नेताहरू देश बनाऊ, कार्यकर्ता टहरा बनाऊ– विनोद त्रिपाठी

नेताहरू देश बनाऊ, कार्यकर्ता टहरा बनाऊ– विनोद त्रिपाठी


nice phortoपूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा भत्कन लागेको घरको भित्तामा गलले हान्दै गरेको तस्बिर यो साता सामाजिक सञ्जालमा भाइरलझैँ प्रवाह भयो । तस्बिरको प्रतिक्रियामा अधिकांशले कालीदासको संज्ञा दिए ।
उनीझैँ अधिकांश उच्च नेताहरू भूकम्पपीडितको घरघरमा छन् । गाउँघरमा जनताको पिरमर्कामा समाहित छन् । ढिलै भए पनि दलहरूको सक्रियताले उद्धार र राहतमा तरङ्ग ल्याएको छ । सरकारले दलहरूको कार्यलाई प्रोत्साहन गरेको छ । अधिकांश पार्टीका अध्यक्षसहित वरिष्ठ नेताहरू नै औजारसहित टहरा निर्माणमा जुटेका खबरले जनतामा उत्साह छाएको छ । यो जनतासँगको निकटताको सबैले प्रशंसा गर्नैपर्छ । यसले चह-याइरहेको घाउमा मल्हम लगाउने काम गरेको छ । तर, के देशले खोजेका नेताहरू र अहिलेसम्म लगानी गरेका दलबाट यही अपेक्षा हो त ? यो आहत घडीमा देशले फरक–फरक नागरिकबाट फरक–फरक भूमिकाको अपेक्षा गरेको छ ।
गगन थापाले नुवाकोटमा ४८ वटा टहरा आफ्नै हातबाट तयार गरेपछि सबै दलका नेतामा यो जाँगर देखियो । नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीदेखि सबै युवाहरूको पहल देखेपछि मूल पार्टीका शीर्ष नेतालाई औजार समाउन बाध्य पा-यो । यहाँ दलहरूले के बुझ्न सकेनन् भने भूकम्पको क्ष्ँतिले देशलाई बर्बाद पारेको दीर्घकालीन असर र निभाउनुपर्ने दायित्व ।
एउटा नेता तयार गर्न पार्टीले कति लगानी गर्छ । कार्यकर्ताले कति सहयोग गर्छन् । सिङ्गो पार्टी बनाउन देशले कति गुमाउँछ । अझै माओवादी पार्टीका नेताहरू बनाउन देशले कत्रो धनजनको लगानी ग-यो । त्यो लगानीको आधारमा देश र जनताले सोहीबराबरको परिणाम आशा गर्छन् । भूकम्पले पु-याएको ठूलो क्षतिबाट देशले पार पाउन तिनै नेताहरूको योगदान आवश्यक छ । देशको तहसनहस आर्थिक क्षेत्रलाई माथि उठाउन दीर्घकालीन योजनाबाट मात्र सम्भव छ ।
माक्र्सको आर्थिक क्रान्तिलाई प्रसंशा गर्ने बाबुराम भट्टराईको सीप र क्षमतालाई टहरा निर्माणमा लगाउँदा उनीप्रति भएको देशको लगानीको प्रतिफल प्राप्त होला । भूकम्पले यहाँ ठूला विद्युत् आयोजना खराब छन् । लोडसेडिङ बढ्ने सम्भावना छ । ठूला सरकारी भवन ध्वस्त छन् । व्यापारी प्रतिष्ठानका हाउजिङ घरहरू काम नलाग्ने छन् । निजी क्षेत्रका ठूला भवन र संरचना चकनाचुर छन् । सडक चिरिएका छन् । जमिन फाटेको छ । उद्योग, कलकारखाना बन्द छन् । पर्यटन क्षेत्र ठप्प छ । सुस्त भए पनि भइरहेको विकास भूकम्पपछि रोकिएको छ । विकासमा लगाइएका साधन–स्रोत उद्धारमा लगाउनुपरेको छ । देशभित्र सुरुवात हुन लागेका लगानी फर्कन थालेका छन् । भइरहेका लगानी जोखिममा छन् । बेरोजगारले झन् पिरोल्दै छ । यस्ता यावत् समस्या समाधान गर्न साधारण नागरिकबाट सम्भव छैन । यसको समाधानको एउटै उपाय भनेकै दलहरूका नेता र सरकार हो । तर, यी सबै गम्भीर विषयलाई पन्छाएर टहरा निर्माणमा शीर्ष नेतृत्व लाग्नु नै विडम्बना हो ।
नेताले औजार समाउनुहुन्न हामीले भनेका छैनौँ । मजदुरको झैं काम गर्न नहुने हाम्रो भनाइ होइन । कार्यकर्ता जसरी नेता खट्न हुँदैन भन्ने हाम्रो आसय होइन । तत्काल भए पनि अस्थायी टहरा निर्माण गर्न नेता जान हुँदैनथ्यो भन्ने हाम्रो दुराग्रह पनि होइन । दलहरूको एकजुटलाई हामीले प्रसंशा नगरेका पनि होइनौँ । जनताको पीडामा घरदैलोमै पुग्नु नेताहरूको नाटक हो पनि हामीले भनेका छैनौँ । पीडितप्रतिको यो सहानुभूति अनुकरणीय नभएको हाम्रो भनाइ होइन । यी सबैका बाबजुद पनि चरम गरिबीबाट गुज्रेको हाम्रो देशले राजनीतिमा लगाएको लगानीको प्रतिफल कसरी खोजेको छ सङ्केत गर्न खोजिएको हो ।
यो महाविपत्तिमा आफैँले देशका लागि के गरेँ ? भन्ने प्रश्न हरेक नागरिकसँग जोडिएको छ । खाना र नाना पीडितका समस्या छन् । वर्षा नजिकै आएकाले घर भत्किएकाका लागि तत्काल अस्थायी वास आवश्यक छ । बालबालिका स्कुल जाने वातावरण बनेको छैन । बालबालिकाका पुस्तक ढुङ्गा र माटोले पुरिएका छन् । यसबाट पार पाएपछि गर्नुपर्ने दायित्वका खाका राज्य तहबाट आउन बाँकी छ ।
यससँगै देशले दीर्घकालीन योजना ल्याउन ढिला भइसकेको छ । विदेशी सहयोग जुटाउन समय घर्कंदै छ । कारण हो, भूकम्पले विश्व हल्लाइरहेको मापन केन्द्रहरूका रेकर्डले देखाएको छ । यही अवधिमा हाम्रा दातृ मुलुकमा ठूला भूकम्प गयो भने नेपालको समस्या अन्तर्राष्ट्रिय जगत्मा ओझेलमा पर्ने निश्चित छ । हाम्रो आफ्नै बजेटले नयाँ निर्माणमा सम्भव छैन । विदेशी सहयोग अनिवार्य छ । भूकम्पको असर पृथ्वीको हरेक क्षेत्रमा देखिएकोले अन्य देशमा क्षति पु-यायो भने हामीलाई दिने सहयोग सोझै कटौती हुनेछ । ‘रात बित्यो अग्राख पलायो’ भन्ने उखानझैँ देशको मुहार फेर्ने यो चरणमा पार्टीका शीर्ष नेतृत्व र सरकार जुटिहाल्नुपर्नेछ । अहिले पो नेपाललाई नोक्सान गरेको विदेशीले देखेका छन् । उनीहरूकै मुलुकमा यो विपत्ति आउनेबित्तिकै हाम्रा गुनासो विदेशीले सुन्ने छैनन् । यहाँ प्रश्न उठ्न सक्छ, विदेशी मुख ताकेर मात्र हुन्छ ? यो पनि बुझ्न आवश्यक छ, तत्कालका ठूला योजना हाम्रो गरिबीले पार लगाउने कुनै सम्भावना नै छैन । हरेक देशले विपत्तिबाट पार पाउन विदेशीकै शरणमा पर्छन् । जापानजस्तो समृद्धि मुलुकले पनि भूकम्पको क्षतिबाट पार पाउन विदेशी सहयोग लिने गरेका धेरै उदाहरण छन् ।
नेतालाई देशले गरेको लगानी टहरा निर्माणले चक्ता हुँदैन । हामी आमनेपाली लाखौँ मजदुर बन्न तयार छौँ । ज्यामीको सीप नेताहरूसँग हुँदैन । नेताको क्षमता सामान्य नागरिकसँग हुँदैन । धेरै वर्षको मिहिनेत र जनताको पसिनाबाट नेता र पार्टी निर्माण भएको हो । देश हाँक्ने नेताले एउटा घर निर्माण गरेको गर्व गर्नु बेकारका कुरा हुन् । यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने कार्यकर्ता बनाउन देशको जति लगानी हुन्छ, त्यसको कैयौँ गुना बढी नेता तयार गर्न खर्चिनुपर्छ । त्यो खर्चको ऋण नेताले कार्यकर्ताबराबरको योगदान दिएर पूर्ति हुने छैन ।
यहाँ नेताबाट सिङ्गो देश बनाउन जुट्नु छ । टहरा निर्माण र राहतमा आफ्ना लाखौँ कार्यकर्ता खटाएर वरिष्ठ नेताहरू देश निर्माणका खाका, योजना, विकास र सुरक्षित नेपालको रेखा कोर्न व्यस्त हुनुपर्ने जरुरी छ । यसबेला विदेशी कसरी नेपाललाई सहयोग गर्ने भरपर्दो योजनाको प्रतीक्ष्ाँमा छन् । दलहरूको सामूहिक प्रतिबद्धता उनीहरूको विश्वासको आधार बन्न सक्छ । सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ । तातेकै फलामलाई बेलैमा आकार दिन सकिनेतर्फ नेताहरूको ध्यान जान जरुरी छ । अन्यथा विदेशीले आश्वासन दिँदै गर्दा नेपालको सहयोग थन्किन सक्छ । परिश्रम हामीले गर्ने हो । सहयोग विदेशबाट ल्याउन लाज मान्नुपर्दैन । हामी दरिद्रताको खाडलमा छौँ भन्ने विश्वलाई पूरापूर थाहा छ । निर्यातभन्दा आयातबाट हाम्रो जीवन चलेको हरेक देशले रेकर्ड राखैकै छन् । झन् अहिलेको यो महाविपत्तिमा नेपाल आफैंले केही गर्न नसक्ने हरेक देश उत्तिकै जानकार छन् । भुटानजस्तो पुन्टे देशले पनि सुरुमै १० करोड नगद दियो । यो गम्भीर अवस्थामा नेताहरूको लगानी समग्र देश निर्माणमा लगाउनुपर्छ ।
दलहरूले आफ्नै पहलमा पीडितका लागि कार्यकर्ता परिचालन निकै प्रशंसनीय काम भएको छ । अझ सुनमा सुगन्ध भनेको नेताहरूले सिङ्गो देशकै नवनिर्माणका लागि समय खर्चनु नै हो । जनतासँगको सामीप्यता खालि भोटबैंक जोगाउन नभई भावी दिनमा आउने सम्भावित भूकम्पबाट जनतालाई रक्षा गर्न दीर्घकालीन आयोजनाहरू ल्याउनु नै नेताहरूको निस्वार्थ लगानी अहिलेको टड्कारो आवश्यकता हो । त्यसैले सबै नेपाली फेरि भन्छौँ, नेताहरू देश बनाऊ, कार्यकर्ताहरू टहरा बनाऊ ।