खेलकुद शवबिनाको मसानघाटमा परिणत

खेलकुद शवबिनाको मसानघाटमा परिणत


sportभूकम्पसँगै आएका पराकम्पनले मुलुकलाई प्रभावित पारेको अवस्थामा खेलकुद पनि त्यसबाट अछुतो रहेन । भूकम्पले दशरथ रंगशाला परिसरलाई आफ्नो चपेटा पारी अस्तव्यस्त बनाएपछि खेलकुदका दैनिक क्रियाकलाप नराम्रोसँग प्रभावित भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को केन्द्रीय कार्यालय सडकमा पुगेको छ भने दशरथ रंगशाला भूकम्पपीडितहरूको शिविर बन्न पुगेको छ । यसरी खेलकुदको मेरुडण्डमै आघात पुगेपछि खेलकुदका प्रतियोगिता पनि ओझेलमा परेका छन् । अर्थात् वार्षिक क्यालेन्डरमै सीमित हुन पुगेका छन् । अब ती प्रतियोगिता कहिले सञ्चालन होलान् त्यसको टुङ्गो लागेको छैन । सामान्य जीवनको प्रतीक्षामा रहेका नेपालीको मानसपटलमा जबसम्म भूकम्पले बास गर्नेछ तबसम्म खेलकुदका गतिविधि सञ्चालन गर्नु आफैँमा चुनौती बनेको छ । तसर्थ भूकम्पको प्रभावसँगै अहिले खेलकुदमा कालाबादल मडारिएका छन् । जुन खेलकुदका लागि निकै चुनौतीपूर्ण र घातक बनेका छन् । जसको समाधान र उपचार आफैँमा प्रश्नचिह्न भएर खडा भएको छ । साँचोरूपमा भन्नुपर्दा यतिबेला खेलकुदका प्रतियोगिता सञ्चालन गर्नु भनेको निल्नु न ओकल्नुजस्तै पीडादायक बनेको छ ।
प्रतियोगिताबिना यतिबेला खेलकुदमा शून्यता छाएको छ । अर्थात् मूर्दाबिनाको मसानघाटजस्तै खेलकुदका निकाय बनेका छन् । भूकम्पपछिको असामन्य परिस्थितिले यस्तो वातावरणको सिर्जना गरेको हो । वर्तमान अवस्थामा खेलकुदका निकायहरू मौनता साँधेर बसेका छन् । पर्ख र हेर भन्दाभन्दै अहिले एक महिनाको समय बितिसकेको छ । वैशाख १२ गतेको महाकम्पनसँगै सिङ्गो खेलकुद पनि कम्पित र तर्सित बनेको अवस्था छ । अझ वैशाख २९ गते आएको अर्को शक्तिशाली भूकम्पले खेलकुदको विश्वासमाथि नै कुठाराघात गरेको छ । मुलुक सामान्य अवस्थातर्फ लम्कँदै गर्दा जेठको पहिलो सातादेखि खेलकुद पनि सामान्य अवस्थामा फर्किने विश्वास गरिएको थियो । विडम्बना, दोस्रोपटक आएको भूकम्पको पराकम्पनले खेलकुदलाई मात्र नभई मुलुकलाई नै अनिश्चिततातर्फ धकेलिदिएको छ । यसर्थ जनताको मानसपटलमा सन्त्रासले डेरा जमाएको अवस्थामा खेलकुद प्रतियोगिताको औचित्य आफैंमा प्रश्नचिह्नको घेरामा परेको छ । यतिबेला जनतालाई खेलकुदभन्दा पनि उद्धार र राहतको आवश्यकता छ । उनीहरूको त्रासदी जीवनलाई मुक्त गर्न खेलकुदको मनोरञ्जनभन्दा पनि योगा र मनोचिकित्सकको आवश्यकता छ । उनीहरूलाई खेलकुदले केही समय भुलाउन सक्छ, तर उनीहरूको मानसपटलमा खिचिएको बीभत्स दृश्यलाई कदापि मेटाउन सक्तैन । जुन अहिले आफन्तहरूको विछोडमा अमिट छाप बनेर रहेका छन् । यस्तो जटिल र संवेदनशील अवस्थामा खेलकुदले क्षणिक मल्हमपट्टी गर्न सक्ने भए पनि यसलाई दीर्घकालीन उपचार भने कदापि मान्न सकिँदैन । यसको अर्थ पीडितको समस्या समाधानका लागि खेलकुदको आवश्यकता छैन भन्न खोजिएको कदापि हैन । यहाँ भन्न के मात्र खोजिएको हो भने यो प्रतियोगिता सञ्चालन गर्ने सही समय होइन ।
जेठको पहिलो साता खेलकुदका लागि नयाँ बिहानीको रूपमा आउने प्रायः निश्चित थियो । तर विडम्बना, यो कुरा प्रकृतिलाई पाच्य भएन । फेरि २९ गते शक्तिशाली पराकम्पनको तरङ्ग तरङ्गित गरेर मुलुकलाई खबरदारी गरिदियो । डर, त्रास, भय र विचलित मानसिकतातर्फ उन्मुख ग-यो । अझै पर्ख हतार नगर भनेर । जसले गर्दा अहिले हतास र सन्त्रासको वातावरण पैदा भएको छ । फेरि पनि अनिष्ट हुने हो कि भनेर । यसरी बाँच्ने र मर्नेको कुनै भेउ नेपालीले पाउन नसकेको अवस्थामा भूकम्पका पराकम्पनले त्यसमा आगोमा घ्यू थप्ने कार्य गरेका छन् । जुन आफैँमा नेपालीका लागि ‘मरेको बाघको जुँगा उखेल्ने’ जस्तै कार्य भएको छ । मरेको बाघको जुँगा उखेलेर भूकम्पका पराकम्पनहरूले कस्तो बहादुरी देखाउन खोजेको हो त्यो नेपालीको सोचभन्दा निकै टाढाको कुरा बनेको छ । र पनि, सडक, पुल, चौर र खुला आकाशमुनि रात काटेर नेपालीले त्यसको सामना गरिरहेका छन् । एउटा उखान छ– बाँच्नुपर्छ सबै देख्न पाइन्छ । अहिले नेपाली पनि यही उखानलाई आत्मसात् गर्दै आफ्नो कष्टकर जीवन व्यतीत गरिरहेका छन् । असह्य पीडा बोकेर पनि यो प्राकृतिक विपत्सँग जुध्ने प्रयास गरिरहेका छन् । नेपाली डर, त्रास र सन्त्रासको ठूलो बोझ बोकेर पनि नौलो र सुन्दर बिहानीको कल्पना गरिरहेका छन् । र पनि, उनीहरूको रातको निद्रा र दिनको भोेक हराएको छ । उनीहरू पलपल मरेर बाँचेका छन्, केवल भोलिको उज्यालो प्रतीक्षामा । एक भुक्तभोगी भन्दै थिए, ‘मेरो पीडा बुझिदिनुहोस्, म मर्न चाहन्छु, यस्तो सन्त्रासको वातावरणमा पलपलमा मर्न चाहन्न, मैले सर्वश्व गुमाइसकेको छु, अझै पनि बाँच्ने प्रयास गर्दै छु, योभन्दा विडम्बना के हुन्छ र ?’ उनको प्रतिप्रश्न आफैंमा अवाक थियो । पीडाको थुप्रोमा पुरिए पनि उनी भूकम्पको पराकम्पनबाट छुटकारा पाउन चाहन्थे । धरहरा ढले पनि राष्ट्र ढलेको हेर्न सक्तैनथे ।
भूकम्प र त्यसको पराकम्पनसँगै युवाशक्ति उत्पादनको स्रोतको रूपमा परिचित राष्ट्रिय खेलकुद परिषद् र त्यसका राष्ट्रिय सङ्घहरू नराम्रोसँग प्रभावित बनेको कसैबाट छिपेको छैन । भूकम्पमा परी खेलाडी, प्रशिक्षक र खेल पत्रकारले ज्यान गुमाइसकेका छन् । कैयौँ खेलाडी घाइते भएका छन् भने कोही आफ्नो परिवार र प्रियजनलाई गुमाएर मानसिक रोगको सिकार भएका छन् ।
यस्तो विषम परिस्थितिको प्रत्यक्ष सामना गरेका अन्य खेलाडी पनि अल्परोगी र दीर्घरोगी बनेका छन् । उनीहरूको मानसिकतामा पनि अन्योल छाएको छ । के गर्ने, के नगर्ने भन्ने त्यसको भेउ पाउन सकेका छैनन् । यतिबेला उनीहरू खेलकुदमा नभई व्यक्तिगत सङ्घर्षको सामना गरिरहेका छन् । उचित समयको पर्खाइमा रहेका खेलाडी यो भवसागरबाट कहिले पार पाउने हुन् त्यो समयकै गर्भमा लुकेको छ । यस्तो अवस्थामा खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् प्राकृतिक प्रकोपका अगाडि मूकदर्शक मात्र बनेको छ । खेलाडीकोे हकहित र उद्धारका राष्ट्रिय सङ्घलाई मौखिक निर्देशन दिए पनि कार्यान्वयनमा ल्याउन प्राकृतिक प्रकोपका अगाडि राखेपले घँुडा टेक्नुपरेको छ । जसले गर्दा यतिबेला खेलकुद नाजुक अवस्थामा गुज्रिरहेको छ । यसको परिणाम भोलि खेलाडी, खेलकुद र राष्ट्रले भोग्नुपर्ने प्रायनिश्चित छ ।
वर्तमान अवस्थामा खेलकुदमा खेलाडीहरूको खडेरी परेको छ । यसको अर्थ खेलाडी छैनन् भन्न खोजिएको होइन । खेलाडी छन् तर उनीहरू यतिबेला खेल्ने मुडमा छैनन् वा तयार छैनन्, कुरा मात्र यति हो । जसले गर्दा खेलकुद खेलाडीबिनाको खेलकुद बन्न पुगेको छ । खेलकुदको आभूषण र सुन्दरता भनेकै खेलाडी हुन्, जति खेलाडी त्यति नै खेलकुदमा सुन्दरताको आभास हुन्छ । तर, विडम्बना, यतिबेला नेपाली खेलकुद ‘रानो’बिनाको मौरीजस्तै बनेको छ । महाविनाशकारी भूकम्पले खेलकुदका अल्पकालीन र दीर्घकालीन सबै योजनामाथि तगारो खडा गरिदिएको छ । साँचो अर्थमा भन्नुपर्दा लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको खेलकुदमा केही गरौँभन्दा पनि गर्ने अवस्था छैन । यसैले अहिले मुलुकसँगै खेलकुद पनि गम्भीर अवस्थाबाट गुज्रिएरहेको छ । भूकम्पका पराकम्पनले आशाका किरणलाई जाग्न दिएको छैन । सबै रनभुल्लमा छन्, के गर्ने कसो गर्ने भनेर ? र पनि, मनलाई सम्झाएर खेलाडी आशावादी बने पनि विश्वासवादी बन्न सकेका छैनन् । अरूबेलाको झैं खेलकुदमा उज्ज्वल भविष्य देख्न सकेका छैनन् । यसर्थमा एउटै भएको अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’मा पनि चिरा नै चिरा परेको छ । उसको अस्तित्व पनि सङ्कटमा परेको छ । खेलाडीको मनमा पनि भूकम्पले चिरा नै चिरा पारेको छ । उनीहरू पनि सङ्कटको घेरामा समेटिएका छन् । यसरी अहिले खेलकुद मूर्दाबिनाको मसानघाटमा परिणत छ ।

खेल समाचार

चेपाङ बस्तीमा सीडब्लूसीएनको राहत
जुडो खेललगायत विभिन्न गतिविधिबाट अनाथ एवम् असहाय बालबालिकालाई पुनस्र्थापना गर्न सहयोग गर्दै आएको बाल वातावरण केन्द्र नेपाल (सीडब्लूसीएन), लियो क्लब अफ नवलपरासी, रामग्राम र युवा समाजसेवी किरण खड्गीले धादिङको गजुरीस्थित भदौरेका भूकम्पपीडित चेपाङ बस्तीका बालबालिकालाई लक्षित गरी राहत सामग्री वितरण गरेका छन् । त्यहाँस्थित ७० घरधुरीलाई चामल, पाल, मञ्जन, साबुन, चिउरा र झुल गरी करिब दुई लाख ५० हजार मूल्यको राहत वितरण गरिएको सीडब्लूसीएनका कोषाध्यक्ष एवम् अन्तर्राष्ट्रिय जुडो निर्णायक धर्मकुमार श्रेष्ठले जनाएका छन् । श्रेष्ठसहित सीडब्लूसीएनका अध्यक्ष सुरेशप्रसाद लुइँटेल, युवा समाजसेवी किरण खड्गीलगायतले राहत वितरण गरेका थिए ।

काभ्रे र सिन्धुपाल्चोकमा एनटीको राहत
नेप्लिज तेक्वान्दो एकेडेमीले काभ्रे र सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरेको छ । काभ्रेको खरेलथोक गाविसको वडा नं. ७ र सिन्धुपाल्चोकको छापदेउराली गाविसको वडा नं. ४ मा राहत सामग्री वितरण गरिएको हो । खरेलथोकमा ४० तथा छापदेउरालीमा ११ घरधुरीलाई राहत वितरण गरिएको एनटीएका अध्यक्ष एवम् तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् । दुवै गाविसमा चामल, नुन, तेल, त्रिपाल, बिस्कुट, चाउचाउ, चिउरा र दालमोठ गरी करिब ८० हजार मूल्यबराबरको राहत सामग्री वितरण गरिएको खड्काले जानकारी दिए ।
खड्काका अनुसार उक्त राहत सामग्रीका लागि अमेरिकामा बस्ने कराते प्रशिक्षक कर्ण चन्दबाट २५ हजार, बेलायतमा बस्ने सावित्री लामिछानेबाट १५ हजार र लालु लोप्चन घलानबाट २१ हजार तथा अस्ट्रेलियामा बस्ने कल्पना केसीबाट १० हजार रुपैयाँ प्राप्त भएको थियो । उक्त रकम र एनटीएसँगै रहेको केही राहत सामग्रीसहित ८० हजार मूल्यबराबरको राहत वितरण गरिएको बताइएको छ । खड्कासहित एनटीएका महासचिव तीर्थराज घिमिरे, राष्ट्रिय तेक्वान्दो खेलाडी रोहित तामाङ, तेक्वान्दो खेलाडी गिरीबहादुर सुनारलगायतले राहत वितरण गरेका थिए ।

पारा तेक्वान्दोको राहत नुवाकोटमा
नेपाल पारा तेक्वान्दो सङ्घले नुवाकोटको समुन्द्रादेवी गाविसका भूकम्पपीडितलाई राहत सामग्री प्रदान गरेको छ । चामल, पाल, साबुन, नुन, तेल, गेडागुडी, म्याट्रेसलगायत गरी ३ लाख मूल्यबराबरको राहत सामग्री एक सय ३ घरधुरीलाई वितरण गरिएको पारा तेक्वान्दो सङ्घका अध्यक्ष जर्नाजन ढुङ्गेलले जनाएका छन् । ढुङ्गेलसहित सङ्घका उपाध्यक्ष भीमसेन केसी, महासचिव अच्युत्तम लामिछाने, सचिव लोकेन्द्र आचार्यलगायतले राहत वितरण गरेका थिए ।

दोलखामा केसीको राहत र छात्रवृत्ति
नेपाल कराते महासङ्घका महासचिव एवम् नेपाल बादोरियो कराते डो सङ्घका प्रमुख प्रशिक्षक हरिशरण केसीले दोलखाको दुई गाविसका भूकम्पपीडितलाई राहत सामग्री प्रदान गरेका छन् । बोचे र लाँकुरी गाविसमा व्यक्तिगत खर्चमा करिब दुई लाख ५० हजार रुपैयाँ मूल्यबराबरको राहत सामग्री वितरण गरिएको केसीले जनाएका छन् । वितरित राहत सामग्रीमा चामल, त्रिपाल, स्लिपिङ ब्याग, चाउचाउ, बिस्कुट, चिउरा र औषधि रहेका छन् । केसीसहित १०औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कराते खेलाडी कुशल श्रेष्ठ, अन्तर्राष्ट्रिय कराते खेलाडी तारा गुरुङ, कान्तिपुर यातायात व्यवसायी सङ्घका उपाध्यक्ष नारायणकाजी डङ्गोल, दक्षिण एसियाली बादोरियो कराते च्याम्पियनसिपका स्वर्णधारी सिमोन खत्रीलगायतले राहत सामग्री प्रदान गरेका थिए ।
सो अवसरमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्षसमेत रहेका केसीले आर्थिक अभावका कारण आफ्नो अध्ययनलाई अगाडि बढाउन कठिनाइ भोगिरहेका दोलखाका जेहेनदार १० विद्यार्थीलाई एलएलसीसम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने पनि घोषणा गरे । यसअघि केसीले दोलाखाकै श्रीदेवी उमाविमा सातजनालाई आफ्नै सम्पूर्ण खर्चमा अध्ययनको व्यवस्था मिलाइदिएका छन् ।

नर्वे बादोरियो प्रमुख नेपालमा
नर्वे बादोरियो करातेका प्रमुख प्रशिक्षक कजार्टन स्टोर्नसहितको पाँच सदस्यीय टोली काठमाडौं आएको छ । स्टोर्नसहित नर्वे बादोरियो कराते प्रशिक्षक मारियस, भाइकिङ, जोनोग भाइकिङ र जोनसहित पाँच सदस्यीय टोली तेस्रो बादो अन्तर्राष्ट्रिय कराते तालिममा सहभागीलाई प्रशिक्षण दिन काठमाडौं आएको हो । नेपाल बादोरियो कराते डो सङ्घको आयोजनामा तालिम आइतबारदेखि बसुन्धारामा सुरु भएको छ । ६ दिने तालिममा ९५ जनाको सहभागिता रहेको आयोजक सङ्घका प्रमुख प्रशिक्षक एवम् नेपाल कराते महासङ्घका महासचिव हरिशरण केसीले जनाएका छन् । नर्वेबाट आएको प्रशिक्षक टोलीलाई केसीसहित आयोजक सङ्घका उपाध्यक्ष तेजेन्द्र गुरुङ र पदाधिकारी, दक्षिण एसियाली बादोरियो कराते च्याम्पियनसिपमा स्वर्ण विजेता सिमोन खत्री, प्रशिक्षक, खेलाडीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

महर्जनद्वारा राहत वितरण
नेप्लिज तेक्वान्दो एकेडेमी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ र राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले काभ्रे र सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत सामग्री प्रदान गरेको छ । काभ्रेको श्यामपाटीका २० घरधुरीलाई १० बोरा चामल र २० थान पाल स्थानीय हरिशरण थापालाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी प्रदान गरिएको थियो । त्यस्तै काभ्रकै ढुङ्खर्कका १५ घरधुरीलाई आठ बोरा चामल र १५ थान पाल हातेमालो युवा समाजका अध्यक्ष विनोद तिमल्सिनालाई पीडितलाई बुझाउने गरी हस्तान्तरण गरियो । त्यस्तै सिन्धुपाल्चोकको भोटसिपा गाविसको वडा नं. ५ र ६ का भूकम्पपीडित ८० घरधुरीलाई पाल ५० थान, चामल ४० बोरा, तेल र नुन समान ८० प्याकेट तथा दाल ४० केजी प्रदान गरिएको थियो ।
पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, खेलाडी सङ्घका अध्यक्ष दीपक विष्ट र महासचिव दीपक श्रेष्ठ, एनटीएका अध्यक्ष अशोक खड्का, आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्णधारी रवि महर्जन, तेक्वान्दो राष्ट्रिय खेलाडी रोहित तामाङ, मिसेस रजनी थापालगायतले राहत वितरण गरेका थिए । हङकङमा रहेका पूर्वतेक्वान्दो खेलाडी रिना शेरचन, अमेरिकामा रहेका कराते खेलाडी उज्ज्वल ठकुरी, अस्ट्रेलियामा रहेका ललित मल्ल, विश्वास भट्ट, सुवास पाण्डे, नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोखरेल, व्यवसायी नीराजन सिंहलगायतले राहतका लागि सहयोग गरेको बताइएको छ । सबै मिलाएर करिब दुई लाख मूल्यबराबरको राहत वितरण गरिएको खड्काले जानकारी गराएका छन् ।
यसैगरी ललितपुरको दक्षिण भेगको मनीखेल र कालेश्वर गाविसका भूकम्पपीडितलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ र राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले राहत सामग्री वितरण गरेका छन् । मनीखेल ५, ६, ७ र ८ वडामा १ सय घरधुरी तथा कालेश्वरमा १ देखि ९ वडाका १ सय ५० घरधुरीलाई राहत सामग्री वितरण गरिएको खेलाडी सङ्घका महासचिव दीपक श्रेष्ठले जनाएका छन् । दुवै गाविसका प्रत्येक घरधुरीलाई दुई हजार मूल्यबराबरको राहत प्याकेज वितरण गरिएको खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले बताए । वितरित राहत सामग्रीमा चामल, दाल, नुन, तेल, बेसार, पाल, कम्बल, चाउचाउ, बिस्कुट, भुजियालगायत छन् । महर्जन, श्रेष्ठ र विष्टसहित आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्णधारी करातेका रवि महर्जनलगायतले पीडित परिवारका सदस्यलाई राहत प्रदान गरेका थिए ।

स्वयम्सेवक युवाको नमुना काम
कीर्तिपुरको भूकम्पले सर्वाधिक प्रभावित गरेको क्षेत्र वडा नम्बर १५ लाई नमुनाबस्तीका रूपमा विकास गर्नका लागि जेनेरेसन फर पिसका स्वयम्सेवकहरू लागिपरेका छन् । राहत वितरणको कार्यक्रमपछि जेनेरेसन फर पिसले सो स्थानलाई छनोट गरी सो स्थानमा आफ्नो सबै कार्यक्रमलाई एकीकृत गरी नयाँ योजनाअनुसार मानिसलाई अगाडि बढाउने तयारी गरिरहेको पिसकी हेल्गा राणाले बताइन् । यतिबेला पिसका स्वयम्सेवकहरू त्यस क्षेत्रमा भूकम्पपछि ढलेका घरका भग्नावशेषहरू हटाउने, सरसफाइलगायतका कार्यक्रममा व्यस्त छन् । स्थानीयका चिनोका रूपमा पुरिएका वस्तुहरूलाई समेत निकाल्दै फोहोर सफा गर्नुपर्ने भएकाले सोहीअनुसार गरिरहेको सुजनलाल श्रेष्ठले बताए । यो अभियानलाई उनीहरूले दीर्घकालीन योजनामा राखेका छन् । विभिन्न पेसामा आबद्ध रहेका ती स्वयम्सेवकहरूले प्रत्येक शनिबार सो क्षेत्रमा गएर श्रमदान गर्दै छन् । जेनेरेसन फर पिसले भित्री मनदेखि गरेको सो कार्यबाट प्रभावित भएर लाजिम्पाटका युवाहरूले समेत साथ दिइरहेका सुजनलाल श्रेष्ठ बताए । सो कार्यक्रममा जेनेरेसन फर पिसका १६ स्वयम्सेवक र अन्य युवाहरूको समेत सहभागिता रहेको छ । त्रासबाट बालबालिकालाई सरल जीवनतर्फ ल्याउन पनि जेनेरेसन फर पिसले मनोवैज्ञानिक परामर्शको कामसमेत गरिरहेको छ । उनीहरूले सो बस्तीमा स्थानीयलाई जनचेतनासहित श्रमदान गरेर अस्थायी बासस्थान बनाउन सहयोग गर्ने भएका छन् ।
‘यो पीडामा नेपाली युवाहरूमा जागेको स्वयम्सेवकको भवनाले हामी उत्साहित छौँ । किनकि हामीले यसअघि नै हरेक कार्यमा स्वयम्सेवकका रूपमा आफूलाई स्थापित गर्दै आएका थियौँ, तर युवाहरूमा यसले परेको बेलामा साथ दिनुपर्छ भन्ने भावनाको जागरुकता भएको छ । जुन नेपालका लागि सकारात्मक हो,’ हेल्गाले भनिन् । नयाँ पुस्ताको यो अभियानलाई सबैले साथ दिएमा अन्यलाई समेत प्रेरणाा मिल्ने उनको दाबी छ । नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिवसमेत रहेका स्वयम्सेवक सुजन भन्छन्, ‘हामीले त अभियानका रूपमा नै हप्ताको कम्तीमा एक घन्टा कुनै पनि स्वयम्सेवक क्रियाकलापमा सहभागी हौँ भन्ने योजना ल्याएका छौँ ।’