घरसँगै मनसमेत भाँचिएको बेला– इन्द्रबहादुर बराल

घरसँगै मनसमेत भाँचिएको बेला– इन्द्रबहादुर बराल


Indra-Baralप्रयलकारी भूकम्प का कारण देश अहिले साँच्चै नै दर्दनाक पीडाले छटपटिराखेको छ । यस्तो दर्दनाक पीडा र छटपटीबाट कसरी पार पाउने हो, त्यो त भविष्यले बताउला । तर, जे नहुने थियो भइहाल्यो जुन न कुनै राज्य वा सरकारको नियन्त्रणमा थियो न त अरू कसैको । यो विपत्को क्षणमा सबै राजनीतिक दल, सरकार, नागरिक समाज अर्थात् राज्यका सम्पूर्ण तह र तप्का एकताबद्ध भएर भूकम्पबाट आहात भएकाहरूलाई उद्धार, राहत र पुनस्र्थापनाको महान् र पवित्र कार्यमा जुट्नु नै एक मात्र मानवीय जिम्मेवारी हो ।
गत १२ गतेको प्रलयकारी भूकम्पले गरेको धनजनको क्षतिले अलिकति पनि मानवीय संवेदना भएका जो–कोहीको पनि मन दुखेको हुनुपर्छ र दुखेको पनि पाइयो । त्यही मानवीय संवेदनाका कारण दुनियाँका धेरै राष्ट्र उद्धार तथा राहत कार्यमा जुटेका हामीसामु छर्लङ्गै छ । यद्यपि आकस्मिक रूपमा व्यहोर्न बाध्य भएका प्राकृतिक प्रकोपको पीडामा राहत तथा उद्धार कार्यमा कहीँ न कहीँ केही न केही कमी–कमजोरी भएनन् भन्न सकिँदैन । अस्तव्यस्तताको मौका छोपी नाजायज फाइदा लिनेहरूको झुण्ड पनि छिटफुट सुन्नमा आयो । आपतकालीन स्थितिमा व्यवस्थापकीय त्रुटिहरूको अवसर पारेर समाजमा निकृष्ट र निन्दनीय कार्य गर्नेहरू पनि त्यत्तिकै सल्बलाइराखेका हुन्छन् भन्ने कुरा सबैमा हेक्का भएकै हुनुपर्छ । यसर्थ यस दुःखद् घडीमा केही अपवादको रूपमा देखिएका अमानवीय व्यवहारलाई पन्छाएर विपत्को बेला सम्पूर्ण नेपाली एकजुट हुनैपर्छ ।
भूकम्पको चपेटामा परेका आफ्ना दाजुभाइ–दिदीबहिनीको चह-याइराखेको घाउमा मल्हमपट्टी लगाउनु नै तत्कालीन दायित्व हो । महाविपत्तिको घडीमा अरू कसैको मुख नताकी जो जहाँ छ, जे सक्छ आफ्नो भरपूर क्षमताको प्रदर्शन गर्दै उद्धार तथा राहत कार्यमा जुट्नु नै मानवीय धर्म हो । देश साँच्चै दर्दनाक पीडाले छटपटिराखेको छ । ऐया, आत्थु गर्दै रुँदै, कराउँदै, चिच्याउँदै उद्धार, राहत र पुनस्र्थापनाको खोजीमा भौँतारिराखेको यस घडीमा कुनै पनि आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सहयोगी हातहरू अघि बढाउनु वर्तमानको कर्तव्य हो । राज्यले वैशाख १२ गते शनिबार पूर्ण स्वाइनफ्लु र मौसमी फ्लुको कारण पश्चिम नेपालको जाजरकोटलगायतका जिल्लामा आफ्नो सम्पूर्ण साधनस्रोत परिचालन गरी महामारीजस्तै फैलिएको रोगलाई नियन्त्रणमा लिन पाउँदा नपाउँदै त्योभन्दा भयावह दैवी विपत्तिको बेला स्वाइन तथा मौसमी फ्लुले समेत मानवजस्तै विवेक प्रयोग गरेको हो कि भन्ने भान पारेको प्रतीत हुन्छ भने मानवले मानव सेवामा लाग्न किन आनाकानी गर्नु ? निश्चय पनि यस्तो विपत्तिको घडीमा नेपालीले आफ्नो बुद्धि र विवेकलाई अधिकतम रूपमा प्रदर्शन गरिराखेका छन् जुन अत्यन्तै प्रशंसायोग्य छ । राज्य संयन्त्रमध्य नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सम्पूर्ण निकाय अहोरात्र आफैँ जोखिममा रहेर पनि उद्धार र राहत कार्यमा जुटिराखेका छन् । राज्य संयन्त्र मात्र होइन सामाजिक सङ्घ/संस्थाहरू पनि उत्तिकै खटेका छन् राहत सामग्री साथ उद्धार कार्यमा । नेपाली जाति विपत्तिको घडीमा त्यस विपत्तिको सामना गर्न राहत, उद्धार र पुनस्र्थापनामा एकताबद्ध भएर लाग्दछन् भन्ने अनुकरणीय उदाहरण बनेको यस अवस्थामा राज्य वा सरकारले भरपूर सदुपयोग गर्न सक्नुपर्छ । स्वतस्फुर्त रूपमा उद्धार, राहत र पुनस्र्थापनाको महाअभियानमा अब राज्यले खेल्नुपर्ने भूमिका कति प्रभावकारी र उत्तरदायी हुन्छ त्यो त हेर्न बाँकी नै छ । अहिलेसम्मको स्थिति भनेको अल्पकालीन वा तत्कालीन उद्धार र राहतको काम बाँकी रहेकाले दीर्घकालीन योजना तर्जुमा गर्न हतार नभए पनि ढिलाइ गर्न भने पटक्कै हुँदैन । यसर्थ नेपालीले यस प्रलयकारी भूकम्पको कारण व्यहोर्नुपरेको जनधनको क्षतिबाट कसरी सामान्य जीवनतर्फ लग्न सकिन्छ त्यतातिर जे–जति आँसु पिएरै भए पनि धैर्यधारणका साथ अग्रसर हुनैपर्छ । धेरै नेपालआमाका छोराछोरीले आफ्ना सपुत गुमाउनुप-यो, घरवार भताभुङ्ग भयो, धनसम्पत्ति सारा नष्ट भयो एक निमेषमा ।
धेरै भूकम्पपीडितका आफन्तजन गुमेका छन्, घर मात्रै होइन मन पनि भत्केको छ । उज्याला दिन अन्धकार भएका छन् । त्योभन्दा दर्दनाक पीडा मानवजीवनमा अरू के हुन सक्ला ? यसो विचार गरौँ त ! यी सब परिस्थिति र परिदृश्यलाई चिन्तन–मनन गरेको खण्डमा जे हुनु भइगयो बाँकी कार्यभार सम्पन्न गर्न त्यति असहज नहुन सक्छ । त्यसका लागि अहिलेको महाविपत्ति सबै नेपालीले आफ्नै ठान्नुपर्दछ । यदि त्यसो गर्न सकेको खण्डमा नेपाली जस्तोसुकै विपत्ति पनि आफैँ सामना गर्न सक्छन् भन्ने सन्देश दिन कुनै गाह्रो कुरा होइन । समयसमयमा देखापर्ने आपत्ति र विपत्तिको सामना गर्न सधैँ अरूको मुख ताक्ने बानी क्रमशः कम गर्दै जानुपर्छ । अहिलेको राष्ट्रिय सङ्कल्प त्यही दिशामा केन्द्रित हुनुपर्दछ । भर्खरै मात्र यस विपत्तिको घडीमा व्यवस्थापिका संसद्को बैठक बसेको छ र सबै राजनीतिक दलहरू अति गम्भीर र संवेदनशील भएको अनुभव गरिँदै छ । यस गम्भीर र संवेदनशील अवस्थालाई शक्तिमा रूपान्तरण गर्ने जमर्को गर्नुको विकल्प छैन । राजनीतिक लाभहानिका रूपमा हेर्ने धृष्टता गरियो भने त्योभन्दा दुर्भाग्य अरू केही हुने छैन । विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरूको चिरशान्तिकै लागि भए पनि अनुचित राजनीतिक दाउपेच स्वीकार्य हुने छैन । पीडितहरू रोइराखेका छन्, चिच्याइराखेका छन्, आउनुहोस् उद्धार र राहत कार्यमा सहयोग गर्नुहोस् भन्दै गरेको स्थितिमा मौकाको फाइदा लिने काम कदापि राम्रो होइन । त्यो दिशामा राज्य वा सरकार, प्रतिपक्ष तथा सिङ्गो नेपाली समाजले विचार पु-याउनैपर्छ ।
करिबकरिब उद्धार तथा राहत कार्य अन्तिम चरणमा पुग्दै गरेको अवस्थामा अब दीर्घकालीन सोच बनाएर बास नहुनेका लागि बास र गाँस नहुनेका लागि गाँसको उचित व्यवस्था तत्काल गर्दै घाइतेहरूको समुचित उपचारको सुप्रबन्ध गर्दै बास, गाँस र कपासको प्रत्याभूति गर्नु अबको दायित्व हो । यस कार्यमा स्थानीयस्तरबाटै कार्यकर्ता परिचालन गरी दलीय घेरादेखि माथि उठ्दै मानवताको उच्चतम् व्यवहार देखाउन सक्नुपर्छ । यसका लागि विशेष गरेर राज्य वा सरकारको भूमिका अरू अपेक्षित हुन्छ । राज्य वा सरकार जनताको जिम्मेवार अभिभावक हो भन्ने उदाहरणीय काम गरेर देखाउन सक्नुपर्छ र सरकारका लागि यो महाविपत्ति परीक्षण पनि हो । यो महाविपत्तिको घडीमा खरो उत्रन सकेन भने सरकारमा बसिरहने कुनै नैतिक आधारसमेत हुनेछैन । व्यवस्थापिका संसद्को बैठकमा प्रतिपक्षी नेता एमाओवादीका अध्यक्ष प्रचण्डको अभिव्यक्ति अत्यन्तै सान्दर्भिक मानिएको छ । यस्ता विनाशकारी भूकम्पले विगतमा ल्याएको सन्दर्भलाई उहाँले राजनीतिक परिवर्तनसँग जोडेर हेर्नुभएको छ । सायद यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि कतै ठूलो राजनीतिक उथलपुथलको सङ्केत त गरेको छैन ? तसर्थ यो प्रलयकारी भूकम्पले सम्पूर्ण नेपालीमा विभाजन होइन एकताबद्ध हुने शक्ति प्रदर्शन गरोस् भन्ने शुभेच्छा राख्नु समयोचित छ । अतः काबुदेखि बाहिरको परिस्थितिलाई दोषादोष होइन सेयर गर्दै एक–आपसमा हातेमालो गरी शोकलाई शक्तिमा परिणत गर्ने आँट र साहसले मात्र अबको दायित्व पूरा गर्न सकिन्छ भन्नेतर्फ सबैको ध्यानाकर्षण गर्न मात्र चाहेको हो । नेपाली अरूका लागि मात्र लडेर बहादुरी कमाउने होइनन् आफ्नै लागि पनि लडेर बहादुर प्रमाणित गर्न सक्छन् भन्ने सन्देश दिन जरुरी छ ।