प्रकृतिप्रदत्त भय र चिरकालीन मुक्तिमार्ग– ब्रह्माकुमार रामसिंह ऐर

प्रकृतिप्रदत्त भय र चिरकालीन मुक्तिमार्ग– ब्रह्माकुमार रामसिंह ऐर


bicharविश्वव्यापी रूपमा बढ्दै गरेको प्राकृतिक प्रकोप -Natural disaster_ प्रति मानव समुदाय भयभीत, त्रसित र चिन्तित हुँदै गइरहेको छ । मानवले जतिसुकै फाइँफुट्टी, धाक, रवाफ र आफ्नो बुद्धिको करामत देखाए पनि प्रकृतिको वितण्डासँग उसको केही लाग्दैन । अर्थात्, प्रकृतिको ताण्डव मानव नियन्त्रणभन्दा बाहिर नै हुँदोरहेछ । गत वैशाख १२ गते ११ः५६ को ७.८ र २९ गते गएको ६.८ रेक्टर स्केलको महाविनाशकारी भूकम्पले राष्ट्रको अतुलनीय जनधनको क्षति हामीले आँखाअगाडि देख्यौँ र भोग्यौँ पनि । यसमा विज्ञानका भूगर्भवेत्ताहरू या विज्ञ–विश्लेषण र व्याख्यानले पनि भूकम्पबारे यति रेक्टरमा यति बेला र यस ठाउँमा आउने भन्नेबारे केही पनि स्पष्ट गर्न सकेन । महाभूकम्पपछि ठूलो भूकम्प नआउने र पराकम्पन मात्र हुने भन्ने भूगर्भवेत्ताहरूको तर्कसमेत २९ गतेको ठूलो भूकम्पको कम्पनले ओझेलमा पारेको अनुभव हुन्छ । यसबेलाको भूकम्पको महापीडा र प्रकोप नेपाल र नेपालीले सहनुपरेको छ, व्यहोर्नुपरेको छ, सामना र स्वीकार गर्नुपरेको छ ।
यस विनाशकारी भूकम्पबाट बस्तीका बस्ती सखाप भएका छन्, लाखौँ मान्छे घरबारविहीन भएका छन् । कत्तिका परिवारका परिवार समाप्त भएका छन् भने कत्तिले छोरा, छोरी गुमाउनुपरेको छ । कतिको पतिसँग वा पत्नीसँग वा आफन्तसँग सधैँका लागि विछोड भएको छ । हजारौँको मृत्यु र हजारौँ गम्भीर चोटपटकबाट घाइते भई उपचारको क्रममा छन् । कतिजना घर संरचना हुँदाहुँदै पनि घर पहेँलो वा रातो रंगमा परेको हुनाले त्यसमा बसोबास गर्न नसक्ने अवस्थामा छन् । भूकम्पको विनाशकारी प्रकम्पनको दृश्यले मानिसको मनमा परेको भय, त्रासको प्रभावका कारण बचेका घरभित्र पस्न पनि मानिस डराउने मनस्थितिमा छन् । अनेकौँ महलपति, करोडपतिको पनि टेन्टपति वा रोडपति बनेर सुकुला गर्ने अवस्था सिर्जना भएको छ । रातभरि चौर, सडक वा खुला ठाउँमा बिताएर बिहान आफ्नो घर–आँगनतिर फर्किने गरिरहेको देखिन्छ । साँच्चै भूकम्पले एउटा ठूलो बज्रपात गरेको छ नेपालको धर्ती र नेपालीको जीवनमा ।
वास्तवमा प्रकृति र प्राणीबीचको सम्बन्ध अन्योन्याश्रित र अकाट्य छ । एकबिना अर्कोको अस्तित्वले खासै अर्थ राख्दैन । यी दुवै सत्ताबीचको सुमेल नै संसार अर्थात् चराचर जगत् हो । फलफूल आफ्नै लागि नभएर अरूका लागि हुन्छन्, नदी जमिन आदि पनि कसैका लागि हुन्छन् । यिनको प्रयोजन भएमा मात्र यिनको महत्वको मूल्य हुन्छ । प्रकृति प्राणीका लागि प्रणाधार हो तर वर्तमान अवस्थामा त्यही प्रकृति प्राणघातक बनेको छ । पृथ्वी जसलाई भावनात्मक रूपमा धर्तीमाता भनिन्छ । मानव प्राणी तथा अन्य सबै प्राणिका आवश्यक खाद्यान्न र जीविकोपार्जका यावत् कुराहरू धर्ती माताबाट नै प्राप्त हुन्छन् । मानव प्राणीको आवास, निवास, उद्योग–धन्धा, खेतीपाती, आवातजावत तथा अन्य सबै प्रकारका क्रियाकलापहरू धर्तीमाताको वक्षस्थलमा हुने गर्दछ । हरप्रकारको सुखसुविधाका अमूल्य खजाना स्रोत प्रदान गरेको छ धर्तीमाताले । हामी पूर्ण रूपमा यही पृथ्वीको सतहमा वा कोखमा नै आश्रित छौँ । जसरी आमाले आफ्ना दुःखकष्ट सहेर पनि आफ्ना बालबच्चाहरूलाई सुख, सुविधा, स्नेह, प्यार दिन्छिन् त्यस्तै कार्य गरेको छ पृथ्वीमाताले पनि । तर, दिन प्रतिदिन यही धर्तीमा उत्तेजित भएर हो वा उसलाई मानवको दुष्कर्म, दुस्वृत्ति, दूराचार, पापाचार, स्वार्थ, हिंसा, हत्या इत्यादि खेलसँग रुष्ट भएर भूकम्पको खेलाद्वारा वितण्डा मच्चाउने, जनधनलाई ध्वस्त गर्ने कार्य भइरहेको छ । यसमा मानवले अलि संवेदनशील र सचेत भएर आफूलाई न सच्याएसम्म र न सुधारेसम्म पृथ्वीको असन्तुष्टि जारी रहने आभास वा अन्तरप्रेरणा हुने गर्दछ ।
वैज्ञानिक व्याख्यान र विश्लेषणअनुसार भारतीय उपमहाद्वीपको Tectonic Plate/Eurasian Plate को घर्षणबाट यस भूभागमा पृथ्वी कम्पायमान हुन गई भूकम्प उत्पन्न हुने, जनधनको विनाश, विध्वंश हुने कुरा आफ्ना ठाउँमा सत्य र ठीक छ । तर, पृथ्वीलगायतका पाँचै तत्वहरू जल, अग्नि, वायु र आकाशमा उत्पन्न भएको असन्तुलन र प्रदूषणका लागि को जिम्मेवार छ त ? यस पक्षमा कतिसम्म स्वीकार गर्ने मनस्थितिमा छौँ हामी । सत्य अनुभव त के हो भने यो सबै असन्तुलन र प्रदूषणको मूल कारण मानवकृत क्रियाकलाप नै हुन् अर्थात् मानव प्राणी नै यसमा दोषी छ । उसमा पलाएको विकारजन्य मनोवृत्ति, आसुरी संस्कार, दुश्मनी, ईष्र्या, घृणाजस्तो मनोभाव जसबाट उत्पन्न हुने सूक्ष्म तरङ्गहरू -waves) वा प्रकम्पन -vibrations_ चराचर जगत्का सबै प्रणालीहरू -systems_ लाई नकारात्मक रूपमा प्रभावित गर्दछन् जसबाट उत्पन्न खल्बलीबाट सबै कुरामा गडबडी हुने गर्दछ । अति स्वार्थ र महोत्वाकाङ्क्षा तथा वासना वृत्ति स्वार्थका कारण उसका बोली वचन कटु हुने र उसका कर्म र व्यवहार दुस्कर्म र दुव्र्यवहार हुने गर्दछन् ।
प्रकृति र पुरुष (चैतन्य सत्ता)मा आएको विक्षिप्त र विखण्डनको सुधार र सुसङ्गठनका लागि अभौतिक विज्ञान -meta science_ अर्थात् चेतनको विज्ञान -science of consciousness_ को यथार्थ जानकारीका साथ जीवनमा त्यसको प्रयोग र कार्यान्वयन हुनु समयसापेक्ष भएको छ । जबसम्म चेतनाको विज्ञानको व्यावहारिक प्रयोग हुँदैन तबसम्म यी पञ्चतत्वले आउँदा दिनहरूमा झन्झन् विनाशकारी भूमिका निर्वाह गर्ने प्रशस्त सम्भावना र लक्षणहरू प्रतीत हुन्छन् । चेतनाको विज्ञानले चेतन शक्तिको रूपान्तरण यसरी गर्न खोजेको छ । मानव मनमा व्याप्त कामवासना वृत्तिलाई शुभभावना, शुभकामना र आत्माभावमा परिणत गर्ने, क्रोधको ज्वालालाई रचनात्मक ओज, तेजका रूपमा क्रियाशील गर्ने, लोभलालचको वृत्तिलाई निष्काम भाव, निस्वार्थ भाव र उपरामभावबाट प्रयोग गर्ने, मोह, ममतालाई शुद्ध स्नेह, प्यार -unconditional love_ मा परिणत गरी प्रयोग गर्ने र अहंकार अहम् भावलाई स्वभान, स्वगौरव र स्वाभिमानको रूपमा परिणत गरी प्रयोग गर्ने । यस हिसाबले मानवका अन्तरमनका विकार र विकृतिहरू गुण, शक्ति र मूल्यका रूपमा रूपान्तरण गर्नाले वा पाँच विकारलाई पाँच शक्ति बनाउनाले निश्चित रूपमा त्यसको सकारात्मक प्रभाव प्रकृतिका पाँचै तत्वहरूमा पर्नेछ । त्यस अवस्थामा प्रकृतिका पाँचै तत्व जल, वायु, पृथ्वी, आकाश र अग्नि सधैँ प्राणीका लागि सुखदायी सेवाधारीको रूपमा हाजिर रहनेछन् । यो वास्तविकतालाई मूर्तरूप दिन प्रत्येक मानवप्राणीले आफ्नो जीवनशैलीलाई नै परिवर्तन गर्नुपर्दछ । उसको सोचाइ, बोलाइ, कर्म, व्यवहार र लवाइख्वाइ सबैमा शुद्ध सात्विकता, स्वअनुशासन र सदाचारको सुगन्ध हुनुपर्दछ ।
आत्माको अनादि अस्तित्व, प्रकृतिको अनादि अस्तित्वका साथै परमात्म शक्तिको यथार्थतालाई महसुस गरी वर्तमानमा चेतन आत्मा र प्रकृतिको तमोप्रधानतालाई सतोप्रधानतामा ल्याउन मानव आत्माले परमात्मासँग योगयुक्त हुनुपर्ने आवश्यकतासमेत अभ्यासमा ल्याउनुपर्दछ । किनकि मानवको आन्तरिक चित्तवृत्तिमा वा संस्कारमा गडेर बसेका विकारजन्य कमजोरीलाई सफा गर्न पतीत पावन -Purifier_ परमात्म शक्तिको सूक्ष्म किरणहरूलाई आत्माले स्वयम्मा प्राप्त गर्नुपर्दछ । यसका लागि राजयोगको यथार्थ विधि र अभ्यासबाट मानिस परमात्मामा एकाग्र भई उसको शक्तिलाई स्वयम्मा ग्रहण गर्न योग्य बन्दछ । यसबाट उसको चारैतिर एक शक्तिशाली आभामण्डल -powerful aura_ को निर्माण हुन्छ । किनकि राजयोगमा निरन्तर सकारात्मक, शुद्ध र शक्तिशाली श्रेष्ठ विचारको प्रवाह हुनाले त्यस्तै प्रकारका प्रकम्पनहरू पनि पैदा हुने गर्दछन् । परिणामस्वरूप मानव मन शान्त, शीतल, शालीन र निर्मल बन्दछ र त्यस्तै प्रकारको प्रभाव बाह्य जगत्का पाँचै तत्वहरू -vital five elements_ मा पनि पर्न जान्छ । जसको फलस्वरूप पाँच तत्व पनि आफैंमा शान्त, शीतल, निर्मल, संयमित र सुखकारी बन्न पुग्दछन् । कदाचित उद्वेलित भएर बबण्डर मच्चाउने काम गर्दैनन् तर सर्त के भने चेतनशक्ति मानव मन नै प्रथमतः शुद्ध, शालीन र निर्मल बन्नु जरुरी हुन्छ । अतः अबको बेलामा प्रकृतिमा समेत सकारात्मक परिवर्तनको चाहनालाई यथार्थताको धरातलमा ल्याउन मानव सोच र कर्ममा सद्विचार, सद्वृत्ति, श्रेष्ठ सङ्कल्प कर्ममा सत्कर्म, सद्व्यवहार र सद्गुणको विकास हुनुपर्दछ । यस अवस्थामा मात्र प्रकृति र पुरुषको सम्बन्धमा सुमधुरता वा समरसता -harmony_ आउनेछ र प्रकृतिको भय, त्रास चिरकालका लागि समाप्त हुनेछ ।