विनाशकारी महाभूकम्पले सिङ्गो मुलुकलाई शोकाकूल बनाएको करिब दुई हप्ता हुन लाग्दा पनि पीडितमध्येका अधिकांश नागरिकसमक्ष राहत पुग्न सकेको छैन । विपत्तिको एउटा सामान्य नियम भनेको तत्कालै मृतक, घाइते र घरबारविहीनहरूको सही व्यवस्थापन मानसिक र भौतिक रूपमा गर्नु हो । यी कुरालाई समयमा पालना गरिँदैन भने विपत्तिप्रति संवेदनशील नभएको तथा अन्तरआत्मामा त्यो भाव उत्पन्न नभएको बुझ्न सकिन्छ । विपतको समयमा नागरिकको मालिक राज्य हो र राज्यलाई हाँक्ने तपाईं ६०१ सभासद्हरू नै हो । मुलुक हाँक्नेहरूमा लाज, घृणा र इज्जतलाई पालना गर्ने क्षमता हुर्नुपर्दछ । जुन क्षमता, स्वाभाविक रूपमा आउनु अपरिहार्य देखिन्छ र नआएमा झकझकाउने कुनै माध्यम वा संस्था चाहिन्छ । यसरी, तपाईंहरूलाई झकझकाउने अभिभावकीय संस्था भनेको तपार्इं समर्पित राजनीतिक दल हो तापनि तपार्इंहरूमध्ये धेरैमा त्यो गुण नपाइनु महाभूकम्पभन्दा पनि डरलाग्दो पीडाका रूपमा अथ्र्याउन सकिन्छ । राष्ट्रिय विपत्तिको समापन नयाँ नेपाल निर्माणको सुरुवातसँग गर्नका लागि बारम्बार तपाईंहरूलाई झकझकाइरहँदा पनि विपत्तिको समापन गर्ने तपाईंहरूको दायित्वमा चन्द्रग्रहण लाग्ने खतराले सचेत तप्कालाई यतिवेला व्याकुल बनाइरहेको छ ।
ढिलै भए पनि सम्भव हुन्छ भने तपार्इं सबैजनाले नागरिकलाई साथ दिनुहोस् । तपाईंहरूलाई उच्च सम्मानका साथ नागरिकले मानेकै छन् र आफ्नो हैसियतलाई थप गौरवमय बनाउने साहस अनि आफ्नो भाग्यको इतिहास रच्ने मौकाको अवसरलाई मनन् गर्नुहोस् । मुलुकमा आएको भूकम्पपीडितहरूका लागि विभिन्न देशबाट आर्थिक तथा नैतिक सहयोग, विज्ञ, उद्धार टोली आई नै रहेका छन्, तर सबैको अन्तरआत्मामा भूकम्पपीडितहरूलाई दिएको रकम तपाईंहरूले सही सदुपयोग गर्नेमा आशङ्का उत्पन्न गराएको छ । विदेशीहरूले सहयोग गर्नुको कारण मानवजातिले विपत्तिमा गर्ने धर्म मात्र हो । यो समयमा बढ्न नसकेका सहयोगी हात र बग्न नसकेका आँसु अन्य समयमा बढ्न र बग्न सक्दैनन् । सहयोगार्थ रकम भूकम्पका कारण ज्यान गुमाएका, अस्पताल र चौरमा तड्पिरहेकाहरूका लागि हो । कालान्तरमा नेपाललाई विश्वसामु चिनाउने ऐतिहासिक संरचना इमानदारीपूर्वक पुनः निर्माणको जिम्मेवारी पनि तपाईंहरूको काँधमा आएको छ तापनि तपाईंहरूको अतीतका व्यवहारले गर्दा विभिन्नखाले शङ्का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उब्जाइरहेको बुझ्न सकिन्छ । संविधान नदिने, प्राप्त सेवा सुविधा नछाड्ने, सविधानसभाभित्र लडाइँ, झगडा, कुर्सी तोड्नेजस्ता घृणित व्यवहारले अन्तराष्ट्रमा तपार्इंहरू ‘उदाहरणीय’ बनिसक्नुभएको छ । भर्खरकै जाजरकोटमा फैलिएको रोगलाई समयभित्र नियन्त्रण गर्न नसक्नुको अलवा अर्घाखाँचीको जगतमा भएको भयभीत दुर्घटनाको शोकले एक वर्ष पूरा गर्दा पनि मृतक तथा घाइते परिवारलाई चारआना सहयोग उपलब्ध नगराउनुजस्ता सामान्य केशहरूले पनि तपार्इंहरूको असक्षमतालाई सर्वसाधारणसामु सदैव सम्झनामा राख्न विवश तुल्याएको छ ।
विपत्को यो समय केही दिनका लागि हजारौँको सङ्ख्यामा भएको मानवीय नोक्सान, घाइतेहरूको उद्धार र खुला आकाशमुनि बस्न बाध्य बनेका लाखौँ नागरिकको पीडा अनि त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित सङ्क्रमणहरूलाई प्राथमिकता दिनु हो । अरू तपसिलका कुरा हुन् र राष्ट्रको विपत्ति र त्यसको व्यवस्थापनले यही कुरा मात्र अनुभूति गराउँछ । के तपाईंहरू पनि त्यही गर्दै हुनुहुन्छ ? तपाईंहरू स्वयम्ले विचार गर्नुपर्ने कुरा हो । जनताले के चाहन्छन् भन्ने कुरा तपाईंको सरोकारको विषय हो । तर, यी सबै हुनका लागि कमनसेन्स हुनुपर्दछ र कमनसेन्स विवेकशील मानिसमा मात्र पाउन सकिन्छ । भुल्न नमिल्ने कुरा के भने, विद्वान् भन्दैमा वा ठूलो पदमा पुग्दैमा वा जिल्लामा टेक्दैमा विवेकशील हुने होइन । मान्छेको बोली–व्यवहार, चालचलन, काम गराई र दैनिक आचरणले यी सवै प्रस्तुत गरेको हुन्छ । यो विपत्को समयमा तपाईं ६०१ सभासद्हरू, मुलुकका प्रशासकहरू, देशका अभिभावकहरू के–के गर्दै हुनुहुन्छ ? आमनागरिकको चासोको विषय हो ।
लाखौँलाख नागरिकको भौतिक र मानसिक नोक्सान भएको सन्दर्भमा तपाईंहरूको योगदान के त ? जान्ने अधिकार छैन भने पनि सही । तर, दुई हात जोडेर पीडितहरूले कल्पना गरिरहेका छन् कि मेरा देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री, भूपूप्रधानमन्त्री तथा मन्त्रीहरू र सभासद्हरू हामीलाई मलमपट्टी लगाउन कहिले आउनुहुन्छ ? हाम्रोबारेमा कहिले आपतकालीन गोष्ठी गर्दै हाम्रो सेवा गर्नुहुन्छ ? तर, सेवाको नाममा तपाईंले लिँदै आउनुभएका सुविधाहरू कटौती नगर्नुहोला, किनकि त्यो माग कसैले गरेका छैनन् । बरु सम्भव हुन्छ भने तपार्इंहरू इमानदार भइदिनुस् र प्राप्त सहयोगार्थ रकममा गिद्धे दृष्टि नलगाउनुस्, लगाउन पनि नदिनुस् । तपाईंलाई यतिबेला आमनागरिकले अस्पतालमा देख्न चाहेका छन् । खुला चौरमा बलिन्द्र आँसु बगाउँदै रात र दिन कटाएकाहरूको बीचमा देख्न चाहेका छन् । चौरमा सुत्केरी बनेकाहरू र आफ्नो परिवार रित्याएर भावशून्य बनेकाहरूले तपार्इंहरूबाट माया खोजिरहेका छन् । तपाईंहरूलाई ठूलो मान्छे बनाउने नागरिक नै भएको कारण तपाईंको इमानदारिता र उपस्थिति नै सबैका लागि काफी हुनेछ । कागजी हस्ताक्षरमा तपाईंहरू व्यस्त हुनुहुन्छ भने त्यो जिम्मेवारी प्रधानमन्त्री सुशील कोइरालालाई दिनुहोस्, किनकि उहाँ अलिकति वृद्ध र असक्त पनि हुनुहुन्छ । तर, तपाईं खुला चौरमा आउनुहोस् ।
तपाईं पदीय रूपमा आउनुहोस् वा नागरिकको छोरा बनेर, तर तपाईं आउँदा चहराइरहेका घाउहरूमा मल्हम लगाउने किसिमले आउनुहोस् । यो समय हजारौँको नभई लाखौँको मनोबल उकास्ने समय हो । शोकलाई शक्तिमा बदल्ने नारा मात्र समस्याको समाधान होइन । कहिलेकाहीँ विपत्तिले पनि राष्ट्रको मुहार फेर्ने सहयोग गरेका इतिहास विश्वभर रहेका छन् । तपाईंको आगमन र इमानदारी नयाँ तथा ताजकीपनको महसुस हुँदै नयाँ नेपाल निर्माणका लागि सुनौलो अवसर बन्नेछ । प्रत्येक भूकम्पपीडितहरूको घरमा चुलो नबलुन्जेलसम्म संविधानसभामा नजाने निर्णयका साथ तपाईं चौरमा निस्कनुस् । के तपाईंहरू योभन्दा पनि ठूलो विपत्तिको पर्खाइमा हुनुहुन्छ ? सत्र हजारको ठूलो विपत्ति पनि त हामीले सामना गरिसकेको हो । कमनसेन्सको प्रयोग गरेर मुलुकको मुहार फेर्ने हिम्मत गर्नुहोस् । नेपाली क्रान्तिका नायकहरू, भूपूप्रधानमन्त्री देउवा, प्रचण्डदेखि झलनाथसम्म, कमल थापादेखि केपी ओलीसम्म तपाईंहरू चौरमा आउनुहोस् र मर्न परे पनि भूकम्पजस्तो धर्ती हल्लाउने मृत्यु रोज्नुहोस् । यसरी आउँदा धेरै सुरक्षा लिएर नआउनु होला किनकि तपाईंलाई सुरक्षा दिन लाखौँ नागरिक चौरमा बसेका छन् । यतिबेला सुरक्षाकर्मीहरूको पनि मुलुकको उद्धारका लागि ठूलो आवश्यकता रहेको छ ।
तपार्इंहरू सामाजिक सञ्जालमार्फत अनेकौँ लोभ र ससुराली रिझाउने कामलाई बिर्सिदिनुहोस् । भूपूप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो ससुराली घर भत्केकोमा फोटो हाल्नुभएको थियो, त्यो पनि ठीकै छ । हिसिला यमी जिन्दावाद भन्न नागरिकलाई गाह्रो छैन । हिजोको दिनमा चुनाव जिताएकै हो । बरु भट्टराईजीले कुन–कुन घरमा बस्न नहुने भन्ने एउटा विशेषज्ञ टोली निर्माण गरेर त्यसको नेतृत्व गर्दै प्रभावित गाउँमा आउनुहोस् । तपार्इंहरू यसरी सबै मोह बिर्सेर भूकम्प प्रभावित गाउँमा आएर बस्नुभयो भने हिसिलाजीका जस्ता पुराना माइतीघरको ठाउँमा लाखौँ नयाँ घर बन्नेछन् । तीमध्ये एउटा रोजेर सबैभन्दा पहिला तपाईं डा. भट्टराईले लिनुहोला । बेलाबखतमा झण्डा लिएर सडकमा आगो बाल्ने तरुण दल, युवा सङ्घ, वाईसीएल कता हुनुहुन्छ ? तपाईंहरू पनि भूकम्प प्रभावित क्षेत्रहरूमा आउनुहोस् । भूपूआर्मी र प्रहरीका उच्च पदाधिकारीहरूसँग भएका विपत्का योजनाहरूको अनुभव लिएर तपार्इंहरूले पनि आफ्नो कर्तव्य पूरा गर्ने अवसर नगुमाउनुहोस् । मुलुकमा यतिबेला नभत्किएको घर र नरोएको व्यक्ति पाउन दुर्लभ भएको अवस्थामा तपाईं नै यो देशका ठूला–ठूला नियुक्ति लिने व्यक्तित्व हो । यतिबेलासम्म बेखबर बनेका नागरिकहरूले राहत कहाँबाट पाउने हो ? अपुग औषधि कहाँबाट र कसरी पाउने हो ? विपत्तिको समयमा अपनाउनुपर्ने र राज्यबाट गर्नुपर्ने दैनिकी सेड्युल कहाँ घोषणा भए ? यी सबै योजना कहिले बन्ने हुन् वा बनिसके ? यसबारे विस्तृत जानकारीका लागि पनि तपाईंहरू चौरमा आउनु उपयुक्त देखिन्छ । जसबाट विगतका समयमा भए–गरेका कुकर्महरू पनि नष्ट हुन गई पुनः नयाँ नेपालको निर्माण हुने कुरामा अपेक्षा गर्न सकिएला ।
(हाल जापानमा रहेका त्रिविका उपप्राध्यापक डा. अम्बरिश पोखरेलबाट प्रेरित हुँदै)
प्रतिक्रिया