‘कैदी–बन्दीलाई उन्मुक्ति होइन सुरक्षा दिने हो’– हिमनाथ दवाडी

‘कैदी–बन्दीलाई उन्मुक्ति होइन सुरक्षा दिने हो’– हिमनाथ दवाडी


bicharयसै पनि जीर्ण अवस्थामा रहेका हाम्रा कारागारहरू विनाशकारी भूकम्पका कारण अत्यन्त रुग्ण अवस्थामा पुगेका छन् । धेरै वर्षअगाडि बनेर पुराना बनेका कारागारहरू भूकम्पका कारण थप जीर्ण बन्नु अस्वाभाविक पनि होइन । केही कारागार भत्किएका छन्, केही चर्किएका छन्, केही सामान्य देखिए पनि जोखिममा परेका छन् । धेरै कारगागार मर्मत गर्नुपर्ने अवस्थामा छन् । यस भूकम्पबाट करिब ३५–४० कारागार प्रभावित बन्न पुगेका छन् । यसको मूल्याङ्कन हामी गरिरहेका छौँ ।
जसरी सारा मुलुकवासी भूकम्पको सम्भावित आगमनका कारण अहिले पनि त्रासमा छन्, यसैगरी कैदी–बन्दीहरू पनि फेरि भूकम्प गएर मर्नुपर्ने हो कि भन्ने त्रासमा छन् । यो त्रासबाट मुक्त तुल्याउन गर्नुपर्ने आवश्यक व्यवस्था हामी गरिरहेका छौँ । बस्नै नमिल्ने अवस्थामा पुगेका कारागारका भवनहरू भत्काउने र त्यस स्थानमा अस्थायी टहराहरू निर्माण गर्ने काम भइरहेको छ । केन्द्रीय कारागारमा दुई सय १६ जनाको मृत्यु भएको थियो । त्यहाँ अस्थायी टहराको निर्माण गरेर कैदीहरूलाई सुरक्षित राख्ने र रेडट्याग लागेका भवनहरूलाई भत्काउने काम भइरहेको छ । बाहिरका कारागारमा पनि मर्मत नभएसम्मका लागि कैदीहरूलाई टेन्टमा राखिएको अवस्था छ । बस्नै नहुने भनी प्रमाणित गरिएका पुराना संरचना तत्काल भत्काएर त्यहाँ नयाँ भवन निर्माण गर्नु पहिलो आवश्यकता बनेको हामीले महसुस गरेका छौँ । त्यसरी भत्काएका स्थानमा तत्काल भने अस्थायी टहरा निर्माण हुनेछन् । वर्षाभन्दा अगाडि टिनका अस्थायी टहरा बनाइनेछ । बाहिरी जिल्लामा पनि कतिपय कारागारमा कम्पाउण्डवाल मात्रै भत्केका छन् भने कतिपयमा भवनमै क्षति पुगेका छन् । जेलको कम्पाउण्डवाल अत्यन्त संवेदनशील कुरा हुनाले भत्केका कम्पाउण्डवालको मर्मत प्राथमिकताका साथ भइरहेका छन् । तत्कालै स्थायी नयाँ भवन निर्माण सम्भव नभएकाले अस्थायी तर भरपर्दा टहरा निर्माण गरेर कैदी–बन्दीलाई सुरक्षित राख्ने कार्यमा हामी अहिले लागिरहेका छौँ । नजिकिँदो वर्षायामलाई मध्यनजर गर्दै फास्ट ट्र्याकबाट यो काम हामी गरिरहेका छौँ ।
यतिबेला भूकम्प गएको सन्दर्भ पारेर कैदी–बन्दीहरूले आत्मसुरक्षाका लागि आममाफी पाउनुपर्ने आवाज उठाएको भन्ने सन्दर्भले पनि चर्चा पाएको छ । तर, जेलमा सजाय काटिरहेकाहरूले यसरी आममाफीको माग गर्दैमा त्यो पाइहाल्नुपर्छ भन्ने होइन । उनीहरूको सुरक्षाका निम्ति अपनाउनुपर्ने उपायहरू अवलम्बन गर्नु निश्चय पनि राज्यको दायित्व हो, राज्यको अङ्ग भएकाले हामी त्यसका लागि यथाशक्य पहलकदमी उठाइरहेका छौँ । तर, आममाफी दिने कुरा राज्य या नेपाल सरकारले नै विधि–प्रक्रिया पु-याएर निर्णय लिने विषय हो । नब्बे सालको भूकम्पपछि तत्कालीन श्री ३ महाराज जुद्धशमशेरले सबै कैदी–बन्दीहरूलाई सजाय मिनाहा या माफी दिएर मुक्त गरेको भन्ने सुनिएको आधारमा अहिले कैद मिनाहाको कुरा उठाइएको हुनसक्छ । तर, भूकम्पकै कारणले कैद मिनाहा गर्न सक्ने अधिकार त कारागार व्यवस्थापन विभागलाई हुँदैन । राज्यले चाहेमा संसद्बाट ऐन–नियम बनाएर त्यस्तो गर्न सक्ला । मेरो व्यक्तिगत विचारमा यो त्यति सम्भव हुने र व्यावहारिक कुरा पनि हो जस्तो लाग्दैन । अहिलेको ऐन–नियम कानुनका आधारमा कैदीलाई वेलमा या त्यत्तिकै उन्मुक्त गर्न सकिँदैन । नीतिगत निर्णय हुनुपर्छ । हामीले पहलकदमी लिनसक्ने यसमा त के मात्र हो भने गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा गरेर छुटकारा दिलाउन सक्ने प्रावधानअनुसार त्यसका लागि मापदण्ड पुगेका कैदीहरूको छनोट हामी गर्न सक्छौँ, गरिरहेका छौँ । ऐनकानुनले निश्चित गरेको ठगी, अपहरण, सङ्गठित अपराध, बालबालिकामाथि यौन दुव्र्यवहारलगायत ऐनले तोकेका अन्य नौवटासहित जम्मा १३ वटा मुद्दाबाहेक अन्य मुद्दाका कैदी–बन्दीमध्येबाट ५० प्रतिशत या आधा कैद भुक्तान गरिसकेका र अदालतबाट पनि अन्तिम मुद्दाको किनारा भइसकेकालाई बाँकी कैद मिनाहा गर्न हामीले सिफारिस गरेका छौँ । करिब पाँच सय हाराहारीमा यसपाला कैदीबन्दी छुट्न सक्छन्, गणतन्त्र दिवसको अवसरमा ।
कारागारहरूको भैतिक संरचनालाई चुस्तदुरुस्त तुल्याउनुपर्ने आवाज विभिन्न मानवाधिकारकर्मी तथा कैदी–बन्दीका आफन्तहरूबाट समेत उठ्ने गरेको छ । यो जायज विषय पनि हो । करिब १७ हजार कैदी–बन्दी छन् अहिले देशभरमा । यसका लागि कारागारचाहिँ कम छन् । मुलुकभरका ४६ वटा कारागार यत्तिका कैदी–बन्दीका लागि अपर्याप्त छ । कारागारका पुराना भौतिक संरचना हटाएर ४–५ हजार कैदीबन्दी अटाउने चार–पाँचवटा कारागार निर्माण गर्न सकिए तुलनात्मक रूपमा उचित व्यवस्थापन गर्न सकिन्थ्यो भन्ने मलाई लाग्छ । नेपाल सरकारले पनि यो महसुस गरिसकेकाले काम अघि बढ्ने अवस्थामा हामी पुगेका छौँ भन्न सकिन्छ । भूकम्प आउनुअघिदेखि नै जेलका अवस्था कमजोर थिए, क्षमताभन्दा बढी कैदी–बन्दी राख्नुपरेको यथार्थ पनि सबैलाई जानकारी भएकै कुरा हो । यसर्थ हामीसँग नुवाकोटमा करिब पाँच सय ३४ रोपनी जग्गा छ, त्यहाँ अस्थायी निर्माण गरेर ४–५ हजार कैदीबन्दी स्थानान्तरण गर्न सकियो भने केन्द्रको लोड पनि घट्न सक्छ र बन्दीहरूले अलिक हलुकासँग सुरक्षाको अनुभूतिका साथ दिनचर्या निर्वाह गर्न सक्छन् भन्ने हामीलाई लागिरहेको छ । यस सोचका साथ काम अघि बढिरहेको अवगत गराउनु यतिबेला हामी आफ्नो दायित्व ठान्दछौँ ।
(कारागार व्यवस्थापन विभागका महानिर्देशक दवाडीसँग गरिएको कुराकानीमा आधारित)