सुडान घोटलामा सुजाताको प्रत्युत्पादक कदम

सुडान घोटलामा सुजाताको प्रत्युत्पादक कदम


-राजेश ढुंगाना
नेपालको इतिहासमै व्यापक ठूलो स्केलको अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई भ्रष्टचारको देश भनेर लज्जास्पद परिचय बनाएको सुडान घोटला प्रकरण मामलाले जुन बाटो लिँदै छ त्यसले मुलुकको भविष्यका प्रति थोरै भए पनि आशाको त्यान्द्रो जगाएको छ । कथित अख्तियार दुरुपयोग निवारण आयोगसमेतले यसका मूल नायिकेहरूलाई बचाएर कारिन्दाहरूलाई मात्र मुद्दा लगाएपछि मुलुक घोर निराशामा थियो ।
यसैबीच सर्वोच्च अदालतले तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत त्यो कामको कार्यान्वयन समयसम्मका अन्य दुई गृहमन्त्रीलाई तानेपछि मुलुकले दण्डहीनताबाट मुक्ति पाउने हो कि ? थोरै आशा पलाएको छ । न्यायालय नै समेत पनि कति प्रभावकारी रूपमा प्रस्तुत हुने हो त्यो भने भविष्यले बताउला । तर, मिडिया र नागरिक समाजका तर्फबाट जुन चर्का दबाब यो मामलामा परेको छ त्यसले अन्तत: यसका मूल दोषी सजायको भागी हुनैपर्ने सुखद परिदृश्य भने देखिएको छ ।
यो मामलालाई नेपाली जनताले कति गम्भीर रूपमा लिएका छन् भन्ने प्रमाण नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा यसले पाएको प्रवेश हो । एकजना व्यक्तिलाई बचाउन लाग्दा त्यसले अन्तत: पार्टीकै कम्मर भाँच्ने सत्यबाट काङ्ग्रेसका केही मात्र भए पनि केन्द्रीय सदस्य सचेत हुनु शुभसङ्केत हो । जनता चङ्ख भइसकेका छन् । एउटा व्यक्तिको भ्रष्टचारको ढाल बन्दा सिङ्गै पार्टी भ्रष्टचारी र्ठहर्ने कुरा काङ्ग्रेसले बेलैमा सोचे हुन्छ । यो ठहर अदालतले गरिरहनै पर्दैन । जनताले गरे पुग्छ ।
म्याडम सुजाता कोइरालाले यतिबेला किन सिटौलाको भ्रष्टचारको खुलेर बचाउ गर्दै हुनुहुन्छ त्यो बडो रहस्यमय बनेको छ । यो काण्डको सुरुवातअघि सुजाताले सिटौलाको आलोचना मात्र होइन राजीनामासमेत मागेकी थिइन् । किन ? कि यो घोटलाको निमित्त सिटौलालाई दबाब थियो त्यो ? त्यसो हो भने यो मुद्दामा अन्तत: सुजातासमेत तानिने सम्भावना स्वयम् सुजाताले बढाइदिनुभएको छ । यहाँनेर जतिसुकै भन्न मन नलागे पनि नभन्नु बेइमानी हुन्छ- तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पनि नैतिक संलग्नता थियो । सुजाताको बोलीले यही प्रत्युपादक स्थितिमा पुर्‍याएको छ उहाँलाई । यो मुद्दामा गिरिजाप्रसाद त के इश्वर नै भए पनि न्यायको कठघरामा ठिङ्ग्य्राउन चाहन्छन् नेपाली जनता ।
एमाले र माओवादीसमेतको संलग्नता प्रस्ट देखिइसकेको यो घोटला त्यसै सेलायो भने ठाने हुन्छ यो मुलुकले बाँच्ने आधारहरू गुमाइसकेको छ ।