नेपाल र अष्ट्रेलियामा ‘क्याप्टेन’ एक साथ

नेपाल र अष्ट्रेलियामा ‘क्याप्टेन’ एक साथ


– राजन घिमिरे, अष्ट्रेलिया

यतिबेलाको बहुप्रतिक्षित चलचित्र क्याप्टेन आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको छ । यो चलचित्र नेपाल र अष्ट्रेलियाका विभिन्न शहरबाट एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

अभिनेता भुवन केसीको निर्माण र दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्र क्याप्टेनले सिड्नीको सुविधासम्पन्न सिनेमा हल इभेन्ट सिनेमाबाट प्रर्दशनको शुरूवात गर्दैछ । रगडेल ब्वायज र कमेरो इभेन्टसले यो चलचित्रलाई अष्ट्रेलिया भित्र्याएको हो ।

चलचित्र क्याप्टेनको सिड्नीमा एकपछि अर्को गरेर अहिलेसम्म चार शो तय भैसकेको छ भने अन्य शो पनि थपिने क्रम रहेको बताइएको छ । अष्ट्रेलियामा अत्याधिक माग रहेको यो फिल्म सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमामा आगामी मार्च १ र २ अनि सिड्नीकै हर्सभिलमा रहेको इभेन्ट सिनेमामा मार्च ३ र ४ का दिन प्रदर्शन हुने छ ।

यतिबेलाका हट केक नायक अनमोल केसीको बेजोड उपस्थिति र साथमा सरोज खनाल, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईको प्रमुख भूमिका रहेको छ यो चलचित्रमा । निकै लामो समयपछि निरूता सिंहको पनि यस चलचित्रमा अभिनय हेर्न पाइने छ ।

‘अष्ट्रेलियामा रहनुभएका नेपाली दाजुभाइ–दिदीवहिनीहरूले शुरुदेखि नै मलाई र मेरा चलचित्रलाई मन पराइरहनुभएको छ । क्याप्टेनले पनि उहाँहरूको मन जित्ने विश्वास मैले लिएको छु’– नेपालबाट यस्तो सन्देश दिए नायक अनमोल केसीले । उनले अगाडि भने– ‘सम्भव भएसम्म स्वयम् पनि अष्ट्रेलिया आउने प्रयासमा छु ।’

चलचित्रमा निर्माता भुवन केसी र निर्देशन दिवाकर भट्टराईको भनाईमा चलचित्र क्याप्टेन सबै वर्ग, तह र तप्काका दर्शकले मन पराउने र उहाँहरूको मन जित्ने चलचित्र हो ।