युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाबीचको आपसी सम्बन्ध कति कटु छ, त्यो भनिरहनु नपर्ला । जुँगाको लडाइँले अदालतसम्म पुगिसकेका उनीहरू एक–अर्कालाई बाइपास गर्दै आफूलाई अब्बल साबित गर्न सधैँ प्रयत्नशील रहेको कसैबाट छिपेको छैन । आफ्नो चारवर्षे कार्यकाल सकिन दुई साता बाँकी रहेको अवस्थामा गत साता सदस्यसचिव लामाले क्रिकेट विकास बोर्डको अवधारणा अघि सारेर मन्त्री पौडेलसँगको सम्बन्धलाई पुनर्तागजी गरिदिएका छन् । खेलकुद मन्त्रालयलाई सुइँकोसमेत नदिई लामाले क्रिकेट विकास बोर्डको अवधारणा अघि सारेपछि उनीहरूको सम्बन्ध थप चिसिन पुगेको छ । क्रिकेट विकास बोर्ड गठनको अवधारणाले क्रिकेटको विवाद अन्त्य हुने लामाले विश्वास गरे पनि मन्त्री पौडेलले यसबारेमा आफू र मन्त्रालयलाई कुनै जानकारी नभएको बताएपछि खेलकुदमा नौलो विवादको बीजारोपण भएको छ । साथै मन्त्री पौडेलले सदस्यसचिव लामाले प्रचारबाजी गर्नका लागि यस्तो हर्कत गरेको आरोपसमेत लगाएका छन् ।
क्रिकेट बोर्डको अवधारणाबारे सदस्यसचिव लामाका शब्दलाई सापटी लिँदा उनले यो प्रस्तावलाई ‘क्रिकेटको विवादको अन्त्य’को संज्ञा दिएका छन् । साथै लामाले आफूले अँध्यारोमा तीर नहान्ने भन्दै यो विगत एक वर्षको गृहकार्यको प्रतिफल भएको शंखनाद गरेका छन् । लामाले आफूले यो अवधिमा क्रिकेट खेलाडी, पदाधिकारी, प्रशिक्षकहरूको सल्लाहबमोजिम बोर्डको अवधारणालाई सार्वजनिक गरेको पनि ठोकुवा गरेका छन् । अर्को महत्वपूर्ण कुरा लामाले मन्त्री पौडेलबाहेक सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव र उपसचिवसँग बोर्डको बारेमा छलफल भएको खुलासासमेत गरेका छन् । तर, विडम्बना ! लामाले बोर्डको अवधारणाबारे किन मन्त्री पौडेलसँग छलफल गर्न चाहेनन् त्यो अहिले रहस्यको विषय बनेको छ । लामाले बोर्डको अवधारणाप्रति मन्त्रालयका सचिव, सहसचिव र उपसचिवको समेत सकारात्मक धारणा रहेको बताएपछि कहीँ मन्त्री नै आफ्नै मन्त्रालयमा बिरानो त भइरहेका छैनन् खोजीको विषय बनेको छ । प्राप्त जानकारीअनुसार सदस्यसचिव लामा र मन्त्रालयका सचिवहरूबीचको गोप्य साँठगाँठका कारण मन्त्री पौडेल ‘रबर स्टाम्प’ बनेको बुझिएको छ । उनीहरूको नजरमा मन्त्री पौडेल फगत नाम मात्रको ‘मन्त्री’ भएको सूत्रको दाबी छ । यसरी मन्त्री पौडेललाई नाङ्गेझार र असफल पार्नमा उनकै सचिवहरूसमेत लागिपरेको बुझिनमा आएको छ । यसको सङ्केतको रूपमा लामासँगको उनीहरूको बाक्लो उपस्थिति र सम्बन्धलाई पनि लिन सकिन्छ ।
लामाले मन्त्रालयको स्वीकृतिबेगर क्रिकेट विकास बोर्डको गठनको कार्यविधिको अवधारणा सार्वजनिक गरेपछि मन्त्री पौडेलले यसलाई ‘नौटङ्गी’को संज्ञा दिँदै आपत्ति प्रकट गरेका छन् । पौडेलले यो प्रस्तावको कुनै औचित्य नभएको प्रस्ट पार्दै सदस्यसचिव लामालाई राष्ट्रिय सङ्घहरूप्रति ध्यान केन्द्रित गर्न सुझाएका छन् । ‘यो कार्य राखेपको नभई मन्त्रालयको हो,’ पौडेलले भने । यसमा राखेपले सुझाव दिन सक्छ, तर मन्त्रालयको स्वीकृतिबिना कुनै कार्य गर्न पाउँदैन । जबर्जस्ती गरिए त्यो नियमविरुद्ध हुन्छ । साथै मन्त्री पौडेलले क्रिकेट विकास बोर्डको अवधारणा एक वर्षअघि नै आफूले प्रस्तुत गरेको दाबी गरेका छन् । क्यानमा पदाधिकारीहरू आर्थिक हिनामिनामा फसेपछि आफूले क्रिकेटलाई सहज तरिकाले सञ्चालन गर्न सुझाव कमिटी बनाएको र सोही कमिटीको सुझावअनुरूप आफूले क्रिकेट विकास बोर्डको प्रस्ताव गरेको खुलासा गरेका छन् । पछि सोविरुद्धमा उजुरी परेपछि प्रस्ताव बीचैमा रोकिएको पौडेलले दाबी गरेका छन् । यसरी दुई साता कार्यकाल बाँकी रहेको समयमा सदस्यसचिव लामाले यो मुद्दालाई कुन प्रयोजनका लागि उठान गरेर सस्तो लोकप्रियता कमाउन खोजेको हुन् त्यो आफूले बुझ्न नसकेको बताएका छन् । पौडेलले बोर्डको गठन, सञ्चालन तथा कार्यविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि मात्र लागू हुने भएकाले सदस्यसचिव लामाले भ्रमको खेती गर्नुको औचित्य के हो ? त्यो गम्भीर र सोचनीय भएको पौडेलको कथन थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) विवादको भूमरीमा परेको अहिले दुई वर्ष बितिसकेको छ । ६५ वर्षपछि भएको क्यानको निर्वाचनमा माओवादी विशुद्ध कार्यकर्ता टंक आङबुहाङले सत्ता र शक्तिको आडमा क्यानको अध्यक्षको कुर्सी हत्याएपछि क्रिकेटको विकास र विस्तारमा ग्रहण लागेको थियो । स्मरण रहोस्, क्यानलाई सिध्याउन क्यानकै लोभी–पापी पदाधिकारीहरू खुलेर लागेका थिए । उनीहरूकै सहयोग र साथले आङबुहाङजस्ता क्रिकेटको ‘क्रि’ समेत नजानेका व्यक्ति अध्यक्ष पदमा विराजमान भएका थिए ।
परिणाम दुई वर्ष बित्न नपाउँदै क्यानका अध्यक्षसहित दशजना पदाधिकारी आर्थिक अनियमितता गरेको आरोपमा निलम्बनमा परे । ती पदाधिकारीमाथि अहिले पनि अदालतमा मुद्दा चलिरहेको छ । यस्तो विषम परिस्थितिमा मन्त्री पौडेलले गैरकानुनी रूपमा विनयराज पाण्डेको नेतृत्वमा तीनसदस्यीय समितिको गठन गरेपछि क्रिकेट विवाद झन् चर्किएको थियो । अदालतले मन्त्री पौडेलको कदमलाई गैरकानुनी ठहर गर्दै कार्यसमितिकै पदाधिकारीहरूको कमिटीलाई कार्यसञ्चालन गर्न अन्तरिम आदेश जारी गरेपछि क्रिकेटका माफियाहरूको जगजगी झनै बढेर गएको थियो । यसरी क्रिकेटमा विवादले जरो गाडेपछि अहिलेसम्म उम्कन सकेको छैन । यही कुरालाई दृष्टिगत गर्दै सदस्यसचिव लामाले गत साता क्रिकेट विकास बोर्डको अवधारणा अघि सारेका थिए । जुन समयसापेक्षिक राम्रो भए पनि मन्त्रालयलाई बाइपास गर्नु आफैँमा प्रश्नवाचक बनेको छ । यसर्थमा बोर्ड गठन मन्त्रालयको सिफारिसबेगर हुन सक्तैन । यसमा लामाले आफ्नो राय राख्ने क्रममा तत्काल बोर्ड गठन नभए पनि भविष्यमा हुने दाबी गरेका छन् । यो नेपाली क्रिकेटको बृहत्तर हितका लागि अत्यावश्यक कुरो हो, यसमा हाम्रो प्रयास निरन्तर रहने लामाले प्रस्ट पारेका छन् । यहाँ प्रस्ट रूपमा भन्न सकिन्छ– जबसम्म लामा राखेप र पौडेल खेलकुद मन्त्रालयमा रहन्छन् तबसम्म बोर्डको अवधारणा कुहिरोमा हराएको कागजस्तै बन्ने प्रायः निश्चित छ ।
क्रिकेट विकास बोर्ड आफैँमा राम्रो कुरा भए पनि यसको चुनौती पनि कम छैन । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बोर्ड अर्थात् स्वतन्त्र निकायको आवश्यकतालाई औँल्याउँदै सरकार, मन्त्रालय र राखेपले राजनीतिभन्दा माथि उठेर क्रिकेट विकासका लागि सोच्नुपर्ने बताएका छन् । कप्तान खड्काले बोर्डमा सबै निकायका व्यक्तित्व अट्ने स्थायित्व प्रदान गर्ने भएकाले नेपालमा क्रिकेट बोर्डको आवश्यकता खड्किएको प्रस्ट पारेका छन् । उनले नेपाली क्रिकेटको नाम जति छ, त्यति नै विवादका कारणले बद्नाम छ भन्दै बोर्डको गठनसँगै सबै विवादको निरुपण हुनेमा विश्वास प्रकट गरेका छन् । तर, यहाँ विवाद क्रिकेट बोर्डको अवधारणा नभई मन्त्री पौडेल र सदस्यसचिव लामाको जुँगाको लडाइँले भएको छ । एकले अर्कालाई फुटेकोको आँखाले समेत देख्न नसक्ने दुवै महारथीले एकले अर्कोलाई पछार्न विभिन्न दाउपेच खेल्नुले पनि खेलकुदका राम्रा कुरा पनि ओझेलमा पर्दै आएका छन् । यसको ज्वलन्त उदारहणको रूपमा यही क्रिकेट बोर्डको अवधारणालाई लिन सकिन्छ । दुवैलाई राम्रोसँग थाहा छ– बोर्डको गठनसँगै क्रिकेटको विवाद समाप्त हुन्छ भन्ने कुराको । तर, उनीहरू एकले अर्कालाई निचो देखाउन आपसी छलफलभन्दा पनि एकले अर्कालाई पछारेर अगाडि बढ्न चाहन्छन् । परिणाम, खेलाडी पिसिएका छन् भने राजनीति गर्नेहरू हाबी भएका छन् । क्रिकेटको हिजो वास्तविक दृश्य पनि यस्तै थियो र अहिले पनि उही दृश्य दोहोरिएको मात्रै हो । तसर्थ जबसम्म राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय आपसी समन्वय र तालमेलका साथ अघि बढ्ने छैनन् तबसम्म यो समस्या ज्युँका त्युँ रहने पक्का छ । यसका लागि कुनै एक पक्षको पहल पानीको फोकाजस्तै हुनेमा शङ्का गर्नुपर्ने छैन ।
खेल समाचार
चापागाउँमा भग्न भवन पन्छाउने अभियान
यतिबेला नेपाली काङ्ग्रेसका युवा नेता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन चर्चाको शिखरमा छन् । वैशाख १२ गते मुलुकमा आएको भूकम्पपश्चात् युद्धस्तरमा राहत वितरणमा खटेका महर्जनले यसक्रममा ‘नयाँ इनिङ’को आरम्भ गरेका छन् । उनी भूकम्पका कारण जीर्ण अवस्थामा रहेका घरहरू भत्काउने र त्यहाँ अस्थायी घर निर्माण गर्नेतर्फ लागेका हुन् । महर्जनको नेतृत्वमा यही जेठ १४ गतेदेखि चापागाउँ गाविसमा भूकम्पको प्रकोपबाट अत्यन्त जोखिममा रहेका घरहरू भत्काउने अभियान सुरु भएको छ । मीनको नेतृत्वमा सय सदस्यीय टोलीले श्रमदान गर्दै आएको छ । उक्त अभियानको नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले शुभारम्भ गरेका थिए ।
अभियानको शुभारम्भसँगै नेता पौडेलले भूकम्पले प्रभावित भग्नावशेष घरहरूको निरीक्षण गर्दै भूकम्पबाट घाइते भएकालाई भेटेर उनीहरूको स्वास्थ्योपचारबारे समेत जानकारी लिएका थिए । त्यसपछि नेता पौडेलले यस अभियानका संयोजक महर्जनलाई भग्नावशेषमा परिणत भएका घरहरू भत्काउन र बिरामीहरूको उपचारमा पनि ध्यान दिन निर्देशन गरेका थिए । पौडेलको निर्देशनपछि यस अभियानको नेतृत्व गरेका महर्जनले भूकम्पबाट भग्नावशेषमा परिणत भएका र बस्न नहुने गरी चर्किएका घरहरूलाई भत्काउन जतिसुकै समय लागे पनि निरन्तरता दिने बताए । सो अवसरमा महर्जनले भग्न घरहरू भत्काउन सयजना तरुण, युवा, खेलाडी र स्थानीयवासीको सहयोग लिने जानकारी गराएका छन् ।
तीन महिनासम्म चल्ने यो अभियानको पहिलो दिन उक्त टोलीले ललितपुरको चापागाउँस्थित पुरानो बसपार्क क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त तीन घरलाई भत्काएर खतरामुक्त बनाएको थियो । त्यस्तै सो घरभित्र रहेका विभिन्न सामग्री पनि पन्छ्याइएको महर्जनले जानकारी दिए । श्रमदानमा महर्जनसहित पूर्वसभासद् तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य रामकृष्ण चित्रकार, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठ, कराते खेलाडीत्रय सागर श्रेष्ठ, बुद्धिबहादुर श्रेष्ठ र मनोज आचार्य, स्थानीय, पर्वतारोही सञ्जय पण्डितलगायतको सहभागिता रहेको थियो ।
स्पोर्टस् सोलिडारिटी सम्पन्न
विनाशकारी भूकम्पका कारण मानिसक तनाव र दबाबमा परेका बालबालिकालाई खेलकुद मनोरञ्जनात्मक खेल र शारीरिक क्रियाकलापहरूको माध्यमबाट आत्मविश्वास र आत्मबल बढाई सामान्य जीवनतर्फ उन्मुख गराउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको स्पोर्टस् सोलिडारिटी प्रोग्राम हालै सम्पन्न भएको छ । सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा पाँच दिनसम्म चलेको उक्त कार्यक्रमको अन्तिम दिन बालबालिकाहरू विविध मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए ।
अघिल्ला दिनहरूमा उनीहरूलाई जिम्न्यास्टिक, विभिन्न खेलकुद गतिविधिमा संलग्न गराइएको थियो । डा. योगी विकासानन्दलगायतले भूकम्पका कारण उत्पन्न त्रासलाई कम गर्ने उपाय, भूकम्पमा सुरक्षित रहने उपाय, घर बनाउँदा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा परमार्श दिनुका साथै व्यायाम पनि सिकाएका थिए । त्यस्तै हास्यकलाकार मनोज गजुरेलले आफ्नो प्रस्तुतिमार्फत बालबालिकालाई भरपूर मनोरञ्जन गराएका थिए ।
एथलेटिक्स टोली चीनतर्फ
एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार चीनको हुआन प्रस्थान गरेको छ । जुन ३ देखि ७ तारिखसम्म चल्ने च्याम्पियनसिपको २१औँ संस्करणमा दुई पुरुष र एक महिलासहित तीन खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उदीयमान स्प्रिन्टर आशिष चौधरीले पुरुषको १, २ र ४ सय मिटर दौड तथा लालबहादुर थापाले पुरुषको हाफ म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् । महिलाको ज्याभ्लिन थ्रोमा सीमाकुमारी थारूले भाग लिनेछिन् । प्रशिक्षकमा छविलाल थापा रहेका छन् ।
त्यस्तै, च्याम्पियनसिपका दौरान हुने एसियन कङ्ग्रेसमा सहभागी हुन नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह हुआन गइसकेको सङ्घका सचिव आरके विष्टले जनाएका छन् । अध्यक्ष शाहले नेपालमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न कङ्ग्रेसमा प्रस्ताव राख्ने सचिव विष्टले जानकारी दिएका छन् ।
भूकम्पपीडित खेलाडीको सहयोगार्थ टेटे
भूकम्पपीडित टेबलटेनिस खेलाडीको सहयोगार्थ काठमाडौं जिल्ला टेबलटेनिस सङ्घले खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २७ देखि ३१ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।
जम्मा नौ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सिनियर र जुनियर पुरुष–महिलाको सिंगल्स तथा टिम गरी आठ तथा पुरुष भेट्रान्सको ५० वर्षमाथि सिंगल्समा एक गरी जम्मा नौ स्पर्धामा भिडन्त हुनेछ । अखिल नेपाल टेलबटेनिस सङ्घको तत्वावधानमा हुने प्रतियोगितामा करिब दुई सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको बज्राचार्यले जानकारी गराए । टेबलटेनिस सङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका बज्राचार्यका अनुसार भूकम्पपीडित टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिनेछ ।
काभ्रेमा विश्वविद्यालयको त्रिपाल
विश्वविद्यालय खेलकुद सङ्घ नेपालले काभ्रेका भूकम्पपीडितका लागि राहतस्वरूप ५० थान त्रिपाल प्रदान गरेको छ । सङ्घका महासचिव पूर्णसिंह बोहराले विद्यार्थी कल्याण शाखा, काठमाडौं विश्वविद्यालयका प्रमुख डा. कन्हैया झा र डा. ध्रुव गौचनले पीडितलाई प्रदान गर्ने गरी हस्तान्तरण गरे । करिब ५० हजार मूल्यबराबरको त्रिपाल प्रदान गरिएको हो । टिम युनिभर्सिटीका मदन कार्की, थमन भुसाल, अशोक श्रेष्ठ, मनोज कार्की, हरि खड्कालगायत हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।
साउन्ड टेबलटेनिसको तयारी
युवा साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र, काठमाडौं र नेपाल पारा ओलम्पिक कमिटीको आर्थिक सहयोग तथा नेपाल दृष्टिविहीन टेबलटेनिस सङ्घको आयोजनामा साउन्ड टेबलटेनिस प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ ।
दुईदिने प्रतियोगितामा समान १५ पुरुष–महिला गरी ३० प्रतिस्पर्धीको सहभागिता रहने आयोजक सङ्घका महासचिव एवम् साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन् । पुरुष–महिलाको एकल स्पर्धा समावेश प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित लेबोरेटरी उमाविमा हुनेछ । त्यस्तै सङ्घकै आयोजनामा साउन्ड टेबलटेनिस प्रशिक्षण जेठ ५ गतेदेखि कीर्तिपुरमै सञ्चालन भइरहेको छ । प्रशिक्षणमा समान १५ पुरुष–महिला गरी ३० प्रशिक्षार्थी सहभागी छन् । यिनै ३० प्रशिक्षार्थी प्रतियोगितामा सहभागी हुनेछन् ।
कार्यदलले प्रतिवेदन बुझायो
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशिक्षण, प्रशासन र विविध सेवाको विभिन्न समूह र उपसमूहमा केन्द्र, क्षेत्र र जिल्लामा रहने पद तथा श्रेणीबमोजिमको दरबन्दी यकिन गरी प्रतिवेदन तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक तालिम तथा प्रशिक्षण विभागका निर्देशक तिलक राउतले एक सय ५० पृष्ठको प्रतिवेदन पदपूर्ति समितिका अध्यक्षसमेत रहेका राखेपका सदस्यसचिव युवराज लामालाई बुझाएका छन् । राखेपको पदपूर्ति समितिले गत मङ्सिर २९ गते राउतको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलको सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई तथा सदस्यहरूमा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक वृजेन्द्र हमाल, कर्मचारी प्रशासन शाखा प्रमुख इन्द्रबहादुर कार्की र कर्मचारी प्रशासन शाखाका प्रशासकीय अधिकृत विनोदकुमार उप्रेती छन् ।
पाँचौँपटक बाजी मारे ब्लाटरले
हालै सम्पन्न विश्व फुटबलको सर्वोच्च संस्था फिफाको अध्यक्ष पदमा स्वीट्जरल्यान्डका ७९ वर्षीय सेप ब्लाटर निर्वाचित भएका छन् । गत साता स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न फिफा कङ्ग्रेसको निर्वाचनमा ब्लाटर विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी जोर्डनका राजकुमार अलि विन अल हुसेनलाई पराजित गरेर पाँचौँपटक फिफाको अध्यक्षमा निर्वाचित भएका हुन् । सन् १९९८ मा पहिलोपटक फिफा अध्यक्षमा निर्वाचित ब्लाटर १७ वर्षदेखि निरन्तर फिफाको सर्वोच्च पदमा आसिन छन् । सन् १९७५ देखि उनी फिफामा काम गर्दै आएका थिए ।
पाँचौँपटक फिफाको अध्यक्ष हुने क्रममा पहिलो चरणको निर्वाचनमा दुवै उम्मेदवारले दुईतिहाइ बहुमत हासिल गर्न असफल भएका थिए । पहिलो चरणको निर्वाचनमा ब्लाटरले एक सय ३३ र हुसेनले ७३ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा ब्लाटरका प्रतिद्वन्द्वी हुसेनले आफ्नो नाम फिर्ता लिएपछि ब्लाटर दोस्रो चरणको मतदानबिनै निर्वाचित भएका थिए । दुई सय नौ प्रतिनिधि रहेको फिफामा जित्नका लागि दुईतिहाइ मतको आवश्यकता पर्छ । पहिलो चरणको निर्वाचनमा ब्लाटर सात मतले चुकेका थिए । यदि कुनै पनि उम्मेदवारले दुईतिहाइ मत नल्याए दोस्रो चरणको चुनावमा सामान्य बहुमत ल्याउने उम्मेदवार विजयी हुने प्रावधान छ । निर्वाचनमा हुसेनको पराजय निश्चित भएपछि उनले आफ्ना समर्थकहरूलाई साहसिक मतदानका लागि धन्यवाद दिँदै दोस्रो चरणको मतदानका लागि नाम फिर्ता लिएका थिए । एक राष्ट्रले एक भोट मात्र दिन पाउने फिफाको निर्वाचनमा अफ्रिका र एसियाली राष्ट्रको सहयोगमा ब्लाटरले चुनाव जितेका थिए ।
विजयीपछि ब्लाटर एक्लो व्यक्ति कहिल्यै पूर्ण नहुने बताउँदै सबै मिलेर अगाडि बढ्ने धारणा राखेका थिए । फिफाको निर्वाचनअघि अमेरिका र स्वीट्जरल्यान्डका अधिकारीहरूले भ्रष्टाचारको मुद्दामा फिफाका सातजना उच्च पदाधिकारीलाई कारबाही गरेको थियो । त्यसपछि ब्लाटरको व्यापक आलोचना हुनुको साथै राजीनामाको मागसमेत गरिएको थियो । तर, यो चुनौतीको डटेर सामना गरेका ब्लाटरले पाँचौँपटक फिफा अध्यक्षमा निर्वाचित भएर मुखतोड जवाफ दिएका थिए ।
प्रतिक्रिया