पाथीभरादेवीको पूजा गरी राप्रपाको ‘स्वाभिमान यात्रा’

पाथीभरादेवीको पूजा गरी राप्रपाको ‘स्वाभिमान यात्रा’


राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ बाट ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने भएको छ । पर्सि बुधबारदेखि पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट शुरु हुने सो यात्रा फागुन ३० सम्म हुने बताइएको छ । पहिलो चरणको भनिएको यो यात्रा ३६ वटा जिल्लामा पुग्नेछ ।

बुधबार ताप्लेजुङस्थित पवित्र मन्दिर पाथीभरा देवीको मन्दिरमा धार्मिक अनुष्ठान गरेर फुङलिङ बजारमा आमसभा गरी यात्राको शुरुवात गरिने राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए । यात्राका लागि सम्पूर्ण तयारी पूरा भइसकेको उनको भनाइ छ ।

तीन सयभन्दा बढी सवारीसाधनमा मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा पाँच सयभन्दा बढी नियमित यात्रु रहने बताइएको छ । ‘यो यात्रा ७७ वटै जिल्लामा गरिनेछ,’ यात्राबारे सोमबार झापाको बिर्तामोडमा पत्रकारलाई जानकारी दिने क्रममा महामन्त्री लिङदेनले भने, ‘तर, पहिलो चरणमा ताप्लेजुङबाट शुरु गरेर सुर्खेत, कैलाली, कञ्चनपुरलगायत ३६ वटा जिल्लामा यात्रा गरेर काठमाडौंमा समापन गर्नेछौँ ।’ यस अभियानले २ हजार ८ सय ७ किलोमिटरको दूरी यात्रा गर्नेछ ।

यात्रामा राप्रपाका केन्द्रीय पदाधिकारी एवं सदस्य, विभाग प्रमुख, भ्रातृ संगठनका अध्यक्ष, प्रदेश कार्यसमितिका पदाधिकारीका साथै सम्पूर्ण प्रतिनिधित्व हुने गरी बताइएको छ । प्रत्येक दिन यात्रा शुरु र अन्त्यमा धार्मिक अनुष्ठानका साथै यात्रा अवधिभर शाकाहारी भोजन गरिने लिङदेनले बताए । यात्रामा सनातन धर्म, परम्परा, संस्कृति एवम् राष्ट्रियता झल्कने किसिमका झाँकी समावेश गरिने उनको भनाए छ । यात्राका क्रममा साना–ठूला सयभन्दा बढी सभा हुने र सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् ।

दोस्रो चरणको यात्रा भने कहिलेदेखि गर्ने भन्ने मिति तय भइनसकेको महामन्त्री लिङदेनले बताए ।