विवेक र पुनम राष्ट्रिय प्रतियोगिताका लागि छनोट

विवेक र पुनम राष्ट्रिय प्रतियोगिताका लागि छनोट


बाग्लुङका बिवेक जिसी र कास्कीकी पुनम गुरुङ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट छनोट हुन सफल भएका छन् । म्याग्दी जिल्लाको बेनीमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा विजयी हुँदै विवेक र पुनम पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुदका लागि छनोट हुन सफल भएको बेनीबाट प्रतियोगिताका रेफ्री उदय अर्यालले जानकारी गराएका छन् ।

पश्चिमाञ्चल ब्याडमिन्टनमा कास्की जिल्लाको वर्चस्व रहेकोमा बाग्लुङका विवेक जीसीले पहिलोपटक पहिलो स्थान हात पार्न सफल भएको रेफ्री अर्यालले बताए । आठौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट ब्याडमिन्टनमा छनोट हुन सफल अन्य खेलाडीहरूमा पुरुषतर्फ कास्कीका विद्यान अधिकारी, भूगोल गुरुङ र विशाल खड्का, बाग्लुङका राजिन खड्का, म्याग्दीका सुरेन्द्र हमाल र नवलपुरका केवल श्रेष्ठ रहेका छन् । यस्तै महिलातर्फ कास्कीकै यामकुमारी गुरुङ, प्रजिता गुरुङ र अन्तरा राना तथा बाग्लुङकी सुनिता पौवी रहेका छन् ।

विजयी खेलाडीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगिता रेफ्री अर्यालले जानकारी गराए ।