इन्द्रेणी

इन्द्रेणी


indreniमेरो देश– विश्वम्भर चञ्चल
हल्लिऔँ बरु आफैँ नै देश मेरो नहल्लियोस्
पटक–पटक लडौँ आफैँ देश मेरो नपल्टियोस्
आस्था, धर्म र विश्वास देशको यो सबै गयो
भएका देवी–देउताको मन्दिरै पनि नासियोे
संसारमै नआएको भूकम्प कसरी गयो ?
मेरो देश हरे कस्तो ! विनाशको भू–थलो बन्यो ।

त्यो पापी शनिबार– पुरुषोत्तम ढकाल

त्यो पापी शनिबार
प्रकृतिको एउटा लीला
मनोरम बन्न सकेन
मान्छेका हकमा

पृथ्वीको गर्भमा अटाउन नसकेको
असीमित सम्भावना
यसरी नै निस्कियो
तर त्यो पापी शनिबार
यशोदाले कृष्ण्ँ जन्माइनन्
कौरवरूपी भूकम्पको तरङ्ग
कणर्प्रिय बन्न सकेन
मेरो जातिको हकमा

अलिकति आँसु
एक थुप्रो पीडा
र प्रसव वेदनाले नै
आमा देवपुत्र जन्माउँछिन्
तर त्यो पापी शनिबार
मृत्यु फलेर जन–जनको मुटुमा
अर्थात् यसो भनौँ
नेपाल भन्ने हिमालयको बोटमा

मृत्युखेती भन्न म सक्दिनँ
तिम्रो त्यो लीला
मान्छे बन्दै गरेको मेरो जाति
अधर्मबाट धर्मको यात्रामा डो-याउने
तिम्रो त्यो अनुपम छटा पो हो कि †

मारेर बन्धु र सखा
छोडेर मात्र आँसु र रोदन
गयो त्यो पापी शनिबार
तर म भन्दिनँ तिमीलाई पापी
किनभने मलाई हेक्का छ
सृष्टिको यो शृङ्खला चलिरहन्छ
हिजो, आज र भोलि
ए धर्तीमाता भन्देऊ न मलाई
तिम्रो त्यो प्रसव वेदनाले
धर्तीपुत्र जन्मिएकै हो ?
मेरो देशमा, मेरो भेषमा

हो, अनन्तदेखि चलिरह्यो सृष्टिमा
तिम्रो प्रसव वेदना
देवपुत्र निख्रिएको मेरो देशमा
भन्द्यौ न देव
त्यो पापी शनिबार
यसोदाको कृष्ण्ँ जन्मिएकै हो ?
– अल्हाम्ब्रा, लस एन्जलस, यूएसए