–छविलाल बगाले
स्वदेशी चिनी उद्योगले चिनी उत्पादनसँगै विद्युत उत्पादनमा जोड दिएका छन् । उद्योगमा बढी भएको विद्युत बिक्रि गर्ने कानून स्पष्ट नहुँदा समस्या देखिएको छ । सरकारी नीति प्रष्ट नहुँदा चिनी उद्योगले उत्पादन गरेका विद्युत खेर गएको छ । संचालनमा रहेका १४ वटा चिनी उद्योगले ७० मेगावाट विद्युत उत्पादन गर्दै आएका छन् । उखुको खोस्टा (बगास) बाट विद्युत उत्पादन हुन्छ । उत्पादन भएका विद्युतमध्ये केही उद्योगी आफैले उद्योगमा प्रयोग गर्ने गरेका छन् । बाँकी त्यसै खेर गएको तर्फ सरकारले ध्यान दिन सकेको छैन । हिउँदयाममा नदीमा पानीको बहाव कम हुँदै जाँदा विद्युत उत्पादन पनि घट्छ । यसका लागि सरकारले भारतबाट विद्युत आयात गर्ने गरेको छ । तर, स्वदेशी उद्योगले ‘बाइ प्रडक्ट’ बाट उत्पादन गर्ने विद्युत खरिद गर्न भने आलटाल गरेको इन्दुशंकर चिनी मिलका संचालक राजेशकुमार केडियाले बताए ।
उखुको खोस्टाबाट विद्युत उत्पादन गर्न अनुमति लिएका रिलायन्स, इन्दुशंकर र एभरेष्ट चिनी उद्योगसँग नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पिपिए) समेत गरेको छ । उनिहरुले हिउँदमा खेर जाने उखुको खोस्टा बालेर विद्युत उत्पादन गर्नेछन् । राष्ट्रिय आवश्यकता पनि पूरा हुने र उद्योगबाट खेर जाने सामग्री समेत उपयोग हुने भएकाले उद्योगी पनि विद्युत् जोड्न तयार छन् । तर सरकारी ढिलासुस्ती र कमजोर नीतिका कारण उद्योगबाट उत्पादिन विद्युत त्यसै खेर गइरहेका छन् ।
विद्युत खरिद गर्न विद्युत विकास विभाग र कम्पनीबीच २०७४ असोजमा करार सम्झौता भएको थियो । उत्पादित विद्युत उद्योगदेखि ८ दशमलव २ किलोमिटर दूरीको १३२ केभी परवानीपुर सबस्टेसनमा जोड्ने प्रस्ताव गरिएको थियो । तर अहिलेसम्म कुनै काम भने भएको पाँइदैन् । विद्युत ऐन, २०४९ को दफा ३५ अनुसार इच्छुक उद्योगसँग करार सम्झौता गरी विद्युत सहउत्पादन गर्न सकिने प्रावधान पनि छ ।
चिनी उद्योगबाट सह–उत्पादित विद्युत् सुख्खायाममा उपलब्ध गराई केही मात्रामा भएपनि विद्युतभार कम गराउन सहज हुनेछ । सरकारले उखु खेतीमा जोड दिने हो भने चिनी र विद्युतको आयात कमी आउनेछ । उद्योगबाट उत्पादित विद्युत प्रयोग गरेर नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गर्न आवश्यक जग्गा अधिग्रहणमा समस्या देखिएको संघका महासचिव समेत रहेका केडियाले बताए । ‘प्रसारण लाइन निर्माणमा सरकारले सहयोग नगरे लक्ष्यअनुसार परिणाम दिन गाह्रो छ,’ उनले भने । नेपालमा एक युनिट विद्युत उत्पादन गर्न करिब १० किलो बाफ र ५ किलो खोस्टा चाहिन्छ । भारतमा भने एक युनिट विद्युत उत्पादन गर्न साढे २ किलो खोस्टा आवश्यक पर्ने अनुमान छ । भारतकै दाँजोमा आधुनिक उपकरण जडान गर्दा सोही परिमाणको खोस्टाबाट लक्षित विद्युत उत्पादन गर्न सकिने उद्योगीहरू बताउँछन् ।
हरेक उद्योगमा २ देखि १५ मेगावाटसम्म विद्युत उत्पादन गर्ने क्षमता
संघअन्तर्गत एभरेष्ट सुगर एन्ड केमिकल इन्ड्रष्ट्रिज, इन्दु शंकर, श्रीराम, इस्टर्न, हिमालय, महालक्ष्मी, लुम्बिनी, इन्दिरा, बागमती, महाकाली, भागेश्वरी, बाबा बैजनाथ उद्योग आवद्ध छन् । हरेक उद्योगमा २ देखि १५ मेगावाटसम्म विद्युत उत्पादन गर्ने क्षमता रहेको व्यवसायीको दाबी छ । एभरेष्ट र इन्दु शंकरले यसअघि ३÷३ मेगावाट, अन्नपूर्ण सुगर मिलले साढे ३ मेगावाट र रिलायन्स केमिकलले १५ मेगावाट विद्युत उत्पादन गर्न विद्युत विकास विभागसँग समझदारी पनि गरेका छन् । एभरेष्ट र इन्दु शंकरको विद्युत खरिद सम्झौता (पिपिए) समेत भएको छ ।
प्रतिक्रिया