पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा भत्कन लागेको घरको भित्तामा गलले हान्दै गरेको तस्बिर यो साता सामाजिक सञ्जालमा भाइरलझैँ प्रवाह भयो । तस्बिरको प्रतिक्रियामा अधिकांशले कालीदासको संज्ञा दिए ।
उनीझैँ अधिकांश उच्च नेताहरू भूकम्पपीडितको घरघरमा छन् । गाउँघरमा जनताको पिरमर्कामा समाहित छन् । ढिलै भए पनि दलहरूको सक्रियताले उद्धार र राहतमा तरङ्ग ल्याएको छ । सरकारले दलहरूको कार्यलाई प्रोत्साहन गरेको छ । अधिकांश पार्टीका अध्यक्षसहित वरिष्ठ नेताहरू नै औजारसहित टहरा निर्माणमा जुटेका खबरले जनतामा उत्साह छाएको छ । यो जनतासँगको निकटताको सबैले प्रशंसा गर्नैपर्छ । यसले चह-याइरहेको घाउमा मल्हम लगाउने काम गरेको छ । तर, के देशले खोजेका नेताहरू र अहिलेसम्म लगानी गरेका दलबाट यही अपेक्षा हो त ? यो आहत घडीमा देशले फरक–फरक नागरिकबाट फरक–फरक भूमिकाको अपेक्षा गरेको छ ।
गगन थापाले नुवाकोटमा ४८ वटा टहरा आफ्नै हातबाट तयार गरेपछि सबै दलका नेतामा यो जाँगर देखियो । नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीदेखि सबै युवाहरूको पहल देखेपछि मूल पार्टीका शीर्ष नेतालाई औजार समाउन बाध्य पा-यो । यहाँ दलहरूले के बुझ्न सकेनन् भने भूकम्पको क्ष्ँतिले देशलाई बर्बाद पारेको दीर्घकालीन असर र निभाउनुपर्ने दायित्व ।
एउटा नेता तयार गर्न पार्टीले कति लगानी गर्छ । कार्यकर्ताले कति सहयोग गर्छन् । सिङ्गो पार्टी बनाउन देशले कति गुमाउँछ । अझै माओवादी पार्टीका नेताहरू बनाउन देशले कत्रो धनजनको लगानी ग-यो । त्यो लगानीको आधारमा देश र जनताले सोहीबराबरको परिणाम आशा गर्छन् । भूकम्पले पु-याएको ठूलो क्षतिबाट देशले पार पाउन तिनै नेताहरूको योगदान आवश्यक छ । देशको तहसनहस आर्थिक क्षेत्रलाई माथि उठाउन दीर्घकालीन योजनाबाट मात्र सम्भव छ ।
माक्र्सको आर्थिक क्रान्तिलाई प्रसंशा गर्ने बाबुराम भट्टराईको सीप र क्षमतालाई टहरा निर्माणमा लगाउँदा उनीप्रति भएको देशको लगानीको प्रतिफल प्राप्त होला । भूकम्पले यहाँ ठूला विद्युत् आयोजना खराब छन् । लोडसेडिङ बढ्ने सम्भावना छ । ठूला सरकारी भवन ध्वस्त छन् । व्यापारी प्रतिष्ठानका हाउजिङ घरहरू काम नलाग्ने छन् । निजी क्षेत्रका ठूला भवन र संरचना चकनाचुर छन् । सडक चिरिएका छन् । जमिन फाटेको छ । उद्योग, कलकारखाना बन्द छन् । पर्यटन क्षेत्र ठप्प छ । सुस्त भए पनि भइरहेको विकास भूकम्पपछि रोकिएको छ । विकासमा लगाइएका साधन–स्रोत उद्धारमा लगाउनुपरेको छ । देशभित्र सुरुवात हुन लागेका लगानी फर्कन थालेका छन् । भइरहेका लगानी जोखिममा छन् । बेरोजगारले झन् पिरोल्दै छ । यस्ता यावत् समस्या समाधान गर्न साधारण नागरिकबाट सम्भव छैन । यसको समाधानको एउटै उपाय भनेकै दलहरूका नेता र सरकार हो । तर, यी सबै गम्भीर विषयलाई पन्छाएर टहरा निर्माणमा शीर्ष नेतृत्व लाग्नु नै विडम्बना हो ।
नेताले औजार समाउनुहुन्न हामीले भनेका छैनौँ । मजदुरको झैं काम गर्न नहुने हाम्रो भनाइ होइन । कार्यकर्ता जसरी नेता खट्न हुँदैन भन्ने हाम्रो आसय होइन । तत्काल भए पनि अस्थायी टहरा निर्माण गर्न नेता जान हुँदैनथ्यो भन्ने हाम्रो दुराग्रह पनि होइन । दलहरूको एकजुटलाई हामीले प्रसंशा नगरेका पनि होइनौँ । जनताको पीडामा घरदैलोमै पुग्नु नेताहरूको नाटक हो पनि हामीले भनेका छैनौँ । पीडितप्रतिको यो सहानुभूति अनुकरणीय नभएको हाम्रो भनाइ होइन । यी सबैका बाबजुद पनि चरम गरिबीबाट गुज्रेको हाम्रो देशले राजनीतिमा लगाएको लगानीको प्रतिफल कसरी खोजेको छ सङ्केत गर्न खोजिएको हो ।
यो महाविपत्तिमा आफैँले देशका लागि के गरेँ ? भन्ने प्रश्न हरेक नागरिकसँग जोडिएको छ । खाना र नाना पीडितका समस्या छन् । वर्षा नजिकै आएकाले घर भत्किएकाका लागि तत्काल अस्थायी वास आवश्यक छ । बालबालिका स्कुल जाने वातावरण बनेको छैन । बालबालिकाका पुस्तक ढुङ्गा र माटोले पुरिएका छन् । यसबाट पार पाएपछि गर्नुपर्ने दायित्वका खाका राज्य तहबाट आउन बाँकी छ ।
यससँगै देशले दीर्घकालीन योजना ल्याउन ढिला भइसकेको छ । विदेशी सहयोग जुटाउन समय घर्कंदै छ । कारण हो, भूकम्पले विश्व हल्लाइरहेको मापन केन्द्रहरूका रेकर्डले देखाएको छ । यही अवधिमा हाम्रा दातृ मुलुकमा ठूला भूकम्प गयो भने नेपालको समस्या अन्तर्राष्ट्रिय जगत्मा ओझेलमा पर्ने निश्चित छ । हाम्रो आफ्नै बजेटले नयाँ निर्माणमा सम्भव छैन । विदेशी सहयोग अनिवार्य छ । भूकम्पको असर पृथ्वीको हरेक क्षेत्रमा देखिएकोले अन्य देशमा क्षति पु-यायो भने हामीलाई दिने सहयोग सोझै कटौती हुनेछ । ‘रात बित्यो अग्राख पलायो’ भन्ने उखानझैँ देशको मुहार फेर्ने यो चरणमा पार्टीका शीर्ष नेतृत्व र सरकार जुटिहाल्नुपर्नेछ । अहिले पो नेपाललाई नोक्सान गरेको विदेशीले देखेका छन् । उनीहरूकै मुलुकमा यो विपत्ति आउनेबित्तिकै हाम्रा गुनासो विदेशीले सुन्ने छैनन् । यहाँ प्रश्न उठ्न सक्छ, विदेशी मुख ताकेर मात्र हुन्छ ? यो पनि बुझ्न आवश्यक छ, तत्कालका ठूला योजना हाम्रो गरिबीले पार लगाउने कुनै सम्भावना नै छैन । हरेक देशले विपत्तिबाट पार पाउन विदेशीकै शरणमा पर्छन् । जापानजस्तो समृद्धि मुलुकले पनि भूकम्पको क्षतिबाट पार पाउन विदेशी सहयोग लिने गरेका धेरै उदाहरण छन् ।
नेतालाई देशले गरेको लगानी टहरा निर्माणले चक्ता हुँदैन । हामी आमनेपाली लाखौँ मजदुर बन्न तयार छौँ । ज्यामीको सीप नेताहरूसँग हुँदैन । नेताको क्षमता सामान्य नागरिकसँग हुँदैन । धेरै वर्षको मिहिनेत र जनताको पसिनाबाट नेता र पार्टी निर्माण भएको हो । देश हाँक्ने नेताले एउटा घर निर्माण गरेको गर्व गर्नु बेकारका कुरा हुन् । यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने कार्यकर्ता बनाउन देशको जति लगानी हुन्छ, त्यसको कैयौँ गुना बढी नेता तयार गर्न खर्चिनुपर्छ । त्यो खर्चको ऋण नेताले कार्यकर्ताबराबरको योगदान दिएर पूर्ति हुने छैन ।
यहाँ नेताबाट सिङ्गो देश बनाउन जुट्नु छ । टहरा निर्माण र राहतमा आफ्ना लाखौँ कार्यकर्ता खटाएर वरिष्ठ नेताहरू देश निर्माणका खाका, योजना, विकास र सुरक्षित नेपालको रेखा कोर्न व्यस्त हुनुपर्ने जरुरी छ । यसबेला विदेशी कसरी नेपाललाई सहयोग गर्ने भरपर्दो योजनाको प्रतीक्ष्ाँमा छन् । दलहरूको सामूहिक प्रतिबद्धता उनीहरूको विश्वासको आधार बन्न सक्छ । सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ । तातेकै फलामलाई बेलैमा आकार दिन सकिनेतर्फ नेताहरूको ध्यान जान जरुरी छ । अन्यथा विदेशीले आश्वासन दिँदै गर्दा नेपालको सहयोग थन्किन सक्छ । परिश्रम हामीले गर्ने हो । सहयोग विदेशबाट ल्याउन लाज मान्नुपर्दैन । हामी दरिद्रताको खाडलमा छौँ भन्ने विश्वलाई पूरापूर थाहा छ । निर्यातभन्दा आयातबाट हाम्रो जीवन चलेको हरेक देशले रेकर्ड राखैकै छन् । झन् अहिलेको यो महाविपत्तिमा नेपाल आफैंले केही गर्न नसक्ने हरेक देश उत्तिकै जानकार छन् । भुटानजस्तो पुन्टे देशले पनि सुरुमै १० करोड नगद दियो । यो गम्भीर अवस्थामा नेताहरूको लगानी समग्र देश निर्माणमा लगाउनुपर्छ ।
दलहरूले आफ्नै पहलमा पीडितका लागि कार्यकर्ता परिचालन निकै प्रशंसनीय काम भएको छ । अझ सुनमा सुगन्ध भनेको नेताहरूले सिङ्गो देशकै नवनिर्माणका लागि समय खर्चनु नै हो । जनतासँगको सामीप्यता खालि भोटबैंक जोगाउन नभई भावी दिनमा आउने सम्भावित भूकम्पबाट जनतालाई रक्षा गर्न दीर्घकालीन आयोजनाहरू ल्याउनु नै नेताहरूको निस्वार्थ लगानी अहिलेको टड्कारो आवश्यकता हो । त्यसैले सबै नेपाली फेरि भन्छौँ, नेताहरू देश बनाऊ, कार्यकर्ताहरू टहरा बनाऊ ।
प्रतिक्रिया