विश्व पारा तेक्वान्दोमा पदक विजेता विक्रम सम्मानित

विश्व पारा तेक्वान्दोमा पदक विजेता विक्रम सम्मानित


नेपाल तेक्वान्दो संघले आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । उनीसँगै प्रशिक्षक कविराज नेगी लामालाई पनि संघले नगदसहित सम्मान गरेको थियो । विक्रमलाई ३० हजार र लामालाई १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

टर्कीको एन्टिल्यामा फेब्रुअरी ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा विक्रमले पी– ३२ क्याटगोरीको पुरुष एकल पुम्सेमा कांस्य जितेका थिए । विक्रमको स्पर्धामा नौ राष्ट्रका त्यति नै खेलाडी सहभागी थिए । मोरक्कोका खेलाडीलाई पराजित गरेका विक्रम इटालीका खेलाडीसँग भने चुकेका थिए । उक्त प्रतियोगिता विक्रमको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपालले पारा तेक्वान्दोको पुम्से स्पर्धामा पदक जितेको पनि पहिलो हो ।

सोही अवसरमा प्रतियोगितामा सहभागी अर्की खेलाडी पलेसा गोबद्र्धन र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो । त्यसै कार्यक्रममा पारा तेक्वान्दोका नयाँ खेलाडी लोकराज बस्नेत, सुवासचन्द्र राई र विदिता खनाललाई प्रोत्साहनस्वरूप ट्रयाकसुट प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ खेलकुद परिषदका संयोजक सुदिल शाहीले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै पारा तेक्वान्दोको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।