✍ शेखर ढुंगेल
जिन्दगी जो तिम्रो नै होइन
जिन्दगी –
न त तिम्रो रहरले जन्मियो
न त मृत्यु तिम्रो चाहनाले रोकिन्छ
जुन जिन्दगी तिम्रो वशमा छैन
जुन जिन्दगी तिम्रो आफ्नै होइन
तब जिन्दगी
कसरी तिम्रो वशमा हुन्छ ?
जिन्दगी प्रायोजित पात्र हो
केही निश्चित भूमिका बोकेको
जिन्दगी त एउटा मञ्च न हो
पर्दा खोल्ने र ढाक्ने कोही अर्कै छ
जिन्दगीको अर्को नाम समय हो
जिन्दगी गतिशील निरन्तरित छ
नदी झैँ समुन्द्रको छाल झैँ
सुर्य तिमीले बनाएको होइन
त्यसैले नजिक गए तिमीलाई पोल्छ
चन्द्र तिमीले चिनेकै छैन
नियालेर हेर त त्यहाँ पनि छ कालो
बादलसित पनि तिम्रो नाता छैन
घरि घरि रुप फेरेर जिस्काइरहन्छ
सोच त एकछिन
जब ब्रमाण्ड तिम्रो उपज होइन
तिम्रो अनुकुल हुन जरुरी छ र ?
जिन्दगीलाई दोष नदेउ
अलग हौ तिमी अलग छ अर्को
उसको जस्तो सोचेर पिडा किन बोक्छौ ?
जुन जिन्दगीलाई मेरो भन्छौ
यो जिन्दगी तिम्रै होइन
दुःख तिम्रो होइन सुख तिम्रो होइन
एउटा भ्रम हो जिन्दगी
जसको कुनै निश्चित गन्तब्य छैन
आज हाँसेर सुत्छौ भोलि उठ्ने ठेगान छैन
आजसम्म अनेक नाता छन् भन्छौ
घाटमा हेर लास भन्छन्, तिम्रो नामसमेत लिन्नन्
आजै हो जिन्दगी आज रमाएर हेर… !
प्रतिक्रिया