उमेर हदबन्दीको एजेण्डाले कांग्रेसमा निम्त्यायो झमेला

उमेर हदबन्दीको एजेण्डाले कांग्रेसमा निम्त्यायो झमेला


नेवि संघको तदर्थ समिति गठनको माग हुँदै गर्दा नेपाली कांग्रेसको केन्द्रिय कार्यालय रणमैदानमा परिणत हुन पुगेको छ । संघको नेतृत्वको लागि ३२ वर्षे उमेरको हदबन्दी लगाइनु पर्ने र उमेर हदबन्दी तोकिन नहुने गरी दुईपक्षीय लविङ तीव्र भइरहेको छ ।

देउवापक्षीय कार्यकर्ताहरु उमेर हदबन्दीको विपक्षमा र अर्को पक्ष ३२ वर्र्षे उमेर हदको पक्षमा उभिएको छ । यही खिचातानीबीच पार्टीले नेवि संघको तदर्थ समिति बनाउन लागेको छ । आज बस्ने कांग्रेस केन्द्रिय समितिमा पनि यो विषयले अहमता पाउने बताइएको थियो । तर, बैठक शुरु हुनुअघि नै पार्टी कार्यालयमा नेताहरुलाई दबाब दिन भेला भएका संघका दुई समूहबीच झडप भएको छ ।

विद्यार्थीका दुई समूहबीच हात हालाहाल भएपछि प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो । लाठी चार्जबाट दर्जनको संख्यामा विद्यार्थीहरु घाइते भएका छन् ।

झडपका कारण आज बस्ने भनिएको पार्टी केन्द्रीय कार्य समितिको बैठक प्रभावित बनेको छ।

बताइए अनुसार उमेर हदबन्दीको पक्षधरको नेतृत्वमा निवर्तमान उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदी छन् भने विपक्षमा पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्व रहेको छ । पार्टी कार्यालयमा भएको झडप पनि यिनै समूहबीच भएको बुझिएको छ ।