देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडी नवौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता ०७३ को फाइनलमा प्रवेश गरेको छ । माघ २९ गते मंगलबार भएको सेमिफाइनल खेलमा राना र श्रेष्ठको जोडी कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाको जोडीलाई २२–२०, २१–१६ को सोझो सेटमा पाखा लगाउँदै उपाधि निकट पुगेको हो । अब उपाधिका लागि राना र श्रेष्ठको जोडीले तिनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ र आकाश छन्त्यालको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।
भीमसेनगोलास्थित किङ कम स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाइनलमा तिनचुलीका अभिषेक र आकाशको जोडीले ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन गुरुङको जोडीमाथि २१–१९, २१–९ को जित निकाल्दै उपाधिनिकट पुगेको प्रतियोगिता संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए ।
शाहका अनुसार प्रतियोगिताको फाइनल बुधबार बिहान ८ः०० बजे हुनेछ भने पुरस्कार वितरण तथा समापन कार्यक्रम फागुन ४ गते शनिबार हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया