विना मेहनत रातारात धनी हुने प्रवृत्ति बढेकोमा चिन्ता

विना मेहनत रातारात धनी हुने प्रवृत्ति बढेकोमा चिन्ता


‘मेरो देश डुब्न लाग्यो, कोही माझी बचाइदेउ’ भनी संसदमा अभिव्यक्ति दिएर सरकारको आलोचना गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रशासनिक संयन्त्रलाई अनुशासित तुल्याउन सरकारलाई सुझाव दिएका छन् । काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने– ‘अराजकतालाई नियन्त्रण गरिएन भने राज्य कमजोर हुन्छ, अहिले डर भन्ने कुरा हराएको छ, गलत काम गरे भने मलाई सजाय हुन्छ भन्ने कुरा रहेन ।’

उनले कम बोल्ने र अरुका कुरा धेरै सुन्ने बानीको विकास हुन आवश्यक रहेको सुझाव दिँदै राज्यबाट विषयवस्तुको अध्ययन, अनुन्धान, अनुगमन, मूल्याङ्कन र दण्ड सजायको व्यवस्था हुन आवश्यक रहेको बताए ।

समाजमा विकृतिको रूपमा मौलाएको ‘विना मेहनत रातारात धनी हुने प्रवृत्ति’प्रति चिन्ता व्यक्त गर्दै उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेसम्म जनताले सहज रूपमा सेवासुविधा प्राप्त गर्न र राज्य विकासको पथमा अघि बढ्न नसक्ने ठोकुवा गरे ।

सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले अहिलेको युग आर्थिक सम्मुन्नति र समृद्धिको युग भएको तर्क गर्दै जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट मुलुक विकासको प्रशस्त सम्भावना रहेको अनि त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग र उद्यमशीलता आवश्यक हुन पुगेको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारी, अर्थविद् नारायण तिवारी, नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवाललगायतले मन्तव्य दिएका थिए ।