नेपाल बक्सिङ संघको आयोजनामा देशभरका ३९ बक्सिङका रेफ्री जजहरूलाई तीनदिने बक्सिङ रेफ्री रिफ्रेसर प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ । उक्त रेफ्री जज रिफ्रेसर तालिम आइबाका आईटीओ एक्सपर्ट एवं आइबा टेक्निकल एन्ड रुल्स कमिसनका सदस्य भारतका थ्री स्टार रेफ्री जज किसेन नारसीले सञ्चालन गरेका थिए ।
सन १९५६ मा बक्सिङ खेलाडीको रूपमा बक्सिङ खेल शुरु गरेका नारसीले ६ वटा ओलम्पिक गेममा र आठवटा एसियन गेम्समा रेफ्री जजको भूमिका निर्वाह गर्दै १५ वर्षदेखि आइबा टेक्निकल एन्ड रुल्स कमिसनमा कार्य गरिसकेका छन् । बिहान अध्यापन र बेलुकीको सत्रमा आठौँ राष्ट्रिय खेलकुदको लागि प्रदेश ३ र ४ को लागि प्रदेशस्तरीय छनोट खेलका क्रममा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो ।
सहभागीहरूलाई उक्त प्रशिक्षणको प्रमाणपत्र प्रदान गर्दै नारसीले नेपाली आरजेहरूको प्रशंसा गर्दै नेपाली महिला बक्सिङ खेलाडीहरू पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सफल भएको र नेपालमा बक्सिङ खेलको विकासको राम्रो सम्भावना रहेको जानकारी गराएका थिए । उक्त प्रमाणपत्र हस्तान्तरण तथा समापन समारोहमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले सबै रेफ्री जजले राम्रोसँग मिहिनेत गर्दै अगाडि बढ्न र नेपाली बक्सिङलाई अझ उचाइमा पुऱ्याउने महत्वपूर्ण भूमिका रेफ्रीहरूले निर्वाह गर्नुपर्ने जानकारी गराए । कार्यक्रका प्रमुख अतिथि राखेपका सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसीले अनुभवी प्रशिक्षकबाट तालिम प्राप्त गर्ने मौका नेपाली आरजेले पाएको र यस्ता प्रशिक्षण समयसमयमा आयोजना गर्न नेपाल बक्सिङ निरन्तर कटिबद्ध रहने जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक एवं बक्सिङका पूर्व प्रमुख प्रशिक्षक विद्या मरासनी, कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष बुद्ध गुभाजु, नेपाल बक्सिङ संघका सदस्य लक्ष्मण कार्कीलगायतको उपस्थिति रहेको थियो
प्रतिक्रिया