नकाबपछाडिको चेहरा !

नकाबपछाडिको चेहरा !


रात निकै शान्त थियो । बेल्जियमको सानो शहरको झ्यालबाहिर पानी परिरहेको थियो । कोठाभित्र एउटा टेबल, केही किताब, एउटा कापी र कलम । अनाथ झ्यालतिर हेर्दै थियो । शरीर बेल्जियममा थियो, तर मन हजारौँ किलोमिटर टाढा नेपालका डाँडाकाँडा, खेतबारी, आमाको आँचल र बाल्यकालका ती आँसुहरूमा भौंतारिइरहेको थियो ।

उसले सोच्यो- ‘मानिस किन यति धेरै नकाब लगाउँछ ? प्रकृतिलाई त कुनै नकाब चाहिँदैन ।’

त्यही प्रश्नबाट उसको जीवनको कथा सुरु हुन्छ ।

बाल्यकालले उसलाई खेलौना दिएन, जिम्मेवारी दियो । ऊ तेह्र वर्षको हुँदा बाग्लुङ्ग-दमेक, बनहूँ, ठुल्ढुङ्गा, उसको घुमाउने खरको घर, उसका बाबाको मृत्यु भएपछि संसार अचानक बदलियो । उमेरले बालक थियो, तर समयले उसलाई वयस्क बनाइसकेको थियो । गरिबीले उसलाई विद्यालयभन्दा पहिले जीवन पढ्न सिकायो ।

पन्ध्र वर्षको उमेरमा ऊ भारतको गोरखपुर पुग्यो । गोलघर नजिकैको एउटा सानो कफी पसलमा भाँडा माझ्थ्यो । बिहानदेखि बेलुकासम्म हात पानीमा भिज्थे । हिन्दी बोल्न आउँदैनथ्यो । कसैले उसको पीडा बुझ्दैनथ्यो । उसले आमालाई फोन गर्न सक्दैनथ्यो । कहिलेकाहीँ चिठी लेख्थ्यो, अनि राति सिरानी भिज्ने गरी रुन्थ्यो ।

त्यहीबेला उसले पहिलोपटक बुझ्यो- ‘बाध्यताले गरिने काम श्रम होइन, दासता हो ।’

पछि एउटा इन्जिनियरको घरमा काम गर्न थाल्यो । खाना पकायो, कपडा धोयो, घर सम्हाल्यो । संसारले उसलाई नोकर भनेर चिन्थ्यो, तर उसको मनभित्र स्वतन्त्र मानिस जन्मिँदै थियो ।

एकदिन उसको नाममा नेपालबाट चिठी आयो । चिठ्ठी उसकी आमाले हैन, उसका पुसाजु टंकनाथले पठाएका थिए । 

भाइ-बहिनी लिएर आमा नवलपुर बसाइँ सरिसकेकी रहिछिन् । पत्रमा उसलाई सकेसम्म छिटो आउन भनिएको थियो । ऊ अलिक खुशी भयो । सोच्यो- ‘अब नेपाल फर्केपछि त अलिक सुख होला कि ! वा, उस्तैगरि भाइलाई काखमा राखेर आमा रोइरहेकी होलिन् ?!’

त्यो पछिल्लो चिठी उसको जीवनको सबैभन्दा ठूलो निमन्त्रणा थियो । ऊ अनेक जुक्ति गरेर नेपाल फर्कियो । आमालाई देख्नेबित्तिकै आमाको नजिकै बसेर धेरै बेर रोयो । ती आँसु कमजोरीका थिएनन् । ती पुनर्जन्मका आँसु थिए ।

नेपालमा उसले फेरि विद्यालय सुरु गऱ्यो । स्कुल सक्यो, क्याम्पस गयो र पढेर बिए पास गऱ्यो । कति संघर्ष गऱ्यो, कसरि पढ्यो, उसलाई मात्रै थाह छ । खेत जोत्यो । मेला पर्म गऱ्यो । पसिना बगायो । बहिनीहरूको विवाह गरायो । आफ्नै विवाह गऱ्यो । सन्तान जन्मिए । ऋणको भारि बोक्यो । खेत बेच्यो । ऋण तिऱ्यो । जीवनले उसलाई कहिल्यै विश्राम दिएन ।

तर एउटा कुरा बदलिएको थियो । अब ऊ अरूको नोकर थिएन, ऊ आफ्नो जीवनको जिम्मेवार थियो । निर्णयमा स्वतन्त्र । स्व-निर्णय त अब उसको बानि बनिसकेको थियो । त्यो स्वतन्त्रता नभएर के हो त ? 

उसले २०४८ सालबाट पत्रकारिता समेत शुरु गरिसकेको थियो । गतिविधि, नेपालवाणी, महिमा, पृष्ठभुमिमा उसका समाचारहरु छापिन्थे । अनाथ एक पत्रकारको रुपमा चिनिन थालिसकेको थियो । 

२०५७ सालको मंसिरमा भएको सात दिनको माओवादी अपहरणले उसको मनभित्र रहेको अन्तिम भरोसा पनि भत्काइदियो । उसले बाग्लुङ्ग ताराखोलाको त्यो छापामार युनिटको कब्जामा रहेका सात दिनको मानसिक यातना सम्झ्यो । उसले देश छोड्ने निर्णय गऱ्यो । विदेश पुग्दा पनि संघर्ष सकिएन । जेल, शरणार्थी शिविर, अनिश्चित भविष्य – सबै भोग्यो । तर अन्ततः बेल्जियमले उसलाई एउटा सुरक्षित आकाश दियो ।

त्यहाँ उसले फेरि श्रम गऱ्यो । ग्रिनहाउसमा, रेस्टुरेन्टमा, विद्यालयमा । तर उसको वास्तविक काम भने राति सुरु हुन्थ्यो ।

ऊ लेख्थ्यो ।

ऊ आफ्नै जीवन लेख्दैनथ्यो । ऊ मानिसको स्वभाव र दु:ख लेख्थ्यो । ऊ सभ्यताको भ्रम लेख्थ्यो । बेथितिको उछित्तो काढेर लेख्थ्यो । 

उसले बुझिसकेको थियो- ‘प्रकृतिमा कुनै राजा छैन, कुनै ट्रस्टी छैन, कुनै आदेश छैन । नदीले कसैसँग अनुमति माग्दैन । रूखले फल दिनुअघि बैठक बस्दैन । चरा उड्न विधान संशोधन गर्दैन । प्रकृति स्वतन्त्र छ । मानिसले भने आफूलाई नियम, पद, शक्ति र अहङ्कारका पर्खालभित्र कैद गरेको छ ।’

बेल्जियम पुगेपछि जब ऊ नेपाली साहित्यिक संस्थामा सक्रिय भयो, उसले त्यही जडताको प्रतिक कैद फेरि देख्यो, जहाँ ब्याक्तिगत सपना देख्न मनाही छ । केही व्यक्तिले संस्थालाई आफ्नै सम्पत्ति ठानेका थिए । नयाँ विचारलाई खतरा मानिन्थ्यो । प्रश्न गर्ने मानिसलाई अराजक भनिन्थ्यो । अझ कसै कसैले आफ्नो टेरिटोरीमाथिको आक्रमण नै सम्झन्थे । 

उसले त्यो संस्थामा परिवर्तनको प्रस्ताव राख्यो । अझ रुपान्तरणको प्रस्ताव भनौँ । 

उसले विकेन्द्रीकरणको कुरा गऱ्यो ।

उसले साझा स्वामित्वको कुरा गऱ्यो ।

उसले नेतृत्वलाई सेवामा बदल्न खोज्यो । तर, पुरानो संरचनाले त्यसलाई स्वीकार गरेन ।

उसलाई थाहा भयो, ‘जुनसुकै सत्तालाई परिवर्तनभन्दा प्रश्नसँग बढी डर लाग्छ ।’

त्यसपछि उसले पद छाड्ने निधो गऱ्यो, राजीनाम पनि दियो तर ….। अर्को पटक वरिष्ठ नेतृत्वको हिस्सा नबन्ने निधो गऱ्यो । किनकि उसको लागि कुर्सीभन्दा आफ्नो स्वतन्त्रता ठूलो थियो ।

उसले आफ्नो डायरीमा लेख्यो- ‘नेतृत्व भनेको आफ्नो प्रतिलिपि बनाउनु होइन । प्रत्येक मानिसलाई आफ्नै रूपमा फुल्न दिने वातावरण बनाउनु हो ।’

समय बित्दै गयो ।

अब ऊ संसारलाई नयाँ आँखाले हेर्थ्यो । उसलाई लाग्थ्यो- ‘मानिसले प्रकृतिबाट सिकेको भए पृथ्वी यति अशान्त हुने थिएन । सायद मानवको इतिहास, स्वभाव र कर्मको बारेमा अरु जीवले लेख्न सक्थे भने कसरि लेख्थे होला ! के मानव सृष्टिको सबैभन्दा असभ्य, क्रुर, बिनासक र घृणित जीव हो ?’ – यो प्रश्नको उत्तर खोज्ने प्रयास गऱ्यो तर ऊ दुःखी भयो । 

प्रकृतिमा त्याग छ ।

सहअस्तित्व छ ।

सन्तुलन छ ।

मानिसमा नियन्त्रण छ ।

स्वार्थ छ ।

अहङ्कार छ ।

उसले एउटा निष्कर्ष लेख्यो- ‘रोकिएको पानी दुर्गन्धित हुन्छ, बग्ने नदी मात्र जीवित रहन्छ । मानिसको जीवनी अनि संस्था पनि त्यस्तै हो । समाज पनि त्यस्तै हो । विचार पनि त्यस्तै हो ।’

अब उसको यात्रा पदका लागि थिएन । लोकप्रियताका लागि थिएन । कसैलाई हराउनका लागि पनि थिएन । अब उसको युद्ध केवल एउटा थियो- ‘मानिसलाई आफ्नो मौलिकतासहित बाँच्न सक्ने कमिलाको जस्तै संसार निर्माण गर्ने ।’

र अन्तिम पानामा उसले केवल एउटा वाक्य लेख्यो- ‘यदि तिमीले आफ्नो सपना बचाउन सकेनौ भने, तिमी बाँचेका छैनौ; केवल बाँचिरहेको अभिनय गरिरहेका छौ ।’

झ्यालबाहिर फेरि पानी परिरहेको थियो । नदी अझै बगिरहेको थियो । अनाथ मुस्कुरायो । किनकि, उसले अन्ततः बुझिसकेको थियो- प्रकृतिलाई जित्न सकिँदैन, केवल बुझ्न सकिन्छ । आखिर संघ-संस्थाभित्रको त्यो जटिलता, नियन्त्रण पनि मानिसकै सोचको उपज न हो । त्यो सोच नउल्त्याएसम्म पूर्ण स्वतन्त्रता र प्राकृतिक सरलता प्राप्त हुन्न ।’