महाभूकम्प र आमाको माया – मोहनकृष्ण श्रेष्ठ

महाभूकम्प र आमाको माया – मोहनकृष्ण श्रेष्ठ


bicharवि.सं. १९९० माघ २ को महाभूकम्प आउँदा मेरी आमा १० वर्षकी हुनुहुन्थ्यो । त्यसबेला मखनमा रहेको बाजेको घरको माथिल्लो तल्लामा रहेको दलिन जोडले समातेर बसेको र निकैबेर घर हल्लाएर भूकम्प आफैँ त्राहिमाम भएको कुरा उहाँ कहिलेकाहीँ सुनाउनुहुन्थ्यो । यस सन्दर्भमा गत हप्ता (१२ वैशाख २०७२) मा पुनः ८२ वर्षपछि आएको महाभूकम्पलाई मेरी आमाले फेरि एकपटक अनुभव गर्ने मौका पाउनुभयो । यसपटक आमालाई भूकम्पले सुरुमा निकै तर्साएको भए तापनि पहिलाजस्तो तर्सिएर कुरा गरेजस्तो लागेन । किनकि उहाँ अहिले ९२ वर्षकी भइसक्नुभयो । उहाँले आप्mना छोरा–बुहारीहरू, नातिनातिनीको बारेमा चिन्ता दर्शाउनुभयो । आखिर आमाको मन न ठहरियो !
नेपालमा महाभूकम्प आउँछ भन्ने अनुमान विज्ञहरूले धेरै समय अघिदेखि नै गर्दै आएका हुन् । पछिल्ला केही महिनादेखि त रेडियोले भूकम्प आउँदा अपनाउनुपर्ने सावधानीलगायत अन्य राम्रा कुराहरू लगातार सिकाउँदै आएकै हो । तर, पनि ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पले महाविनाशको ताण्डव देखाएरै गयो । यतिबेला हजारौँ दाजुभाइ–दिदीबहिनीले अकालमै मृत्युवरण गर्नुपरेको खबर हामी सुन्दैछौँ । हजारौँले व्यक्तिगत रूपमा आफन्तहरू गुमाएको पीडा अकल्पनीय ढङ्गले भोग्दै छन् । घरहरू मात्र नभई यसपाला त मुलुकका अमूल्य सम्पदाहरू पनि निकै ध्वस्त भए । मारमाथि झन् ठूलो मार ! प्रकृतिको यो नियति हामी सबै नेपालीले भोग्नुपर्ने नै रहेछ– भोग्यौँ । अब लाग्छ– माता पृथ्वी पनि हाम्रो लापरबाहीप्रतिको असन्तुष्टि र आक्रोश पोखेपछि अलिक शान्त भएकी छिन् । आशा गरौँ, यही नै भएको छ ।
यस्तो महाभूकम्प आउँदा खुसी हुनुपर्ने पक्ष त केही पनि रहँदैन, तर केही पक्षहरू सकारात्मक देखिएको भन्नैपर्छ । यस्तो महाभूकम्प प्रत्येक ८० देखि सय वर्षमा आउँछ भन्ने विज्ञहरूको भनाइ रहेको छ । १ सेप्टेम्बर १९२३ मा टोकियोमा महाभूकम्प आई धेरै मानिस मरेका थिए । सन् १९८० को अन्त्यतिर जापानमा कार्यरत रहँदा महाभूकम्प आउँछ भन्ने पनि एउटा भेटघाटको विषयवस्तु बन्थ्यो । नभन्दै १७ जनवरी १९९५ का दिन महाभूकम्प आयो पनि, तर टोकियो होइन कोबे भन्ने शहरमा । भूकम्प आएपछिको आगजनी तथा कोलाहलको स्थिति म्यानमारमा रहेकाले त्यहाँको टेलिभिजनमा देखेको थिएँ । यसपालि भूकम्प आउनासाथ बिजुली झ्याप्पै निभेकाले आगजनीको घटना सुन्न पाएको छैन । यसले पनि कैयौँ नागरिकको अमूल्य ज्यान बचाएको हुनुपर्दछ । मूल कुरा त यसपालिको शक्तिशाली भुइँचालोले भूकम्प र यसले पु-याउन सक्ने क्षतिप्रति हामीलाई निकै पाठ सिकाएको छ भन्न सकिन्छ ।
अब सबै नेपाली एकजुट भएर हाम्रो प्यारो मातृभूमि नेपाललाई अझ सुन्दर तथा विकसित बनाउनु अपरिहार्य छ । यसमा सरकार, जनता तथा विदेशी मित्रहरूसमेत एकजुट हुनैपर्छ, हुने नै छ । फ्रान्समा राजदूतको रूपमा कार्यरत रहँदा निकै कार्यक्रमहरू गरियो । नेपालका विभिन्न कुराबारे फ्रेन्च तथा अन्य विदेशी मित्रहरूलाई परिचित गराइयो । आप्mनो कुरा राख्ने क्रमको अन्त्यमा नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा सद्भावनाको रिजभ्र्वायर छ भन्न कहिल्यै छुटाइनँ । आज देशमा आइपरेको यस महाविपत्मा स्वदेश तथा विदेशमा राजादेखि रंक, राजनीतिक नेताहरू, कलाकार, व्यापारी, उद्योगपति, अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू सबैले देखाएको सदाशयताले हाम्रो अत्यन्त दुःखित मनमा केही भए पनि मल्हम लगाएको छ भने यसले हामी नेपालीको देश पुनः बनाउनुपर्ने जिम्मेवारीको ऊर्जालाई ह्वात्तै बढाएको छ । पाएको सहयोगलाई सदुपयोग गरी सबभन्दा दीनदुःखी, पीडितहरूलाई पु-याउनु अति आवश्यक छ । ८२ वर्षपछि हामी नेपालीलाई एकपल्ट फेरि यस्तो महाविपत्ति आइप-यो । देशमा दुःखी–पीडित नबन्ने कोही छैन । तर पनि स्वाभिमानी नेपाली पुनः उठ्ने नै छन् । आप्mनो देश बनाउने नै छन् । हामी एक्लै पनि छैनौँ । नेपालीलाई माया गर्ने, सहयोगी हातहरू विदेशमा पनि अनगिन्ती छन् ।

अन्तमा, व्यक्तिगत तवरमा मैले प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा आफूले सकेको रकम सहयोगको रूपमा जम्मा गरेँ । म सबै हाम्रा कूटनीतिक क्षेत्रका अग्रजहरू तथा सम्बन्धित सबैलाई यस दैवी प्रकोपको दुःखद् घडीमा आफूले सकेको मद्दत पु-याई अत्यन्त आहत भएका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनी, आमाबुबा सबैलाई केही भए पनि राहत पु-याउन सकेमा राम्रो हुने अनुरोध गर्दछु ।
(लेखक फ्रान्सका लागि पूर्वराजदूत हुन् ।)