भ्रष्ट र अस्पष्ट राजनीतिले गाँजेको हाम्रो देशलाई हालै गएको प्रलयकारी भूकम्पले चरम रूपमा थिलथिलो पा-यो । सहर–बजारका गगनचुम्बी भवनदेखि गाउँपाखाका झुप्रो कटेरोतक धुलीसात बनाएर हजारौँको प्राण लिँदै कैयौँलाई बेपत्ता पारी असङ्ख्यजन घाइते बनायो भूकम्पको विनाशकारी क्रूर भूकम्पको ताण्डवले । खर्बौं धनको क्षति व्यहोरायो । विगतका कथित जनयुद्ध, धनयुद्ध र मनयुद्धले जर्जर पारेको नेपाल भुइँचालोको थर्थरले झनै धरमर बनेर बस्ती–बस्ती बीभत्स दुर्दृश्यमा परिणत हुन पुग्यो । शीर्ष नेतृत्वको पुरातन तदर्थवादले डामिन पर्दा स्थानीय सरकारको अनुभूत गर्न नपाएका जनता टुहुरा र अनाथ बन्दै हचुवा राहतका पछुवा बनेर खोक्रो सर्वदलीय संयन्त्र अनि बोक्रो कर्मचारीतन्त्रको ओतमा कहरका दिन दीन भएर काटिरहेका छन् ।
१२ वैशाखदेखि यो पङ्क्ति कोर्दासम्म शक्तिशाली भूकम्पका भूकम्प र पराकम्पका धक्काहरूले मुक्का हानेको हान्यै छन् । मोटर, ट्रक, लरी, ट्याक्टर, डोजर तथा सवारीका अन्य साधन दगुर्दा आएका थरथराहट र कर्णकटु आवाजले समेत पीडितहरू ‘आयो ! आयो !’ भनेर होहल्ला गर्दै दोस्रो म्याराथुन घरिघरि मञ्चन गर्न बाध्य छन् । जसको परिणाम घुँडा ठोक्किने, सास रोक्किने, मर्कने भाँच्चिनेसम्मका अवस्था सिर्जना गरेका छन् । सयौँको सातो गएको छ । कैयौँ ताता मनोरोगीहरू देखिँदै छन् । राहतमा भएका पक्षपात र भद्रगोलले आहतका चाहतमा कुण्ठा र आक्रोशको दावानल चर्किएको छ । सुरक्षित हुन शिविरमा बसेका पीडित बस्तीमा रात पर्नेबित्तिकै ‘चोर आयो चोर’ भनेर टर्च बाल्दै कुद्नेहरूको जमातले सर्वसाधारणको सातापुत्लो उडाउँदै छन् । वैद्य, धामी, झाँक्री र मजस्ता सामान्य फुकुवाका घरमा समेत बालबच्चादेखि बूढाबूढीसम्म सातो बोलाउन आउनेको धुइरो छ यतिखेर ।
भूकम्प प्रभावित बस्तीहरू खण्डहर बनेर आमजनतामा मानसिक सास्ती दिइरहेका छन् । नजिकिँदै गरेको बर्खायामले खुला आकाशमुनि बसेका पीडितलाई बाढीपहिरोको भीषण चर्खा चल्ला कि भन्ने त्रासले भूकम्पको आलो घाउमा घन्टा–घन्टामा घोचेर टन्टा थपिरहेको छ । रात–साँझ सधैँ ‘आयो, आयो’को हल्लाले चल्ला जन्माई सबैलाई झन् उपल्ला झल्ला बनाएर किंकर्तव्यविमूढ बनाइरहेको छ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने आवेगी र अक्षम राजनीतिक नेतृत्व कत्तिको भरोसाका केन्द्र बन्लान् त्यो विचारणीय छ । लुटको धनमा फुपूको श्राद्ध गर्न पल्किएका स्वार्थी गणबाट परमार्थी भावनाको प्रण वा सङ्कल्प पीडामा छटपटाएका मनमस्तिष्कलाई मृगमरीचिका त सावित हुँदैन ? यक्षप्रश्नहरू मडारिएका छन् । ज्ञान, सीप र इच्छाशक्तिले हार खाएका बेकारका कथित राजनीतिक अभियन्ता यतिखेर कत्तिको कामयाबी बन्न सक्लान् हेर्न बाँकी छ । रत्नाकरहरू वाल्मीकिमा रूपायित हुन सक्छन् भनेर आशावादी बन्नु महाविपत्तिको क्षणका लागि सकारात्मक सोच हो । सर्वदलीय र सर्वपक्षीय सङ्कल्प निश्चय नै धमिलोपानीमा माछा मार्ने काइते चाला र आइते डुग्राई नबनोस्, चङ्खे स्यालका पङ्खे कथा नबनून् ।
विपत्तिको आलो बेला जनमन छुने सङ्कल्प, अठोट, प्रतिज्ञा र कसम पस्किएर क्रमशः दिन ढल्कँदै गएपछि ‘नानीदेखिको पुरानै बानी’को धामी झिक्ने दुर्नामी नौटङ्की मञ्चन हुनुहुन्न । हाम्रा अगुवाहरूका विगतका भगुवा, हगुवा र लबस्तरो स्वार्थी स्वभावमा परमार्थीपनको रक्तसञ्चारले नौलो प्रभाव पार्नैपर्छ । अभाव र पीडामा चेपिएकालाई राहतको नाममा अराजक बनेर लोकप्रियता कमाउन गुलिया नारामार्फत तारा देखाउने फोस्रो कसरत नहोस् कुनै पनि शक्तिकेन्द्रबाट । क्षतिपूर्तिको नाममा बचेखुचेका नयाँ पुस्तालाई परावलम्बी बनाएर अनुद्योगी, अकर्मण्य, अल्छी तिघ्रो स्वादे जिब्रोमा दाताका हाता चहार्ने, पराइका हेलिकोप्टर, जहाज वा गाडी कुर्ने वृत्तिको अँध्यारो अध्याय सुरु भयो भने त्यो महाभूकम्पको महा हजुर्बाउ बन्न जाला । थल, जल र आकाशमार्ग हेरेर मात्र ‘आयो ! आयो !’ भन्ने कृपाकारी आवाजभित्र राष्ट्रियता निष्प्राण हुनसक्छ, भूगोल मात्र खण्डहरमा परिणत नहोला भन्न सकिन्न । यसैले दाताका दानलाई स्वाभिमानको दाम्लोले बाँधेर उर्वर माटो र उद्योगको बहुसम्भावना बोकेको यो धराधामलाई जाम गर्ने अनिष्ट सोच कसैमा नआओस् । ‘आमाको काख अरूको लाख, काम न काज खाने बेलामा लाज, इलमीको भागमा माछा र मासु अल्छीको भागमा आँसु’ † यी जीवन्त लोकश्रुतिको अभ्यासात्मक मनन गर्ने घडी हो यो ।
यतिखेर हाम्रा घरगोठ कति चर्किएका छन्, कति मर्किएका, ढल्किएका र पल्टिएका छन् । कैयाँैले परिवार गुमाएर टुहुरा, अनाथ एवम् बेसहारा बनेका छन् । देशका ऐतिहासिक धरोहर र सम्पदामा महाविपत्तिले धावा बोलेको छ । अर्थतन्त्र जर्जर बनिरहेको छ । जनसंविधानको अभावमा ऐन, कानुन तथा नियमहरू क्रियाशील बन्न सकेका छैनन् । तदर्थवाद र भीडतन्त्रको जगजगीमा हामी राष्ट्रिय पुनर्निर्माणको मार्ग अब कसरी तयार गर्न सक्छौँ ? गम्भीर, दूरदर्शी तथा जनकल्याणकारी सपनामा अब कस्तो राष्ट्रिय एकता आवश्यक छ ब्रह्मले सोच्न प-यो यतिखेरका अगुवाहरूले । शीर्षको पगरी गुताइएकाहरू महात्मा बन्न सक्नुपर्छ । ‘मनस्येकम् वचस्येकम्, कार्यस्येकम् महात्मनाम् । मनस्यन्यद् वचस्यन्यद् कार्यस्यन्यद् दुरात्मनाम् ।।’ अर्थात् महान् आत्मा भएका राजनेताहरूको अन्तरमन, बोली र काममा एकै रूप हुन्छ । खराब आत्मा भएकाको मनले एउटा कल्पना गर्ने, बोलीले अर्थोकै भन्ने र कार्यमा बेग्लै रूप देखाउने हुन्छन् । हो हिजोसम्मको दुरात्मा सोचमाथि महात्मा चिन्तन स्थापित गर्न सबै शीर्षले देशलाई तीर्थ ठानेर यो विपत्तिको घडीमा विवेकको छडी घुमाउने हिम्मत अहिलेको माग हो । प्राकृतिक विध्वंसको ताण्डवमाथि राष्ट्रिय एकताको अठोट र त्यसको जीवन्त कार्यान्वयन एक अचुक बुटी हो । हिजैझैँ मन, वचन र कर्ममा अनेकता छरेर ढुकुरे छातीमा तितेपाती बन्ने प्रवृत्ति कुनै हालतमा पुनरावृत्ति हुनुहुन्न । त्यसैले अब मार्टिन लुथर, चर्चिल, लिङ्कन, मदरटेरेसा, गान्धी, सुकरात, कन्फ्युसियस, जर्ज वासिङ्टनजस्ता महापुरुषका सपना पढ्न र बोल्नमा मात्र प्रयोग नगरी कार्यात्मक अभ्यासमा उतार्ने नायकत्व देखाऊ यही नै राष्टिय एकताको आलोक वा धरहरा हो ।
‘आयो, आयो !’ भन्दै प्राकृत विपत्सित झस्किएर, दाताहरूले देलान् र खाउँला भनेर मस्किएर नामर्द र परमुखापेक्षी त्रसित, गलित, कृपालु मनोविज्ञान खडा गर्ने कालो परिवेश चिर्ने हिम्मत गर । ‘त्यसै हाम्रा मनीषिहरूले ‘महाजनो येन गतः स पन्था’ अर्थात् महान् आत्मा भएकाले हिँडेको बाटो नै पक्का बाटो हो भनी आदर बर्साएका छन् । निचतम् भागबन्डावाद, हाम्रा मात्र राम्रा भन्ने चाम्रा तर्क, राष्ट्रिय सरकारको नाममा सरकारभन्दा सत्ता दरो बनाउने गल्लीवादी मानसिकतामाथि दश रेक्टर स्केलको धक्का हान्ने तागत देखाऊ । सधैँ सत्ताका बिचौलियाले ‘आयो, आयो’ भन्ने र विपत्का जनताले ‘आयो, आयो’ भनेर नेपाल र नेपालीको सातो नडगाउम् । गरिबी, बेरोजगारी, आलस्य, फट्याइँ, लुटतन्त्र, परावलम्बीभावमा हमला बोलेर साँच्चैको राष्ट्रिय एकता, सहमति तथा समझदारीको दृष्टान्त प्रस्तुत गरूम् । आत्मालोचना गरेर राष्ट्रिय एकताको विशाल वटवृक्षमा गोलबद्ध बनौँ । ‘आयो, आयो’कै अफवाहमा हात्ती आयो हात्ती आयो फुस्सालाई दरिलोे ढुस्सा दिऊम् । जिउँदो राष्ट्रिय एकता आजको अपरिहार्यता, अनि सङ्कल्प प्रस्ताव हुनुपर्छ दैनिकीमा अनुवाद ।
प्रतिक्रिया