साहित्यकार तथा लेखक डिल्लीराम अम्माईको नवीन कविता सङ्ग्रह ‘निरपेक्ष अस्तित्वको खोज’को विमोचन भएको छ । बागलुङको जैमिनी नगरपालिका, दमेकमा आयोजित विमोचन कार्यक्रममा जैमिनी नगरपालिका-२ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा, स्थानीय साहित्यप्रेमी, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा कृतिको औपचारिक विमोचन गर्दै वक्ताहरूले साहित्य समाजको चेतना, संस्कार र मानवीय मूल्यहरूको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण माध्यम भएको बताए ।
कार्यक्रममा सुन्तलाचौर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक नन्दलाल सापकोटा, समाजसेवी ऋषिराम सापकोटा, बालमैत्री सङ्घकी विमला सुवेदी सापकोटा, अस्मिता राना, रविप्रसाद सापकोटा तथा वडा सदस्य भगवती सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै लेखक डिल्लीराम अम्माईको साहित्यिक योगदानको प्रशंसा गरेका थिए । वक्ताहरूले उक्त कविता सङ्ग्रहले मानवीय जीवन, सामाजिक यथार्थ, संवेदना र अस्तित्वका विविध आयामलाई प्रभावकारी ढङ्गले अभिव्यक्त गरेको धारणा राखे ।
लेखक डिल्लीराम अम्माईले आफ्नो सिर्जनात्मक यात्राबारे प्रकाश पार्दै साहित्य समाजको यथार्थलाई शब्दमार्फत अभिव्यक्त गर्ने माध्यम भएको बताए । उनले पाठकहरूको माया, सुझाव र रचनात्मक प्रतिक्रियाले आगामी दिनमा अझ प्रभावकारी सिर्जना गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लेखककी धर्मपत्नी तारा अम्माईलगायत सहभागीहरूले नवविमोचित कृतिको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा यस्ता साहित्यिक गतिविधिले पठन संस्कृतिको विकास र नयाँ स्रष्टालाई प्रेरणा दिने विश्वास व्यक्त गरे । विमोचन कार्यक्रमको सञ्चालन सचिव धनबहादुर थापाले गरेका थिए ।
प्रतिक्रिया