दैव पनि कति धेरै निष्ठुरी बन्न सक्दा रहेछन् । ती निर्दोष जीवनहरू हरिएका छन् । नेपालआमा रोइरहेकी छिन् । दैवको नियति व्याख्या गर्न अहिले मसँग कुनै साहस छैन पनि । भर्खरै जीवनयात्राका लागि प्रण गरी खुला आकाशमा आफ्ना सपना र आशाहरू खेलाइरहेका नवजोडी पुरातात्िवक धरोहरसँगै ढले । शान्ति र समृद्धिको कामना गरिरहेकाहरूको जीवनको इहलीला धार्मिक कार्यक्रमसँगै अन्त्य भयो । समाज निर्माण्ँका लागि बहस गरिरहेका आशातीत सिङ्गो समुदाय नै छलफल कार्यक्रमसँगै अस्ताए । बुबा–आमालाई पर्खिरहेका लालाबालाहरू, दुःखजिलो गरी बालबच्चा र परिवारको आहारा खोज्न गएका बुबा–आमा, प्राकृतिक नियमसँगै समयानुकूल जीवन प्रतीक्षारत वृद्धवृद्धाहरू, नाता–कुटुम्बसँगै आफ्नै संसारमा सयर गरिरहेका थुप्रै परिवार र समुदायलाई त्यही दैवको नियतिले हरण ग-यो । बाँकी जीवनभर बिर्सनै नसक्ने पीडा बोक्नुपर्ने गरी बनाइएका पीडित र दैवले बनाइदिएका अपाङ्गता र सहाराविहीनका व्यथा संसारका शब्दचित्रमा उल्लेख गरेर साध्य छैन ।
यस दुःखद् घडीमा संसारभर रहेका नेपाली–परिवारका सदस्य मात्र नभई एउटा नेपालीको नाताले मात्र नभई, मानवताको नाताले मात्र पनि नभई एउटा सानो तर प्राकृतिक रूपमा सुन्दर देशप्रतिको सद्भावसँगै संसारभरका देश र सम्पूर्ण मानव समुदायले उत्तिकै चासो र मायाका साथ दुःख साटिरहेको देख्दा हामी एक्लै रहेनछौँ भन्ने अनुभूति छातीभित्र गुम्सिइरहेको छ ।
मेरो परिवार र केही नेपाली दाजुभाइ–दिदीबहिनी अमेरिकाको यथार्थ ग्रामीण मुटुका रूपमा रहेको एउटा गाउँमा बसिरहेका छौँ । यहाँका के गोरा, के काला, के अन्य समुदायका मानिस, के युवा, के प्रौढ, के वृद्धवृद्धा, हामीलाई नेपाली भनेर नजिकबाट चिन्नेजान्ने सबैले नेपालका बारेमा निकै चासोका साथ सोधिरहेका छन् । पीडा र दुःख व्यक्त गरिरहेका छन्, आफ्ना भगवान्सँग नेपाल र नेपालीको कल्याण्ँका लागि प्रार्थना गरिरहेका छन् । एउटा खुसीको कुरा, संसारभरका अधिकांश सरकार र त्यहाँका जनताले व्यक्त गरिरहेको चासो र गच्छेअनुसार गरिरहेको सहयोगप्रति आभार व्यक्त नगरीरहन सकिँदैन । त्यत्तिकै रूपमा परदेशिएका प्रवासी नेपालीले आफ्नो मातृभूमि र दाजुभाइ–दिदीबहिनीले भोगिरहेको पीडामा सक्दो साथ दिइरहेका छन् । प्रवासी नेपालीले सरकारको गतिहीनता, अव्यवस्थापन, गैरजिम्मेवार अभिव्यक्ति र सुस्तताप्रति बोल्ने अधिकार राख्छन् कि राख्दैनन् ? म भन्न सक्तिनँ । तर, आफ्नो मातृभूमि र नेपाली समुदायप्रति प्रवासीले देखाएको चासो, चिन्ता र सक्रियताको तुलनामा नेपाल सरकारको भूमिका र तौरतरिका अत्यन्तै दुःखलाग्दो छ ।
अहिले मुलुकमा सरकार छ कि छैन भन्ने खालको भान परिरहेको छ । यस्तो विपत्मा सरकारले चाल्नुपर्ने आर्थिक समन्वय र सर्वत्र समन्वयात्मक क्षमता गुमाइसकेको देखियो । सत्तालिप्सा, भ्रष्टाचार, अनियमितता, मनपरीतन्त्र र सत्ताको आडमा गरिने दुस्चक्रले मुलुक ध्वस्त र खोक्रो भइसकेको रहेछ । हिजो हामी वातावरणीय पत्रकारिता गरिरहँदा तत्कालीन सरकारलाई भूकम्पको सम्भावना, पूर्वतयारी र बच्नका लागि आवश्यक स्रोत–साधन र अवस्थाबारे सञ्चार वकालत प्रतिवेदन तयार पारी गराइएका ती प्रतिवेदन कहीँकतै दराजमा थन्किइरहेका होलान् । मापदण्ड र सरकारी नीति–नियम निष्क्रिय भएकाले होटलहरूले अव्यवस्थित रूपमा जमिनबाट पानी तान्ने र सहरमा अव्यवस्थित घर निर्माण्ँको क्रम बढ्यो । सरकारको रवैया, सत्तालिप्सा र भ्रष्टाचारले एकातिर सीमा नाघिरहेको थियो भने अर्कोतिर शक्ति र नेपालआमाको पवित्रतालाई भजाएर प्रतिवेदन बनाई तारे होटलहरूमा गोष्ठी गरेर नेपालका महत्वपूर्ण गोप्य संयन्त्रहरू बेचिखाने प्रवृत्ति र समुदायले मुलुक खोक्रो बनाइसकेको बल्ल थाहा भयो ।
हिजो पञ्चायतकालमा विकासका नारा र पैसाको खोलो बग्दा पुलहरू निर्माण हुन्थे, तर पानीमुनि पुल । प्रजातन्त्र आइसक्दा पनि असार मसान्त आउन लागिसकेपछि मात्रै बजेट धुजाधुजा पारेर खाने प्रवृत्ति, बाटो निर्माण गर्दा भोलिपल्टै भत्किने, भवन निर्माण गर्दा कच्ची र कमसल सामग्री प्रयोग गरी खाने, अण्डा र पाउरोटीको नाममा पैसा सिध्याउने, गरिबलाई चामल बाँड्दा बालुवा मिसावट गर्ने, बजेट नै झ्वाम्म पारी कागज र बिलमा मिलाएर खाने समुदायहरू तथा पुरुष सांसदले सुत्केरी भत्ता खाने तथा सुरा–सुन्दरी प्रयोग गरी सत्ता टिकाउनेजस्ता खेलहरूका कारण मुलुक खोक्रो र ध्वस्त जस्तै भइसकेछ ।
अर्कोतिर सामाजिक कामका लागि खोलिएका हजारौँ विकासे संस्थाहरू, विविध स्वार्थले मुलुकमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरू गरिबका तस्बिर बेचेर खान पल्किए । उनीहरू गरिब जनताका जनजीवनलाई उकास्नेभन्दा केवल प्रतिवेदनमा सिंगार–पटार गरिखान पल्किए । विकासका नाममा केवल प्रतिवेदन र परामर्शमा सीमित जनताका राहत र विकासका स्रोत–साधनहरू बाटोमै झ्वाम्म बनाइए । त्यस्ता सङ्घसंस्था र प्रवृत्तिलाई पैसामा चोख्याउने प्रवुद्धवर्ग र गरिब जनताको रगत–पसिनामा खेल्न रमाउनेहरू यो दर्दनाक भूकम्पका कारण थप सपना बुनिरहेका होलान्, कल्पना गरिरहेका होलान् र प्रतिवेदनका लागि चाहिने तस्बिरहरू खिच्दै होलान् । सञ्चारमाध्यममा आइरहेका दर्दनाक पीडाका समाचारहरू काटेर सङ्कलन गर्दै होलान् । संसारभरबाट ओइरिरहेका आर्थिक स्रोतलाई खल्तीमा भरेर कमाउने उद्देश्यका साथ गोष्ठी, तालिम र परामर्श प्रतिवेदन तयार गर्नका लागि बजेट बनाउँदै होलान् । विदेशमा रहेका अनुदानदाता संस्थाहरूसँग सम्पर्क गर्दै होलान् र पीडित जनताका आँसुले भिजेका आँखाहरू खिच्दै होलान् ।
दैवले ठगेकाहरू सहराविहीन छन् । बस्नका लागि न बास छ न घर बनाउन पैसा नै । न त उनीहरूसँग बोल्ने र सपना बुन्ने शक्ति र सामथ्र्य नै छ । उनीहरू बेसहारा छन्, दुःखी छन् र आफूलाई धिक्कार्दै छन् । कतिपय विकासे संस्थाहरू यी बेसहाराहरूको दुःख र पीडालाई विकासे प्रस्ताव तयार पार्न तयारी विज्ञहरू खोज्दै होलान् । यस्तै नियति हिजो थियो, आज छ र भोलि पनि रहनेछ ।
समस्या ‘बूढी मरी’ भन्नेभन्दा पनि ‘काल पल्क्यो’ भन्ने हो । देशले यस्तै नियति अहिले पनि भोगिरहेको छ । भूकम्पपीडितहरूले भोलि पनि यही नियति नभोग्लान् र उनीहरू केवल पाँचतारे होटलहरूमा हुने गोष्ठीका सहभागीका रूपमा मात्रै ननिम्त्याइएलान् भन्न सकिन्न । उनीहरूका तस्बिर विश्वका दाताहरूका टेबल–टेबलमा, कम्प्युटर–कम्प्युटरमा र इमेलहरूमा केही दिनमै पुग्नेछन् । ती पीडितहरू त्यस्ता विकासे संस्थाहरूका लागि केवल एउटा गतिलो भाँडो बनाइनेछन् । तर, कसले बोल्ने ? जोसँग आज पैसा छ, उसकै बोली बिक्छ । अङ्ग्रेजीमा बोल्छन्, अङ्ग्रेजीमा लेख्छन् । पीडितले न केही बुझ्छन्, न केही थाहा नै पाउँछन् । उनीहरू केवल कसैका तमासे, भजन गाउने भाँडो, विदेश सयर गर्ने माध्यमका रूपमा मात्रै प्रयोग भइरहनेछन् । संसार यस्तै रहेछ । संसारमा सत्जनहरू भएसम्म ठगहरू मर्दैनन् । अब पनि नेपालमा यस्तै स्थिति रहिरहने हो भने न ती पीडितहरूका जीवन सुधारतर्फ लम्किन सक्छ, सुधारतर्फ हिँडे पनि वर्षौं लाग्न सक्छ ।
मुलुक अहिले भग्नावशेषमा परिण्ँत भएको छ । आफ्नो पूर्वरूप अब कहिल्यै प्राप्त गर्न सक्नेछैन । पूर्वरूपमा पुनर्निर्माण्ँका लागि आउने स्रोत र साधनहरूमा धमिरा लाग्नेछ । माकुराहरूले थप जालो बुनिरहनेछन् । ठूला माछाहरूबाट साना माछाहरू सधैँ असुरक्षित भइरहनेछन् । अन्ततः पीडितहरू रोइरहनेछन् । गुमाएका आफ्ना परिवार, घर–सम्पत्तिको सम्झनामा तड्पिइरहनेछन्, तड्पिइरहनेछन् । तड्पाउनेहरू सक्रिय भइरहनेछन् । मेरो हार्दिक आग्रह यो छ कि पीडितहरूका नाममा भित्रिएका जति पनि डलर, स्रोत र साधनको पारदर्शिता होस् । कहाँ, कति, केका लागि के–केमा, कतिले के–कस्तो राहत पाए, त्यो सार्वजनिक रूपमा बाहिर आओस् । पीडितको नाममा ठगहरूको मनमोज र सम्पत्ति जोड्ने अवसर नबनोस् । तर, म भगवान्लाई फेरि दुई हात जोड्छु र प्रार्थना गर्छु– ‘फेरि तिम्रा गलत आँखा त्यो सुन्दर नेपाल र नेपालीप्रति नपरोस् । कृपया, फेरि दुर्भाग्य बनेर यस्तो नियति नदोहो-याइदेऊ ।’
प्रतिक्रिया