चार बक्सर नगदसहित सम्मानित

चार बक्सर नगदसहित सम्मानित


नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल चार बक्सरलाई नगदसहित सम्मानित गरेको छ । एक्स बक्सर समूहको आर्थिक सहयोगमा संघले पदक जित्न सफल चार खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँसहित सम्मानित गरेको हो । सम्मानित हुनेमा त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठ, पुनम रावल, नेपाल पुलिस क्लबकी दिवाना शेर्मा र आर्मीका सुशील थापा छन् ।

विमला श्रेष्ठले २०१८ फेब्रुअरी १ देखि ७ सम्म भएको प्रथम इन्डिया इन्टरनेसनल मेन्स एन्ड वुमन्स च्याम्पियनसिपमा ५४ केजी तौल समूहमा कांस्यपदक जित्न सफल भएकी थिइन् । यस्तै पुनम रावलले सोही प्रतियोगिताको ६० केजी तौल समूहमा कांस्यपदक हात पारेकी थिइन् ।

यस्तै दिवाना शेर्मा र सुशील श्रेष्ठले यसै साता काठमाडौंमा सम्पन्न वीर गणेशमान सिंह महिला तथा पुरुष राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । दिवानाले महिला ४८ केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् । सुशील थापाले पुरुष ४९ केजी तौल समूहमा स्वर्ण हात पारेका थिए । उनीहरू दुवैजना प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए । खेलाडीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, एक्स मकाउ समूहका प्रतिनिधिलगायतले पुरस्कृत गरे ।