– डा. अम्बरिश पोख्रेल र डा. भगवती कुँवर पोख्रेल
हाम्रो देश वरपर भएका भूकम्पीय तथ्यहरू केलाउँदै नेपालका दिग्गज भूगर्भविद् डा. श्रीकमल द्विवेदी, डा. मातृका कोइरालादेखि प्रोफेसर डा. रञ्जनकुमार दाहाल सटिक रूपमा भन्नुहुन्छ कि गढवालमा सन् १८०३ मा ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको लगभग सय वर्षपछि गढवालभन्दा पश्चिम काँगडालाई केन्द्रबिन्दु बनाएर सन्् १९०५ मा ७.८ रेक्टर स्केलको भूकम्प गयो । पूर्वीनेपालको उदयपुरलाई केन्द्रबिन्दु बनाएर सन्् १९३४ मा ८.४ रेक्टर स्केलको महाभूकम्प गयो भने सन्् १९५० मा असामलाई केन्द्रबिन्दु बनाएर ८.६ रेक्टर स्केलको भूकम्प गएको भए पनि पश्चिम नेपालमा भने ठूलो भूकम्प नगएको लगभग लामो समय भइसकेको थियो । त्यही भएर ती वैज्ञानिकहरूले पश्चिम नेपालको क्षेत्रमा लामो समयसम्म भूकम्प नगएको अर्थात् ‘साइस्मिक ग्याप’ रहेको निक्र्योल गरेका थिए । त्यति मात्र नभई पूर्वीनेपालमा केन्द्रबिन्दु भएर गएको १९९० साल (सन्् १९३४) को महाभूकम्पको बेला चलायमान भएको धाँजा (थ्रस्ट) यसअगाडि सन् १२५५ को बेला चलायमान भएको थियो, जुन ठूलो विनासकको रूपमा देखापरेको थियो भन्नुहुन्छ र माथिका आँकडाअनुसार पनि नेपालमा ८० देखि ९० वर्षको बीचमा भूकम्प जान सक्ने देखियो । तर, यो कहिले वा कुन दिन आउने भन्ने कुरा सधँै अनिश्चित थियो । खालि कति प्रतिशत सम्भावना छ भन्ने मात्र भन्न सकिन्छ । अर्थात्, तथ्यहरूले के देखाउँछ भने भूकम्प हुनेवाला छ ।
यहाँ रहेका इन्डियन प्लेट र तिब्बती प्लेटबीचको टकराव नै नेपालमा भूकम्पको मुख्य कारण होे । इन्डियन प्लेट माथितिर सर्दै गरेको छ र त्यो माथितिर सर्दै गर्दा तिब्बती प्लेटले अवरोध सिर्जना गर्ने गर्छ, अनि त्यहाँ डरलाग्दो प्रकारको टकराव सिर्जना हुँदा विशाल शक्ति पैदा हुन्छ । त्यसैको कारणले माथि उल्लेख गरिएका महाभूकम्प आउने गरेका हुन् । त्यो टकरावको गति के–कति छ भनेर खोजी गर्ने काम भइरहेको छ । त्यसको मापन गरेर नै कहिले आउला वा कति रेक्टरको आउला भनेर भविष्यवाणी गर्ने हो, जुन कुरा सजिलो छैन र हुने कुरा पनि भएन । तर, बितेका तथ्यले त्यसमा सहयोग गर्ने गर्छ । यसरी त्यो हुने वा नहुने भन्ने कुरा प्रतिशतमा भन्न सकिन्छ । सम्बन्धित अनुसन्धानविद्का अनुसार पनि ८ रेक्टरभन्दा माथिको भूकम्प आउने भन्ने कुरा ८ देखि १० प्रतिशत मात्र देखिन्छ र नआउने ९० प्रतिशत ।
प्रकृतिमा घट्ने कुराहरू एउटा नियमसम्मत हुने गर्छन् र ती नियमहरू कुनै जटिल प्रकारका छन् भने कुनै सजिलोसँग जान्न सकिने प्रकारका छन् । तिनीहरूको नियम बुझ्नु त्यसको अध्ययन गर्नेहरूकै काम हो, अनि त्यो अध्ययनलाई मानवजातिका लागि बुझ्नेगरी बुझाउनु पनि उनैका कर्तव्य हो । यसर्थ, यस्ता तथ्यहरू केलाउँदै डा. श्रीकमल द्विवेदी, डा. मातृका कोइरालादेखि प्रोफेसर डा. रञ्जनकुमार दाहाल सही र सटिक रूपमा भन्नुहुन्छ कि भूकम्प आउने एउटा चक्र निर्माण भएको छ र त्यो चक्रबाट डराउने होइन कि त्यसबाट बच्ने तरिकाहरू अवलम्बन गर्नु जरुरी छ । यो कुरा प्रस्ट छ कि यस्तो प्रकारको चक्र अरू विषयमा पनि हुने नै भयो । यसरी हामीले भोग्ने गरेका प्रकृतिका कुराहरू एउटा निश्चित नियमहरूमा चल्ने गर्छन् र चल्ने नै भए । त्यसैले हामीले ती नियम बुझेर तिनीहरूको उपयोग वा तिनीहरूबाट बच्ने कुरा हाम्रा लागि एउटा नियमितता हो । त्यो नियमितताका लागि हामीलाई एउटा बिल्कुल फरक प्रकारको प्रणाली चाहिने हुन्छ, त्यो प्रणाली हो– व्यवस्थापन । व्यवस्थापन पनि दुई प्रकारको हुने गर्छ, विपत्ति आउनुभन्दा अघिको र पछिको । स्मरण गर्नुपर्ने कुरा के छ भने त्यस्तो व्यवस्थापन गर्दा अब हामीले अपाङ्गमैत्री बनाउन जरुरी छ ।
नेपालमा रहेका करिब ४७ लाख आवास संरचनामा ५४ लाख २७ हजारभन्दा बढी परिवार बसोबास गर्दै आएकोमा हालैको महाभूकम्पले झन्डै तीन लाख संरचनालाई कि त ध्वस्त पारेको छ वा बस्नयोग्य नहुने गरी क्षति पु-याएको अनुमान गरिन्छ । साना–ठूला गरी एक लाखभन्दा बढी सार्वजनिक भवन/संरचनामध्ये करिब २५ हजारलाई नराम्ररी क्षति पु-याएको प्रारम्भिक अनुमान छ । विपत्ति आउनुअगाडि राम्रो व्यवस्थापन गर्न नसक्नुको परिणति यसरी भोग्दै छौँ हामी । हाम्रा हजारौँ घरको विनाश भएको छ र लाखौँ जनता टेन्ट वा खुला आकाशमुनि बस्न बाध्य छन् । तथापि, यो महाभूकम्पले हाम्रा लागि थप सम्भावना र चुनौतीहरू लिएर आएको छ । तर, आजैदेखि केही सोचेनौँ भने पछि युगौँयुगसम्मका लागि भूल हुनेछ । अब यो कठोर इतिहासबाट तुरुन्तै पाठ सिकेर नयाँ गाउँ नयाँ ठाउँको व्यवस्था गर्नु जरुरी छ । हुन पनि अहिले नगरे कहिले र कसले गर्ने त ? वास्तवमै अब नेपालले अरू रगत होइन श्रम, सीप र पसिना मागेको छ । यहाँ हामीले साझा रूपमा वा बराबरी त्रासदी भोगेका छौँ । यतिबेला हाम्रो शत्रु कोही छैन, बरु नयाँ इतिहास कोर्ने एउटै हाम्रो मित्र छ, त्यो हो– आउने थोरै वर्षमा हामीले देखाउने इमानदारिता, नैतिकता, पारदर्शिता र दूरदर्शिता । यस्ता अवसरहरू राज्यले अब नीतिगत रूपमा केही दिनहरूमा नै घोषणा गरेर सिङ्गो नेपाली जनतालाई राष्ट्र निर्माणमा आह्वान किन नगर्ने ? हे देशका नायकहरू हो ! अब त एकजुट बनेर आऊ र जनताको साथ लिएर देश निर्माण गर्ने अवसरमा समाहित होऊ ।
मानवसिर्जित र प्रकृतिसिर्जित दुई प्रकारका छन् । त्यसको व्यवस्थापन पनि फरक प्रकारले हुने गर्दछ । त्यसका लागि एउटा दूरदर्शी योजनासहित सिङ्गो राज्य वा ठाउँविशेषको समूह लागिपरेको हुनेगर्छ वा गर्नुपर्ने हुनेगर्छ । त्यो प्रकारको व्यवस्थापन गर्नु र गराउनु तब जटिल हुने गर्छ जब मानवसिर्जित र प्रकृतिसिर्जित विपत्तिहरू एकै ठाउँमा मिसिएर देखा पर्दछन् । अहिले हामीले भोगेको विपत्ति यस्तै प्रकारको हो । जब प्रकृतिसिर्जित विपत्तिलाई मानवीय कमजोरीमा मिसाउन बाध्य हुन्छौँ तब हामीले भयङ्कर दुर्घटना सहनुपर्ने वा दुर्घटनामा फस्न पुगिने अवस्था आइपर्छ । त्यो फसाइ एक व्यक्तिदेखि लिएर सिङ्गो राज्यको विवेकमा भरपर्ने गर्दछ र त्यो विवेक समयमै पु-याउन सकिएन भने यस्ता प्रकारका ठूलाठूला विपत्तिहरू सिर्जित भइरहने लगभग पक्का छ । तर, राज्य गम्भीर छ र जनताका लागि लगानी गर्ने प्रकारको छ भने समस्या सानो हुने गर्छ । त्यसो हो भने अहिले हामीले गर्न सक्ने उपाय के हो त ?
तत्काल हामीले बालबालिकाहरूका लागि विशेष बस्ने ठाउँको प्रबन्ध गर्नु आवश्यक छ, ता कि कुनै सरुवा वा अल्पकालीन रोगहरूको सङ्क्रमण नहोस् । उनीहरूलाई न्यानो पारेर राख्नु आवश्यक छ । तुरुन्तै गाउँगाउँमा स्वयम्सेवक समूह निर्माण गरौँ, तिनीहरूको काम छिटोभन्दा छिटो प्रभावकारी बनाउन अरूले बाहिरबाट स्वयम्सेवकजत्तिकै काम गरौँ । अगाडि–पछाडि गर्दा मान्छेहरूमा ठूलो–सानो वा मेरो–तेरो भन्ने अवस्था देखिन सक्ने भएकाले स्वयम्सेवक पनि उमेरअनुसार र कामको प्रकृतिअनुसारको एकैपटक बनाउनुपर्ने हुन्छ ।
मनसुन सुरु हुन लागेकोले छिटोभन्दा छिटो स्थायी घरहरूको निर्माण गर्नु जरुरी छ । त्यो काम सिङ्गो राज्यको हो र अहिले हाम्रो राज्यले त्यो गर्न सक्ने वा नसक्ने भन्ने कुरा छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ । यदि नसक्ने हो भने तुरुन्त अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नु जरुरी छ । तर, त्यो अपिल गर्नुअघि हामीले हाम्रो समस्या र त्यसको दिगो समाधान के हो भन्ने पहिचान गरी त्यसको निश्चित मापदण्ड तोकेर मात्र गर्नुपर्ने हुन्छ । त्यो मापदण्ड सरकारले छिटोभन्दा छोटो पहिचान गर्नु आजको प्राथमिकता हो । त्यो विषयका मान्छेहरू देशभित्र नै हुनुहुन्छ भने किन ढिला गर्ने ? यसमा सरकारले छिटोभन्दा छिटो चासो दिनुपर्छ । अरू राष्ट्रको अनुभवले के देखाउँछ भने दिगो र सस्ता घरहरू निर्माण गर्न पनि सकिने रहेछ । कारखानाहरूमा बन्ने सामान वा प्रविधिहरू प्रयोग गरेर त्यो गर्न सकिन्छ भन्ने कुरा चीन, जापान, इन्डोनेसिया वा अन्य युरोपियन राष्ट्रबाट प्रेरित हुन सकिन्छ ।
यसरी दिगो घरहरूको निर्माण नहुन्जेल हामीले स्थानीय स्रोत प्रयोग गरी स्थानीय जनपरिचालन गर्नुपर्ने हुन्छ र त्यसका लागि बेरोजगार युवाहरूको दुई–तीन महिनाका लागि १५–२० हजारको दरले (वा के–कति हुन्छ त्यो त तपसिलको कुरा हो) तलब घोषणा गरी स्थानीय रूपमा छरितो हिसाबले काम सुरु गर्न सकिन्छ । त्यो काम गर्न कुनै प्रक्रिया चाहिँदैन, केवल स्वयम्सेवक समूहहरू निर्माण गरेर गर्न सकिन्छ । सय बेरोजगार एक घरबारको अभियानअन्तर्गत सयजना युवालाई एउटा घर निर्माण गर्ने जिम्मा दिन सकिन्छ । उनीहरूले त्यो घर केही दिनमै तयार गर्न सक्नेछन् । कम्तीमा पनि एकतले घर सजिलै निर्माण हुने छ । यो तत्कालका लागि प्रमुख कुरा हो । अहिले उद्धारमा खटिरहेका हाम्रा सेना–पुलिसको अगुवाइमा त्यो सहज हुनेछ । यतिबेला राजनीतिक मोलाहिजा या बाँडफाँड सोच्नु पनि हुँदैन, यस्तो गरिए तिनले इतिहासको कालकोठरीमा सड्नुपर्नेछ ।
रकम जुटाउन प्रत्येक नागरिकसँग अनुरोध गरेर सिङ्गो राष्ट्रले जनतासँग ऋण माग्न सक्छ । घुस खाएर, भ्रष्टाचार गरेर जम्मा गरेको अकुत सम्पत्तिबाट पुन्य कमाउन मन हुनेले भूकम्पपीडितलाई राहत प्रदान गरिदिने अवसर पनि हो यो । भ्रष्टाचारी, कमिसनखोर, घुसखोरहरूले स्वयम् कर घोषणाजस्ता कालो धन सेतो बनाउने तरिकाभन्दा उत्कृष्ट समय हो यो । त्यसका लागि राज्यले उचित र सही प्रकारको प्रक्रिया लिएर उनीहरूको त्यो कालो धन सेतो बनाउने गर्दा फरक पर्नेवाला छैन । किनभने नेपाल सरकार उनीहरूको त्यो कालो धन नियन्त्रण गर्न सक्षम छैन र हुने सम्भावना पनि कम छ । विगतले यही देखाउँछ । यसैले गोप्य रूपमा स्वघोषणा गराई सरकारले त्यो गर्न सक्छ । यसरी बेरोजगार युवा परिचालनदेखि लिएर कालो धनको समेत उचित प्रयोग गर्ने र गराउने अवसर हो यो ।
हाम्रा धेरै गाउँ वा सहरहरू पहिरोको चपेटामा परेका छन् । यसो हुनुको कारण हो– ती ठाउँ वा गाउँबस्ती बस्नलायक थिएनन् वा अब पनि हुने छैनन् । ती बस्ती सही तरिकाले जाँच गरेर निर्माण गरेका होइनन्, त्यसैले अब ती त दर्दनाक इतिहास बनेका छन् । त्यसैले नयाँ गाउँ, नयाँ ठाउँ वा नयाँ टोल, नयाँ ठाउँको नीति अवलम्बन गरौँ । हामीले नयाँ निर्माण गर्ने थलोको भौगोलिक अवस्था, त्यहाँको संरचना, त्यहाँको माटोको प्रकृति, त्यो माटोको पानीसँग घुलनशीलताको दर र त्यसको प्रभावबाट हुन सक्ने पहिरोको सम्भावना तुरुन्त हेर्नुपर्ने हुन्छ । त्यसका लागि भूगर्भविद्, मौसमविद् र केही प्राविधिक इन्जिनियरहरूको संयुक्त टोलीले अनुगमन गर्नुपर्ने हुन्छ । अझ अहिले त हाम्रो देशमा त्रिभुवन विश्वविद्यालयबाट हजारौँको सङ्ख्यामा वातावरणविद्हरू उत्पादन भएका छन् । उनीहरूका लागि १–२ हप्ते तालिम सञ्चालन गरेर नेपालका प्रत्येक गाविसमा त्यसको अनुगमन गर्न पठाउन सकिन्छ । यहाँ स्मरण गर्नुपर्ने कुरा के छ भने तिनीहरूको तालिम त्यही भूगर्भविद्, मौसमविद् र प्राविधिक इन्जिनियरहरूको संयुक्त टोलीले गर्नुपर्ने हुन्छ ।
नयाँ गाउँ, नयाँ ठाउँअन्तर्गत दुर्गम ठाउँमा भत्केका गाउँहरू अब त्यहाँबाट तुरुन्तै सुगम स्थानमा मात्र निर्माण गरौँ ता कि आगामी दिनमा राज्यको पहुँच सजिलोसँग पुगोस् । दीर्घकालीन हिसाबले यसो गर्नु निकै उत्तम हुनेछ । जनताको जीविका सजिलै चल्न पुग्ने गरी नयाँ अचल सम्पत्ति स्वतः पाउने गरी स्थानान्तरण गरौँ । यो सबै कुराको निश्चितता अबका ३०–४० दिनभित्रमा नेपाल राज्यले गर्न सक्छ वा सक्दैन ? सक्दैन भने अब हामी अर्को विपत्तिमा पर्नेछौँ र यसबाट अरू धेरै नोक्सानी सहनुपर्नेछ । यदि ३०–४० दिनभित्रमा यो व्यवस्थापन गर्न सकिएन भने अहिलेको मनसुन नै हाम्रा लागि काल हुनेछ । ती हजारौँ घरबारविहीनका लागि अब आउने चार महिना त्रासदीका महिना हुनेछन् । पलपलमा ठूलो मानसिक र भौतिक पीडा आइपर्नेछ । त्यसैले छिटोभन्दा छिटो अन्तिम अस्त्रको प्रयोग गर्नु जरुरी छ । सायद हामी त्यसका लागि सक्षम छैनौँ होला । त्यसो हो भने अब हामीले निश्चित मापदण्ड तोकेर अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नुपर्ने हुन्छ । आउँदो मनसुनका लागि बस्ने बासको व्यवस्था गरौँ भन्दै त्यही कुरालाई केन्द्रबिन्दु मानेर सहयोगको अपिल गर्नुपर्छ । कति गाउँ निर्माण गर्नुपर्ने हो छिटो पहिचान गरी सहयोग माग्नुपर्ने देखिन्छ । आशा गरौँ, हामीले त्यो गर्न सक्नेछौँ र त्यही नै गर्नेछौँ । हाम्रा लागि यही नै वर्तमान विपत्तिको उत्तम विकल्प पनि हो ।
प्रतिक्रिया