कति जण्ड प्रचण्ड !

कति जण्ड प्रचण्ड !


सकारात्मक काम कम र नकारात्मक कर्मसिर्जित परिणतिहरूबाट लगातार तरङ्गित छ नेपालको पछिल्लो राजनीति । यसक्रममा अर्को कहालीलाग्दो छाल पैदा गरिदिएका छन् नेकपाका ‘को–पाइलट’ प्रचण्डले, जुन तरङ्गका कारण सत्ताको लगाम अँठ्याइरहेको दलरूपी ‘जहाज’ नै ढलपल हुन थालेको अनुभूति गरिएको छ ।

साम, दाम, दण्ड, भेद, घुर्की, धम्कीलगायत सबै हतियार प्रयोग गरी निजी वर्चश्व तथा आत्मकेन्द्रित राजनीति धान्दै आएका नेताका रूपमा सचेत तप्काले पूर्वमाओवादी तथा हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक अध्यक्ष प्रचण्डलाई चिन्दै आएका छन् । देशलाई दशकौँ पछि पारेको ‘माओवादी हिंसात्मक द्वन्द्व’को घाउ अझै ओभानो बनिसकेको छैन । तर, यस्तो गहिरो घाउ लगाउन प्रमुख भूमिका निर्वाह गरेका उनै प्रचण्डले मुलुकलाई पुनः ‘माओवादी द्वन्द्व’मा फसाइने सार्वजनिक चेतावनी दिन पुगेका छन् ।

पार्टी एकीकरण घोषणाको महिनौँ बितिसक्दा पनि सत्ताधारी दल नेकपाले आफ्ना तल्ला निकाय तथा भ्रातृ–सङ्गठनहरूलाई मिलाउन नसकेको जगजाहेर छ । यसको निम्ति गठन गरिएको कार्यदल प्रकारान्तरले शिथिलप्रायः देखिँदै छ । केन्द्रीय तहको गुटगत सोचका कारण कार्यदल ‘पङ्गु’ बन्न पुगेको पनि बुझ्न नसकिने विषय होइन । सबभन्दा अहम् तथ्य त यो हो कि फगत निर्वाचन जित्नको निम्ति रातारात पार्टी एकीकरणको घोषणा गरेका थिए तत्कालीन एमाले र माओवादी केन्द्रका सुप्रिमोहरूले । यत्तिका समय बित्दा पनि विधि र व्यवहारगत रूपमा पार्टी एक हुन नसक्नुले यही सिद्ध गर्दछ । र, यसरी पार्टी एकीकरण नै अधुरो र अलपत्र परिरहेको अवस्थामा दुई अध्यक्षबीच टुसाउँदै गरेको मनोमालिन्य बेलाबखतका सार्वजनिक भाषणमार्फत ‘पराकाष्टा’मै पुगेको झल्को दिनेगरी छरप्रस्ट हुन थालेको छ ।

प्रचण्डले मनन गर्नैपर्ने कुरा यो हो कि नेपाली जनता अब कुनै हालतमा द्वन्द्व चाहँदैनन्, द्वन्द्वको धम्की दिने नेतालाई झनै रुचाउँदैनन्, र जबर्जस्ती द्वन्द्वको भुङ्ग्रोमा पार्न खोजिन्छ भने त्यो आगोमा पहिले त्यसका सर्जकहरूलाई नै होमेर खरानी पार्ने मानसिकतामा जनता पुगेका छन् ।

सुरुमै अनुमान, व्याख्या–विश्लेषण र टीका–टिप्पणी पर्याप्त गरिएकै हुन् कि एमाले–माओवादीबीचको मिलन स्वस्थ सोचमा आधारित हुँदै होइन । एक हदसम्म प्रजातान्त्रीकरणको बाटोमा हिँडेको ठानिएको एमाले र ‘कम्युनिस्टीय प्रवृत्ति’बाट रत्तिभर मुक्त नभएको माओवादी एकाएक कसरी एक ज्यान–एक मन हुन सक्छ ? एक भएको घोषणा गरिए पनि त्यो घोषणालाई फुटेको हाँडी जोडिएको रूपमा अथ्र्याउन किन मिल्दैन ? यस प्रकृतिका प्रश्नहरू जो त्यतिबेलै उठे–उठाइएका थिए– समयले ती सवाल स्वाभाविक थिए भन्ने प्रमाणित गरिदिएको छ । किनकि, नेकपाका दुई अध्यक्षबीच उम्लिरहेको अविश्वास र असमझदारीको भाँडो फुटेर छ्यालब्याल भइसकेको छ । नेकपाका नेताहरूले जतिसुकै अस्वीकार गरून्, एकाकार हुने अभिनय जति नै गरून्– अन्ततः दुवैले ढिलो–चाँडो आ–आफ्नै फरक बाटो रोज्ने सुनिश्चित नै देखिएको छ ।

प्रचण्डद्वारा दिइएको ‘माओवादी पुनः जन्मिने र पहिलेको भन्दा भयानक द्वन्द्व मच्चिने’ धम्की ‘डबल नेकपा’का अध्यक्षद्वयबीच पन्पिएको सत्ता–शक्तिको स्वार्थकै उपज भएको प्रस्टिँदै गर्दा आमनेपाली प्रश्न गर्दै छन्– के कोही नेता या व्यक्तिविशेषको स्वार्थ पूरा हुनु या नहुनुसँग सिङ्गै देश र तमाम जनता तड्पिनुपर्ने ? कुनै एक नेताको गलत स्वार्थ पूरा हुन सकेन भने उसका निम्ति सिङ्गै नेपाल द्वन्द्वको भुङ्ग्रोमा होमिनुपर्ने ? यस्तै हो भने यस्ता स्वार्थी र जनघाती नेतालाई नेपालीले किन काँध चढाइरने ?

देशले मात्र होइन, आज सारा संसारले देखिरहेको छ, यी नेता कहाँ थिए कहाँ पुगे ! कस्ता थिए कस्ता भए ! राज्यको सम्पूर्ण शक्ति–सामथ्र्य आफ्नै मुट्ठीमा पारेपछि यिनले तमाम नागरिकको हितमा के–कति गरे अनि आफ्नो परिवार, नातागोता तथा आसेपासेका निम्ति कति जोडजाम गरे ! वर्तमान सरकार गठनको एक वर्ष पूरा हुँदै छ । यसबीच देशले पाएको एउटा अन्तर्राष्ट्रिय पहिचान ‘विश्वकै अब्बल भ्रष्टाचारी मुलुकमध्येको शीर्ष एक’ भन्ने नै हो । नेपाली जनताको शिर झुक्ने यस्तो लज्जास्पद पहिचान दिलाउन नेकपाका अध्यक्षहरू, त्यसमा पनि आफूलाई क्रान्ति र परिवर्तनका नायक दाबी गर्ने प्रचण्डको भूमिका कति रहेको होला– द्वन्द्व मच्चाउने धम्की दिँदै गर्दा उनी स्वयम्ले हेक्का राख्नुपर्ने विषय हो । खासगरी अझ यिनै प्रचण्डले मनन गर्नैपर्ने कुराचाहिँ यो हो कि नेपाली जनता अब कुनै हालतमा द्वन्द्व चाहँदैनन्, द्वन्द्वको धम्की दिने नेतालाई झनै रुचाउँदैनन्, र जबर्जस्ती द्वन्द्वको भुङ्ग्रोमा पार्न खोजिन्छ भने त्यो आगोमा पहिले त्यसका सर्जकहरूलाई नै होमेर खरानी पार्ने मानसिकतामा जनता पुगेका छन् । देश र जनताको यो मानसिकता बुझेर मात्र नेताहरू अगाडि कदम बढाउन् ।