तिलोत्तमा गोल्डकप : दाफिन्स क्यामरुनलाई उपाधि

तिलोत्तमा गोल्डकप : दाफिन्स क्यामरुनलाई उपाधि


बुटवलमा सञ्चालित तिलोत्तमा गोल्डकपको २१औँ संस्करणको सोमबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबको टोलीलाई विदेशी पाहुना टिम दाफिन्स एफसी क्यामरुनले १–० को अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको छ ।

देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि खेल बराबरी भयो । पुलिसका तेज तामाङको प्रहारलाई दाफिन्सका गोलरक्षकले रोकेपछि ‘सडनडेथ’मा दाफिन्सले उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा जीतसँगै विजयी टिम दाफिन्सले रु आठ लाख ८० हजार नगद, ट्रफी र सिल्ड हात पारेको छ भने उपविजेता पुलिस क्लबले रु पाँच लाख ५० हजारमा चित्त बुझाएको छ । यस सिजनमा मात्र मनकामना र बुढासुब्बा गोल्ड कप पोल्टामा पारेर हौसिएको दाफिन्स तिलोत्तमा गोल्डकप जितेर ह्याट्रिक रहेको छ भने यसपालि खप्तड कप उचालेको पुलिस क्लबले लगातार दुई वर्ष दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगिताअन्तर्गत आजको खेलमा पुलिसका रबि पासवान बेस्ट फरवार्ड, हेम तामाङ बेस्ट मिड फिल्डर, विक्रम धिमाल बेस्ट डिफेण्डर, अनन्त थापाले उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षक दाफिन्सका प्रिसो घोषित भएका तथा सबैले रु २५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगितामा रुपन्देही–११ का आशिष गुरुङ ‘क्यान अफ द टुर्नामेन्ट’ घोषित भए । उनले एक थान स्कुटर पुरस्कार प्राप्त गर्नुभएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट लगायतका अतिथिहरुले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।