पूर्वकी चेली पश्चिमाहरूको देशमा– प्रभा बराल

पूर्वकी चेली पश्चिमाहरूको देशमा– प्रभा बराल


bicharकृति–समीक्षा
आममानिसलाई भ्रमण मन पर्छ । शायद भ्रमण मन नपर्ने मानिस शायदै होलान् । भ्रमणले मानिसलाई पुनर्ताजगी दिन्छ, नयाँ नयाँ ज्ञान प्रदान गर्दछ । नयाँ ठाउँको चिनजानबाट त्यहाँको जीवनशैली, संस्कृति, विकास तथा रहनसहनले मानिसलाई सभ्य बनाउन मद्दत गर्दछ । पछिल्लो दिनमा आएर झन् नयाँ–नयाँ ठाउँको भ्रमण गर्नेहरूको सङ्ख्या त दिन दुई गुना र रात चौगुनाको दरले बढिरहेको छ । स्वदेश होस् वा विदेश भ्रमणको तृष्णामा मोहित हुनेहरू बढिरहेका छन् ।
भ्रमण सँगसँगै यात्रालेखनको परिपाटीको पनि निकै विकास हुँदै गइरहेको छ । आफूले देखेका र भोगेका कुरालाई स्मरणीय रूपमा राख्नका लागि संस्मरण लेखनले निकै ठूलो महत्व राख्दछ । भ्रमण गर्न भनेपछि हुरुक्क हुने गीता रेग्मीको नियात्रा कृति ‘पश्चिमाहरूको देशमा’ले पनि हामीलाई थुप्रै देशहरूको भ्रमण गराउँछ । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझँै विदेश जान उपयुक्त मौकाको खोजीमा रहेकी गीतालाई प्रज्ञा–प्रतिष्ठानमा पाएको निम्ताबाट बेलायत जान सकिने समाचारले हर्षित बनाउँछ र उनी त्यसको खोजीमा लाग्छिन्् । अन्तर्राष्ट्रिय साहित्य समाजद्वारा आयोजित उक्त कार्यक्रममा जान उनले सम्पूर्ण चाँजो मिलाउँछिन् ।
आफ्ना प्रायः इष्टमित्र र आफन्त बिदेसिएका र उनीहरूको मुखबाट विदेशका धेरै कुराहरू सुन्न परिरहेको अवस्थामा आफू पनि त्यहाँ जान र त्यहाँको भौतिक विकासलाई आँखाले हेर्न र हातले छुन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । यसभन्दा पहिला पनि उनले यस्तै विकासशील राष्ट्र हेर्ने धोको पालेर प्रयास पनि गरेकी थिइन् । तर पनि उपयुक्त समय आइसकेको थिएन र उचित दिनको प्रतीक्षामा थिइन् उनी ।
सन् २०११ को अगष्ट २३ का दिन गीता रेग्मीको जीवनको सपना रुपान्तरित हुने दिनका रूपमा उनका सामु आइपग्यो । साहित्यिक सम्मेलनमा भाग लिनेजस्तो गरिमामय माहोल उनका लागि सिर्जित हुन पुग्यो । ‘तँ आँट म पु-याउँछु’ भनेझैँ उनको सपना सार्थक हुने भयो । हो, उनले अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतले २०११ अगस्ट २६ देखि सुरु गर्ने कार्यक्रममा सरिक हुन पाइन् । त्यो अवसरसँगै उनले विकासशील मुलुक घुम्ने आफ्नो रहरलाई पनि पूरा गर्ने भइन् । कार्यक्रममा नेपालबाट प्रदीप नेपाल, गोविन्दराज भट्टराई, शर्मिला खड्का दाहाललगायत अन्य सदस्य पनि सहभागी थिए । यस्तो ऐतिहासिक कार्यक्रममा सहभागिता जनाउन पाउँदा गीता रेग्मीलाई पनि कम्ती खुसी लागेन ।
अत्यन्त अभिरुचिका साथ बेलायतको कार्यक्रम सम्पन्न भयो । बेलायतमा बस्ने नेपालीको नेपाली भाषा र साहित्यप्रतिको यो मोह पनि उल्लेखयोग्य नै छ । अगस्ट २६ देखि सुरु भई अगस्ट २८ गते सम्पन्न भएको यो कार्यक्रमपछि पुरातात्विक तथा ऐतिहासिक महत्वपूर्ण दस्तावेजहरूले कहलिएको बेलायतका प्रमुख स्थलहरू घुम्ने योजना बन्यो । त्यहाँको भौतिक विकास, प्राकृतिक सौन्दर्य र सभ्यताले मन छोएको कुरा उनको कृतिमा वर्णन पाइन्छ । विश्वप्रसिद्ध साहित्यकार सेक्सपियरको जन्मभूमि पुगेपछि उनको जन्मघर हेर्ने चाहना हुन्छ त्यहीअनुरूप सबैजना उनको घरतिर लाग्छन् । घरभित्र पस्न टिकट काट्नुपर्ने रहेछ ।
सन् १८४० देखि रानी भिक्टोरियाको पालादेखि विकसित हुन लागेको बेलायतको विकासले आज यो गति लिएको देख्दा उनलाई आफ्नो देशमा हालसम्म कोही राष्ट्रवादी नेता नभएको र देश सधैँ पछौटेपनबाट माथि उठ्न नसकेको देख्दा घोर दुःख लागेको कुरा व्यक्त गर्छिन् । बेलायत आएको बेला अरू छेउछाउका छिमेकी मुलुक घुम्न सहज हुने भएकाले उनी फ्रान्स, जर्मन, नेदरल्यान्ड, बेल्जियम घुम्ने चाहना पनि राख्छिन् । फ्रान्समा रहेका आफ्ना आफन्तका साथ उनी पेरिसको आइफेल टावर, लुभ्र दरबार, मोनालिसा राखेको सङग्रहालय, व्यापारिक केन्द्रहरू, सभ्यता र संस्कृति जनाउने विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको प्रसङ्ग पनि उल्लेख छ । कतिपय ठाउँमा उनले घुम्ने साथी पाएकी छिन् भने कतिपय ठाउँमा आफैँ हातमा नक्सा लिएर घुम्न निस्किएकी छिन् । एउटा अपरिचित ठाउँमा एक्ली नारी नक्साको भरमा कत्ति पनि नआत्तीकन फ्रान्सका पर्यटकीय स्थल घुमेको देख्दा पाठकलाई उनको आँट र हिम्मत सलामयोग्य लाग्छ ।
फ्रान्सपछि आफन्तको सहयोगमा उनी बेल्जियमको महत्वपूर्ण ठाउँहरूको भ्रमण गर्छिन् । अब उनलाई समद्रमुनि चरा उड्ने देश नेदरल्यान्ड हेर्नु छ । मनले चाहे भन्दैमा सबै ठाउँको यात्रा गर्ने सौभाग्य पाएको देख्दा पाठकलाई हलुका इष्र्या पनि जागृत गराउँछ । एउटा मुलुकको पनि मुख देख्न नपाएकालाई एकपछि अर्को देशको शृङ्खलाबद्ध यात्रा विवरण पश्चिमाहरूको देशमा पढ्न पाउँदा असीम आनन्द पनि प्राप्त हुन्छ । जुन देश पुग्यो त्यही आफन्त भेटिने उनको भाग्यले पनि उनलाई निकै साथ दिएको छ । उनको अर्को सपनाको गन्तव्य मुलुक रहेको छ जर्मनी । सानैदेखि हिटलरको नाम सुनेकी उनलाई उसको राष्ट्र हेर्नु छ । दोस्रो विश्वयुद्धको केन्द्रबिन्दु रहेको देश र त्यहाँको भूगोल हेरेर मनको तृष्णा मेट्नु छ । मन लागुन्जेल धेरै समय लिएर घुम्ने समय नभए पनि उनी जर्मनीको माटो पनि टेकेरै छाडिन् र आँखामा सजिएको जर्मनीलाई वास्तविकतामा सजीव तुल्याइन् ।
पश्चिमाहरूको देश डुलेर गीता रेग्मीले ज्ञानको क्षितिजलाई फराकिलो पारिन् र पहिलोपल्ट खुसीले पागलै भइन उनी । त्यहाँको सभ्यता, संस्कृति र विकासले गरे के हुँदो रहेनछ भन्ने बोध गरायो । आफ्नो देशका नेताहरूका कारणले दिन परदिन देशको अवस्था खस्कँदै गइरहेको, सहमति–सहमति भन्दाभन्दै एक दशक नै गुजार्न थालेको देख्दा उनलाई असाध्यै बेचैन अनुभव भयो ।
समग्रमा पश्चिमाहरूको देश विशुद्ध यात्रा निबन्ध भएकाले पाठक पनि निबन्धकारसँगै पुग्नु यसको विशेषता हो । यस कार्यमा उनी अत्यन्त सफल पनि भएकी छिन् । भाषाशैली पनि सरल र सरस छ । सरल भाषामै उनले आफ्ना कुरा इमानदारी साथ प्रस्तुत गरेकी छिन् । आफ्ना भोगाइ र प्रस्तुतिमा उनले कहीँ पनि काल्पनिकताको सहारा लिएकी छैनन् । यो उनको विशेषता पनि हो । यात्रा साहित्यको इतिहासलाई भूमिकामा प्रस्तुत गरेर उनले आफ्नो कृतिको उचाइ पनि बढाएकी छिन् ।
कहीँ–कहीँ भाषिक समस्याहरू रहेका छन् । केही निबन्धहरू कलात्मकभन्दा पनि विवरणात्मक खालका पनि बनेका छन् । नियात्रा जगत्मा यो उनको पहिलो कृति भएकाले आगामी दिनमा उनको लेखन अझै परिष्कृत बन्नेछ ।
नेपाली नियात्रा जगत्मा औँलामा गन्न सकिने नियात्राकार रहेकोमा गीता रेग्मीको उपस्थिति अत्यन्त सशक्त देखिएको छ । उनीबाट नेपाली साहित्यले अझै राम्रा र धेरै कृति प्राप्त गरोस् यही शुभेच्छा, यही कामना ।
कृतिको नाम : पश्चिमाहरूको देशमा
लेखक : गीता रेग्मी
प्रकाशक : अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा.लि.
मूल्य : रु १६०/–