‘शान्तिप्रक्रिया टुङ्गिनुपर्ने बेलामा विद्रोहको बिउ किन टुसायो ?’

‘शान्तिप्रक्रिया टुङ्गिनुपर्ने बेलामा विद्रोहको बिउ किन टुसायो ?’


पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहोनीबीचको एकताबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गम्भीर प्रश्न उठाएका छन् । आज राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘पशुपतिशमशेर राणाले जवाफ दिनुपर्छ– हामीसँग किन एकता गर्न चाहनुभएन र किन प्रकाशचन्द्र लोहनीसँग एकता गर्नुभयो ?’ २ लाख भोट ल्याउने पार्टीलाई छोडेर २० हजार भोट भएको लोहोनीसँग राणाले एकता गर्नुको रहस्य गम्भीर हुन सक्ने भन्दै सन्देह थापाले प्रकट गरे ।

गणतन्त्र स्थापनापछिको १२ वर्षको समीक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई उनले आग्रह गरे । राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको, १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनको तर्क थियो ।

१२ वर्षको अवधिमा किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्तिप्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको बिउ कहाँबाट र किन टुसायो ? – थापाले प्रश्नको वर्षा गरे ।

पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको तर्क गर्दै थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र सात दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गराए । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समीक्षा गर्नुपर्ने बेला आएको उनको जिकीर थियो ।

लोकतन्त्रसहितको राजसंस्थाको आवश्यकता रहेको औंल्याउँदै उनले गणतन्त्रले बेथिति मात्रै बढाएको दाबी गरे । यस्ता विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग उनले माग गरे ।

केही दिनअघि प्रधानमन्त्री ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रका बारे प्रष्ट्याउँदै उनले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा समेत गरे । राप्रपाले सरकारलाई दबाब दिन फागुन १५ गतेदेखि गर्ने राष्ट्रिय स्वाभिमान यात्राको औचित्य पुष्टि गर्ने प्रयास उनले गरेका थिए ।