उखुको बिउमा पनि भारतकै भर

उखुको बिउमा पनि भारतकै भर


-छविलाल बगाले
नेपालमा उखुको विउ उत्पादन नहुने भएका कारण भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । अहिले चिनी उद्योगले नै विउ आयात गरेर किसानलाई वितरण गर्न थालेका छन् । उखुको विउमा पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ । नेपालमा बर्षेनी ठूलो परिमाणमा उखुको विउ भारतीय बजारबाट आयात हुँदै आएको छ । मुलुकमा उखुको विउ उत्पादन गर्ने निकाय नहुँदा बर्षेनी करोडौं मूल्य बराबरका उखुको विउ भारतबाट आयत गर्नुपरेको छ । उद्योगी, सरकार र किसानले पनि चिनीमा मुलुक आत्मनिर्भर भएको बताइरहँदा उखुको विउमा भने भारतकै भर पर्नुपर्दा लज्जाको विषय बनेको छ ।

उन्नत जातका बिउले उत्पादनमा बृद्धि
उखु पकेट क्षेत्रमा अहिले कृषि यन्त्रसंगै उन्नत जातका बिउको प्रयोग पनि बढेको छ । केहि वर्षयता अधिकांस उखु किसानले उन्नत जातका बिउको प्रयोग बढाएका कारण उखुको उत्पादन समेत बढेको छ । अहिले कृषकहरुले भारतबाट भित्र्याएका सिओ २३८, सिओ ०११८, सिओ ८२७२ लगायतका बिउको प्रयोग बढाएका छन् । यि बिउको प्रयोगले उत्पादन सोचेभन्दा बढी भएको र ट्रेन्चर प्रविधिबाट लगाउँदा एउटै उखु ३-४ किलोग्रामसम्म पुग्ने गरेको किसान बताउँछन । पछिल्ला बर्षहरुमा उद्योगीले पनि बार्षिक २-३ करोड खर्चेर भारतबाट विउ आयात गर्दै किसानलाई निशुल्क वितरण गर्दै आएको इन्दुशंकर चिनी मिलका संचालक राजेश केडिया बताउँछन् ।

भारतबाट ५० हजार क्विन्टल उन्नत जातको उखुको विउ आयात
यसबर्ष पनि किसानका लागि भन्दै उद्योगीले भारतबाट ५० हजार क्विन्टल उन्नत जातको उखुको विउ नेपाल भित्र्याएका छन् । उद्योगले किसानको उखु खेतीतर्फको आकर्षण बढाउन पनि विउमा अनुदान दिदै आएको छ । किसानलाई विउ वितरण गर्दा एकातिर उद्योग बच्ने र अर्को्तिर किसानको जिविकोपार्जनमा सहयोग पुग्छ । उच्च जातको उखुको विउ नेपालतर्फ बढि आयात हुन थालेपछि भारतले विउ निकासीमा अवरोध गर्न थालेको छ । उद्योगीहरुले पनि सरकारले उच्च जातका उखुको विउ उत्पादनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्दै आएका छन् ।