भुइँचालोले जित्यो, तर नेपाल हारेन

भुइँचालोले जित्यो, तर नेपाल हारेन


sportबयासी वर्षपछि पुनः दैवी प्रकोपको निसानामा नेपाल परेको छ । प्रकृतिले भुइँचालोरूपी महाअस्त्र प्रहार गर्दा नेपाल र नेपालीको मुटु छियाछिया भएको छ । नेपालीकोे मानसपटलमा गहिरो चोट लागेको छ । मुलुकभरि सन्त्रास छाएको छ, हाहाकार र कोलाहल मच्चिएको छ । वैशाख १२ गतेको कालो दिनले नेपाल र नेपालीको मान, सम्मान र प्रतिष्ठामाथि धावा बोलेको छ । आमनेपाली विचलित र विस्थापित हुँदै आफ्नै देशमा विरानो बन्न पुगेका छन् । हजारौँले ज्यान गुमाएका छन्, हजारौँ घाइते बनेका छन् । रोदनको पीडाले आँखाको आँसु सुकेर रित्तिसकेको छ । उद्धार र राहतको नाममा केहीले उपचार पाए पनि अन्यले त्रिपाल, दालमोठ र चाउचाउलाई नै मलहमपट्टी सम्झिनु बाध्यता र विडम्बना भएको छ ।
सात दशमलब नौ रेक्टर स्केलको भुइँचालो आफँैमा ‘महाभूकम्प’ थियो । जसको कल्पना गर्दा आकाश–पाताल एउटै भएको अनुभूति हुन्थ्यो भने त्यसको वास्तविक सामना गर्दा नेपाली कत्तिको मर्माहत भएका होलान् त्यसै अड्कल र अनुमान लगाउन सकिन्छ । वर्तमान अवस्थामा यो महाभूकम्पमा परी थुप्रै नेपालीले आफ्ना प्रियजनसँगै आफ्नो सर्वस्व गुमाएका छन् । हिजोसम्म शानमा बाँचेकाहरू अहिले सडकवासी बनेका छन् । वैशाख १२ गते मध्याह्न १२ बजे आएको एक मिनेटभन्दा लामो महाभूकम्पले नेपालीको सुन्दर सपनालाई तहसनहस पारिदिएको छ । जुन आफैँमा कहिल्यै नमेटिने दागको रूपमा चिरकालसम्म रहनेछ । एक मिनेटको अन्तरालमा नेपाल र नेपालीले भोगेको यो पीडा अहिले प्रसव पीडाभन्दा पनि पीडादायक बनेको छ । जुन पीडाबाट बसेको खत भविष्यमा कसरी मेटिएला त्यो अहिले चिन्ताको विषय बनेको छ ।
आफन्तको विछोडमा यतिबेला लाखौँ नेपालीका आँखाका आँसु रित्तिएका छन् । कति अहिलेसम्म पनि भग्नावशेषमा पुरिएका छन् भने कतिको प्राणपखेरु उडिसकेको छ । बाँचेकाहरू घरवारविहीन भएर सडकवासी बनेका छन् । उनीहरूलाई यतिबेला गाँस, बास, कपास र उपचारले गाँजेको छ । सरकार र दातृ राष्ट्रहरू राहत र उद्धारका लागि दिनरात खटे पनि त्यो हात्तीको मुखमा जिरा मात्रै बनेको छ । स्थिति भयावह बनेको छ भने महामारीको सन्त्रास अर्को चुनौती थपेको छ । यस्तो विषम र जटिल अवस्थामा पीडितहरूको लागि हात फैलाउनुबाहेक अर्को विकल्प बचेको छैन । उनीहरू बाँच्नका लागि पहिले एउटा त्रिपालको व्यवस्था गर्न सरकार र सहयोगकर्तासँग दश औंला जोरेर गुहार मागिरहेका छन् । अफसोच, कतिलाई भाग्यले साथ दिएको छ भने कति अहिले पनि त्रिपालकै लागि बिन्तीभाउ गरिरहेको अवस्था छ ।
महाभूकम्पकै कारण मुलुकले ऐतिहासिक धरोहरको विनाशको सामना गर्नुपरेको छ । धरहरा ढलेको छ, न्यातपोल लडेको छ, काष्ठमण्डप टुक्राटुक्रा भएको छ, स्वयम्भू र बौद्ध स्तुपामा चिरा परेको छ भने अन्य धार्मिक र सांस्कृतिक सम्पदा भग्नावशेषमा परिणत भएका छन् । यसरी सयौँ वर्षको इतिहास बोकेका धरोधरहरू एक मिनेटमै विश्वमानचित्रवाट एकाएक हराएका छन् । क्षति धेरै ठाउँमा भएको छ, गाउँका गाउँ विलय भएका छन् । एक मिनेट अगाडि सँगै खाना खाएका र खेलेकाहरू पनि सदाका लागि विछोडिएका छन् । प्राकृतिक प्रकोपको यो ताण्डवको अगाडि अहिले सबैले निरीह र विवश बन्नुपरेको छ । कसैलाई दोष लगाउने ठाउँ छैन । केवल यो प्रकोप र कहरको सामना गर्नुबाहेक अर्को विकल्प छैन । यतिबेला धैर्यधारण र आत्मसात् गर्नु पहिलो मन्त्र बनेको छ । रोएर, कराएर, गाली–गलौज र आरोप–प्रत्यारोप गरेर समस्याको समाधान नहुने भएकाले सामान्य जीवनमा फर्कनु नै बुद्धिमानी हुने देखिन्छ ।
महाभूकम्पको प्रकोपबाट नेपाली खेलकुद पनि अछुतो रहेन । दशरथ रंगशालाको मूलगेट लडेको छ, रंगशाला चिरिएर धाँजा परेको छ । रंगशाला परिसरमै रहेको पौडीपोखरीमा ठाउँठाउँमा चिरा परेर काम नलाग्ने भएको छ । कीर्तिपुरको क्रिकेट मैदानको दक्षिणतर्फको पर्खाल पूरै लडेको छ । टेनिस कोर्टको पर्खाल भत्किएको छ भने प्यारापिटमा चिरा परेको छ । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्को मुख्य कार्यालयको भवनमा पनि ठाउँठाउँमा चिरा परेको छ भने सेमिकभर्डहलको पर्खाल लडेको छ । यीबाहेक भूकम्पबाट देशभरि भएको क्षतिको प्रस्ट जानकारी आएको छैन । यही कुरालाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले विभागीय प्रमुख मदनजंग राणाको संयोजकत्वमा विपत् व्यवस्थापन समन्वय समिति गठन गरेको छ । समितिले केन्द्र, क्षेत्र र जिल्ला खेलकुद विकास समितिअन्तर्गत रहेका खेलकुदका भौतिक संरचनाको क्षति विवरण तयार पारेर राखेपलाई प्रतिवेदन बुझाउनेछ । स्मरण छ, राखेपका भौतिक पूर्वाधारहरू पचहत्तरै जिल्लामा रहे पनि समितिले महाभूकम्प प्रभावित जिल्लाहरूमा मात्रै केन्द्रित रहनेछ । राखेपका अनुसार महाभूकम्पका कारण थुप्रै जनधनको क्षति भएकाले त्यसको निराकरण गर्न समिति गठन गरेको जनाएको छ । त्यस्तै विनाशकारी महाभूकम्पबाट पीडित उपत्यकाका तीन जिल्लामा उद्धार तथा राहत कार्यमा सशक्त रूपमा सहयोग गर्न राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, कर्मचारी, खेलाडी, राष्ट्रिय खेल सङ्घका पदाधिकारीलगायत समावेश श्रमदान स्वयम्सेवक टोली पनि तयार गरिएको छ । गठनसँगै सो टोलीले त्रिपुरेश्वरस्थित राखेप हाताभित्र भूकम्पले क्षति पु¥याएको राष्ट्रिय खेलकुद परिषद्को भैतिक पूर्वाधरको सरसफाइ गरेको छ । सरसफाइमा राखेप सदस्यसचिव युवराज लामालगायतका पदाधिकारी, कर्मचारी, खेलाडी, विभिन्न खेल सङ्घका पदाधिकारीलगायत सहभागिता रहेको थियो ।
यतिबेला भूकम्पले जित्यो, नेपालले हारेन भन्दा अतिसयोक्ति नहोला । साँचो रूपमा महाभूकम्पको विश्लेषण गर्ने हो भने भुइँचालोले जितेको अवस्था छ । र पनि महाभूकम्पको जसरी नेपाल र नेपालीले सामना गरे त्यो हारेको अवस्था होइन । भूकम्प जुन उद्देश्यअनुरूप आएको थियो त्यसको प्रभाव र लपेटामा नेपाल र नेपाली परेनन् । यसोभन्दा अहिले भुइँचालोको असर आमनेपालीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नपरेको पक्कै होइन, परेको छ । यहाँ भन्न खोजिएको के हो भने जति यो भूकम्पबाट क्षति हुनुपर्ने हो त्यो भएन । साँचो रूपमा भन्नुपर्दा भूकम्पको प्रभाव यति ठूलो थियो कि त्यो महाविनाशबाट नेपाल जोगिएको छ, नेपालले जितेको छ । अहिले पनि पटकपटक गइरहेको भूकम्पको कम्पनले नेपालीको मनमस्तिष्कलाई बारम्बार विचलित गराइरहेको छ । उनीहरूलाई सामान्य जीवनमा फर्कन अझै पनि भूकम्पले चुनौती दिएको अवस्था छ । यस्तो असमन्जस्यताको अवस्थामा पनि नेपालीले विवेक प्रयोग गर्दै आफूलाई धैर्यताको साङ्लोमा बाँध्दै उदारहण प्रस्तुत गरेका छन् । मनमा लागेको कहिल्यै नमेटिने आलो घाउले बारम्बार पोल्दा र पीडा दिँदासमेत उनीहरूले आफूलाई साहसिक रूपमा प्रस्तुत गरेका छन् । जुन प्रकृतिको प्रकोपको विरुद्धमा एउटा प्रेरणादायी कदम भएको छ । जसले उनीहरूमा बाँच्ने रहर पुनः जागेको छ । पशुपतिनाथले उनीहरूलाई यो विपत्तिमा अझ लड्ने शक्ति प्रदान गरून् ।

खेल समाचार

राहत शिविर बन्यो दशरथ रंगशाला
महाभूकम्पसँगै त्रासदी फैलिएपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला काठमाडौंनिवासीहरूका लागि शिविरमा परिणत भएको थियो । भूकम्पसँगै महानगरमा हाकाकार र कोलाहाल मच्चिएपछि सुरक्षित स्थानका लागि महानगरवासीहरूले दशरथ रंगशालालाई रोजेका थिए । दशरथ रंगशालाको मूलद्वार महाभूकम्पले भत्काए पनि खुला आकाशमुनिको चौर काठमाडौंवासीहरूको सुरक्षित गन्तव्य बनेको थियो । उनीहरूलाई उद्धार गरी रंगशालामा पु¥याउन नेपाली सेनाले अहम् भूमिका खेलेको थियो । सेनाकै पहलबाट उनीहरूले रंगशाला भित्रिने मौका पाएका थिए । रंगशालालाई आमनागरिकहरूले शिविर केन्द्र बनाएपछि राष्ट्रिय खेलाडीहरूले उनीहरूलाई विशेष सहयोग गरेका थिए । त्यसमा राष्ट्रिय कराते खेलाडी कुशल श्रेष्ठ र परशुराम बास्तोलालगायतले पीडितहरूलाई खानपानदेखि बस्नसम्मको उचित प्रबन्ध मिलाएका थिए । रंगशालामा आश्रय लिइरहेका प्रायः पीडितहरू घर फर्किसके पनि केही भने अहिले पनि रंगशालामै रहेका छन् । उनीहरूलाई अहिले पनि भूकम्पको सन्त्रासले छाडेको छैन । अर्को कुरा उनीहरू बस्ने घर र डेरा भूकम्पको धक्काले नराम्रोसँग प्रभावित भएको हुँदा सरकारको उचित पहल कदमीको आशामा बसेका छन् ।

खेलकुद पत्रकार, प्रशिक्षक र खेलाडीलाई पनि छोडेन भुईंचालोले
गत साता गएको ७.९ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष तथा गोरखापत्र दैनिकका खेलकुद पत्रकार सुमन भोम्जनको निधन भएको छ । काठमाडौं, महाबौद्धस्थित भोटाहिटी फलफूल गल्लीमा डेरा गरी बसेको घर भत्कँदा भोम्जनकोे निधन भएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय क्लबको निरन्तर खोजी प्रयासपछि भूकम्प गएको आठौँ दिन वैशाख १९ गते शनिबार बिहान १०ः३० बजे उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।
मकवानपुर जिल्ला पदमपोखरी गाविस– ५ मा ०४२ साल जेठ २१ जन्मेका भोम्जनले ०६४ सालदेखि मकवानपुरबाट प्रकाशित नारायणी दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । ०६६ मा नेपाल एफएममा काम गर्न थालेका भोम्जन ०६८ सालदेखि गोरखापत्र दैनिकमा खेलकुद पत्रकारका रूपमा कार्यरत थिए । उनका एक दाइ र दुई बहिनी छन् । उनको निधनप्रति दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्चले गहिरो दुःख प्रकट गर्दै स्वर्गीय आत्मको चिरशान्तिको कामना गरेका छन् ।
त्यस्तै, महाभूकम्पमा परी राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ मुख्य भलिबल प्रशिक्षक केशवलाल श्रेष्ठको निधन भएको छ । उनको भूकम्पको त्रासले आफ्नै घरबाट हाम फाल्दा दुःखद निधन भएको हो । उनको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले समवेदना प्रकट गर्दै विशेष सहयोग गर्ने जनाएको छ । यसैगरी कराते खेलाडी चन्द्रकुमार श्रेष्ठको भूकम्पमा परी ज्यान गएको बालाजु कराते डो प्रतिष्ठान नेपालका अध्यक्ष ध्रुवविक्रम मल्लले जानकारी दिएका छन् । चार डान प्राप्त खेलाडी श्रेष्ठको कपनमा घर भत्किँदा भग्नावशेषमा पुरिएर निधन भएको हो । त्यस्तैै, एसियाली खेलकुद प्रतियोगितामा कास्य पदक विजेता दीपक महर्जनले आफ्ना परिवारका चार सदस्यलाई गुमाउनुपरेको छ । महाभूकम्पमा परी मातातीर्थस्थित उनको घर पूर्ण रूपमा क्षति भएपछि दीपकका आमा, दाजु, भाउजू र भतिजीको निधन भएको हो । प्राप्त जानकारीअनुसार भूकम्पका बेला अन्य सदस्य भाग्न सफल भएका थिए ।

ज्यान जोगियो लाकौलको
त्यस्तै महाविनाशकारी भूकम्पको चपेटामा नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घ नेपालका अध्यक्ष समज्ञ लाकौलको तीनतले घर पनि परेको छ । भूकम्पको धक्काले उनको घर चिराचिरा परेर कुनै पनि वेला भत्किन सक्ने अवस्थामा पुगेको छ । महाबौद्धस्थित उनको घर भूकम्पको प्रभावमा पर्दा लाकौलको ज्यान भने जोगिएको छ । उनलाई टाउको र हातको औँलामा सामान्य चोट लागेको छ । भूकम्प जाँदा घरमै रहेका लाकौलले भागेर ज्यान जोगाएका थिए । उनको घर भूकम्पले ध्वस्त पारे पनि उनको सम्पूर्ण परिवार सकुशल रहेको लाकौलले जानकारी गराएका छन् । भूकम्पका कारण आफ्नो घर छोड्न बाध्य भएका लाकौल अहिले आफन्तको शरणमा पुगेका छन् । आफ्नो घर जोखिममा पर्दासमेत लाकौल उद्धार र राहत कार्यमा सक्रिय भएर लागेका छन् । पत्रकार सुमन भोन्जनको उद्धार र खोजीकार्यमा उनले अहम् भूमिका निभाएका थिए ।

साङतारीका पीडितलाई राहत सामग्री
गत शनिबार गएको विनाशकारी भूकम्पबाट काठमाडौं पूर्वी क्षेत्र साङतारीका अति प्रभावित क्षेत्र तामाङबस्तीका करिब ४० परिवारलाई राहत सामग्री वितरण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, मिसेस नेपाल रजनी थापा तथा नेप्लिज कम्युनिटी, यूके, बेसिङ स्टोक मिलेर सामग्री वितरण गरेको कार्यक्रम संयोजक एवम् नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
सो राहत वितरणमा पीडित प्रत्येक परिवारलाई १ बोरा चामल, १ प्योकट नुन, १ प्याकेट तेल, खुर्सानी, बेसार, त्रिपाल, बिस्कुट, चाउचाउ, कपडा, भुजियालगायतका सामग्री प्रदान गरिएको थियो । त्यस्तै भूकम्पमा परी ज्यान गुमाएकी सो क्षेत्रकी कुमारी तामाङका परिवारलाई खेलाडी सङ्घका उपाध्यक्ष केदारेश्वरमान स्थापितले आर्थिक सहयोगस्वरूप पाँच हजार रुपैयाँ प्रदान गरेका थिए । स्व. कुमारीका पति गणेश तामाङलाई स्थापितले सो रकम हस्तान्तरण गरेका थिए ।
राहत वितरण कार्यक्रममा खेलाडी सङ्घका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठ, पर्वतारोही सञ्जय पण्डितलगायतको सहभागिता थियो । यसअघि नेप्लिज तेक्वान्दो एकेडेमीले साँखु, आलापोट र जर्सिङपौवाका भूकम्पपीडितलाई पनि राहत सामग्री वितरण गरेको खड्काले जानकारी गराएका छन् ।

भूकम्पपीडितलाई राखेपको आर्थिक सहयोग
वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट सिर्जना भएको राष्ट्रिय विपत् व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक सहयोग प्रदान गरेको छ । राखेप सदस्यसचिव युवराज लामासहित राखेपअन्तर्गत कार्यरत सम्पूर्ण एक हजार सात कर्मचारीहरूको तलब कट्टा गरी ३८ लाख ७० हजार ९३ रुपैयाँ ४६ पैसाबराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
नेपाल सरकारका सचिवहरूको वैशाख १४ गतेको निर्णयबमोजिम गर्ने गरी सदस्यसचिव लामालगायत राखेप कर्मचारीहरूको वैशाख १६ मा भएको सामूहिक निर्णयानुसार परिषद्अन्तर्गत कार्यरत कर्मचारीहरूको तलबबाट कट्टा गरी सो आर्थिक सहयोग कोषमा जम्मा गरिएको हो । विशिष्ट श्रेणीको १५ दिन, सहसचिव र उपसचिवको १० दिन तथा बाँकी श्रेणीका कर्मचारीहरूको पाँच दिनको तलब कट्टा गर्ने निर्णय भएको थियो ।
त्यस्तै विनाशकारी भूकम्पबाट सिर्जना भएको राष्ट्रिय विपत् व्यवस्थापनको सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको केन्द्रीय समन्वय समितिले पाँचै क्षेत्रीय खेलकुद विकास समितिमा हालै उपसमिति गठन गरेको छ । तीन सदस्यीय उपसमितिको संयोजकमा क्षेत्रीय कार्यालय प्रमुख तथा सदस्यहरूमा क्षेत्रीय प्रशिक्षण प्रमुख र क्षेत्रीय लेखा अधिकृत रहेका छन् । क्षेत्रीय उपसमितिले मातहतका जिल्ला खेलकुद विकास समितिमा खेलकुदसँग सम्बन्धित मानवीय र भौतिक संरचनाको क्षतिको यथार्थ विवरण सङ्कलन गरी सात दिनभित्र केन्द्रीय समन्वय समितिमा पठाउनुपर्नेछ ।