नयाँ पालुवासँगै बिहानीमा– इन्द्रकुमार श्रेष्ठ ‘सरित्’

नयाँ पालुवासँगै बिहानीमा– इन्द्रकुमार श्रेष्ठ ‘सरित्’


indreniथुप्रै जोर हातहरू चलायमान छन्
अथक् छ परिश्रम अथक् छन् मनहरू
निष्पट्ट रातलाई आँखाको उज्यालोले चिर्दै
थुप्रै जोर हातहरू पिँजराबाहिर छिराएर
ठङठङको आवाजसँगै चट्टान फोर्ने प्रयत्न गर्छ
बगिरहेछ पसिना खलखल
थकाइ छैन, अन्योल छैन
गन्तव्य भेट्न व्यग्र छन् पाइलाहरू
मनको साँचोले मस्तिष्कमा पाकेको विचारलाई छड्काउँदै
मानवहरूको सभ्य समाजका लागि
एउटा नयाँ बिहानी डाकिरहेछ मध्यरातमा
चट्टान फोर्दा उछिट्टिएका माटाका कणहरू जम्मा गरेर
उभ्याउनुछ विचारको अग्लो पहाड
मानवनिर्मित त्यही मलिलो पहाडमा
म, तिमी र हामी जम्मैजम्मै मिलेर
फुलाउनुछ संसारै उज्यालो पार्ने
अजम्मरी एउटा नयाँ पालुवा
एउटा बिल्कुलै नयाँ पालुवा !