गिरिजाप्रसाद राष्ट्रिय हक्कीमा गण्डकी प्रदेश च्याम्पियन

गिरिजाप्रसाद राष्ट्रिय हक्कीमा गण्डकी प्रदेश च्याम्पियन


प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन भएको छ । झापाको भद्रपुरस्थित मेची रंगशालामा फागुन १ गते बुधबार भएको फाइनलमा गण्डकीले नेपाल आर्मीलाई १–० गोलले पराजित गर्दै च्याम्पियन बनेको होे । लिग चरणको भिडन्तमा आर्मीसँग ३–० ले पराजित भएको गण्डकी प्रदेशले फाइनलमा भने बाजी मारेको थियो । उक्त प्रतियोगितामा प्रदेश ७ ले तेस्रो स्थान प्राप्त गरेको थियो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः २० हजार, १५ हजार र ५ हजार नगद पुरस्कार हात पारेका थिए । नगद झापा जिल्ला खेलकुद विकास समितिले प्रदान गरेको थियो । विजयी खेलाडीहरूलाई माननीय ओमप्रकाश सराबगीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको फाइनलमा प्रदेश सभा सदस्य माननीय ओमप्रकाश सराबगी, झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक एआईजी तथा हक्कीका पूर्वखेलाडी अमरसिंह शाह, हक्की संघका केन्द्रीय अध्यक्ष श्री उमेश लाल श्रेष्ठ, सचिव रञ्जन थापा, भद्रपुर नगरपालिका– ८ का वडाध्यक्ष मनोज लिम्बू, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनाली, विभिन्न खेलको प्रशिक्षक, विभिन्न खेलकुद संघका पदाधिकारी, पत्रकार, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।