मेरी बालविधवा फुपू स्व. कृष्णमाया, मेरा बुबा, ठूला बुबा र गाउँले वृद्धावृद्धाहरूले वि.सं. १९९० साल माघ २ गतेको महाप्रलयकारी भूकम्पबारे मैले जे सुनेँ त्यो मेरा लागि त्यतिबेला दन्त्यकथाजस्तो हुन्थ्यो । हामीलाई केटाकेटी छँदा त्यो स्यालको हुइँयाजस्तो भन्दा फरक लाग्दैनथ्यो । लागोस् पनि कसरी, किनकि परेर जान्नु र पढेर, सुनेर जान्नुको तात्पर्यबीचको फरक पनि यही हो । जिन्दगीभर आमाको नाम लिन र सुन्न नचाहनेले पनि ठेस लागेर लडेपछि ‘आम्मई !’ भन्दछ । त्यो उसको चाहना होइन बाध्यता हो ।
हो ! आज त्यही भएको छ । प्रकृतिप्रदत्त प्रलयको वास्ता नगरी सिर्फ भौतिक निर्माण गर्न सक्नु मात्र जीवनको उच्चतम् सफलता ठान्नेहरूको मानसिकतामाथि ठूलो ठेस पुगेको छ । उनीहरूका कारण अन्य बुझ्न र बुझाउन खोज्नेहरूका लागि पनि अबुझहरूका कारण ठूलै ठेस लागेको अनुभव अहिले सजिलै साँटासाँट गर्न सकिने अवस्था सिर्जना हुनुमा ज्ञानको अभावभन्दा पनि विज्ञानको मात्र अन्धसमर्थनका कारण हो । वास्तवमा विज्ञानको शाब्दिक अर्थ महाज्ञान हो, तर साइन्स भन्ने अङ्गे्रजी शब्दले यसमाथि आत्मरति गरेको छ । आजको नयाँ पुस्ताले विज्ञानलाई ‘साइन्स’ मात्र भन्न थाल्नु वास्तवमा त्यो अल्पज्ञान मात्र हो । साँच्चिकै विज्ञान, विज्ञान सावित हुन भौतिक, सामाजिक, सांस्कृतिक, नैतिक, आध्यात्मिकका साथसाथै राजनीतिक, रणनीतिक समायोजनको निष्कर्ष बन्नुपर्छ । त्यसलाई मात्र प्रकृतिले सहन सक्दछ भन्ने कुराको साविति ८२ वर्षपघि वि.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटपछि अधिकांशलाई महसुस भएको हुनुपर्छ ।
हाम्रा धार्मिक, सांस्कृतिक सम्पदाहरू क्षणभरमै ध्वस्त भए, कति खण्डहर भए । घर, गोठ ढले, कसैको परिवार पूर्ण र आंशिक रूपमा रित्तिए । दैवी विपत्ति सबैमाथि थोरबहुत प-यो । सबैलाई आक्रान्त बनाउने महाप्रलयले ल्याएको मानवीय, भौतिक क्षतिप्रति श्रद्धाशब्द सुमन अर्पण गर्दै सुनौलो भविष्यप्रति आस्थावान् हुने शक्ति सबैले प्राप्त गरून् । विगतमा भए–गरेका गल्ती–कमजोरी जे–जस्तो भए तापनि आगामी दिनमा त्यस्तो गल्ती नदोहोरियोस् । यो महाविपत्तिमा सरकार मात्र होइन सबैको सहभागिता हुनुपर्र्दछ । विदेशी र छिमेकी देशहरूले देखाएको सद्भाव पनि कम प्रशंसायोग्य छैन । भूकम्प आएको तत्कालै सरकार किंकर्तव्यविमुढ भएकै हो । राज्यको नाममा प्रधानमन्त्रीले गरेको सम्बोधन सुन्न मात्र पनि धेरै दिन कुर्नुप-यो । ९९ प्रतिशतभन्दा बढी जनता कुनै न कुनै किसिमको राहत प्राप्त गर्न योग्य छन् । राहतको नाममा सुगमताले प्रसस्त पाएको छ । जहाँ दुर्गम छ त्यहाँ कमी भएको महसुस सहजै गर्न सकिन्छ । सरकारले उद्धार गर्न आएका विदेशी समूहहरूलाई घर फर्काइरहँदा उद्धार हुन बाँकी स्थानको पहिचान मिडियाहरूले गरिरहेका छन् ।
उद्धार टोलीको मनोमानी चल्यो भन्ने असन्तुष्टि ओकल्दै गर्दा उचित समन्वय गर्न नसक्नु सरकारको कमजोरी होइन र भनी प्रश्न गर्नैपर्ने हुन्छ । चुनाव र राजनीतिक सङ्गठन गर्न सक्रिय हुनेहरू वा राजनीतिक सङ्गठन यत्तिका दिनसम्म कहाँ थिए ? दुर्गमको कुरै छोडौँ सुगमताका बाबजुद जनतासामु विपत्का समयमा पुग्न नसक्नेहरू के जनप्रतिनिधि हुन् ? आफ्ना विचारहरूलाई सधैँजसो क्लब र मिडियामार्फत प्रचार गर्नेहरू के मिडिया र प्रचारबिना सहानुभूतिसम्म वितरण गर्न सक्दैनन् ? राष्ट्रियता र सार्वभौमिकता भन्ने विषय नेतृत्वमा मात्र हराएको हो । के जनतामाझ त्यसको खोजी गरिरहनुपर्ला ? आफ्नो पद र सङ्गठनका लागि राष्ट्रियता र सार्वभौमिकता लिलामीमा चढाउनेहरू कति दिनसम्म नेता बनिरहन सक्लान् ? आदि उल्लेखित प्रतिप्रश्नहरू नेतृत्वसामु तेर्सिएको छ । के त्यसको उचित समाधान उनीहरूसँग छ त ? यसको परिणाम समयको पोल्टामा थाती राखौँ, यतिबेला त आगामी समाधानको उपायतिर लाग्नुमा नै बुद्धिमानी ठहर्ला ।
सङ्कटको घडीमा राजनीतिक नेतृत्वमाथि कसी लगाएका छन् जनताले, त्यसको उदेकलाग्दो परिणाम निर्वाचनपछि मात्र थाहा लाग्दछ । पार्टी र सङ्गठनभित्रको त्याग र बलिदानी मात्र अबका दिनमा काबिल हुँदैनन् । जनमुखी त्याग र इमानदार बलिदानी मात्र जनताको तनमनमा जीवित रहन्छ । नेतृत्व गर्न चाहनेले पार्टीप्रदत्त निर्वाचनको टिकट होइन जनताको मत बटुल्न जनताप्रति समर्पित हुनैपर्दछ ।
बहुदलमा दलविशेषको कमी होइन दलबलको कमी छ । सरकारमा बस्ने सदस्यहरूमा शारीरिक तथा मानसिक क्षमता, सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक र आत्मअनुशासनको जरुरी छ । सद्भाव राख्नेहरूप्रति शङ्काको दृष्टिकोण राख्नु नितान्त आत्मरतिको विषय हो । सहयोग र सामन्जस्यतालाई सहज परिचालन गर्न सक्ने खुवी आफूभित्र हुनुपर्दछ । आफ्ना क्षमता अभिवृद्धि नगर्ने र अर्काको दोष खुट्याउने प्रवृत्ति सधैँ परिस्थितिअनुकूल हुँदैन । नीतिगत कुरालाई ख्याल नगरी बहकाईमा लाग्ने परम्पराले निम्त्याएको परिणाम हो यो । सामान्य सर्वसाधारणको बस्तीबीचमा असाधारण कैयौँ तलासम्मको अपार्टमेन्ट निर्माण गर्न दिने नीति कसले बनायो ? जसको कारण बाँकी सबै बस्ती कहालिँदै बाँच्नुपरेको छ । आज त्यस्ता अपार्टमेन्ट किन्ने र बेच्नेको समस्याको समाधान कुन निकायले गर्ने हो ? अनधिकृत रकमको प्रलोभनमा राज्यको कानुन र नीति हत्केलामा राखेर व्यापार गर्नेहरूमाथि अझ पनि राज्यले माफी दिँदै जाने हो भने बाँकी भविष्य पनि अन्धकार नै रहन्छ ।
भ्रष्टाचारीलाई कसुर हेरी मृत्युदण्डको सजायसमेत समावेश गरिनुपर्दछ । बाटो, बस्ती तथा विकासको उचित मापदण्ड हुनुपर्दछ । खेत बारी हुनुहुँदैन र बारी घडेरी हुनुहुँदैन । बिलो दररेटमा टेन्डर हाल्नेमाथि निगरानी हुनुपर्दछ जसका कारण निर्माण गुणस्तरहीन नहोस् । गुणस्तरहीन उत्पादन गर्ने र बिक्री–वितरण गर्नेमाथि कडा कारबाही गरिनुपर्दछ । बस्ती विकास नितान्त रूपमा सरकारी जिम्मामा हुनुपर्दछ । बाटो, बगैँचा र पार्कको उचित स्थानमा व्यवस्था गरिनुपर्दछ । भूकम्प प्रतिरोधात्मक संरचना भत्के–बिगे्रको भए त्यससँग सम्बन्धित सबैलाई बिनासर्त जेलचलान गर्नुपर्दछ । सबै विषयवस्तुलाई राजनीतिसँग जोडेर हेर्ने व्यवहार आजसम्मकै सबैभन्दा ठूलो कमजोरी हो । त्यसैले गर्दा कमिसन र थप आम्दानीका लागि गरिएको नाम मात्रको विकास आज विनाशको कारण बन्न पुगेको छ । साँच्चिकै विकासको परिकल्पनाकार र त्यसको उचित कार्यान्वयन गर्नेलाई राज्यले एकदेखि पाँच प्रतिशतसम्म श्वेत कमिसन वितरण गरेर लुकिछिपी हुने भ्रष्टाचार र कमिसनतन्त्रमा आधारित प्रवृत्ति निरुत्साहित पार्न सक्दछ । त्यसले पोजेटिभ सप्लेमेन्ट्रीको विकास गर्दछ । यसले नयाँनयाँ औद्योगिक र विकास निर्माणमा बढावा दिन्छ । विद्वान् र बुर्जुगको बौद्धिकता, युवाको जोस र उत्साहको अभिव्यक्ति र बालकको आवश्यकताको अवमूल्यन गरिनुहुँदैन । किनकि यसले समाजमा वितृष्णा पैदा गर्दछ । राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको संरक्षण अब पूर्ण रूपमा भौतिक विकासले मात्र गर्न सक्दछ । त्यसभित्र नैतिक र आध्यात्मिक चरित्रसमेत समावेश हुनुपर्दछ । राजनीति अब सङ्गठनको विकासमा मत्र केन्द्रित होइन मानवीय विकास र संरक्षणका लागि हुनुपर्दछ । ८२ वर्षको अन्तरालमा प्रकृतिले ठूलो सबक सिकाएको छ । त्यसैले अब दल र सङ्गठनभन्दा माथि उठेर देश र जनताको भावनालाई बुझेर राष्ट्रिय चरित्रको सरकार गठन हुनुपर्दछ । त्यसमा युवाको सहभागिता ९० प्रतिशतभन्दा ज्यादा हुनुपर्दछ ।
नयाँ निर्माण र विकासको परिकल्पनाकारलाई समावेस गरिनुपर्दछ । बे्रन डे«न भइरहेको छ, त्यसलाई फर्काउन उच्च परिकल्पनाकार र त्यसको सहज कार्यान्वयन गर्न सक्नेलाई उचित स्थान मिल्नुपर्दछ । रिटायर्ड भएकालाई कार्यकारी ओहोदा होइन उनीहरूबाट अनुभव र सल्लाह लिनुपर्दछ । युवालाई कार्यकारी भूमिका र जिम्मेवारी चाहिन्छ अनि मात्र निश्चित समयसीमाभित्र देश र जनता सुखी र सम्पन्न हुन सक्छन् । अन्तमा यस्तो विपत्तिका बेला हामीप्रति सहयोग र सहानुभूति प्रकट गर्नुहुने सम्पूर्ण स्वदेशी विदेशी व्यक्ति, समुदाय, राष्ट्रहरूप्रति र विशेष सहयोग पु-याउनुहुने छिमेकी राष्ट्र भारत र चिनियाँहरूमा समग्र नेपालीको तर्फबाट विशेष आभार प्रकट गर्दै यो लेख सम्पूर्ण पाठक वर्गमा समर्पण गर्न चाहन्छु ।
(लेखक त्रिविका पीएचडी स्कलर हुन् ।)
खेलकुद लेख
प्रतिक्रिया