यतिबेला मुलुकको तापक्रम ह्वात्तै बढ्दा खेलकुदको तापक्रम पनि चरमबिन्दुमा पुगेको छ । यही जेठ २८ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको चारवर्षे कार्यकाल सकिन लाग्दा खेलकुदले यस्तो चरम गर्मीको महसुस गरेको हो । खेलकुदका पदाधिकारी, खेलाडी, प्रशिक्षक र कर्मचारी भावी सदस्यसचिवको चर्चा र परिचर्चामा दिन बिताउन थालेका छन् । विडम्बना, अहिलेसम्म त्यस्तो व्यक्तिको चित्र आवरणमा देख्न भने उनीहरूले पाएका छैनन् । यस्तो अन्योलतासँगै केही व्यक्तित्वहरूको चर्चा भने अवश्य चलेको छ, तर वास्तविकताको रहस्योद्घाटन र छाया–छवि भने प्रस्टिएको छैन । अर्को कुरा चर्चामा आएका व्यक्तिहरूले आफूलाई राखेपको सदस्यसचिवको दाबेदार रूपमा प्रस्तुत गरे पनि उनीहरूको मौनताले यो मुद्दा अझ जटिल बनेको छ । यतिबेला छलाङ मार्ने दाउमा सबै सक्रिय छन् । गोप्य रूपमा सबै सय मिटरको दौडमा सामेल छन् । कोही कछुवा बनेका छन् त कोही खरायो । र पनि, पछारिने सन्त्रासले कसैले आफ्नो दाबी प्रस्तुत गर्न सकेको अवस्था छैन । तसर्थ भावी सदस्यसचिवको तस्बिर चर्चामै सीमित रहेर धुमलिँदो बनेको छ ।
एमालेको भागमा युवा तथा खेलकुद मन्त्रालय परेकोले भावी सदस्यसचिवको चर्चामा एमालेकै खेलकुद व्यक्तित्वहरू परेका छन् । जसमा राखेपका पूर्वसदस्यसचिव केशव स्थापित, राखेपका पूर्वउपाध्यक्ष पीताम्बर तिमिल्सिना, नेपाल ओलम्पिक कमिटीका सदस्य पुरेन्द्रविक्रम लाखे र राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाको नाम प्रमुख रूपमा आएको छ । साँचो रूपमा भन्नुपर्दा यिनीहरू नै सदस्यसचिव दौडका वास्तविक खेलाडी पनि हुन् । यिनीहरूबाटै एकजना सदस्यसचिव चुनिने सम्भावना पनि प्रबल छ । तर, विडम्बना, यी दाबेदारहरूले आफ्नो दाबेदारी अहिलेसम्म चर्चैमै सीमित राखेका छन् । कसैले पनि अहिलेसम्म मुख फुटाउन सकेका छैनन् अर्थात् चुप्पी साँधेका छन् । यसको कारण जे पनि हुनसक्छ– ‘राजनीतिक खेल वा सन्त्रास ।’ तसर्थ सोझै अनुमान लगाउन सकिन्छ, ‘सदस्यसचिवको कुर्सीको बारेमा ।’ दिनप्रतिदिन ‘हटकेक’ बन्दै गएको सदस्यसचिवको कुर्सी पाउन अहिले नेतादेखि कार्यकर्तासम्मले -याल चुहाएर बसेका छन् । स्यालले झैँ झर्ला र खाउँला भनेर । यसका लागि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल ‘सकुनी पाशा’ हान्ने दुस्प्रयासमा लागेका छन् । मन्त्री पौडेल सुन तस्करीको आरोपमा थुनिएका र धरौटीमा रिहा भएका अर्थात् फौजदारी मुद्दा झेलिरहेका लामा टेन्डी शेर्पालाई सदस्यसचिवमा विराजमान गराउन उद्दत देखिएका छन् । पौडेलले सरकारले अपराधी घोषित गरेर धरौटीमा छोडेकोलाई दूधले नुहाएर किन सार्वजनिक पदमा आसीन गराउन खोजेका हुन् त्योचाहिँ बुझिनसक्नुभएको छ । यसको विश्लेषण म बबुरो गर्नुभन्दा शेषनागलाई सुम्पिनु नै राम्रो होला । उनको यो हरकतको सुइँको यदि अध्यक्ष केपी शर्माले पाए भने पौडेलको कस्तो दुर्दसा होला सायदै त्यो भनिरहनुपर्ला ।
यतिबेला सदस्यसचिवका दाबेदारहरूले आ–आफ्नो डम्फु बजाउँदै आफूलाई स्वघोषित भावी सदस्यसचिव बनाएका छन् । जसको विश्लेषण गर्दा कहीँ पनि सुर–तालको मिश्रण देखिएको छैन अर्थात् उनीहरू ‘बेसुरा’ देखिएका छन् । तैपनि उनीहरूले आफ्नो डम्फु बजाएर जग हँसाउन भने छाडेका छैनन् । यस्तोमा पूर्वसदस्यसचिव केशव स्थापित आफूलाई अरू दाबेदारभन्दा अब्बल भएको दाबी गर्दै आएका छन् । आफूलाई हाइकमान्डले तपाईं अगाडि बढ्नुहोस्, आगामी सदस्यसचिव तपाईं नै हो भन्न सार्वजनिक रूपमै चुकेका छैनन् । त्यस्तै पूर्वउपाध्यक्ष पीताम्बर तिमिल्सिना अन्यभन्दा कम देखिएका छैनन् । उनी आफू सदस्यसचिव भए खेलकुदको कायापलट गरिदिने भन्दै हिँडेका छन् । तिमिल्सिनाले आफूमा त्यो क्षमता भएकाले आफ्नो चुनाव खेलकुदका लागि सकारात्मक हुने दाबी गरेका छन् । यसैगरी ओलम्पिक कमिटीका सदस्य पुरेन्द्रविक्रम लाखे पनि आफ्नो दर्शन छाँट्न पछिपरेका छैनन् । उनी चर्चामा विश्वास राख्दैनन् । केवल सत्यताको विजय हुने कुरामा कटिबद्ध छन् । यी तीन महारथीमध्ये लामा टेन्डी शेर्पा भने कुटिल चाल चल्नमै व्यस्त छन् । उनी मात्र २९ गतेको प्रतीक्षामा छन् । मन्त्री पौडेललाई दबाब दिएर भए पनि आफूलाई सदस्य बनाउन चाहन्छन् । त्यसैले अहिले ‘जेरी’ जस्तै घुमेको छ, सदस्यसचिवको कुर्सी । कुन बाटोबाट गएर त्यो कुर्सीमा पुगिने हो त्यो दाबेदारको रूपमा रहेका र भावी सदस्यसचिवलाई नजिकबाट नियालिरहेकाहरूका लागि समेत निकै कठिन र अन्योलग्रस्त देखिएको छ ।
यस्तो अन्योलको वातावरणमा साँचो अर्थमा भन्नुपर्दा सदस्यसचिवको नियुक्ति केवल एकजनाले मात्र गर्न सक्छ ‘त्यो नाम हो एमाले अध्यक्ष केपी शर्मा ओली ।’ उनको इसारा र निर्देशनबिना केही हुनेवाला छैन । दाबेदारहरूले जति फुर्ती गरे पनि उनको आशीर्वादबिना सदस्यसचिवको कल्पनासमेत गर्न सकिने अवस्था छैन । र पनि, उनकै अर्थात् ओलीकै नाम भाँजेर सदस्यसचिवको कुर्सी पड्काउने दाउमा केशव स्थापित, पीताम्बर तिम्सिना र पुरेन्द्रविक्रम लाखे ज्यान छोडेर लागेका छन् । यी दाबेदारको दौडमा रहेकाहरूले आफूलाई ओलीकै पक्षधरको रूपमा उभ्याए पनि पानीको गहिराइको मापन भने गर्न सकेका छैनन् । अर्थात् को कति पानीमा छन् त्यसको भेउ पाउन सकेका छैनन् । यस्तो अवस्थामा ओलीलाई आफ्नो गडफादर मान्ने र उनकै इशारामा सदस्यसचिवमा दाबेदारी प्रस्तुत गरिरहेकाहरूको व्यक्तित्वको मापन गर्दा त्यही व्यक्ति वास्तविक सदस्यसचिवको हकदार हो भन्दा फरक नपर्ला । केशव स्थापित जसले साढे सात महिना सदस्यसचिव भएर खेलकुद हाँक्ने अवसर पाएका थिए । चतुर स्थापितले आफ्नो खेलकुदको छोटो कार्यकाललाई अविस्मणीय बनाउने क्रममा एक कुशल लिडरको रूपमा आफूलाई प्रस्तुत भएका थिए । जसको चर्चा अहिले पनि खेलकुदमा गर्ने गरिन्छ । यतिबेला खेलकुद लथालिङ्ग र भताभुङ्ग छ, यस्तो अवस्थामा महानगरमा कुशल निर्माणकर्ताको भूमिका सफलतापूर्वक निभाइसकेका स्थापितको आवश्यकता खेलकुदमा पनि खड्किएको छ । उनको यही व्यक्तित्वलाई पहिचान गरी एमालेले सदस्यसचिवमा स्थापितलाई नियुक्ति गरे त्यो ओली र खेलकुदका लागि सकारात्मक पाटो बन्नेछ । यसको हकदार पनि छन् स्थापित, उनको विगतको घटनाले पनि यसलाई प्रमाणित गरेको छ ।
त्यस्तै लोकतन्त्रको अभ्यासमा पूर्वउपाध्यक्ष तिमिल्सिना पनि सदस्यसचिवको दौडमा आफूलाई सामेल गरेका छन् । कुशल लिडरसिप गर्ने क्षमता उनीमा पनि छ । आफ्नो चारवर्षे कार्यकालमा उनले खेलकुदमा देखाएको कुशतला नै यो कुरालाई प्रमाणित गर्छ । उपाध्यक्षजस्तो जिम्मेवारविहीन पदमा बसेर पनि तिमिल्सिनाले समग्र खेलकुदको विकासका लागि जुन अदम्य साहस देखाए त्यो उनका लागि सकारात्मक पाटो बनेको छ । तसर्थ सदस्यसचिवका लागि तिमिल्सिना पनि एक योग्य उम्मेदवार हुन् भन्दा अतिसयोक्ति नहोला । यसैगरी गुमनाममा बस्ने तर आफ्नो सरल स्वभाव र दूरदर्शिताका कारणले चर्चामा आइरहने पुरेन्द्रविक्रम लाखे सदस्यसचिवका लागि उत्कृष्ट पात्रका रूपमा देखिएका छन् । आफ्नो सारा जीवन खेलकुदमा समर्पण गरेका लाखेले यदि सदस्यसचिवमा नियुक्ति भए खेलकुदका महत्वपूर्ण विवादहरू सदाका लागि समाप्त हुने देखिन्छ । लाखे सदस्यसचिव भए नेपाल ओलम्पिक कमिटीको विवाद, नेपाल कराते महासङ्घको विवाद र एमाले खेलकुद निकायभित्रको गुटबन्दी समाप्त पार्न सक्छन् । उनको यही व्यक्तित्वले गर्दा अहिले उनलाई काङ्ग्रेसका मीनकृष्ण महर्जन, नेकपा माओवादीका किरण राई, माओवादीका ध्रुवविक्रम मल्ल र ओलम्पिक कमिटीका पदाधिकारीहरू उनको पक्षमा उभिएका छन् । यसैले लाखे अहिले सदस्यसचिवका लागि सबैभन्दा योग्य पात्र बनेका छन् ।
सदस्यसचिवको दौडमा सामेल भएका व्यक्तित्वहरूको योग्यता जस्तोसुकै भए पनि केपी ओली र विद्या भण्डारीले चाहेको व्यक्ति नै सदस्यसचिव हुने कुरामा सायदै कसैको दुईमत होला । बजारमा नानाथरीका हल्ला चलेका छन्, कसैकसैको पत्रसमेत तयार भइसकेको जानकारीमा आएको छ । तर, राजनीतिको रङ हुँदैन भनेझैँ यहाँ पनि रङ बदलिए अन्यथा मान्नुपर्ने छैन । यी दाबेदारबाहेक अन्य व्यक्तिको सदस्यसचिवमा नियुक्ति हुने सम्भावना पनि उत्तिकै छ । यसको दौडमा सभासद्देखि एमालेका कार्यकर्ताहरू ज्यान छोडेर लागिपरेको कसैबाट छिपेको छैन । तसर्थ सदस्यसचिवमा नयाँ अनुहार देखिनसक्ने कुरालाई नकार्न सकिँदैन । खेलकुदमा डल्फिन छलाङ मारेर सदस्यसचिव पदमा पुगेका थुप्रै घटना छन् । यसपटक पनि यस्तै भयो भने आश्चर्यचकित हुनुपर्ने छैन । तर, एमाले अध्यक्ष ओली र उपाध्यक्ष विद्या भण्डारीले खेलकुदको गम्भीरतालाई आत्मसात् गरेर कस्तो निर्णय गर्छन् त्यो अहिले प्रतीक्षाको विषय बनेको छ । दाबेदारहरूले मौनता साँध्नुको कारण पनि यही बनेको छ ।
सदस्यसचिवमा प्रधानमन्त्रीको चासो
नेपाली काङ्ग्रेसका सभापति, राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री सुशील कोइरालाले समेत राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको नियुक्तिमा चासो देखाएको जानकारीमा आएको छ । प्रधानमन्त्री कोइरालाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलसँग फोनमा वार्ता गर्दै सदस्यसचिवको नियुक्ति आफूखुशी नगर्न निर्देशन दिएको थाहा भएको छ । कोइरालाले उपाध्यक्षको नियुक्ति एमाले गरेको स्मरण गराउँदै सदस्यसचिव नियुक्ति गर्ने पालो काङ्ग्रेसको भएकाले यसमा कुनै हर्कत नगर्न मन्त्री पौडेललाई निर्देशन दिएको बुझिएको छ । कोइरालाले अबको सदस्यसचिव काङ्ग्रेसको हो भन्दै त्यसका लागि नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङको नामसमेत तोकेका थिए । प्रधानमन्त्री कोइरालाले दावा गुरुङको नाम सदस्यसचिवका लागि उच्चारण गरेपछि अहिले सदस्यसचिवको नियुक्तिको प्रक्रियाले नयाँ मोड लिएको छ । काङ्ग्रेसका कार्यकर्ता पनि दावा गुरुङलाई सदस्यसचिव बनाउन प्रधानमन्त्रीदेखि काङ्ग्रेसका वरिष्ठ नेताहरूको दैलो चहार्न थालेका छन् । यसमा लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचन विशेष रूपमा लागेका छन् ।
खेल समाचार
पीडित खेलाडी–परिवारलाई राखेपको आर्थिक सहयोग
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भूकम्पमा परी ज्यान गुमाएका तीन खेलाडीको परिवार र पूर्ण रूपमा घर क्षतिग्रस्त भएका ६२ खेलाडीलाई राहतस्वरूप आर्थिक सहयोग दिने भएको छ । कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाको अध्यक्षतामा हालै बसेको बैठकले यो निर्णय गरेको हो । नुवाकोटका तेक्वान्दो खेलाडीद्वय स्व. सौरभ अधिकारी र लक्ष्मीमाया घले तथा कराते खेलाडी स्व. शान्ति थापाका परिवारलाई समान एक लाख प्रदान गरिनेछ । त्यस्तै, घर पूर्ण रूपमा क्षति भएका ६२ खेलाडीलाई २० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
कोषले यसअघि भूकम्पका कारण ज्यान गुमाएका एक खेलाडी, एक खेल पत्रकार र एक भलिबल प्रशिक्षकका परिवारलाई पनि समान एक लाख प्रदान गरेको थियो । घर पूर्ण रूपमा क्षति भएका १४ खेलाडीलाई जनही २० हजार आर्थिक सहयोग दिएको थियो ।
फेन्सिङ सङ्घमा सुनीलकुमार निर्विरोध
नेपाल फेन्सिङ सङ्घको पहिलो साधारणसभाले सुनीलकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति हालै निर्विरोध चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षद्वयमा सञ्जीव तुलाधर र रवीन्द्र महर्जन, महासचिवमा सुजनलाल श्रेष्ठ, सचिवमा हेल्गा राणा रायमाझी र कोषाध्यक्षमा अभिषेक कार्की रहेका छन् । त्यस्तै सदस्यहरूमा कवीन्द्रनाथ कपाली, ज्ञानेन्द्रविक्रम बानियाँ, सुरेन्द्रप्रसाद चौधरी, सतिश वैद्य, रेखामाया गुरुङ, राजेन्द्र श्रेष्ठ र देवेन्द्रप्रसाद श्रेष्ठ छन् । साधारणसभामा केन्द्रबाट १७ र १२ जिल्लाबाट १२ गरी जम्मा २९ प्रतिनिधि सहभागी रहेको थियो । विधानसम्मत कार्यसमितिमा २३ जना हुनुपर्ने भए पनि बाँकीको मनोनयन केही दिनमा गरिने नवनिर्वाचित सुजनलाल श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा प्रमुख अतिथि युवराज लामाले गरेका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीको तर्फबाट नेपाल ओलम्पिक कमिटीका सदस्यद्वय राजीव श्रेष्ठ र रामजी श्रेष्ठको उपस्थिति रहेको थियो ।
सहयोग गर्ने बुब्काको प्रतिबद्धता
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य, अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घका उपाध्यक्ष तथा युक्रेन ओलम्पिक कमिटीका अध्यक्ष सर्जी बुब्काले नेपाली खेलकुदको भौतिक विकासमा सहयोग गर्ने बताएका छन् । ‘नेपालको स्थितिबारे म अन्तर्राष्ट्रिय निकायलाई जानकारी गराउनेछु । भूकम्पपछि नेपालको खेलकुदको स्थितिलाई लिएर हामी गम्भीर छौं,’ उनले भने ।
गत साता नेपाल आइपुगेका बुब्काले भूकम्पपछि प्रभावित त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको अन्य भौतिक पूर्वाधारका साथै वसन्तपुर र भक्तपुर दरबार स्क्वायरको शनिबार अवलोकन गरेका थिए । पोल भोल्टका विश्व कीर्तिमानधारी बुब्काले दशरथ रंगशालामै एथलेटिक्सका पूर्व एवम् वर्तमान राष्ट्रिय खेलाडीलाई भेट गरेका थिए भने नेपाल ओलम्पिक कमिटी (अन्तर्राष्ट्रिय मान्यता प्राप्त) का पदाधिकारीसँग पनि उनको भेटघाट भएको थियो । नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहको पहलमा बुब्का नेपाल आएका हुन् ।
अशोकलाई आर्थिक सहयोग
भूकम्पपीडित राष्ट्रिय तेक्वान्दो खेलाडी अशोक खड्कालाई यूकेमा बसोबास गर्ने नेपालीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । यूकेमा बस्ने इन्द्र गुरुङ, बल थापा, सुधा गुरुङ, अशोक सेन, अर्जुनकुमार लम्साल, दिलु गुरुङ, राष्ट्र राई, ज्ञान गुरुङ र ज्ञाम गुरुङ मिलेर संयुक्त रूपमा अशोकलाई एक लाख २५ हजार ६ सय रुपैयाँ सहयोग गरेका हुन् ।
उनीहरूको तर्फबाट जेन मार्सल आर्ट एकेडेमी, यूकेका मुख्य प्रशिक्षकसमेत रहेका इन्द्र गुरुङले अशोकलाई सो रकम हस्तान्तरण गरे । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्षसमेत रहेका अशोकको कागेश्वरी मनहरा नगरपालिका, आलापोट वडा नं. ३ मा रहेको साढे दुईतले घर वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । घर पूर्णरूपमा क्षतिग्रस्त भएकै कारण राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट पनि अशोकलाई यसअघि २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।
जापानको राहत काभ्रेमा
भूकम्पपीडितका लागि राहतस्वरूप जापानको पी. फ्लास्टर कम्पनी लिमिटेड, केआई युनिभर्सिटी र कासिवा निहिसी रोटरी क्लबले उपलब्ध गराएको जस्तापाता र झुल काभ्रेमा वितरण गरिएको छ । जुडो खेल, शिक्षालगायत विभिन्न गतिविधिमार्फत अनाथ र असहाय बालबालिकालाई संरक्षण गर्दै आइरहेको संस्था बाल वातावरण केन्द्र नेपाल (सीडब्लूसीएन) को पहलमा उक्त संस्थाले उपलब्ध गराएको राहत काभ्रेको नयाँगाउँ गाविसको दुई वडामा जस्तापाता र झुल वितरण गरिएको हो । जस्तापाता र झुल गरी करिब चार लाख ५० हजार मू्ल्यबराबरको राहत वितरण गरिएको सीडब्लूसीएनका कोषाध्यक्ष एवम् अन्तर्राष्ट्रिय जुडो निर्णायक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
नयाँगाउँ गाविसको वडा नं. २ का ६० घरधुरीलाई सात फिटको एक बन्डल (१० पाताको बन्डल) जस्तापाता वितरण गरिएको थियो । त्यस्तै नयाँगाउँको वडा नं. ७ मा ८० घरधुरीलाई झुल प्रदान गरिएको थियो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, फ्लास्टरका प्रतिनिधि श्याम महर्जन, केआईकी प्रतिनिधि ताजिमा मिउमी, रोटरीका प्रतिनिधि दिनेश महर्जन, सीडब्लूसीएनका अध्यक्ष सुरेशप्रसाद लुइँटेल, धर्मकुमार श्रेष्ठलगायतले राहत वितरण गरेका थिए ।
कराते प्रशिक्षक घाइते
कराते प्रशिक्षक एवम् आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी गंगाराम महर्जन काँधमा चोट लागि घाइते भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको अगुवाइमा वैशाख १२ र २९ गते गएको भूकम्पका कारण क्षति भई दुर्घटनाग्रस्त घर व्यवस्थित गर्ने क्रममा ललितपुरको लुभुमा काम गरिरहेको अवस्थामा घरको चौथो तलामा रहेको काठ खस्दा उनको काँधमा चोट लाग्न पुगेको थियो । ललितपुरस्थित बी एण्ड बी अस्पतालका चिकित्सकको भनाइअनुसार उनको काँधको ब्युटिबोन भाँचिएको र शल्यक्रिया गरी स्टिल हाल्नुपर्ने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको अगुवाइमा विगत दुई हप्तादेखि दुर्घटनाग्रस्त घर व्यवस्थित गर्ने क्रममा प्रशिक्षक महर्जनले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको गाम्चा, धर्मस्थली ललितपुरको खोकना र लुभुमा सक्रिय सहभागिता जनाउँदै आइरहेका थिए । उनी नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको केन्द्रीय सदस्य, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घका उपाध्यक्ष एवम् नेपाली काङ्ग्रेस ललितपुर जिल्ला कार्यसमितिका सदस्यसमेत रहेका छन् ।
फ्लास्टरद्वारा २५ लाखको खेल सामग्री
मुख्यतः खेलकुद चिकित्सा क्षेत्रमा केन्द्रित जापानको पी. फ्लास्टर कम्पनी लिमिटेडले बाल वातावरण केन्द्र नेपाल (सीडब्लूसीएन) मा रहेका जुडो खेलाडीको सहयोगार्थ २५ लाख मूल्यबराबरको जुडो सामग्री प्रदान गरेको छ । कम्पनीका प्रतिनिधि श्याम महर्जनले सो मूल्यबराबरको सामग्री सीडब्लूसीएनका अध्यक्ष सुरेशप्रसाद लुइँटेललाई हालै हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएका सामग्रीहरू २४ थान गी, ६४ थान म्याट, १ सेट केन्दो पोसाक र सोफ्ट म्याट एक थान रहेका छन् ।
अनाथ र असहाय बालबालिकाको संरक्षणमा कार्यरत संस्था सीडब्लूसीएनमा हाल ८५ जुडो खेलाडी छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय जुडो निर्णायक धर्मकुमार श्रेष्ठ र जुडो प्रशिक्षक रमेश मगरले प्रशिक्षण दिइरहेका छन् । तीन वर्षको अन्तरालमा सीडब्लूसीएनले दुई राष्ट्रव्यापी तथा एक अन्तर्राष्ट्रिय जुडो प्रतियोगितासमेत आयोजना गरिसकेको छ । महर्जनसहित फ्लास्टरमा आबद्ध ताकासी यामागुची, खाजामी तोकोमी र योकोता कोसीको पहलमा सीडब्लूसीएनले खेल सामग्री प्राप्त गरेको बताइएको छ । सामग्री ढुवानीमा डीएचएल, जर्मनले ७५ प्रतिशत छुट दिएको सीडब्लूसीएनका कोषाध्यक्षसमेत रहेका धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
युवा आर्किटेक्टहरूको उदाहरणीय काम
भूकम्पले ल्याएको विपत्बाट राजधानी र आसपासका जिल्लाका आममानिस प्रताडित भइरहेका बेला समाजका विभिन्न तह र तप्काका व्यक्तिले उनीहरूको घाउमा मलम लगाउने प्रयास अझै गरिरहेका छन् । यसैक्रममा केही उत्साही युवा आर्किटेक्ट इन्जिनियरले पनि गाउँगाउँ पुगेर भूकम्पपीडितका लागि अस्थायी घर–टहरा निर्माण गर्नुका साथै उनीहरूलाई राहत सामग्रीसमेत वितरण गरिरहेका छन् । आर्किटेक्ट इन्जिनियर विना पाँडे (खड्का) नेतृत्वको टोलीले पनि काभ्रेको गाउँगाउँमा उदाहरणीय काम गरिरहेको छ । पाँडेको कमाण्डमा रहेको करिब एक दर्जन उत्साही इन्जिनियरको टिमले काभ्रेको होक्से चिसापानीमा रहेको सुन्दर सूर्योदय प्राथमिक विद्यालयका विद्यार्थीका लागि राहत सामग्री वितरण गरेको छ । हेल्प नेपाल नेटवर्कको सहयोगमा प्राप्त त्रिपाल, म्याटसहित स्टेसनरीका सामान विद्यालयमा अध्ययनरत करिब एक सय २० जना छात्रछात्रालाई वितरण गरिएको पाँडेले जानकारी दिइन् । त्यस्तै अभिभावकका लागि लुगा–कपडासहित टुथपेस्ट, ब्रस, साबुनलगायतका सामग्री उपलब्ध गराइएको थियो । सोही टोलीले पाँचखाल– १७ मा अस्थायी आवासगृहसमेत निर्माण गरिदिएको छ । चार दिनको प्रयासमा बाँस, इँटा, जस्तापाता प्रयोग गरी करिब चार वर्षसम्म दिगो रहने आवासगृह निर्माण गरिएको पाँडेले बताइन् । युवा आर्किटेक्ट इन्जिनियरको लोभलाग्दो कामबाट प्रभावित भएपछि स्थानीय समाजसेवी सुदीपराज कार्की र महेश खरेलले पनि अस्थायी आवासगृह निर्माणमा सहयोग गर्ने वचन दिएका छन् । पाँडे नेतृत्वको टोलीमा युवा इन्जिनियरहरू सुनिलराज कार्की, सुभेश थापा, उपेन्द्र थापा, विदुषी पौडेल, लोकेन्द्र आचार्य, विभा सैंजु, सोभिया भण्डारी, देविका श्रेष्ठ, आयुषा श्रेष्ठ, कञ्चन हायजुलगायत संलग्न थिए । पाँडे नेतृत्वको टोलीले यसअघि गोर्खा, रामेछापलगायतका जिल्लामा पनि राहत वितरण गर्दै अस्थायी घर–टहरा निर्माण गर्दै आएको छ ।
विश्वविद्यालय खेलकुदमा जोशीको जित
विश्वविद्यालय खेलकुद सङ्घ नेपालको दोस्रो साधारणसभाले प्रदीप जोशी (टेकराज)को अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । अघिल्लो कार्यसमितिमा पनि जोशी नै अध्यक्ष थिए । जोशीको विजय विश्वविद्यालय खेलकुदको विकासमा नौलो अध्यायको सुभारम्भ हुने विश्वास गरिएको छ । आफ्नो पहिलो कार्यकाल सफलताका साथ निर्वाह गरेका जोशीले विश्वविद्यालय खेलकुदलाई नौलो मार्गमा उभ्याउन सफल भएका थिए । विजयपश्चात् जोशीले दोस्रो कार्यकाल चुनौतीपूर्ण रहेको बताउँदै विश्वविद्यालय खेलकुदलाई खेलकुदको मेरुदण्डको रूपमा स्थापित गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । पाँँच उपाध्यक्षमा प्रा.डा. ज्ञानेन्द्र पौडेल, प्रा.डा. लोकेन्द्र शेरचन, डा. लालमणि पाण्डेय, विनयकुमार भट्टराई र सानु घले रहेका छन् । महासचिवमा पूर्णसिंह बोहराले यसपटक पनि बाजी मारेका छन् । डा. उदयकिशोर तिवारीले सचिव र अजिता शर्माले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, सदस्यमा डा. दीपबहादुर अधिकारी, डा. विमला शर्मा, धर्मराज ओझा, दीपक विष्ट, डा. यज्ञराज भट्ट, पूर्णादेवी शाक्य र सुरेन्द्र पनेरू निर्विरोध भए । विधानतः केन्द्रीय कार्यसमिति १९ सदस्यीय रहने प्रावधान छ । बाँकी तीन सदस्यको केन्द्रीय कार्यसमितिले मनोनीत गर्ने छ । नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत चन्द्र राईले शपथग्रहण गराएका थिए भने निर्वाचन अधिकृत ज्योति राईले प्रमाणपत्र प्रदान गरेकी थिइन् । यसअघि साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका थिए ।
सदस्यसचिव लामा सम्मानित
यसैबीच साधारणसभाको उद्घाटन सत्रमा विश्वविद्यालय खेलकुद सङ्घ नेपालले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई सम्मान गरेको थियो । सदस्यसचिव लामाले आफ्नो कार्यकालमा खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पु-याएबापत सम्मान गरिएको हो । अध्यक्ष जोशी र उपाध्यक्ष प्रा.डा. ज्ञानेन्द्र पौडेलले सदस्यसचिव लामालाई सङ्घको तर्फबाट सदस्यसचिव लामालाई सम्मानपत्र प्रदान गरेका थिए । साधारणसभामा राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिनालगायतको उपस्थिति थियो ।
कुस्तीको नेतृत्व राणालाई
नेपाल कुस्ती सङ्घको साधारणसभाले नारायणदेव राणालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले राणाको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत निर्विरोध चयन गरेको हो । चन्द्रहाङ बखिम र दिनेश शर्मा उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै महासचिवमा विद्यासागर पोखरेल र मुम्ताज अलीले पालैपालो चलाउने भएका छन् । आपसी सहमतिमा चारवर्षे कार्यकालको पहिलो दुई वर्ष पोखरेल र बाँकी अवधि मुम्ताजले जिम्मेवारी सम्हाल्ने छन् । चण्डिका बास्तोलाले सचिव तथा लोकबहादुर खड्काले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । यसैगरी सदस्यहरूमा उत्तमकुमार भुजेल, सुरेश गुरुङ, सुदीप थापामगर, राजु कहर, केशवकुमार यादव, निजाम अली इद्रिसी, नेपाली कनौजिया, धनकुमार लामा, रमेशकुमार गुप्ता, कर्माबहादुर सिंह र विक्रम बस्नेत रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य मनबहादुर न्यौपानेले प्रमाणपत्र प्रदान गरेका थिए । त्यसअघि साधारणसभाको सभासद् मदन अमात्यले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया