग जुटाउन र अन्य सहयोग संकलन गरी काम अघि बढाउन नसकिने पक्कै होइन । तर, त्यसका लागि सर्वप्रथम भद्रपुर नगरपालिकाकै दायित्वबोध र अपनत्व अपरिहार्य रहन्छ । नगरपालिकाका जिम्मेवार नेतृत्व र पदाधिकारीहरुले यसको यसमा ध्यान दिनै पर्दछ । यो ऐतिहासिक पुस्तकालयको शाख र गौरव संरक्षण गर्ने मूल अभिभारा नगरपालिकाकै हो, किन पनि भने ‘नगरपालिका’ नै हाम्रो भद्रपुरको अभिभावक संस्था हो ।

(पुस्तकालय फोटो सौजन्य : सक्षम प्रधान)