‘नारान शिव ओमविक्रम साब !’-वसन्तराज कुँवर

‘नारान शिव ओमविक्रम साब !’-वसन्तराज कुँवर


सुडान काण्डमा करोडौं रुपैयाँ धोकेका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र सचिव उमेश मैनालीले जब यस काण्ड सम्बन्धमा राज्य व्यवस्था समितिले सोधपुछ गर्दा आफूहरूलाई त्यसबारे केही थाहा नभएको बताएर प्रहरी प्रधान कार्यालयलाई नै जिम्मेवार ठहराई आफूहरू उम्कने प्रयास गरेको कुरा छापामाध्यममार्फतत जानकारी मिल्यो, मेरो मुखबाट अनायसै यो वाक्य फुत्कियो, ‘नारान शिव ओमविक्रम साब !’
मेरी एक फुपू जिउडाल ठूलो भएकी हुनुहुन्थ्यो । हेर्दा हिमाली भेगका बासिन्दाझैं अनुहार भएकोले होला सानैदेखि उहाँलाई ‘थाक्से’ भनेर माया गरी सम्बोधन गरिने गरिन्थ्यो । हामीहरू बुझ्ने भएपछि उहाँलाई ‘थाक्सेदिदी’ भन्ने गर्दथ्यौँ । थाक्सेदिदी साह्रै सहनशील र जस्तै दुःख पनि आफैंभित्र पचाउने स्वभावकी हुनुहुन्थ्यो । जब उहाँ माइतीघर अर्थात् हाम्रो घर साङ्गलेखोला आउनुहुन्थ्यो, हामीलाई मिश्री-पापा ल्याइदिनुहुन्थ्यो । पाहुना आउँदा हामी केटाकेटी सुत्ने कोठा नै पाहुना कोठा बन्ने गर्दथ्यो । थाक्सेदिदी पनि हाम्रै कोठामा सुत्ने हुँदा हजुरमुमा, मेरी मुमा सबै त्यही कोठामा भेला हुन्थे । दिज्यूले आफ्ना दुःख-सुखका कुराहरू रातमा सबैलाई सुनाउनुहुन्थ्यो, तर आफ्ना दुःखहरू लुकाई अरूको दुःखमा बढी संवेदनशील हुने उहाँको बानी थियो । कुनै पनि दुःखका कुरा सुरु गर्नुभन्दा पहिले उहाँ भन्नुहुन्थ्यो, ‘नारान शिव ू’ नारान शिव उच्चारणपछि दुःखका कुराको उहाँ बेलिविस्तार लगाउनुहुन्थ्यो । जस्तो कि ‘नारान शिव ती बुहारीको घाँस काट्दाकाट्दै बूढीऔंला चटक्कै काटियो, नारान शिव त्यो गाई ब्याउन नसकेर मर्‍यो, नारान शिव ती लोग्नेले रक्सी खाएर जगल्टा समाई ती नानीलाई कुटे’ उहाँ भन्नुहुन्थ्यो । म सानै थिएँ, सिरकभित्र चुपचाप बसेर म ती फुपूको कुराहरू एक-एक गरी सुनिरहेको हुन्थेँ । जब ‘नारान शिव’ भन्ने शब्द उहाँको मुखबाट निस्कन्थ्यो, तब म बुझिहाल्थें फुपू अब एक दुःखद् र पीडादायी कथा सुनाउनेवाला हुनुहुन्छ ।
त्यस दिन कृष्णप्रसाद सिटौलाले राज्य व्यवस्था समितिसमक्ष सुडान काण्डमा आफ्नो संलग्नता नभएको हाकाहाकी भन्दै जब निर्लज्ज तरिकाले प्रेससमक्षसमेत आफू ओभानो भएको बताएको तथ्य सार्वजनिक भयो, अनायासै मेरो मानसपटमा ओमविक्रम राणाको आकृति घुम्न थाल्यो र मुखबाट अनायासै आवाज निक्लियो- ‘नारान शिव’ ओमविक्रम साव !
वास्तवमै चतुर सिटौला र मैनालीले निरीह ओमविक्रम राणालाई सुडान खरिदकाण्डमा बलिको बोको बनाउन खोजेकै हुन् । त्यो चतुर प्रयासमा सिटौला एन्ड कम्पनी कति हदसम्म सफल हुनेछन् भन्नेचाहिँ भविष्यले नै बताउला तर सुडानमा पठाउने सामान किन्दा कमसल सामान पठाई झन्डै ३४ करोड घोटाला गर्न र त्यस रकमको सबैभन्दा बढी फाइदा लिन भने यिनै ‘कम्पनी’ जिम्मेवार थिए । यो कुरा घामजस्तै र्छलङ्ग छ र प्रदीप ज्ञवालीको स्थलगत रिपोर्टबाट सार्वजनिक भइसकेकै छ ।
ती सामानहरू हतियार तथा बख्तरबन्द गाडी थिए भन्ने कुरा पत्रपत्रिकाहरूबाट सार्वजनिक भइसकेको छ । त्यो खरिद गर्न प्रहरी कल्याणका लागि जम्मा गरिएको रकम चलाइएको थियो र त्यसबाट करोडौं रुपैयाँको घोटाला भएको थियो भन्ने कुरा पनि सार्वजनिक भइसकेको छ । सो रकममध्ये करिब नौदेखि दस करोड सिटौला एन्ड कम्पनीले खाएर थोत्रा गाडी तथा एपीसीहरूलाई रङ्गरोगन गरी बढी मूल्य देखाएर सुडान पठाइएको कुरा विभिन्न समयमा गरिएका अनुसन्धानका रिपोर्टहरूले प्रमाणित गरिसकेका छन् । स्तरहीन सामान पठाइएको हुँदा यूएनले सोधभर्ना नगरिदिएको कारण प्रहरी कल्याणको करोडौं रकम डुब्ने स्थितिमा पुगेको कुरा पनि प्रत्येक सचेत नेपालीलाई थाहा भइसकेको छ । त्यो रकम कल्याण फन्डबाट चलाइएको हुँदा अहिले सिटौलाजी ‘कल्याण फन्ड भन्ने फन्ड त मन्त्रीले होइन प्रहरी कार्यालयले पो चलाउँछ त !’ भनेर काइते तरिकाले फुत्कने प्रयास गरिरहेका छन् । यतिखेर म तत्कालीन आईजीपी ओमविक्रम राणालाई सम्झेर दुःखी भइरहेको छु । निरीह राणा ती चतुर सिटौलालाई भगवान् सम्झन्थे, आफ्नो शक्ति सम्झन्थे र तिनका लागि खरिद-बिक्रीदेखि बाटा-बाटामा रक्तचन्दन चीनसम्म पुर्‍याई बटुलेको कमिशन रकमको ठूलो हिस्सा आफैं पुर्‍याउन घर पुग्थे । आज तिनै भगवान्ले उनलाई सीधै खाल्डामा जाक्न हाकाहाकी झुट बोल्दै छन् । ओमविक्रम राणाले सरुवा-बढुवा र विदेश पठाउने कुरामा कृष्णप्रसाद सिटौलाको आदेशलाई नै भगवान्को आदेश मानेर काम गर्थे । ती आदेशको कुनै आधिकारिक प्रमाण नहोला तर पनि प्रहरी सङ्गठन यसको साक्षी छ । हिजो ओमविक्रमले सम्पूर्ण प्रहरी फौजलाई लात मारेर जसरी सिटौलालाई पोस्ने काम गरे, आज तिनै भगवान्ले उनलाई आफूले चढाएको भेटीसमेत चढाएको होइन भन्दै जेल हाल्ने वातावरण बनाइदिए । आफूले त्यसबखत बुझेको कमिसनसमेत आज भक्त ओमविक्रम राणालाई नै तिराउन खोजे । म यस्तो अवस्थामा राम राम मात्र भन्न सक्छु, ‘नारान शिव’ मात्र जप्न सक्छु ।
कतिपय पाठकलाई यो पनि लाग्दो हो कि ओमविक्रमले साँच्चिकै सिटौला र मैनालीले राज्य व्यवस्था समितिमा भनेझैं आफूले मात्रै सुडान काण्डको रकम हसर्ुर्ने काम गरेका हुन सक्छन् । तर, म पनि प्रहरीको एक सदस्य भएकोले ठोकुवाका साथ भन्न सक्छु कि त्यो सम्भव नै छैन । यसमा पूर्वाग्रही हुनुपर्ने कुरै छैन, किनकि एमालेका प्रदीप नेपाल र सिटौलाजी त दिल्ली सम्झौताको १२बुँदे सहमतिलाई सफल पार्न सँगसँगै काम गरेका व्यक्ति हुन्, यदि सिटौलाजी चोखा थिए भने प्रदीपजीले पक्कै आफ्ना साथीलाई राज्य व्यवस्था समितिमा ठड्याउने काम गर्नुहुन्नथ्यो ।
वास्तविक कुरो के हो भने २०४८ सालपछिका गृहमन्त्रीहरूले आफ्नो औकात नै बिर्से प्रहरी महानिरीक्षकहरूको सातो खान थाले । श्यामभक्त थापाको कार्यकालसम्म आइपुग्दा त आईजीपीहरू गृहमन्त्रीको छाया मात्रै देख्दा पनि डराउने भइसकेका थिए । गृहमन्त्रीको त के कुरा तिनका कार्यकर्ताहरू र पियनसमेतले आईजीपीको सातो खाने भए । विदेश पठाउन मन्त्रीलाई आईजीपीले कोटा दिन्थे । प्रमोशनमा कोटा दिन्थे । भर्ना गर्न कोटा दिन्थे । खरिद-बिक्री र व्यापारबाट आएको रकमको हिस्सा दिन्थे । आईजीपीहरूको यस्तै नालायकपनको प्रतिफल हो सिटौलाजस्ता हरुवा नेताहरूको पनि चुरिफुरी बढ्नु । आईजी ओमविक्रम राणाले जति सेवा गरे पनि, जति नै भक्ति देखाए पनि सिटौलाका नजरमा ओमविक्रम हरुवाचरुवा मात्र थिए । पङ्क्तिकारले यो कुरा आफ्नो प्रहरी सेवाको अन्तमा राम्ररी बुझ्ने मौका पाएको थियो ।
कुनै दन्त्यकथामा मनमानी गर्ने सिंहलाई हरेक दिन एक-एक जनावर पठाएर भोक शान्त पारिदिन विवश भएका जङ्गलका जनावरको कथा मैले पढेको थिएँ । ओमविक्रम राणाले प्रहरी अधिकृतहरूलाई त्यसैगरी सिटौलाको दरबारमा भोक शान्त पार्न पठाउने गर्थे जसको जीवन्त्त प्रमाण एक म पनि हुँ । ओमविक्रमले उनको कार्यकालमा सिटौलाको पाउमा धेरै होनहार प्रहरी अधिकृतलाई बलि चढाए । आफूले अवैध काम गरी कमाएको ठूलो धनराशिको हिस्सा ती छद्मभेषी मन्त्रीलाई चर्ढाई भारत पुर्‍याउने बन्दोबस्त मिलाइदिए । पदोन्नतिदेखि विदेश पठाउनेसम्ममा आफ्ना कर्मचारीहरूमाथि अन्याय गरी सिटौलाको मन खुसी पार्न उनले भनेअनुसार काम गरे । बदलामा आज ओमविक्रमले सिटौलाबाट के पाए त ? त्यो सम्भँदा फेरि मेरो मुखमा आउँछ- ‘नारान शिव’ ओमविक्रम साब… ।
ओमविक्रम राणा र कृष्णप्रसाद सिटौलाबीचको यो सुडान घोटाला काण्ड नामक वृत्तचित्र हेरेर भविष्यमा उच्चतहमा जाने सम्पूर्ण प्रहरी अधिकृतले यो कुरा बुझ्न जरुरी छ कि तपार्इंहरू राजनेतालाई धनी पार्ने नाममा प्रहरी सङ्गठनको दुरुपयोग नगर्नुहोस् । ती त पीपलको पात पल्टेझैं पल्टन सक्छन् । तपाईंहरू मन्त्री वा दलको बलमा होइन आफ्नो व्यावसायिकता र प्रहरी कर्मचारीमाथिको विश्वासले जागिर खानुहोस् । तपाईंको शक्ति भनेको सङ्गठन हो र सिटौलाजस्ता नालायक नेता वा गृहमन्त्रीहरू स्थायी शक्ति होइनन् ।
यो कुरा सही हो कि ओमविक्रम राणालगायत सम्पूर्ण प्रहरी जसले प्रत्यक्ष-अप्रत्यक्ष रूपले कल्याण कोषको रकमको हिस्सा खाएका छन् तिनले त्यो रकम कल्याण कोषमा फिर्ता बुझाउनैपर्छ । तर, सम्पूर्ण भूतपूर्व प्रहरी तथा वहालवाला प्रहरीले सिटौला र मैनालीले जसरी कल्याण कोषको रकम पचाउन प्रहरी प्रधान कार्यालयलाई दोष लगाई उम्कन प्रयास गरेका छन् त्यसमा भने चुप लागेर बस्नुहुँदैन । तिनलाई पनि कठघरामा उभ्याउनैपर्छ र काङ्ग्रेस पार्टीमा गएर प्रहरी सङ्गठनको तर्फबाट यस्ता काइते भ्रष्टाचारी व्यक्तिहरूलाई पार्टीबाट निष्कासन गर्न पनि अनुरोध गर्नुपर्छ । नत्र काङ्ग्रेस भनेका सिटौलाजस्तै भ्रष्टहरूको अखडा हो भनी जनताले बुझ्नेछन् । मैले सुनेको छु- श्यामभक्त थापाले पनि यूएनमा सामान पठाउने नाममा धाँधली गरेका छन् । त्यसको पनि खोजी सुरु हुनुपर्छ । अहिलेचाहिँ पङ्क्तिकारलाई यति भन्नु छ- सुडान काण्डको रकम कल्याण कोषमा फिर्ता आउनैपर्छ । जुन प्रकारले सिटौला तथा मैनालीले आफूले डकारुञ्जेल प्रहरी सङ्गठनलाई दुरुपयोग गरी पैसा कमाएका छन् र खराब समय आएको बखत निरीह आईजी तथा प्रहरीहरूलाई दोष लगाई फुत्कने प्रयास गरेका छन्, यसमा वहालवाला तथा भूतपूर्व सबै प्रहरी मिलेर सिटौला र मैनालीलाई कठघरामा उभ्याउने प्रयास गर्नैपर्छ । ओमविक्रम राणामाथि सिटौलाको व्यवहार देख्दा यति भनेरै कलम बन्द गरौँ- ‘नारान शिव’ ओमविक्रम राणा !