तापैताप, जनताका सधैँ पुर्पुरामा हात ! – बद्रीप्रसाद दाहाल

तापैताप, जनताका सधैँ पुर्पुरामा हात ! – बद्रीप्रसाद दाहाल


bicharनेपाली जनताको नियति नै तापैतापको रापमा पुस्तौँ–पुस्ता पुर्पुरामा हात लगाएर बस्नुपर्ने रहेछ । राणातन्त्रका रैती वा प्रजा, राजतन्त्रका जनता र लोकतन्त्रका नागरिकजस्ता भिन्न–भिन्न शाब्दिक खोल हालेर सम्बोधित हुने अवसर पाए पनि हाम्रो हैसियत भनेको सधैँ दुनिनु र दुहिनुपर्ने भृत्यगणभन्दा माथि उठेन । राणा र राजाका आसेपासे, हुक्के, चिलिमे, बैठके, ढोकेहरूकै हैसियतमा बस्नुपर्ने रहेछ तल्ला नेताहरूले उपल्लाजुँगामुठे शीर्ष नेताअगाडि । मूलतः हाम्रा पौरस्त्य ग्रन्थहरूले मानवजीवन तीन किसिमका तापबाट प्रताडित हुन्छ भनेको छ, आधिभौतिक, आधिदै–विक र आध्यात्मिक । यी तापहरूको शमन गर्न सक्ने क्षमता श्रीकृष्णसित मात्र छ भनेर ‘सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे । तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः’ भन्दै सत्य, ज्ञान र आनन्दको रूप श्रीकृष्ण भगवान् हुन् जसले माथि उल्लेख गरिएका तीन तापहरूलाई साफ पारिदिन्छन् । विश्वको उत्पत्तिका कारण भएका कृष्णको विराटतालाई यसरी श्रीमद्भागवत्ले स्वीकारेको छ । कृष्ण कहाँ–कहाँ विम्बात्मक रूपमा रहनुहुन्छ भन्ने कुरा अध्यात्मविज्ञानको प्रतीक गीता शास्त्रले विशद रूपमा बताएको छ । यस्ता तापहरू निवारण गर्न कृष्णमार्गी वा श्रीकृष्णवादलाई साथ राख्नुपर्छ ।
मूलतः जुनसुकै समयका राजनेताहरूले धर्ती र जनताका दुःख, मानसिक ताप, पीडा वा असहजता निवारण गर्न तृष्णाको त्याग गर्ने क्षमता देखाउन सके भने हरेक ताप र उपतापबाट मुक्त हुन सकिन्छ । हुन त नीतिमा भनिएको छ, ‘तृष्णा नजीर्णाः वयमेव जीर्णा ।’ अर्थात् तृष्णा वा चाहना हाम्रो लागि सधैँ सुकुमार हुन्छ, हामी मात्र जीर्ण र थोत्रा बन्छौँ । त्यस्तै महाभारत वनपर्वको एक प्रसङ्गमा यस्तो भनिएको छ, ‘तृष्णा हि सर्व पापिष्ठा, नित्योद्वेगकरी स्मृता । अधर्मवहुलाचैव, घोरा पापानुबन्धिनी ।। या दुष्त्यज्या दुर्मतिभिर्या न जीर्यति जीर्यतः । योऽसौ प्राणन्तिको रोगः, ताम् तृष्णां त्यजतः सुखम् ।।’ अर्थात्, तिर्सना सबैभन्दा पापी छ, यसले सधैँ व्यक्तिलाई उद्वेग अर्थात् आवेग, झोक वा मनको गडबडी गराउँछ । जसबाट अधिक–तम रूपमा मान्छे अधर्ममा प्रवृत्त हुन्छ । त्यो यस्तो भयङ्कर हुन्छ कि जसले पाप कर्ममा व्यक्तिलाई बाँधिदिन्छ । दुष्ट जनहरूलाई यसको त्याग गर्ने तागत नै हुँदैन । मान्छे बूढो भए पनि तृष्णा सधैँ तन्नेरी भइरहन्छ । वास्तवमा यो यस्तो रोग हो जसले मान्छेलाई प्राणान्त गराउँछ । यस्तो तृष्णालाई जसले त्याग गर्न सक्छ त्यही सुखी हुनसक्छ । त्यसै भएर कविशिरोमणि लेखनाथले पनि बोले, ‘तृष्णाको तुच्छ जालो मनबीच नभए, जो मिल्यो सो उज्यालो ।’ मूलतः नीतिनिर्माता र राज्य सञ्चालकहरूमा वैयक्तिक तृष्णा, चाहना वा स्वार्थबाट परै रहन सक्ने क्षमताका हुनुपर्छ ।
सैद्धान्तिक प्रजातन्त्र र लोकतन्त्र नेपालमा आएको हल्लासँगै ६–६ पल्टसम्म अर्थमन्त्रीको कुर्चीमा फुर्तीसाथ बसेका वर्तमान अर्थमन्त्रीलाई नपुग्दो के थियो र ? तर, विडम्बना भूकम्पपीडितलाई राहतको सामग्री बाँड्ने क्रममा स्वकीय सचिव रमेश महतलाई डेढ सय थान जस्तापाता घोटाला गर्न मौन स्वीकृति दिएको चर्चाले उनको राजनीतिक छविमात्र धुमिल नभएर विद्यावारिधिको प्राज्ञिक मेधामा डम्म कुहिरो लाग्न गयो । यो प्रामाणिक हल्लाले हामी कतिपय अनुयायीलाई झल्ला र गिल्लामा कहरका दिन काट्न परिरहेको छ । नेपालको उदारवादी अर्थतन्त्रका अभियन्ता हुम् भनेर छाती पिट्ने यी विद्यावारिधि महासयले जाबो ८–१० लाखमा -याल काड्नु हामी पछुवाको समेत लज्जाको विषय बन्न गयो । उनी त भावी कार्यकारी प्रमुख बन्ने हैसियतका प्रखर वक्ता र समसामयिक व्याख्याता अनि कलमे हस्ती पनि हुन् भनेर प्रशंसाको पुल बाँध्ने हामी मोरा त साँच्चैको भाट पो बनियो कि भनेर करेक्सन गर्नुपर्ने थिति पो आयो त ? के उनले श्रीमद्भगवत् गीताको ‘लोभात् भवति संमोह, संमोहात् स्मृतिविभ्रमः । स्मृतिभ्रंसात् धर्मनाशः, धर्मनाशात् प्रणश्यति’ भन्ने भुलेछन् । ल, त्यो त मृतभाषाको कुरा भो तर उनले ‘लोभले लाभ, लाभले विलाप’ भन्ने नेपाली प्रचलित उखानलाई किन सुकुटी बनाए ? चल्तीका यी विद्वान् त खल्ती भर्न गल्ती गर्न तयार हुन्छन् भने स्वर्ग नर्क नमान्ने चार्वाक्का चेलाले के गर्लान् ? नारन शिव ! राम ! राम ! कसको शरणमा गएर राम नाम स्मरण गर्ने हे मेरी बास्सै ?!!!
यहाँका शीर्ष भनी सञ्चारले भ्रम पस्किएर विभ्रममा पारेका केही टाउके नेताले यतिखेरको प्रकोपलाई ‘दैवी विपदा वा दैवी ताप’ नभनेर ‘प्राकृतिक’ भन्नुपर्छ भनी भाषण ठोकेर प्रमुख अतिथिको आसन नै बिटुल्याए । ‘दैवी’ पश्चगामी शब्द अरे ‘प्राकृत’ चैँ प्रगतिशील र अग्रगामी पदवर्गको प-यो भनी भाषामाथि नै अनधिकार हस्तक्षेप गरेर प्रधानमन्त्रीको पार्टीलाई आक्षेप लगाएको समाचार पढ्दा त्यस्ता अल्पविद्या–धरप्रति विचरा भन्नुसिवाय अरू के भनेर सम्बोधन गर्ने अप्ठ्यारोमा परिएको छ । त्यत्रा विश्वभरिका शब्दकोशमा उल्लेख गरेर भाषासारथिहरूले सम्मानपूर्वक अथ्र्याएको शब्दमाथि उनले किन ‘लिटिल नलेज इज डेन्जरर थिङ्स’ भुलेर हमला बोले ? यो देखेर भूकम्पले हल्लाएको मेरो घरका थकित गमलासमेत चकित बन्न पुगेका छन् । हो, सहमति, सहकार्य, समझदारी, लोकतन्त्र, मानवअधिकार, राहत, पीडितजस्ता अनगिन्ती शब्दहरूको कौमारित्व लुटेर बसेका यी नाथेहरूको चटारिएको अराजक बैसले सधैँ राणा र राजाका ऐस आराम अझ बढेर खोज्यो । जहाँ पीडितका नाममा आएका टेन्ट र पाल मात्र चार लाख हराएछन् । त्यसमा पनि साउदी अरबबाट पठाइएका प्रतिगोटा एक लाख पर्ने बाह्र हजार दामी पाल कुन–कुन नामीकहाँ रातारात फालाफाल भयो यो जाँचबुझ गर्न सतर्कता केन्द्रसमेत गलिताम भएर गोडाफाट् पोजिसनमा रेस्ट गरेको छ भनी मेरा छिमेकी छुसीजस्ता पत्रकारले कानलाई भर्खरै खुसी बनाए ।
वास्तवमा पहिचान र सामथ्र्यमा रस्साकस्सी गर्दै सङ्घीयतामा चर्काचर्की भित्याएर झन्नै एक दशक समय संविधान नबनाई तदर्थवादको सर्दारतन्त्र चलाउने शीर्ष नामधारी पुच्छरस्थह—को अराजक चर्तिकलाको ताप र रापबाट कति प्रताडित हुने हो ठेगानै छैन । उता परकम्पका झड्का तहल्का मच्चाइरहेका छन् भने यता सत्ताकम्पमा राजनीतिक ब्वाँसाहरूका कान ठाडो ठाडो भइरहेको छ । सरकारको अघिल्तिर ‘बृहत् राष्ट्रिय एकताको’ भन्ने सिउर, फुली वा फुँदा गाँसेर संसदीय अभ्यासको सत्ताधारी र प्रतिपक्ष भन्ने मान्यता नै मासेर लाल बुझक्कडहरूले आफ्ना तीन ताप कसरी व्यवस्थित गर्ने भन्नमै न्वारानदेखिको बल खर्चिएका छन् । यिनीहरूको तीन तापमा– सत्तामा कसरी जाने, पदको माध्यमबाट कसरी कमाउने र त्यो कमाइलाई कसरी सुरक्षित गरेर सात पुस्तासम्मकालाई यो समाजमा ठालु बनाएर भालुझैँ नचाइरहने ? यही तीन तापबाट नेपालका ठालु पीडित छन् । सत्य, ज्ञान र आनन्दमार्फत आधिभौतिक, आधिदैविक तथा आध्यात्मिक दुःख निवारण गर्ने त यी रागी, रसभोगी तथा लालची गणलाई महाभारतको रणसमान हुँदोरहेछ । त्यस्ता चिन्तनमा यी धूर्त वैश्य सरोकार राख्नै चाहँदैनन् । त्यसैले त अनाथ नेपाली जनता सच्चा नाथ नपाएर तापैतापले सधैँ पुर्पुरामा हात लगाएर बस्नुपर्ने अभागी जात बनिरहेको छ । अस्तु ।