भूकम्पले नचेतेका हृदयहरू– विनोद त्रिपाठी

भूकम्पले नचेतेका हृदयहरू– विनोद त्रिपाठी


nice phortoसरकारी टोलीले कोटेश्वरस्थित चर्केको एक घरमा हरियो स्टिकर टाँसेर सुरक्षित देखाइदियो । घरबेटीको अनुनयबमोजिम हरियो स्टिकर टाँसिएको रहेछ । स्टिकरको विश्वास नलागेपछि डेरामा बस्ने त्यो घरमा फर्केका छैनन् ।
आफ्नो घर सुरक्षित छ भन्ने देखाउन होडबाजी छ यतिबेला राजधानीमा । फेरि, घुसखोरी चलेको छ । भूकम्पले राजधानीवासीले चेतेका छैनन् भन्ने यस्ता सयौँ उदाहरण छन् राजधानीमा ।
इन्जिनियरको आपराधिक मानसिकता भूकम्पपछि झन् बढ्दो छ । ०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका लगातार परकम्पले हाम्रो कमजोर शैक्षिक जनशक्ति उजागर गरिदियो । घर बनाउने इन्जिनियरको नियत सडकमा ल्याइदियो । सरकारी कर्मचारीको घुसखोरी छताछुल्ल बाहिर आयो । प्राविधिक विषय पढेकाहरूको स्तरीयता स्पष्ट देखियो । नियम छल्ने केही जनताको अपराध सतहमा आयो । घुस खुवाएर काम लिन सेवाग्राहीको चरित्र उदाङ्गियो । हालसम्मको नेपालको शासकीय व्यवस्थाको धज्जी उडाइदियो । तर पनि वर्तमान नेपाली राजनीतिले देशको भविष्यबारे कुनै कार्यदिशा दिन सक्ने सङ्केत देखिँदैन । विनाशको यो भुमरीमा जनता मात्र कति वर्ष पीडित भइरहने खतरनाक अनुमान हाम्रासामुन्ने आएको छ ।
करिब तीनचौथाइ भोगिएको विक्रमसम्वत्को यो शताब्दी नेपाली माटोका लागि नृशंश बन्यो । मानवीय शासन पद्धतिका चरणदेखि प्राकृतिक विपत्ति यो अवधि खतरनाक सावित भए । वि.सं. २००१ देखि हालसम्मलाई नियाल्दा नेपाली जनताको कालचक्र उच्च बनेर कष्टपूर्ण बन्यो । राजनीतिक मतान्तरले जनता दलहरूको कैदमा परे । दलहरूका जन्मले समाजमा विग्रह ल्याइदियो । यसका पछिल्ला उदाहरण हुन्– पहिचानसहितका सङ्घीयता मुद्दाहरू । तर पनि देशको कान्तिमा उज्यालो छाउने शुभारम्भ देखिँदैन । प्राकृतिक विपत्ति राजनीतिक पदचापका समानान्तर रेखा बनेर देखिए । विकासका अवरोध राज्य–व्यवस्था विपत्तिमा रन्थनिए । हाम्रो पद्धतिका पात्रहरूले न अरूको सिके न आफैँले सिर्जना गरेर सुन्दर देश निर्माण गर्न सके । क्षमतावान नागरिकलाई अवसरबाट च्यूत गरियो ।
हिजोआज दलहरूका बैठक प्रदेश कति बनाउनेमै अल्झिएका छन् । फेरि, संविधान निर्माणको विषय चर्को उठ्न थालेको छ । भूकम्पले देशलाई क्ष्ँतविक्षत पारेकोमा ध्यान दिएका छैनन् । यो अर्को डरलाग्दो विपत्ति हो । यो राजनीति विपत्ति हो । दलबाट देश सञ्चालन हुन्छ । देश चलाउनेले देश बनाउने हो । भूकम्पछि देश बनाउने दल अझै देखिएनन् । यो दुर्भाग्य सूचकमा परकम्पको थरथरले जनताको शरीर क्रियात्मक बन्न सकेको छैन ।
‘एकपटक खाल्डोमा परेपछि गाईले नि चेत पाउँछ’ भन्ने हाम्रो उखान छ । तर, हामी जति पटक खाल्डामा परे पनि कहिल्यै चेतेनौँ । राजनीतिले प्राकृतिक विपत्ति ल्याउँदैन । हामीले त राजनीतिकै विपत्ति भोग्यौँ । यो शताब्दीका राजनीतिक फेरबदल हाम्रा लागि ठूला विपत्ति बने । जनताकै शासनका नाममा भएका राजनीतिले देश थिलथिलो बन्यो । परिवर्तन मात्र चाहने, तर देश सुन्दर बनेको हेर्न नचाहनेको जमात निकै बढ्यो । राजनीति होइन, देश बनाऊँ भन्नेहरू पाखा पारिए । पछिल्लो राजनीतिक परिवर्तनमा झन् यसैलाई अग्रगमनकारी र प्रतिगमनकारीका नाममा कित्ताकाट गरियो । यही जमात शैक्षिक माफियाका पात्र बने । विद्वान् वर्गमा कहलिए । राजनीतिका फोस्रा शब्द जनतालाई सुनाउन थाले । तर, देश निर्माणको खाका कहिल्यै कोरिएन ।
कुनै पनि विपत्तिले देशको बाटो बदल्छ । समाजको गोरेटो नयाँ रूपमा परिवर्तन हुन्छ । नागरिकमा नयाँ बिहानीको सुरुवात हुन्छ । प्राकृतिक रूपमा कमजोर धरातलमा हामी बाँच्न सिक्नु पनि छ । समुद्रसँग नछोएकाले विश्वभरको पहुँच हाम्रा लागि कठिन छ । भूपरिवेष्ठितकै कारण दुई ठूला देशको दबदबामा हाम्रो स्वाभिमान बचाउनु पनि परेको छ । यही बेला भूकम्पले हाम्रो पर्दा उघारिदिएको छ । यो पर्दा शासक र जनताबीचको थियो । भूकम्पले पर्दाभित्रबाट हुने सरकारी काम जनतालाई देखाइदिएको छ ।
आजित बनेका नागरिक अघिल्लो राज्य व्यवस्थाको प्रशंसा गर्छन् । वर्तमानको विरोध गर्छन् । हिजोका राजपरिवारका सदस्यका गुणगान सामाजिक सञ्जालमा बढ्दो छ । राजपरिवारका सदस्यहरूको जन्मदिन होस् वा मृत्युको अनि जेठ १९ को कहालीलाग्दो हत्याकाण्ड । सबैमा जनताको सम्झना छ । युवा पुस्तामाझ गजबलाग्दो क्रिया आउने गर्छ । गणतन्त्र आएपछि राजतन्त्रको गरिमा बढ्यो । प्रजातन्त्र आएपछि पञ्चायतको गुनगान गाइयो । तर, वर्तमान शासकको युवाहरूमा सधैँ विरोध रह्यो । दलहरू भने जनताको यो मागमा उल्टो परिवर्तन गर्दै आएका छन् । अझै सङ्घीयताका कुराले युवापिँढी विरक्तिएको छ । जबर्जस्ती दलको चङ्गुलमा परेकाबाहेक युवा जमातले गणतन्त्रअघिको बहुदलीय, पञ्चायतअघि बीपीको, त्यसअघि राणाको र त्योअघि पृथ्वीनारायण शाहकै शासनको गुणगान गाउँछन् । जतिजति राजनीतिक परिवर्तन हुँदै गए ती सबै नयाँ पुस्ताका लागि घातक सिद्ध भए । फलस्वरूप शासन व्यवस्था फेल हुँदै गए र अन्ततः छिटोछिटो परिवर्तन हुँदै गयो । यो परिवर्तन अझै रोकिएको छैन ।
भूकम्पपछि हाम्रो भूमि हल्लिएको छ । हाम्रो मन पनि उसैगरी अस्थिर छ । घरभित्र बस्न सक्ने अवस्था छैन । एउटाले घर बनाइदियो, पासोमा अर्को परेको छ । सरकारी इन्जिनियर पालभित्र बसेको छ । दिनभरि सुरक्षित घरको नक्साङ्कन गर्छ । रात परेपछि पाल खोज्छ । यिनै सरकारी पात्रहरूले देश निर्माणको रेखा कोर्न छोडेका छैनन् । सरकारको विद्रुप दृष्टि चिम्म छ । अझै कति पासोहरू निर्माण हुँदै छन् सरकारले देखेको छैन ।
हाम्रा लागि यो भूकम्प आउनु र सुशील कोइरालाको सरकार बन्नुको संयोग सबैभन्दा दुर्भाग्य सावित भयो । भलै यसअघिका सरकारको नेतृत्व ठीक थिए भन्न खोजिएको होइन । तर, यो अति विपत्तिमा सुशीलको अचेतन पीडितका लागि विलखबन्द सावित भो । चामत्कारिक काम हुनुपर्नेमा सामान्य राहतमा गतिशील बन्न सकेन । सरकारको आलोचना गर्ने लाज लाग्ने स्थिति पैदा भो । सबै दलहरूको भूमिका सरकारको रवैयाभन्दा फरक हुन सकेन ।
देशको मुहार फेर्नका लागि राजधानीकै शैलीले निर्धारण गर्छ । यो राजधानी जहाँ सबैभन्दा खराब थियो, यही भूकम्पले पारेको प्रभावले झनै मानिस बन्ने अवस्थामा दुर्गति ल्याइदियो । यसको असर देशभरि फैलियो । अब काठमाडौंको मानवबस्तीयोग्य ठाउँ बनाउन ठूलो मिहिनेतको जरुरत पर्छ । राजनीतिक र प्रशासनिक केन्द्रबाहेकका संरचना काठमाडौं अट्ने छैन । शैक्षिक, स्वास्थ्य, औद्योगिकलगायतका संरचना उपत्यकाबाहिर राख्नुपर्ने पहिलो आवश्यकता बन्यो । जनसङ्ख्याको चापलाई क्रमशः पातलो बनाउँदै लगियो भने उपत्यकाको सुन्दरता फर्कन सक्छ । जमिनको धरातल कमजोर बनेका स्थान तोक्नुपर्छ । उपत्यका वरपरका भित्ता फोरेर बनाइएका घरहरू अर्को ठूलो झन्झट निम्तिएको छ । बारीका पाटाहरूलाई प्लटिङ ठूलो चुनौती छ । असन र पाटनका गल्लीहरू फराकिलो बनाउने साहस जुटाउनु छ । पार्क र खुला चौरका जमिन व्यवस्थित गर्नु छ । एकैपटक सम्पूर्ण संरचना बदलेर राजधानीको सुन्दरतामा नयाँपन दिनुपर्नेछ । यो चेतना र दायित्वबोध भूकम्पको झट्काले दलहरूलाई दिनुपर्छ । यति ठूलो रोदनमा पनि राजनीतिक नेतृत्वमा चेत खुलेको आभाष जनताले पाएनन् भने पूरै यो शताब्दी हाम्रा लागि अँध्यारो बन्ने निश्चित छ ।