नहोस् शिक्षा यता न उता !

नहोस् शिक्षा यता न उता !


एसइइको परीक्षाफल प्रकाशित भएपश्चात् उच्च माध्यमिक तहको शैक्षिक सत्र सुरु हुन गइरहेको बखत केही सवालहरूले अभिभावकजनको मथिङ्गल रिँगाइरहेको छ । विद्यालय/विश्वविद्यालयबाट विद्यार्थीगण शिक्षित भएर त निस्किरहेका छन् तर उनमा सामाजिक संवेदनशीलता, वैज्ञानिक दृष्टिकोण तथा स्वतन्त्र चिन्तनमा गिरावट त आइरहेको छैन ? के हाम्रा विद्यालय/विश्वविद्यालयले जागिरमुखी जनशक्ति मात्रै त उत्पादन गरिरहेका छैनन् ? खै त नवप्रवर्तन र सृजनशीलता ? यत्रो डिजिटल प्रगतिको बावजुद पनि समाजमा बौद्धिक ह्रास भइरहेको त छैन ? अर्थात् शिक्षा केवल परीक्षा, अङ्क र रोजगारमा मात्रै सीमित हुँदै गएमा समाजमा विवेकशील र बौद्धिक नागरिकको साटो यान्त्रिक मानव जमात मात्र तयार हुने त होइनन् ?

कुनै पनि देश आर्थिक वा प्राविधिक प्रगतिले फड्को मारेता पनि मानवीय संवेदनशीलतासहितको दिगो विकासका मानकहरूलाई अत्यन्त ख्याल गर्नुपर्ने हुन्छ । वास्तविक प्रगति तबमात्र सम्भव हुन्छ जब समाजमा ज्ञान, विवेक, मानवीय सिर्जनशीलता, नवप्रवर्तन, कलात्मक प्रतिभा, बौद्धिक सम्पत्ति, वैज्ञानिक सोच, मानवीय मूल्य अनि स्वतन्त्र चिन्तन विकसित हुन्छ । देश उँभो लगाउने प्रण गर्दैगर्दा मुलुक भित्र स्नातक (ब्याचलर्स डिग्री) पढ्नेको सङ्ख्या घट्दो क्रममा रहेको अनि विदेश पढ्न/रोजगारमा जाने बढ्दो दरमा रहेको वस्तुनिष्ठ आँकडाहरूले मुलुकको असली तस्बिर झल्काइरहेको छ । अझ भनौँ विद्यार्थी उच्च माध्यमिक तह पढ्दैदेखि सो सकिनासाथ नेपाल नबस्ने मनस्थितिमा देखिन्छन् । विदेश मोह विकराल हुनुमा जो-कोहीका सन्तान (मध्यम वर्ग, व्यवसायी, सरकारी कर्मचारी, नेता आदि) भरसक मुलुक बस्न चाहँदैनन् । साथै शिक्षकलाई पढाउन मजा आइरहेको देखिँदैन । पहिले झैँ आजभोलि दुई वर्ग ‘ह्याप्स’ (छोराछोरी विदेशमा छन्) अनि ‘ह्याभ नट्स’ (विदेशमा छैनन् या मौका मिलेको छैन) मा विभाजित हुँदै गइरहेको त होइन समाज ? जस्ता विरोधाभासी कुरा सुन्दा बडो मजेदार लाग्न सक्छ तर यस्तै यक्ष प्रश्नहरूको सुल्झाई बेगर शैक्षिक माहोल छटपटीमै रहने देखिन्छ । शिक्षाले अवसर ल्याएन भन्नुभन्दा पनि शिक्षाको गुणवत्ता तथा उपलब्ध रोजगारको अवसर बीचको खाडल गहिरो छ । स्वचालित मसिनरी तथा कृत्रिम बौद्धिकता बढ्दै जाँदा प्रचलित रोजगारको अवसर संकुचनमा पर्ने देखिन्छ भने नयाँ अवसर छोप्न अधिक बलबुता लाउनुपर्ने देखिन्छ ।

यसै सन्दर्भमा बहुआयामी व्यक्तित्व (दार्शनिक, मनोवैज्ञानिक तथा शैक्षिक सुधारक) जोन ड्यूईको शैक्षिक गतिविधि, प्रकाशित पुस्तक (३०० बढी मध्ये बहुचर्चित ‘लोकतन्त्र र शिक्षा’) र विचार आधुनिक शिक्षा प्रणालीको जग निर्माणमा कोसेढुङ्गाको रूपमा लिने गरिन्छ । सन् १८९६ मा उनले आफ्ना शैक्षिक सिद्धान्तहरूलाई व्यवहारमा लागू गर्न प्रयोगात्मक विद्यालय स्थापना गरे । उक्त विद्यालयका विशेषताहरू (४ देखि १४ वर्ष उमेरका बालबालिका लिने, हरेक कक्षामा ८ देखि १० विद्यार्थी रहने, शिक्षण प्रयोग र अनुसन्धानमा आधारित हुने) तय गरे । यस विद्यालयमा शैक्षिक सिद्धान्तहरूको प्रयोग, परिणामहरूको आलोचनात्मक विश्लेषण गर्नुकासाथै नयाँ सिद्धान्तहरू विकास गरिन्थे, जो ‘शिक्षा अनुसन्धान प्रयोगशाला’ नामले पुकारिन्थे । उनको शैक्षिक दर्शनलाई तीन विभक्त भागबाट हेरौं- पहिलो तत्त्व मीमांसा (आत्म परमात्मामा ध्यान दिनु भन्दा पनि बदलिँदो संसारका लागि नयाँ सत्य र मूल्यहरूको खोज प्रयोग मार्फत हुने हुनाले ‘प्रयोगवाद’ भनेर बुझिन्छ), दोस्रो ज्ञान मीमांसा (ज्ञान प्राप्ति प्रक्रिया समस्या समाधानसँग सम्बन्धित हुने हुनाले क्रिया र अनुभव नै ज्ञानको आधार हो) र तेस्रो आचार मीमांसा (मानवीय व्यवहार/मूल्यहरू स्वतन्त्रता, समानता, सहयोग, सामाजिक हित जस्ता तत्त्वहरू समाविष्ट छन्‌ )

ड्यूूई प्रयोजनवादी शिक्षाविद् भएकाले ‘शिक्षा जीवनको तयारी होइन, शिक्षा स्वयं जीवन हो’ अनि ‘शिक्षा अनुभव पुनर्निर्माणको प्रक्रिया हो’ भन्ने विचारधारा राख्थे । सिद्धान्ततः उनले मुख्य शिक्षण विधिहरू काम गरेर सिक्ने, अनुभवबाट सिक्ने, प्रयोग विधि, अवलोकन, तर्क, परीक्षण आदि उल्लेख गरेका छन् । उनी डर र दण्डबाट अनुशासन कायम नगरी स्वतन्त्रता, प्रेम, सहानुभूति, सहयोग जस्ता आवश्यक वातावरणले सही मानेमा स्वःअनुशासन कायम हुने जिकिर गर्छन् । जहाँ विद्यार्थी अनुभवबाट सिक्छन्, समस्या समाधान गर्छन्, नयाँ सत्यको खोज गर्छन् । शिक्षामा अभ्यास एवं श्रमले स्थान पाएमा बालबालिकाको सक्रियता बढ्छ, कल्पनाशक्तिको विकास हुन्छ साथै सहयोगी भावना उत्पन्न हुन जान्छ, जसले व्यक्तिगत तथा समाज हितको सम्बन्धबारे बुझाउँछ । उनका अनुसार शिक्षकको भूमिका समाज सेवक, वातावरण निर्माणकर्ता, मार्गदर्शक हुनुका साथै बालबालिकालाई समस्या समाधान गर्न अग्रसर गराउने सहजकर्ताको रूपमा बताउँछन् । विद्यालय भनेको समाजको लघुरूप हो, प्रयोगशाला हो, ज्ञान बिक्री गर्ने दोकान होइन भन्ने अवधारणा आधुनिक शिक्षाको आधारशिला मानिन्छ । उनका शिक्षासम्बन्धी अन्य विचारहरूमा जन शिक्षा, महिला शिक्षा, व्यवसायिक शिक्षा, नैतिक शिक्षा जस्ताको अवलम्बन हाम्रो शिक्षामा पनि अब नौलो रहेनन् ।

लोकतन्त्र शासन प्रणाली मात्र नभई जीवनशैली हुनाले विद्यालयले पाठ्यक्रमका अलावा केही महत्त्वपूर्ण सीपहरू विद्यार्थीहरूलाई सिकाइ दिनाले वास्तविक जीवनका चुनौतीहरूको सामना गर्न तयार पार्नुका साथै मद्दतगार हुन पुग्छन् । विद्यार्थीको राम्रा-राम्रा प्रश्न सोध्ने बानीले अन्योलतालाई चिर्नुका साथै छुटाइरहेको कुरामा आफैंलाई प्रश्न सोध्ने आदत बस्छ । कुनै पनि जटिल विचारलाई तीनवटा सरल वाक्यमा लेख्ने अभ्यासले वैचारिक स्पष्टता झल्किन्छ । स्पष्ट लेखनले विचार छर्लङ्ग छ भन्ने प्रमाणित गर्छ । सिकेका (नौलो-नौलो) कुराहरू कसैलाई सम्झाउने/बुझाउने तथा प्रस्तुत गर्नाले सार्वजनिक रूपमा बोल्ने क्षमता विकसित हुन पुग्छ । एआई तब मात्र उपयोगी हुन्छ जब विद्यार्थीले तयार पारेको मस्यौदा कम्तिमा दुईवटा भरपर्दो स्रोतबाट नापजाँच÷प्रमाणित गर्दछन् । समाधानमा हामफाल्नुअघि वास्तविक समस्या यो हो भनेर ठ्याक्कै लेख्ने तथा पहिचान गर्ने बानीले त्यसको हल खोज्न सजिलो हुन्छ । एउटा ख्याल-ख्यालको/घरायसी मासिक बजेट बनाउन सिक्नाले रुपैयाँ-पैसाको व्यवस्थापन तथा खर्चको कटौती गर्ने आर्थिक आधारभूत कुराहरू सुझाउँछ । समूहगत कार्यको लागि राम्रो टोली बनाउँदा अरुको कुरा सुन्ने, सहमत हुने, टोलीमा व्यक्तिगत तवरबाट के योगदान दिन सकिन्छ ? जस्ता सहकार्यका गुणहरू विकसित गर्न सिकाउनु पर्दछ ।

अनलाइनमा उपलब्ध कुनै पनि जानकारी तथा विषयवस्तु (अ)विश्वासिलो के हो ? सेयर गर्नु अघि कसलाई फाइदा पुग्छ ? जस्ता कुरामा विचार पुऱ्याउन/छुट्याउन सक्नु नै डिजिटल निर्णय क्षमता/सीपमा पर्दछ । भविष्यमा गर्न चाहेको कामको बारेमा विषय विज्ञ तथा जानकार व्यक्तिलाई म्यासेज पठाएर/भेटेर त्यसका अवसरहरूको जिज्ञासा तथा स्पष्टता थाहा पाएमा सम्बन्धित विषयमा करियर अगाडि बढाउन सकिन्छ । तनावपूर्ण अवस्था (परीक्षा वा जीवनको कठिन समय आदि) मा धैर्य धारण गर्ने क्षमता अभ्यास गर्न सिकाउनाले भावनात्मक संवेग नियन्त्रण गुमाउँदैनन् । योजना ‘क’ले काम नगरेमा योजना ‘ख’ बनाइ राख्ने त्यसले पनि नगरेमा ‘ग’ बनाउने गर्नाले योजनाहरू परिवर्तन हुँदा नआत्तिने अनुकूलन क्षमता विकसित हुन पुग्दछ । कहिलेकाहीँ जानाजान पनि योजनामा परिवर्तन गर्न पोख्त बनाउनु पर्छ । त्यसले नकारात्मक असरमा सामजस्यता कायम गर्न सिकाउनुका साथै अन्य आउने अवसरलाई छोप्ने जुक्ति थाहा पाउँछन् । हरेक सप्ताहन्तमा के कुरा सिकियो ? के कुरा सिक्न अप्ठ्यारो भयो ? के कुराले काम गर्यो ? के कुराले गरेन ? काम फत्ते गर्न नयाँ प्रयास कसरी गर्दा हुन्छ ? जस्ता चिन्तन गर्ने बानीले विद्यार्थीले आफैंलाई सुधार गर्ने तथा सिकाई प्रक्रिया व्यवहारिक भएर आउँछ ।

सारमा, प्लेटोले प्राचीन युगमा शिक्षाको विकास (शारीरिक, बौद्धिक, नैतिक आदि जस्ताको सर्वाङ्गीण सन्तुलित वृद्धिमा जोड) मा दिएको योगदान कै हाराहारीमा जोन ड्यूूईले आधुनिक युगको शिक्षालाई नयाँ स्वरूप प्रदान गरेको कम आँक्न सकिन्न । बदलिँदो समाजमा सफल जीवन जिउन विद्यालयमा क्रियात्मक शिक्षाले क्रान्तिकारी परिवर्तन ल्याउने कुरा उनको शैक्षिक दर्शनको आधार हो । क्रियात्मक शिक्षा एवं आत्मअनुशासनमा आधारित शैक्षिक व्यवस्था कायम गराउन खेलेको भूमिका उनको महत्वपूर्ण देन हो । मानव मनलाई हर प्रकारको संकीर्णताबाट मुक्त गर्नु नै उदारवादी शिक्षा हुने जिकिर गर्छन् । उनका अनुसार बौद्धिक क्रियाको उद्देश्य केवल शाश्वत सत्य खोज्नु मै तल्लिन रहनु नभई धेरै संगत, स्पष्ट तथा सन्तोषजनक परिस्थिति निर्माण गर्नु पनि हो । आनन्ददायक अनुभवले नै जीवन मूल्यको रूप धारण गर्छ । उनी भन्थे- ज्ञान कुनै स्थायी सत्यको परिणाम नभई जाँच प्रक्रियाको निष्कर्ष हो । ड्यूूईको दर्शनलाई मात्रै सर्वोपरि मान्ने हो भने मानिसको आध्यात्मिक मूल्यमान्यता भस्मीभूत हुन पुग्छ । मानिसले व्यक्तिगत या भनौँ भौतिक विकासमा मात्रै अत्यधिक जोड दिएको परिणामको प्रतिफल पृथ्वीमा मानवको बास क्रमशः जटिल तथा सकसपूर्ण हुँदै गएको तथ्य सर्वस्वीकार्य जस्तै छ ।

मानव जीवनलाई व्यवहारवादी शैक्षिक पथमा लम्क्याउन दया, माया, करुणा, आदर, समानुभूति जस्ता मानवीय गुण/भावहरूले जीवन्त नराखे यान्त्रिक/रोबोट मानवमा परिणत हुन बेर लाग्दैन । किनकि प्राविधिक प्रगति द्रुततर गतिमा अगाडि बढ्दै गर्दा मानवीय मूल्य/संवेदनशीलता तथा सामाजिक जिम्मेवारी कमजोर हुँदै गएको आमजनको बुझाई छ । यस खातिर मुलुकको शिक्षा व्यवस्था, सामाजिक असमानता र युवाको वास्तविक स्थितिमा निकै ठूलो माथापच्ची गर्नु जरुरी छ । अन्यथा सदा झैं आर्थिक विकास या ठूल्ठूला घोषणा कोरा साबित हुन सक्छन् । मुलुकमा शिक्षा, सामाजिक चेतना तथा लोकतान्त्रिक मूल्य मान्यता तब मात्रै मजबुत हुन्छ जब मानवीय मूल्य, वैज्ञानिक दृष्टिकोण र सामाजिक जिम्मेवारीका खाँबोहरू दरिलो जगमा बसेका हुन्छन्/हालिन्छन् । आजका युवा केवल जागिर खाने/पाउने मेसिनको रुपमा मात्रै लालायित नभई जागरुक/सचेत नागरिकको रुपमा दरिन आवश्यक छ । नवप्रवर्तनको मियो हुन जरुरी छ । मुलुकको शिक्षाले विवेक जगाउन/उमार्न अझ भनौँ मानवीय मूल्य विकसित गर्न सकेन भने मुलुक समृद्धिको बाचा/घोषणा सदा झैँ केवल शासकीय मखुन्डो हुन पुग्छ । अन्ततोगत्वा मुलुक बिस्तारै-बिस्तारै अज्ञान र अविवेकको बाटोमा डोरिँदै जाने भय जागीरहन्छ, पछुतो हुन सक्छ । मुलुक वास्तवमै प्रगतिको बाटोमा लम्किन्छ या देखावटी विकास, समयले नै बताउँला…नहोस् राम जाने…!

(लेखक प्राध्यापक एवम् स्वतन्त्र अनुसन्धाता हुन् ।)