सबै जिल्लामा सुनचाँदी व्यवसायी मञ्चको शाखा विस्तार गर्न आवश्यक

सबै जिल्लामा सुनचाँदी व्यवसायी मञ्चको शाखा विस्तार गर्न आवश्यक


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई जिल्लास्तरमा विस्तार गरिनुपर्ने वताएका छन् । मञ्चको दोस्रो साधारणसभाबाट नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण, प्रमाणपत्र वितरण र सुनचाँदी व्यवसायको समसामयीक विचार गोष्ठीमा शनिबार बोल्दै मन्त्री शाहीले केन्द्रमा मात्रै सीमित नभई ७७ वटै जिल्लामा मञ्चलाई विस्तार गरिनुपर्ने बताएका हुन् । उनले भने,‘मञ्चको ७७ वटै जिल्लामा शाखा बनाउनुपर्छ ।’

मञ्चको सल्लाहकार समेत रहेका मुख्यमन्त्री शाहीले आफूमात्रै नभई सबै नेपालीलाई समृद्धितर्फ अग्रसर हुने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । मञ्चले तत्कालका समस्याका बारेमा छफलफल गरेर अगाडि बढ्नुपर्ने बताए उनले बताए । उनले भने, ‘तत्काल के गर्नुपर्ने हो ? हाम्रा समस्या के हुन् ? यसका बारेमा हामीले अध्यक्ष, उपाध्यक्ष, महासचिव सबै मिलेर छलफल गर्नुपर्छ । र, समस्याको समाधान कसरी गर्न सकिन्छ ? यसका विकल्पहरू के हुन् भन्ने तर्फ लाग्नुपर्छ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायमा भएका विकृति विसङ्गतिलाई राज्यस्तरबाट नै सुधार गर्नुपर्ने बताए । व्यवसायीहरूलाई सुनको कच्चा पदार्थको सधैं समस्या हुने गरेको उनको भनाई थियो । कच्चा पदार्थको अभावले व्यवसाय नै धरापमा परेको उनले बताए ।

मञ्चका महासचिव खेम तिरुवाले सुनचाँदी व्यवसायीहरूलाई सुरक्षाको अभाव रहेको बताए । उनले राज्यले सुनचाँदी व्यवसायीहरूलाई सुरक्षा दिन नसकेको औंल्याए । उनले भने, ‘सुनचाँदी व्यवसायीको क्षेत्रलाई राज्यले सुरक्षा दिन सकेको छैन । यसलाई राज्यले संवेदनशील क्षेत्र मानेर सुरक्षा दिनुपर्छ ।’ महासचिव तिरुवाले राजनीति गर्ने मनसाय बोकेर मञ्चमा आबद्ध नहुन आग्रह गरे । मञ्च राजनीति गर्ने थलो नभएकाले यसलाई शुद्ध सुनचाँदी व्यवसायीहरूको हक अधिकारका लागि लड्ने साझा मञ्चको रूपमा लिनुपर्ने उनको भनाई छ ।

नेपाल रत्न आभुषण महासंघका अध्यक्ष कृष्ण महर्जनले सुनचाँदी व्यवसायीहरूले इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले सुनचाँदी व्यवसायलाई व्यवस्थित र मर्या्दिन बनाउन नवनियुक्त पदाधिकारीहरूलाई शुभकामना दिए । विश्वकर्मा एकता समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्माले सुनचाँदी क्षेत्रमा भएका चुनौतीलाई फेस गर्ने हिसावले मञ्च गठन भएकाले यसलाई सबैले प्रोत्साहन र सहयोग गर्नुपर्ने बताए । सुनचाँदी व्यसायमा संलग्न सबै व्यवसायीहरू हिजोसम्म कालीगढ भएको बताउँदै अध्यक्ष विश्वकर्माले आजको तिनमा कालीगढ नै उद्योगको रूपमा स्थापित भएको बताए ।

गत माघ १९ गते ललितपुरको गोदावरीमा भएको मञ्चको दोस्रो साधारणसभाले एकजना वरिष्ठ उपाध्यक्षसहित चारजना उपाध्यक्ष एकजना महासचिव, दुईजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, लेखा प्रमुख, दुई लेखासदस्य सहित ६ जना नयाँ सदस्यहरू चयन गरेको थियो ।