भ्रमण भियनाको

भ्रमण भियनाको


nisedhइट इज अ लङ वे टु इक्वालिटी… प्रस्तुतिको सुरुमै लेखिएको थियो । अस्ट्रियाको राजधानी भियनामा लैङ्गिक समानताका लागि लागू गरिएका रणनीतिहरूबारे त्यहाँकी लैङ्गिक योजनाकार इभा कैल भनिरहेकी थिइन्, ‘पासपोर्टमा आमाको नाम राखिँदैनथ्यो, काममा समान ज्याला थिएन । टाढाको के कुरा गर्नु, सन् १९९२ सम्म पनि असमानता धेरै थिए । तर, लैङ्गिक समानताका लागि राज्यले अपनाएको सर्वाङ्गीण दृष्टिकोण (मल्टिपल एप्रोच) का कारण छोटो समयमै हामीले उपलब्धि हासिल गर्न सकेका हौँ । यो उपलब्धिका लागि राजनीतिक इच्छाशक्ति महत्वपूर्ण रह्यो ।’ हुन पनि भियनामा समानताको दृष्टिकोण ‘किन्डर गार्डेन’देखि स्कुल, कलेज, बाटाघाटा, आश्रय शिविर, जेल, सडक, यातायात, बिजुलीबत्ती, स्वास्थ्य, शिक्षा, घर, बगैँचा, भाषा या भनौँ सबैतिर नै लागू गरिएको रहेछ । बिजुलीबत्तीमा पनि लैङ्गिक बजेट र अवधारणा लागू गरिन्छ भन्दा हामीलाई अनौठो लाग्न सक्छ किनभने हामीकहाँ छुट्याएको जेन्डर बजेट सडक र खानेपानीमा खर्च गरियो भनेर कतिपयले विरोध गरेको सुनिन्छ । लैङ्गिक बजेटको अवधारणाअनुसार, सडक या खानेपानीमा बजेट खर्च गर्न नहुने होइन, ती आयोजनाको योजना बनाउँदा महिला थिए कि थिएनन् ? निर्णयकर्ताको रूपमा उनीहरूको भूमिका रह्यो कि रहेन ? भन्ने कुराचाहिँ महत्वपूर्ण हो । भियनामा हरेक योजना तर्जुमामा महिला विज्ञहरूको सहभागिता रहने गरेको छ । पुरुषहरू नै निर्णायक तहमा रहेका स्थानमा पनि महिलाको अवधारणाले कामहरू गरिन्छन् । जस्तो बिजुलीबत्तीको कुरा, सडकमा स्ट्रिट लाइटहरू राख्दा पहिला–पहिला हामीकहाँ जस्तै पोलहरूमा राखिँदोरहेछ, तर पोलमा राख्दा वरपर रूखहरू भएका ठाउँमा तिनका छायाले या अन्य कुराले बत्तीलाई ओझेलमा पार्दा अँध्यारोका कारण सडकहरू महिलाका लागि असुरक्षित हुने भएकाले दुवैतिरबाट तार जोडेर सडकमाथिको बीचआकाशमा सडकबत्ती राखिँदोरहेछ । सार्वजनिक यातायातलाई कसरी बढीभन्दा बढी ‘जेन्डर फ्रेन्ड्ली’ बनाउनका लागि विभिन्न प्रयासहरू भएका छन् र ती प्रयासलाई विश्वमै नमुनाका रूपमा लिइन्छ । कुनैबेला ट्रेन स्टेसनको कुनामा शौचालय राख्दा महिला बलात्कृत हुनुपरेको दुःखद् कथालाई उनीहरू दृष्टिकोणको अभाव भन्छन् । सार्वजनिक स्थानका शौचालयहरू अहिले सबैले देख्ने र सधँै उज्यालो हुने ठाउँमा मात्र बनाइएका छन् । अन्य स्थानका बत्तीभन्दा शौचालय वरपरका बत्ती बढी उज्यालो दिने खालका छन् । सडकमा बाटो काट्नेलाई सजिलै देखियोस् भनेर अन्य स्थानका भन्दा जेब्रा क्रसिङमा सडकबत्ती बढी उज्याला राखिएका छन् । ‘टु सी एन्ड टु बी सिन’ अर्थात् देख्ने र देखिने गरी सडक लाइट हुनुपर्छ भन्ने मान्यताले काम गरेको छ । गाडीभन्दा साइकल चढ्न र सार्वजनिक यातायातमा यात्रा गर्नलाई बढी प्रोत्साहित गरिँदोरहेछ । सकेसम्म हिँडेर यात्रा गर्नका लागि नागरिकलाई उत्साहित गरिन्छ । छोरा र छोरीको हुर्काइ उस्तै होस् भनेर किन्डर गार्डेनदेखि नै केटा र केटीलाई समान काम दिइन्छ । स्कुलमा केटीहरूले अनिवार्य रूपमा फुटबल, भलिबलहरू खेल्नुपर्छ, केटाहरूले सरसफाइ र गृह व्यवस्थापनको कुरा सिक्नुपर्छ । छोरा र छोरीबीचको विभेद अभ्यासबाटै हटाउनका लागि स–सानाजस्ता लाग्ने, तर दैनिक जीवनमा ठूलो प्रभाव छोड्ने यस्ता धेरै कुरा लागू गरिएको छ । पहिलापहिला घरको सबै काम महिलाले मात्रै गर्थे रे भन्ने सुन्दा नयाँ पुस्ताका केटाहरू छक्कै पर्दा रहेछन् । भियना विश्वकै सुरक्षित सहर मानिन्छ ।
सुरक्षित सार्वजनिक यातायातका सन्दर्भमा विश्व बैंकको आयोजनामा अप्रिल १५ देखि १७ सम्म भएको दक्षिण एसियाली भ्रमणका क्रममा देखिएका र सुनिएका धेरै कुरा हाम्रा लागि टाढाको लक्ष्य झैँ लाग्छन् । गरे के हुँदैन र ? भन्ने कुराका उदाहरणहरू प्रसस्त छन् । विश्वकै गुणस्तरीय जीवन बाँच्नेमा अस्ट्रियाका नागरिकहरू पहिलो नम्बरमा पर्दारहेछन् । क्वालिटी अफ लाइफका सूचकहरू धेरै छन् र ती सबै सूचक त्यहाँको सरकार र जनताले पूरा गरेका छन् । सरकारले जति सुविधा दिएको छ त्यति नै उत्तरदायित्व त्यहाँका नागरिकले पूरा गरेका छन् । यतिसम्म कि सार्वजनिक यातायातमा चढ्नेका लागि दिनको एक युरोका दरले वर्षमा तीन सय ६५ युरो तिर्नुपर्ने बनाइएको छ । ३ सय ६५ युरोको कार्ड लिएपछि बस, ट्राम, ट्रेन जे मन लाग्छ त्यही चढेर वर्षभरि मुलुकमा जहाँ–जहाँ पुगे पनि भो, जति यात्रा गरे पनि भो । जनाता यत्ति उत्तरदयी छन् कि सार्वजनिक यातायातमा टिकट जाँच गरिँदैन, तर यातायात चढ्नेहरू टिकट नलिई हिँड्दै हिँड्दैनन् । कानुन र स्वविवेक दुवै उत्तिकै रूपमा प्रयोग हुँदोरहेछ । कानुन यति कडा कि कसैले उल्लङ्घन ग-यो कि जिन्दगी सकियो । एकपटक एकजना राजनीतिकर्मीले मुलुकमा ठूलो सम्मेलन चलिरहेका बेला आफूलाई त्यहाँ पुग्न हतार भयो भन्दै ट्राफिक लाइट उल्लङ्घन गरेछन् । प्रहरीले नेताजीले गरेको कानुन उल्लङ्घनको रिपोर्ट गरेपछि कानुन उल्लङ्घन गर्नेलाई मत दिने कुरै भएन, परिणाम उनले चुनावमा नराम्ररी पराजित हुनुपरेछ । कानुन उल्लङ्घन गर्नेलाई घृणा नै गरिँदोरहेछ । रोचक लाग्ने कुराचाहिँ के भने जेलमै बस्नुपरे पनि हेर्दा कुनै दरबार या पाँचतारे होटलझैं लाग्ने जेल, सुविधा पनि त्यत्तिकै । प्रत्येक कैदीलाई एउटा कोठा, अखबार, टेलिभिजन, खेलकुद तथा शारीरिक अभ्यासको सुविधा । जेल पर्ने व्यक्ति एक्लै रहेछ र उसका कुकुर या बिराला घरमा रहेछन् भने तिनका लागि छुट्टै आश्रय शिविर, हामीलाई त सुन्दा पनि अचम्मै लाग्ने कुराहरू । थोरै आम्दानी हुनेका लागि बस्नलाई सस्तो हाउजिङ, जहाँ एकल महिला र बच्चा आफूसँग राख्ने एकल पुरुषहरूलाई उत्तिकै सुविधा दिइँदो रहेछ । स्लोगन नै छ– फेयर सेयर सीटी भियना…
यति हुँदाहुँदै पनि कतिपय कुरामा अझै पनि पूर्ण सुरक्षा अपनाउन नसकिएको अधिकारीहरूले बताए । कुनैबेला भियना सहरमै रेडलाइट एरिया रहेछ, बस स्टेसननजिकै रेडलाइट एरिया हुँदा बस पर्खिने महिलालाई अप्ठ्यारो परेका कारण देहव्यापारको उक्त केन्द्रलाई सहरभन्दा टाढा सारिएको छ । ‘लिक्विड एक्सटसी’को प्रयोग रोक्न सकिएको छैन, जसको सेवनले मानिसलाई १२ घन्टासम्म बेहोस बनाउँछ र आफूमाथि के भएको थियो भन्ने कुरा केही पनि थाहा हुँदैन । विशेषगरी पेय पदार्थमा यो मिसाइन्छ, डिस्को, पब तथा पार्टीहरूमा यसको सिकार युवतीहरू हुँदै आएका छन् । कसैले बलात्कार ग-यो भने उनीहरूलाई केही थाहा हुँदैन, घटनाको सम्झनासमेत हुँदैन । इन्टरनेटबाट सहजै जोकोहीले किन्न सक्ने हुँदा सुरक्षा अधिकारीहरूले यसलाई रोक्न सकेका छैनन् । त्यसैले स्कुल तथा घरघरमा किशोरीहरूलाई पेय पदार्थ खाँदा बोतलबाट गिलासमा खन्याएर नखानु बोतलबाटै पिउनु भनेर सतर्क गराइन्छ ।
विश्वका अन्य विभिन्न मुलुकमा जस्तै भियनामा पनि नेपालीको सङ्ख्या वैधानिक–अवैधानिक गरी करिब १५ सय पुगेको छ । यसपटकको भ्रमणलाई थप अविष्मरणीय बनाउनमा भियनानिवासी सागर सुवेदीको योगदान रह्यो । पर्वत जिल्लाका सागर कुनै बेला सुरक्षा अधिकारी भएर मुलुकलाई ‘ट्रयाक’मा ल्याउने सपना देख्थे । त्यसो त राजनीति गर्न पनि उनलाई मन नलागेको होइन, विद्यार्थी जीवनमा राजनीतिमै होमिएका थिए । खै के–के भयो भयो, सपनाहरू टुट्दै–फुट्दै फेरि जुट्दै गरेर सानै उमेरमा दुःखका धेरै जङ््घारहरू पार गरेपछि समयले उनलाई विगत १३ वर्षदेखि भियनावासी बनाएको छ । भियनामा अहिले उनी र उनको परिवारले आफ्नो जीवन गुजारा गर्ने काम मात्र गरेको छैन, तीसजना नेपालीलाई रोजगारी पनि दिलाएको छ । उनी क्रोने नामको त्यहाँको एक जर्मन भाषाको दैनिक पत्रिकाको मुख्य वितरकमध्ये एक हुन् । प्रत्येक दिन पाँच हजार ग्राहकलाई घर घरमा अखबार पु-याउनका लागि उनले नेपालीलाई रोजगारी दिएका छन् । उनकी पत्नी प्रतीक्षा मानवशास्त्रमा विद्यावारिधि गर्दै छिन् । भियनामा बसे पनि सागर नेपालबारे यति धेरै अपडेट छन् कि कुन जिल्लामा प्रहरीको प्रमुख को छ, कुन राजनीतिक दलको अवस्था कस्तो छ उनलाई सबै थाहा छ । भन्छन्, ‘आफ्नो देशबारे यति जानकारी त हुनैप-यो नि ।’ यस्तै २५ वर्षदेखि भियनामा रहँदै आएका प्रभु श्रेष्ठ यस्ता नेपाली हुन् जसले नेपालबाट भियना पुगेका सयाँै नेपालीलाई घुमाएका छन् । जसमा नेतादेखि कर्मचारी हुँदै व्यापारी पत्रकार सबै पर्छन् । आफ्नो देशमा भएका ससाना सकारात्मक कुराले पनि उनलाई प्रफुल्ल बनाउँछ । वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई आफ्नै लागि भगवान्ले जन्माइदिएको ठान्ने उनले भेटघाटका बेला घरी न घरी पुष्करजी र उहाँकी पत्नी राजेश्वरीको सम्झना गरिरहे । भने– यहाँ जे–जति सुविधामा बसे पनि आफ्नो देश र आफन्तको आत्मीयता सधँै ‘मिस’ हुन्छ । भ्रमणमा रहनुभएका डीआईजी जयबहादुर चन्द, डा. चन्द्रबहादुर श्रेष्ठ र यो पङ्क्तिकारप्रति सागर र प्रभु तथा परिवारले देखाएको आत्मीयता अविष्मरणीय रहनेछ ।