मूलले होइन भूगोलले दिन्छ पहिचान – ई. महेन्द्र पराजुली

मूलले होइन भूगोलले दिन्छ पहिचान – ई. महेन्द्र पराजुली


bicharमानिसलाई मूलले होइन भूगोलले पहिचान दिन्छ भन्ने कुरा विनाशकारी भूकम्पपछि देखिएको हिमाल, पहाड र तराईवासी नेपालीबीचको आपसी सहयोग, सद्भाव, हार्दिकता अनि न्यानो सम्बन्धले पुष्टि गरेको छ । कुनै भूगोलमा बस्ने समुदायको भाषा, संस्कृति, परम्परा, रीतिरिवाज र संस्कार नै पहिचान हो । अनेकतामा एकताको सूत्रमा बाँधिएका हामी नेपाली पहाडे र मधेसीबीच जुन विभाजनको रेखा कोरिँदै छ या विवाद उत्पन्न गराइएको छ, त्यो न पहाडी न मधेसी मूलका बासिन्दाले उठाएको मुद्दा हो, यो त सीके राउत र सरिता गिरीजस्ता केही दूराशयीको बहुलठ्ठ्रीपन र लहडमा उठाइएको मुद्दा मात्र हो । मधेस आन्दोलनको नाममा सर्वसाधारण जनतालाई बलिको बेदीमा चढाई अमूक–अमूकलाई खुसी पार्न उठाइएको हतियार हो यो ।
वास्तवमै मधेस आन्दोलन पृथक् पहिचानका लागि भएको थिएन । यसले त राज्यको भेदभावपूर्ण व्यवहारको अन्त्यका लागि आवाज उठाएको थियो, राज्य संरचनामा न्यायोचित स्थान खोजेको थियो, विकेन्द्रीकृत शासनको माग गरेको थियो । केन्द्रीकृत राज्य व्यवस्थाको कारण मधेसी दलित जनजाति मात्र होइन समाजका अन्य वर्गसहित राज्य नै पीडित भएको हुँदा, देशमा सङ्घीय गणतन्त्र नेपालको स्थापना भएको हो । देश टुक्र्याउने जुन खेलहरू भइरहेको छ, त्यो कुनै पनि स्वाभिमानी नेपालीका लागि स्वीकार्य छैन । रंग र रूपका आधारमा मात्र राज्य टुक्रिन सक्दैन, न त भाषाको आधारमा नै । भन्ने नै हो भने वास्तविक मधेसलाई प्रतिनिधित्व गर्ने समुदाय अल्पमतमा पर्ने सम्भावना बढ्दै गएको छ । कुनै दिन मधेसका भूमिपुत्र आदिवासीहरूले भुटानी शरणार्थीको जस्तो टिठलाग्दो जीवनयापन गर्न बाध्य हुनुपर्ने दिन नआओस्, यसतर्फ सचेत हुन जरुरी छ मधेसी जनताले ।
०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प तथा सोही महिनाको २९ गते गएको ठूलो पराकम्पनले देशका पहाडी जिल्लामा देखाएको ताण्डवनृत्यको कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति हुन गई समग्र देश नै शोकमा डुबेको अवस्थामा, देशलाई दुखेको बेला नेपाललाई असफल राष्ट्र बनाई नेपाली भूमिमा विदेशी शक्तिलाई परेड खेलाउने खेल, दृश्य अनि परिदृश्यमा देखिँदै छन् । आफ्नो सामथ्र्यको पहिचान र आँकलन गर्न जरुरी छ नेपालआमालाई बलात्कार गर्नेहरूले । कोसी, बागमती, कमला, नारायणी, गण्डकी र महाकालीमा धेरै पानी बगिसकेको छ, भदौमा आँखा फुटेको डिँगोले सधैँ हरियै देखेजस्तो अवस्था होइन अहिले मधेसमा । यस्को पुष्टि दोस्रो संविधानसभाको निर्वाचनले पनि गरेको छ ।
डर, त्रास र घम्कीको भाषा बोल्दै राष्ट्र र राष्ट्रियताको सवालमा गैरजिम्मेवार अभिव्यक्ति दिँदै देशप्रति वितृष्णा र अनास्था फैलाउने काम गरिरहेका छन् विष वमन गर्दै बाह्य आडभरमा केही छद्मभेषीले । अराजक र उछृङ्खल भनाइ राख्दै जनतालाई भड्काउने र उत्तेजित बनाई धमिलो पानीमा माछा मार्ने कोसिस ती गर्दै छन् । देशलाई अस्थिर बनाइराख्न मधेसलाई स्वतन्त्र राज्य बनाउनुपर्दछ भन्ने राष्ट्रघाती, राज्यद्रोही राउत र गिरीहरू कसको इसारामा नेपालआमाको छातीमा गोली दाग्दै छन् ? मधेसका जनताले समेत औंला ठड्याउने गरेका यी संदिग्ध पात्रहरूले पक्कै पनि निष्ठाको राजनीति गरेका छैनन् । विश्वको सर्वोच्च शिखर सगरमाथा, अहिंसाका पुजारी शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध, भृकुटी, सीता, अरनिको, राजर्षि जनक तथा वीर–विराङ्गनाहरूको गौरवगाथाले चिनिएको देश नेपाल राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रतामाथि खेलवाड गर्ने, बलात्कार गर्ने जो–कोहीलाई पनि छुट छैन, त्यस्ता पात्रलाई राज्यद्रोहको मुद्दा चलाई दण्डित गर्नुपर्दछ, यो अमनेपालीको आवाज हो ।
नेपाली काङ्ग्रेस र वामपन्थी पार्टीहरूमा राम्रै हैसियत बनाएर उच्चस्तरको लाभ प्राप्त गरेका मधेसी नेताहरू तत्–तत् पार्टीमा आफ्नो भविष्य असुरक्षित देखेपछि मधेसको राजनीतिमा हामफालेका हुन् । उनीहरूले एकपल्ट सोच्न जरुरी छ– कलङ्कको कालो टीका लगाउने कि नेपाली जनताको मन जित्ने ? राष्ट्रिय पहिचान बनाइसकेका महन्त ठाकुर, विजयकुमार गच्छेदारजस्ता उपल्लो तहका नेताहरू क्षेत्रीय नेता मात्र हुने कि राष्ट्रिय नेता नै बनिरहने ? तुलनात्मक रूपमा अरू नेताभन्दा विजयकुमार गच्छेदारमा राजनीतिक संस्कार देखिन्छ । कम्बल ओडेर घिउ खाने धेरैजसो मधेसका नेता हुँ भन्नेहरू मधेसबाटै अनुमोदित नभएर बहिष्कृतमा परे, यसको पुष्टि दोस्रो संविधानसभाको निर्वाचन परिणामले देखाएको छ । मधेसको भ-याङ चढेर नेता बनेका नेताहरूको आत्मनिर्णयसहितको एक मधेस एक प्रदेशको माग दिवासपना मात्र हो, तासको घरजस्तै हो ।
लामो समयसम्म सत्ताको स्वाद चाखिसकेका, भ्रष्टाचारको चास्नीमा डुबेका मधेसवादी पार्टीका उपल्लो तहका केही नेतालाई आफूले मात्र निर्वाचन जित्ने सङ्घीय राज्य चाहिएको छ । पहाड र तराईलाई जोडेर उत्तर–दक्षिणको राज्य बनेको खण्डमा निर्वाचनमा हारिन्छ भन्ने मानसिकताबाट ग्रसित छन्, जनताको कसीमा उत्रन डराइरहेका छन् । आफूले गरेका गलत कामबाट त्रसित छन्, लघुताभासको रोगी भएका छन् । नैतिकता, सिद्धान्त र आदर्शका लागि नभएर व्यक्तिगत स्वार्थ, सत्ता र शक्तिको सेरोफेरोमा मात्र रमाउने गरेका छन् मधेसवादी पार्टीका नेताहरू । पावर सेयरिङको बार्गेनिङमा अगाडि छन् । सत्तामा जानका लागि जे–जस्तो हतकण्डा अपनाउनुपर्छ त्यसमा माहिर छन्, जे–जस्तो कार्य गर्न पनि पछि पर्दैनन् । रातो पासपोर्टसमेत बिक्री गरेर सांसद पदको दुरुपयोग गरेका छन् । दल–बदलमा मधेसवादी पार्टीका नेताहरू अग्रस्थानमा छन्, एक–अर्कामा जुट्नुभन्दा फुट्नमा नै आफ्नो भविष्य सुरक्षित ठान्दछन्, एक–अर्काको नेतृत्व कसैलाई पनि स्वीकार्य छैन । सत्ता, शक्ति र पैसाको चलखेल नै प्रमुख कारण हो मधेसकेन्द्रित पार्टीहरू टुक्रा–टुक्रा हुनुमा, यो राम्रो सङ्केत होइन मधेसका लागि । मधेसकेन्द्रित पार्टीहरूमा एक–आपसमै चर्को द्वन्द्व छ । एनेकपा माओवादीको भरिया बनेका छन् मोर्चाको नाममा, कहिलेसम्म बन्ने हो एनेकपा माओवादीको बैसाखी मधेसवादी पार्टीहरू ?
नेपालको भूगोल परिवर्तन हुन आकाश खस्नुपर्दछ । हिमाल झुक्नुपर्दछ अनि धर्ती फाट्नुपर्दछ । पृथ्वी स्थिर अनि समयको गति बन्द हुनुपर्दछ हाम्रो शिर निहुरिन । सृष्टिको विनाश हुनुपर्दछ हाम्रो सार्वभौमिकतामाथि पराइले धावा बोल्न । छातीमा नेपालको नक्सा परेलीमा राष्ट्रिय झण्डा कोरेर एकमुठी देशको माटो हत्केलामा लिएर सबैले भनौँ– जय नेपाल, जय आमा नेपाल !
भौगोलिक तथा जैविक विविधता भएको देश नेपालमा तराईलाई चोट लाग्दा पहाडलाई दुख्नुपर्दछ, पहाडलाई दुख्दा मधेसले मलमपट्टी गर्नुपर्दछ । नेपाललाई दुख्दा मधेस, पहाड, हिमाल सबैलाई दुख्नुपर्दछ । हिमालको कञ्चन पानीले तराईका उर्वर फाँट सिञ्चित गर्नुपर्दछ । तराईको खाद्यभण्डारले हिमाल–पहाड पनि धान्नुपर्दछ । पहिले म नेपाली र मेरो नेपाल भन्ने मूल मन्त्र बनाउनुपर्दछ । राष्ट्र, राष्ट्रियताको सवालमा साझा धारणा बनाउनुपर्दछ । गणतन्त्र नेपालका भावी सन्ततिको सुन्दर र सुखद् भविष्य तथा समृद्ध र समुन्नत नेपालका लागि हिमाल, पहाड र तराई सँगसँगै हातेमालो गर्दै सङ्कल्प लिनुपर्दछ । आपसी सहयोग, सद्भाव, राष्ट्रिय भावना र एकताले सगरमाथाको उचाइ छुनुपर्दछ । बुद्धको शान्तिको आलोकलाई निभ्न दिनु कदापि हुँदैन । अस्तु ।