पूर्वएआईजी शाहद्वारा करोडौँ मूल्यको जग्गा प्रदान

पूर्वएआईजी शाहद्वारा करोडौँ मूल्यको जग्गा प्रदान


झापामा जारी प्रथम शिखरपुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत माघ २९ गते सेमिफाइनल संस्करण सम्पन्न भएको छ । ६ प्रदेश र एक विभागीय नेपाल आर्मी टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्राविधिक कारण देखाउँदै कर्णाली प्रदेश प्रतियोगितामा सहभागी भएन ।

नेपाल आर्मीसँगै गण्डकी, सुदूरपश्चिम र प्रदेश नम्बर १ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । लिग चरणमा आर्मीले तीन खेल जित्दै ९ अंक प्राप्त गरेको छ । गण्डकीले दुई खेल जित्दै ६ अंक, सुदूरपश्चिमले ४ अंक र प्रदेश १ ले २ अंक प्राप्त गर्दै सेमिफाइनमा प्रवेश गरे । प्रदेश नम्बर २, ३ र ५ प्रतियोगितको समूह चरणवाटै बाहिरिए ।

माघ २९ गते मंगलबार भएको सेमिफाइनल खेलमा प्रहरीका पूर्वएआईजी दमकनिवासी अमरसिंह शाह अतिथिको रूपमा उपस्थित थिए । हक्कीका पूर्वराष्ट्रिय खेलाडी शाहले सो अवसरमा करोडौँ मूल्यबराबरको जग्गा प्रदान गरेका थिए । शाहले दमक नगरपालिका–९ मा रहेको १० कट्ठा जग्गा नारायण ज्योति खेलकुद तथा बहुप्रयोजनका निम्ति प्रयोग हुने कभर्डहल निर्माणका लागि प्रदान गरेका हुन् । सो अवसरमा जग्गादाता शाहलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले खादा लगाएर सम्मान गरेका थिए ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आर्मी र प्रदेश १ र दोस्रो सेमिफाइनल गण्डकी र प्रदेश ७ बीच भएको थियो । मेची रंगशाला भद्रपुरमा आयोजित पहिलो सेमिफाईनल खेलमा आर्मीले प्रदेश १ लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । आर्मीका तर्फबाट राम साहले २ र सत्यनारायण चौधरीले १ गोल गरेका थिए । प्रदेश १ का अनिश मगरले सान्त्वनास्वरूप एक गोल फर्काए । पहिलो सेमिफाईनल खेलको म्यान अफ दी म्याच प्रदेश १ का शशि दर्लामी घोषित भए ।

त्यस्तै, दोस्रो खेलमा प्रदेश ७ लाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै गण्डकी प्रदेशले फाइनलको यात्रा सुरिक्षत गरेको हो । गण्डकीका तर्फबाट श्रवण कुमार र प्रदेश ७ को तर्फबाट सुरेश प्रसादले एक–एक गोल गर्दै निर्धारित समय बराबरीमा सकिएको थियो ।

गण्डकीका तर्फबाट श्रवण कुमार, सागर आचार्य, प्रवेश खनियाँ, बहादुर मगर र रोमन राणाले गोल गरेका थिए । प्रदेश ७ को तर्फबाट सुरेशप्रसाद जोशी, कान्तुराम पनेरू र राजेन्द्र कार्कीले मात्र गोल गर्न सफल भएका थिए । दोस्रो सेमिफाइनल खेलको म्यान अफ दी म्याच गण्डकी प्रदेशका किसनबहादुर थापामगर घोषित भए । तेस्रो स्थानका लागि प्रदेश १ र प्रदेश ७ बीच हुनेछ । फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेशबीच हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदको संयोजन तथा नेपाल हक्की संघको आयोजनामा भएकोे प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिनेछ ।