वि.सं. २०७२ को वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ मा नेपालका अधिकांश भूभागमा महाभूकम्प आयो । धेरै धनजनको विनाश भयो । कैयौँ मरे, कैयौँ अङ्गभङ्ग र घाइते पनि भए । मानवीय तुलनामा भौतिक क्षति ठूलो भयो । प्रायसः पुराना संरचना ध्वस्त भए भने नयाँ संरचनाको जग हल्लियो । केही जिल्ला त क्षतविक्षत नै भए । १९९० पछिको सबैभन्दा ठूलो देखिएको महाभूकम्पको प्रलयकारी घटना वर्णन गर्न नै सकिने खालको रहेन । तैपनि हामीले मनलाई धैर्य राख्नुपरेको छ । यस्तो महाविपत्ति कसरी पर्छ ? भन्ने भविष्यको आँकलन गर्न आजसम्म कुनै सिद्धान्तले पनि सक्तैन । विज्ञानमा पनि यो सम्भव छैन । तैपनि यसपल्ट ज्योतिषीय दृष्टिले यसबारे केही लेख्नु सान्दर्भिक ठानेको छु ।
हुन त ज्योतिषमा पनि भूकम्पबारे कतै व्याख्या गरिएको पाइँदैन । विशेष गरी शनि–मंगल ग्रहको जलराशिमा अवस्थिति भई परस्पर दृष्टि पर्न गएमा वा सबै ग्रहको विपरीत दृष्टि भएमा यस्ता उपद्रवकारी घटना पर्न सक्ने सम्भावना रहन्छ । वि.सं. १९९० को माघ २ गते पनि शनि, सूर्य, मंगल र राहु जलचर राशिमा रहेको एवम् नवमांशमा पनि शनि, मंगल कर्कटमा भई मकरको सूर्यसित परस्पर दृष्टि परेकाले यस्तो भूकम्प भएको देखिन्छ । यसपल्ट सूर्य, मंगल, बुध मेषमा, चन्द्र–गुरु कर्कमा, शुक्र वृषमा र वृश्चिकमा रही मंगलको दृष्टि गुरुमा, गुरुको दृष्टि शनिमा, शनिको दृष्टि शुक्रमा परेका र लग्न पनि जलराशि नै पर्न गई लग्नमा मंगलग्रहको पूर्णदृष्टि परेको छ । यसपल्ट शनि बक्री र शुक्र अस्त हुनलागेको अवस्थामा यस्तो घटना भएको हो ।
ज्योतिषीय दृष्टिले हेर्दा १९९० मा सूर्य, शनि र मंगल मकर राशिमा, कन्याको गुरुको पूर्णदृष्टि रहेको देखिन्छ भने यसपल्ट चन्द्र, गुरु जलराशि कर्कमा रही जलराशि वृश्चिकमा रहेको शनिमाथि पूर्णदृष्टि दिइरहेको देखिन्छ । यसरी ग्रहको दृष्टि पर्दा देख्नेले देखिनेको शक्ति लिने हुँदा देखिने ग्रह कमजोर बन्न जान्छ । अर्को अर्थमा भू भनेको पृथ्वी हो, शनि हावा र मंगल तेज वा अग्नि हो । अग्नि र वायुको पृथ्वीसित जब सम्बन्ध हुन्छ, तब यस्ता कम्पनहरू पर्ने गर्छन् । प्रायसः यस्ता घटनामा शनि या मंगल कमजोर, अस्त, बक्री, वेधित वा हीनबलिको भई सूर्यसित सम्बन्ध हुने गर्छ ।
ज्योतिषीय मतमा जब केही मुख्य ग्रहहरू परस्पर सम्बन्धित बन्छन्, तब वायु र अग्निको चाप पृथ्वीमाथि पर्नाले उपद्रवका घटना बढ्न जान्छन् । पहिले पनि सूर्यभन्दा मंगलको अंशा बढी भई शनि अस्त तथा यसपल्ट पनि सूर्यको अंशभन्दा मंगलको अंशा बढी भई शनि बक्र हुँदा महाभूकम्प भएको देखिन्छ । अहिलेसम्मको अध्ययनमा जब शनिमाथि मंगलको प्रभुत्व रहन्छ, तब चर्किने खालका र मंगलमाथि शनिको प्रभुत्व हुँदा आँधी, हुरीको प्रकोप, बुधमाथि यस्तो परेमा हैजा महामारी, शुक्रमाथि परेमा भौतिक संरचना, गुरुमाथि परेमा पृथ्वी नै समाप्त बन्नसक्ने खतरा आउँछ । कतिपयको मतमा तिथिको कुरा आउला, तर ज्योतिषीय दृष्टिमा तिथि केही होइन । किनकि ९० सालमा सोमबारेऔंसी परेको, तर यसपल्ट वैशाख शुक्ल सप्तमी परेको हुँदा तिथिको यहाँ कुनै अर्थ नरहेको देखिन्छ । ९० सालमा मंगल श्रवण (जलनक्षत्र) मा बसेको छ भने यसपल्ट रोहिणी (जलनक्षत्र) रहेको छ । ९० सालमा शनि मकर राशिको श्रवण नक्षत्रमा, मंगल पनि सोही राशि र नक्षत्रको भई सूर्यमाथि दबाब दिइरहेको छ भने अहिले पनि सूर्यमाथि मंगलको प्रभुत्व रहेको देखिन्छ । सामान्य अर्थमा पनि पृथ्वीमुनिका वाफका कणहरू बाहिर निस्कने क्रममा कम्पन हुन्छ । केही वैज्ञानिक भनिनेहरूचाहिँ पृथ्वीको प्लेट (सतह) हलचल गर्नाले भूकम्प हुन्छ भन्छन्, तर पृथ्वीको प्लेट यस्तो वस्तु हो जो अलिकति मात्र हल्लिएमा संसारै ध्वस्त हुन्छ । यसर्थ यो विज्ञानवादको तर्क पनि त्यति पत्यारिलो लाग्दैन ।
यसपल्ट सूर्य १० डिग्रीमा छ, मंगल २३ डिग्रीमा, ९० सालमा सूर्य १ डिग्रीमा र मंगल २१ डिग्रीमा रहेको छ । आधुनिक ज्योतिषशास्त्रमा कुनै पनि ग्रह मंगलको डिग्रीभन्दा कम भएमा स्वतः कमजोर बन्न जान्छ । मंगल बलि भए अग्नि र शनि बलि भएमा हावाको चाप पृथ्वीमाथि पर्दा विभिन्न उपद्रवका घटना हुन्छन् । यसर्थ पनि मंगललाई महीसुत (पृथ्वीपुत्र) र शनिलाई सौरी (सूर्यपुत्र) को संज्ञा दिइएको हो । पृथ्वीमा बाढी, पहिरो, भूक्षय, भूस्खलन आदि प्रकोपहरू भइरहन्छन् । कतिपय हाम्रा कारणले पनि विनाशको परिस्थिति आउँछ । हामीमा चेतना कम हुँदा पनि यसमा धेरथोर प्रभाव पर्नजान्छ । प्रकृतिको कुनै विपत्ति रोक्ने कसैको तागत छैन, तर चेतनाले कम तथा बेसी गराउन सक्छ । यसर्थ हामीले कसरी सुरक्षित हुन सकिन्छ भन्नेतर्पm हेक्का राख्नु जरुरी छ । जब हामी आपूm स्वयम् नै पुराना र थोत्रा बनिसकेका घरमा बस्छौँ भने बढी क्षति हुनु स्वाभाविक छ । धेरैजसो विपत्ति पनि हाम्रा अहम्का कारण नै भएका छन् । यस्तो अहम्का कारण नै संसारमा लडाइँ, झगडा एवम् यस्ता विपत्तिहरू आइलागेका हुन् । हुन त कुनै उपायले पनि भूकम्प रोक्न सकिँदैन, तर त्यसको क्षति वा मानवीय विपत्तिलाई कम गर्न सकिन्छ । सबै कुरा भाग्यमा निर्भर हुने होइन, कर्म पनि ५० प्रतिशत सँगै रहने भएकाले काम गर्दा विचार पु¥याउनु आवश्यक छ ।
भूकम्प नै त नभनौँ, अन्य कुनै महाविपत्ति आगामी जेठ महिनामा पनि पर्नेछ । जेठ महिना पनि सूर्य, मंगलसँगै रही सप्तमको बक्री शनिमाथि पूर्णदृष्टि पर्ने हुँदा विशेष होस गर्न आवश्यक छ । घर बनाउँदा बलिया र होचा, सकेसम्म काठ वा माटाका भएमा बढी भार पर्दैन । जति भार कम हुन्छ, त्यति नै हामी सुरक्षित हुन्छौँ । सरकारले पनि काठमाडौंलगायत सहर र गाउँलाई सुरक्षित राख्न अहिलेका अग्ला घरलाई २ वा ३ तलामा झार्न लगाउनुपर्छ, अन्यथा सुरक्षाको कुनै विकल्प हुनेछैन । अन्तमा, भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित अहिलेलाई यत्ति नै ।
प्रतिक्रिया