हाम्रो प्राचीन संस्कृतिप्रति हामी गौरव गर्दछौँ । तर, हामी आफ्नो प्राचीन संस्कृतिअनुरूप मानवले गर्नुपर्ने धर्म, कर्तव्य, व्यवहार आदि गरिरहेका छौँ त ? आजका मानव एवम् यिनका व्यवहार–प्रवृत्तिलाई नियालेर हेर्दा यस्तो लाग्छ कि मानव नामका लागि मात्र मानव रहन गएको छ । अझै भनौँ यन्त्रमानवमा परिणत भइसकेका छौँ हामी । मानव संस्कारको विपरीत मान्छेका स्तर दिनप्रतिदिन पतनोन्मुख हुँदै जाँदो छ । कहाँ छ त्यो मानवीय स्वाभाविक आचरण/व्यवहार, जसले मानवलाई वास्तविक अर्थमा मानव मान्न सकियोस् ?
आजको मानव प्रवृत्ति हेर्दा यस्तो लाग्छ कि यत्रो भौतिक विकासका बाबजुद मानवता दिन–प्रतिदिन विनाशतर्फ दु्रतगतिमा अग्रसर छ । मानवले आफ्नो सद्भावना, समवेदनालाई चटक्क बिर्सेर स्वार्थको वरिपरि चक्कर लगाइसकेको छ । परिणामतः मानवको विचार, भावना, व्यवहार सङ्कीर्ण वा सङ्कुचित हुँदै जाँदो छ, जसले भावी दिनमा मानवको कस्तो दुर्गति होला भन्ने अमिलो प्रश्न खडा गरिदिएको छ ।
आजको मानव स्वार्थको गहिराइमा यति भासिँदो छ कि के शिक्षित, के अशिक्षित कसैमा भिन्नता छैन । जसको परिणाम कहिलेकाहीँ मानव समाजमा यस्ता घटना घट्न जान्छन्, जसलाई देख्दा वा सुन्दा पनि लाजले आफ्नो मुख आफैँले छोप्नुपर्ने अवस्था आउँछ । श्रीमतीले श्रीमान्को हत्या गराइरहेका छन् भने श्रीमान्ले श्रीमती जलाइरहेका छन् । छोराले बाबुआमाको हत्या, बाबुआमाले छोराछोरीमाथि हिंसा, दाजुले बहिनीलाई बलात्कार, शिक्षकद्वारा विद्यार्थी बलात्कृत, नाबालक बालिका र वृद्धा पनि बलात्कृत आदि घटना दैनिक रूपमा घटिरहेका छन् । कसैलाई कसैप्रति विश्वास छैन । एकले अर्कोलाई शङ्का–उपशङ्काको दृष्टिले हेरिरहेका छन् । सबै एक–अर्काप्रति सशङ्कित र त्रसित छन् । यस्तो अवस्थामा कति दिन शान्तिले बाँच्न सक्छ मानव ? आजको मानवले यस्ता समस्याबाट कसरी मुक्ति पाउने ? अकल्पनीय घटना–दुर्घटनाको सङ्ख्या दिन–प्रतिदिन बढ्दै जाने कारणको गहिराइमा गएर कहिल्यै हामीले विचार गरेका छौँ ? किन यस्तो प्रवृत्तिका घटनाको सङ्ख्या बढ्दो छ त ? यस्ता घटनालाई कसरी रोक्न सकिन्छ होला त ?
आजका मानव यस्तो गलत सोचले ग्रसित भइसकेका छन् कि सम्पत्ति नै सुख हो भन्ने मान्यताबाट परिचालित छन् । मानव सम्पत्तिका लागि जेसुकै गर्न पनि तम्तयार छ र सक्दो सम्पत्ति सङ्ग्रह गरिरहेको छ, जसको कुनै अन्तिम बिन्दु छैन । तर, सही अर्थमा यो सम्भव छैन, अर्थात् सम्पत्ति नै सुख होइन, अझ भनौँ भौतिक सुख नै वास्तविक सुख होइन । बुद्धि भ्रष्ट भएर वा भनौँ बुद्धिमा स्वार्थको प्रस्टले गर्दा अधिकांश मानव भौतिक सुखलाई नै वास्तविक सुख ठानिरहेका छन् । जसको परिणाम अधिकांश मानवमा यही सोच तीव्र गतिमा हावी हुँदो छ । मानवले उल्टो बाटो समाउन पुगेको छ । उल्टो बाटो जहाँ स्वाभाविकता छैन, जहाँ सुखको भ्रम मात्र छ । मानव भौतिक सुखलाई नै वास्तविक सुख ठानी, त्यसैमा आफ्नो अमूल्य जीवन, अमूल्य यौवन खेर फालिरहेको छ ।
तर, जीवनको अन्त्यतिर जब मानवले अज्ञात सुखको अनुभव गर्न सक्दैन, अनि विस्तारै–विस्तारै भ्रमण टुट्न थाल्दछ र पश्चत्ताप गर्न पुग्दछ । सुखको स्वरूपलाई गलत तरिकाले वर्णन गरेँ भन्ने अनुभूति हुन थाल्दछ । अनीति, अन्याय, अत्याचार, छलकपट, भ्रष्टाचार आदिको माध्यमबाट केही सम्पत्ति सङ्ग्रहित गरी भोलिको भविष्य सुखद हुने कल्पनामा रमाइरहेको मानव कसरी आफूले सङ्ग्रहित गरेको सम्पत्ति संरक्षण गर्न सकिन्छ भन्ने कुराले चिन्ताग्रस्त हुन पुग्दछ । जसको परिणाम कहिलेकाहीँ सोही चिन्ता मानव मृत्युको प्रमुख कारण पनि बन्न पुग्दछ ।
मानवका स्वार्थका सिकार भएका मानव मात्र नभई उसका सन्तान, नातागोता नै उसले सङ्ग्रहित गरेको सम्पत्ति के–कसरी आफ्नो हातमा पार्न सकिन्छ भनेर अनेकौँ षड्यन्त्र तथा उसलाई अपमानित गर्ने कार्य गर्न थालिसकेका हुन्छन् र जुन कुराबाट ऊ स्वयम् पनि अनभिज्ञ रहन सक्दैन, जसले झनै चिन्ताग्रस्त तुल्याइदिन्छ । कहाँ सुख पाउला भनी सङ्ग्रहित गरेको सम्पत्ति कहाँ आजको अवस्था । कहिलेकाहीँ यसै कारणले गर्दा मानव समाजमा यस्ता–यस्ता घटना, जघन्य अपराध हुन जान्छन्, देख्ने–सुन्ने मान्छे पनि आश्चर्यचकित हुन पुग्छन् । प्रमाणका लागि पुलिस प्रशासनको अपराध शाखामा गएर रेकर्ड हेर्नुहोस्, नब्बे प्रतिशत अपराज नातागोता, आफन्तले नै गर्ने गराउने गरेको तथ्य सजिलै फेला पार्न सक्नुहुनेछ । जसको पछाडि धन–सम्पत्ति नै प्रमुख कारण रहेको प्रस्ट देख्न सकिन्छ ।
देखिएका यस्ता कैयौँ घटनाको परिणामबाट त्रसित म, यहाँ यस लेखद्वारा मानव समाजलाई नम्र निवेदन गर्न चाहन्छु, तपाईंहरू पनि सङ्ग्रहित साधन सम्पदाको लोभको चङ्गुलबाट बाहिर आई, वास्तविक सुख, शान्ति, चैन के–कसरी कहाँबाट प्राप्त गर्न सकिन्छ भन्ने चिन्तनको अन्वेषणतर्फ अग्रसर भई आफ्नो अन्त्यका सुख शान्तिपूर्वक व्यतीत गर्न सफल हुनुहोस् भन्ने शुभकामना दिन चाहन्छु ।
साँचो सुख जसको प्राप्त नै मानव जीवनको परम् लक्ष्य हो । त्यो वैभव विलास, कुनै योग्य वस्तु अधिकार, पद वा सम्पत्तिमा निहित छैन । जसको प्रत्यक्ष प्रमाण संसारमा जति पनि साधु, सन्त, सद्पुरुष महापुरुषहरूले यस भूमिमा जन्मलिए ती सबैले एकै स्वरमा, एउटै उपदेश, सन्देश दिएर गए–साधन सम्पत्ति भन्ने कुरा मात्र प्राणीहितका लागि उपयोग उपयोग गर्नु, त्यसलाई सङ्ग्रहित गर्नु उचित छैन र जसले अनैतिक तवरले सङ्ग्रहित गर्दै जान्छ, त्यो कदापि सुखी रहन सक्दैन । प्रभुको इच्छा नै जब साधन सम्पत्ति सङ्ग्रहित नगरी प्राणीहितका लागि उपयोग गर्नु छ भने प्रभु इच्छाविपरीत हिँड्ने मानव कसरी सुखी रहन सक्ला । एकैछिन मनन गरौँ ।
हामी सम्पूर्ण मानव, जो आफूलाई ज्ञानको अधिकारी मान्दछौँ, यो सरल र सत्य कुराको गहिराइमा गएर विचार गरौँ र सक्दो व्यवहारमा, आचरणमा लागू गर्ने कोसिस गरौँ । यसैमा सुख छ, यसैमा शान्ति छ, यसैमा मानव तथा मानव समाजको कल्याण छ । यही नै प्रभुको इच्छा हो ।
र, अन्त्यमा एउटा प्यासी मानव व्यास मेटाउन पानीको खोजीमा भौँतारिरहेको थियो । संजोगले विशाल समुद्रछेउ पुग्यो, प्यास मेटाउन एक अञ्जुली पानी लिएर पिउन खोज्यो तर समुद्रको पानी नुनिलो र खरो थियो । उसले त्यो पिउन सकेन र तिर्खालु भएरै त्यहाँबाट हिँड्यो । पछि उसले एउटा सानो खोला देख्यो र त्यस खोलाबाट एक अञ्जुली पानी पियो । खोलाको पानी स्वच्छ तथा मीठो भएकाले प्यास नमेटुन्जेल पिउँदै रह्यो । खोला बाँड्दै बग्दछ, अर्थात् बाँड्नु खोलाको धर्म हो । तसर्थ, खोलाको पानी स्वच्छ र मीठो हुन्छ । समुद्रचाहिँ सङ्ग्रह गर्दछ, जसले गर्दा समुद्रको पानी नुनिलो र खरो हुन्छ । प्रकृतिले पनि हामीलाई कसरी बाँच्दा बाँच्न सजिलो तथा जीवन शान्तमय, सुखमय रूपले व्यतीत हुन्छ भन्ने शिक्षा आफ्नै तवरले दिइरहेको हुन्छ, मात्र यसलाई हामीले बुझ्न सक्नुप-यो, व्यवहारमा लागू गर्न सक्नुप-यो ।
प्रतिक्रिया