महामानव स्वर्गीय विश्वेश्वर बाबुको भौतिक उपस्थिति यस धर्तीमा नभए तापनि उनको वैचारिक योगदानको मूर्तरूप आजको सिङ्गो नेपाली काङ्गे्रस पार्टी हो । प्रजातन्त्रमा विपक्षीको ठूलो भूमिका र योगदान हुन्छ भन्ने विचारबाट अभिपे्ररित भएका बीपीबाबु सधैँजसो विपक्षीलाई सम्मानपूर्ण नजरले हेर्नुहुन्थ्यो, सोहीअनुरूपको व्यवहार गर्नुहुन्थ्यो भन्ने कुरामा धेरैले विमति राख्दैनन् । विचारमा दूरदर्शिता, व्यवहारमा सरलता, व्यक्तित्वमा शालीनतालगायतका विशिष्ट सात्विक गुणले भरपूर बीपीबाबुसँगको एक मात्रै भेट पनि लामो मित्रतामा परिणत हुन बेर लाग्दैनथ्यो भन्ने कुरा मेरा स्वार्गीय पिताजी बारम्बार भन्नुहुन्थ्यो । बीपीको थोरैतिनो भेटले पनि आफूलाई जीवनपर्यन्त आकर्षित गराइराखेको दृष्टान्त उहाँ सुनाइराख्नुहुन्थ्यो । यो त एउटा लेखकले प्रस्तुत गरेको सानो र नितान्त व्यक्तिगत उदाहरण मात्र हो । यस्ता धेरै जनताका छोराछोरी, बाबुआमा, हजुरबा–हजुरआमाले बीपीसँग प्रत्यक्ष भेटघाट गरे होलान् । त्यही आस्था र भरोसाको कारण आजसम्म नेपाली काङ्गे्रस पार्टी जीवित छ ।
नेपाली काङ्गे्रस पार्टी यत्तिको ठूलो र समृद्ध हुनुमा धेरैले सम्पत्ति, शरीर र परिवारको पर्वाह नगरी पार्टी र सिद्धान्तका खातिर जीवनभर आफूलाई समर्पित गर्नुको अहम् हात छ । जब पार्टी भूमिगत थियो त्यतिबेला विचार र पार्टी बचाउन ठूलै सङ्घर्ष गर्नुप-यो होला । त्यतिबेला हजारौँ–लाखौँको आ–आफ्नै किसिमको योगदान रह्यो होला । कालान्तरमा पार्टी वा विचार सतहमा उत्रियो, त्यसका लागि पनि धेरैका भौतिक वैचारिक र नैतिक योगदानबिना त्यो सम्भव हुन सकेन होला । आज त्यो योगदानको मूल्याङ्कन नेतृत्वमा रहनेहरूले गर्न सकेका भए यो पत्रको जरुरत सायद महसुस हुने थिएन ।
व्यक्तिगतभन्दा पनि सामूहिक रूपमा त्यसको कदर हुनुपर्दथ्यो । सात्विक विचार र भावनाले प्रेरित पार्टी वा सङ्गठनले सिङ्गो राष्ट्र र जनताको पक्षमा वकालत गर्नुपर्दछ । पार्टी वा सत्ता सिर्फ परिवार र आत्मकेन्द्रित सोच–स्वभावले परिचालित हुनुहुँदैन । शक्तिकेन्द्रको भजन गाउनेभन्दा सही सुझाव दिने, सावधान गराउनेहरू वास्तविक पार्टीको हित चाहने हुन्छन् । अर्काको बलबुताबाट प्रत्यक्ष फाइदा चाहेनहरू भक्तियोगमा तल्लीन हुन्छन्, तर हित चाहनेहरू कर्मयोगी र खबरदारी गर्दछन् । यो विषय शक्तिमा रहँदा बस्दा सुपाच्य नहुन पनि सक्दछ । जब शक्तिबाट विमुख भइन्छ त्यसबेला यसको महसुस हुँद्वै जाने कुरा हो । सङ्गठन, पार्टी वा राष्ट्रको नेतृत्व कुनै एकजनाको बलले मात्र चलेको हुँदैन, त्यसमा एउटा विशाल संयन्त्रको जरुरत पर्दछ । त्यस संयन्त्रको कुनै पनि एउटा सेक्सन मात्र कमजोर वा भ्रष्ट भइदिँदा सो संयन्त्रप्रति नै जनतामा शङ्काको भाव जाग्न पुग्छ । त्यसकारण हालका प्रधानमन्त्री तथा नेपाली काङ्गे्रसका सभापतिले आफूवरपर बस्नेदेखि सधैँजसो सजग रहेर उनीहरूलाई परिचालित गर्न सक्नुपर्दथ्यो । तर, त्यसो हुन सकिरहेको महसुस हुँदैन । वर्तमान भूकम्पीय महाविपत्ति र त्यसको सामना गर्न खडा भएको संयन्त्रद्वारा भए–गरेको निकम्मा व्यवहारले पनि त्यसको पुष्टि गरेको छ ।
सम्पूर्ण देश र जनतालाई त्राण दिलाउने अवस्थामा आफ्नो कीर्तन गर्न–गराउन उद्यत् वर्ग, जसले आफन्तको भरणपोषणसिवाय अन्य सहयोगको कल्पनासमेत गर्न सकेको छैन, त्यस्तालाई अघिपछि लगाएर देश बनाउने जनता खुस राख्ने परिकल्पना गर्नु हुट्ट्यिाउँले स्वर्ग थाम्ने कल्पना गरेजस्तै सावित हुन सक्दछ । गत वर्षको भारतीय केन्द्रीय निर्वाचनलाई नियालेर हेर्दा त्यसपछि आएको नेतृत्वलाई मूल्याङ्कन गर्ने हो भने हालका भारतीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदर दास मोदी पार्टीका कनिष्ट नेता नै थिए । तर, उनको गुजरात राज्यको मुख्यमन्त्री भएर सञ्चालन गरेको नेतृत्व कौशल र लोकप्रियतालाई मध्यनजर गरी पार्टीले प्रधानमन्त्रीको उम्मेदवारमा अघिसारेकै कारण पार्टी र आजको सरकार पूर्णरूपेण सफल भइरहेको छ । हाम्रो देशमा पनि विगतको नेतृत्वबाट त्यस्ता उपायहरूलाई शाश्वत सावित गरिसकेको उदाहरण छ । महामानव बीपी बाबुले लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने महान् सोच राख्नाले पार्टी हालसम्म जीवित बन्न सकेको हो । यसैगरी स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पनि कुनैबेला सरकारको नेतृत्वमा वरिष्ठ नेता शेरबहादुर देउवालाई अघि सारेर पार्टी वा देशको नेतृत्वमा प्राण भरेका थिए । यस्ता थुपै्र उदाहरणीय काम नेतृत्वबाट विगतमा पनि भए–गरेकै हुन् ।
त्यसैअनुसार अबको नेतृत्व कसलाई चयन गरेर पार्टी र सिङ्गो देशलाई अगाडि बढाउन सकिन्छ भनी माथापच्ची गरी व्यवहारमा उतार्ने बेला घर्किन लागिसक्यो । त्यसैले ढिला नगरीकन त्यस्तो निर्णय पार्टी नेतृत्व साथै सरकारमा नेतृत्व गर्नेले लिन सक्नुपर्दछ । यतिबेला पार्टीको गुट र लबीलाई हेरिनुहुँदैन जतिसक्दो चाँडो सामूहिक प्रतिबद्धता जाहेर गरी विवादलाई निमिट्यान्न पार्दै एउटा प्रखर र सबल नेतृत्व लिन सक्नेलाई छिटोभन्दा छिटो अगाडि सारिनुपर्दछ । यसभित्र मेरो र तेरो मान्छे होइन हाम्रो मान्छेका साथसाथै राम्रो पनि मान्छेको हवाला दिन सके दैवी विपत्तिबाट क्षतविक्षत भएको जनता, समाज र राष्ट्रलाई नयाँ गति प्रदान गर्न सकिन्छ । यो एउटा चुनौती र अवसर दुवै हो, खासगरी प्रधानमन्त्री एवम् काङ्ग्रेस पार्टी सभापति सुशील कोइरालाको निम्ति । आफू भए ठीक अरू भए बेठीक भन्ने सम्झन थालियो भने भुइँको टिप्ने कोसिस गर्दा पोल्टाको समेत ओइरिन बेर लाग्दैन । साप पनि मरोस् लट्ठी पनि नभाँचियोस् भन्ने नीति अवलम्बन गर्नुपर्दछ, जसका कारण आगामी पुस्ताले अहिलेकालाई धिकार्ने छैनन् ।
विचार वा वाद आफैँमा सात्विक गुणले पूरापूर हुन्छन्, तर त्यसको उत्पादन गुणस्तरमा कमबेसी भने पक्कै पनि हुन्छ । आयुर्वेदअनुसार कविराजहरू भन्ने गर्दछन् कि एउटै वनस्पतिको उपजको रूपमा हरिताल र नीरमसी आउने गर्दछ । हरिताल घातक विष हो भने त्यसको सहज निराकरण गर्ने औषधि या अमृत नीरमसी हो । त्यसैले राष्ट्र र पार्टीभित्र पनि नीरमसी र हरितालको पूर्ण पहिचान हुन जरुरी छ । एकतर्फी भक्तिसाधनामा मात्र लागिपर्दै फाइदा उठाउनेहरू हरिताल वा विष पनि हुनसक्छन् । यी त पार्टीका छद्मभेषी मात्र हुन्, यिनले स्वार्थसिवाय अरू केही हेर्दैनन् । तर, आलोचना र सावधानी सङ्केत गर्नेहरूले हमेसा जोखिमतिर जानबाट बचाउँछन् । त्यसैले त बीपीबाबुले सकारात्मक आलोचना गर्न–गराउनका लागि प्रतिपक्षी पार्टीको समेत परिकल्पना गरेका थिए । त्यस्ता सकारात्मक खबरदारी गर्नेहरूले नीरमसी वा अमृतको काम गर्दछन् । पार्र्टी सङ्गठन वा राष्ट्रमा व्यक्ति गौण हुने गर्दछ । विचार र टिम महत्वपूर्ण हुन्छन् । त्यसकारण अहिले आफ्नो–अर्को भन्ने बेला छैन । बेलैमा पार्टी वा सङ्गठनको स्तरमा सक्षम, सहज र सफल नेतृत्वको चयन निर्माण गर्ने या हुने अवसर प्रदान गर्न सक्नुपर्दछ । अन्यथा ‘न रहे बाँस न बजे बाँसुरी’ हुन बेर लाग्दैन । अब मेरो होइन हाम्रो, हाम्रो मात्र होइन कि राम्रो चयन गरौँ । विश्वभरका दाताहरूलाई बलियो राष्ट्रिय संरचनाको सरकार छ भन्ने भावनाको पैदा गर्दै–गराउँदै उनीहरूलाई हात र मन दुवै फुकाएर निर्धक्क सहयोग गर्न आह्वान गर्न सके देश र जनता बन्न अब समय लाग्दैन । होइन, म र मेरा मात्रै भन्ने हो भने इतिहासको कलङ्क सावित हुन धेरै कुर्नुपर्ने छैन । यसले लामो इतिहास र महान् विचार बोकेको दल वा सङ्गठनलाई पनि दन्त्यकथा तुल्याइदिन सक्छ । सावधान सुशील दादा ! घर जलाएपछि खरानीको दुःख हुँदैन । घर सिध्याएर खरानी जम्मा गर्ने सोच नपाल्न नेपाली जनताको आग्रह र खबरदारी छ ।
प्रतिक्रिया