आठौँ राष्ट्रियमा एनआरएन टिमको सहभागिता पक्का

आठौँ राष्ट्रियमा एनआरएन टिमको सहभागिता पक्का


प्रदेश ५ नेपालगन्जमा निकट भविष्यमा आयोजना हुन गइरहेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक एनआरएन टिमको सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट र गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले हालै सहभागिता सम्बन्धमा सहमतिपत्रमा हस्ताक्षर गरेपछि यो कुरा निश्चित भएको हो ।

सहमतिपत्रमा हस्ताक्षर भएपछि पहिलोपटक गैरआवासीय नेपाली खेलाडीले अब राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । विभिन्न कारणले विदेश पलायन हुन बाध्य भएका नेपाली खेलाडीका लागि अब राष्ट्रिय प्रतियोगिता स्वर्ण अवसर हुनेछ । अब यी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सके राष्ट्रको प्रतिनिधित्व गर्न पाउने ढोकासमेत खुलेको छ ।

यसभन्दा अघिका राष्ट्रिय प्रतियोगितामा एनआरएन टिमको सहभागिता हुने चर्चा चले पनि त्यो चर्चामै सीमित भएको थियो । अहिले सहमतिपत्रमा हस्ताक्षर भएपछि राष्ट्रिय प्रतियोगितामा एनआरएनको सहभागिता पक्का भएको हो । आठौँ राष्ट्रिय प्रतियोगितामा एनआरएन टिमले कतिवटा खेलमा सहभागिता जनाउने हो त्यसबारे केही समयपछि टुंगो लाग्नेछ ।